एकाबिहानै सिटौलाले ध्यान सकेर

आनन्दराम पौडेल 

anandaram-paudel-33434बिहान ध्यान सकिएपछि कृष्णप्रसाद सिटौलाजी घोत्लिए । आत्मलीन भएर गम्न थाले । सोचे, “आफ्नै पार्टीभित्र साथिहरुले ममाथि इर्ष्या राखेको त गन्ध पाएको थिएँ, तर षडयन्त्र ठूलै भैसकेको रहेछ । षडयन्त्रकारीहरुले सुशील’दालाइ पनि प्रयोग गरेछन् । नेकपा एमालेसँग सम्बाद गर्नका लागि शुरुमा बुढाले मलाइ र मिनेन्द्र रिजाललाइ खटाउन चाहेको मैले वुझेको थिएँ । तर, मेरो नाम हटाइयो । कस्को षडयन्त्रले हाम्रो नाम हट्यो भन्नेपनि थाहा पाइसकेको छु । डा.रामशरण महत र दीपकुमार उपाध्यायले एमालेसँग धेरैदिन वार्ता गरे; गरिरहे । गरेको  गर्यै  गरे।

तर, उनीहरुले एउटा बिषयलाइ समेत् कोट्याउन सकेनन् । प्रधानमन्त्री निर्वाचनको दिन आइसक्यो, वार्ता एक इञ्च डेग चलेन । शुरुमै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको बिषयमा अड्केको वार्ता त्यहीं अड्केर रह्यो । केहीशिप नलागेपछि सुशील’दाले पनि आजित भएरै हामी दुई भाइलाइ बोलाए । ‘यिनीहरुले तार नलाउने भए, तपाईंहरुले कुरा गरेर टुङ्ग्याउनुपर् यो’  भनेका हुन् । बुढाको आदेश शिरोपर गरेरै हामी दुइ भाइ त्यहाँबाट हिंडेका ह्वौं । हिंड्नेबेलामा अमरेशकुमार सिंह आइपुगेकोले उस्लाइ पनि साथै लगेका ह्वौं ।”

बिहान स्नानध्यान सकेर ब्रेकफास्ट लिने नित्य नियम थियो । ब्रेकफास्ट आइपुगेकोले  सिटौलाजीले मनोवाद एकछिन स्थगित गरे । ब्रेकफास्ट सकिएपछि पुन अन्तर्मनमै प्रवेश गरे । सोचे, “वार्ता गर्न शिप, कला, कौशलता र धैर्य चाहिन्छ । वार्ताको मेलो अघि सरेन, अड्किएर बस्योभने आफ्नो प्रस्तावको चुरोमा असर नपर्नेगरी वैकल्पिक निकास खोज्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमै अड्किएको सम्बादलाइ अघि बढाउन मैले यही सूत्र प्रयोग गरेको थिएँ । शुरुमा त मैले, ‘गृह, अर्थ, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालयहरु तपाईंहरु नै लिनुहोस्, तर राष्ट्रपतिको निर्वाचनलाइ छाडिदिनुहोस्’ भनेको थिएँ । उहाँहरु टसमस नभएपछि राष्ट्रपति निर्वाचनको बिषयमा मध्यमार्ग अपनाएर गृह र अर्थ मन्त्रालय बाँडेका ह्वौं । भएभरको बिबरण सुशील’दालाइ रिपोर्टपनि गरेकै हो । उहाँले ध्यान दिएर सुन्नुभएको र टाउको हल्लाउनुभएको मैले देखेको थिएँ । सोही अनुसार प्रधानमन्त्रीको निर्वाचन भएको हो ।

संयुक्त सरकार बन्नैलागेको के भनौं, बनि नै सकेको थियो । कत्रो जुक्तिबुद्धि लगाएर र मिहेनत गरेर बन्दोबस्त मिलाइयो, तर रामचन्द्र पौडेल र प्रकाशमान सिंहले ह्वात्तै चीसो पानी खन्याइदिए । रामचन्द्र पौडेलले त, ‘किन एमालेलाइ गृहमन्त्रालय दिएको ? कस्ले भनेर दिएको ?’ भनेर ठाडै झपारे । पौडेलबाजेले भित्रभित्रै प्रकाशमान सिंहलाइ, ‘तपाईं यस्पालि उपप्रधानमन्त्री र गृहमन्त्री हुने हो’ भनेर फकाएका रहेछन् । ‘सिटौला र मिनेन्द्रलाइ वार्ता गर्न खटाएकै होइन’ भनेर दुस्प्रचार गरे । फागुन ५ गते संसदीय समितिको बैठकमा सभापतितिर औंलो ठड्याएरै मैले, ‘तपाईंले हामीलाइ वार्ता गर्न खटाएको होकि ह्वैन ? यस्तो प्रश्न उठाइरहँदा तपाईं किन मौन बस्नुभएको ? मुख खोल्नुहोस् सुशील दा’ भनेर कड्केरै बोलें । ९ गते संसदीय समितिको बैठकमा पनि मैले, ‘सहमतिको बाटो छाडेर हामी कतातिर जाँदैछौं ?’ भनेर अलिकति कड्किएँ । नबोल्ने होभने त यी षडयन्त्रकारीहरुले सिद्ध्याउने नै भए, के गर्नु त !”

धेरैबेर एउटै पोस्चरमा बस्दा जिउ भारी भएको महसुस गरे । गोडापनि निदाएछ । उठेर जिउ तन्काए । कर् याककुरुक् पारे। पुन पलेटी कसेर बसे । र, घोत्लिएर सोच्नथाले, “यी षडयन्त्रकारीहरुले, ‘प्रधानमन्त्रीलाइ बलियो पार्नको लागि गृह हामीले राख्नुपर्छ’ भनिरहेछन् । कस्तो हाँसोउठ्दो कुरो ! वेस्टमिनिस्टर प्रणालिमा प्रधानमन्त्री सर्वेसर्वा (अल इन अल) नै हो भन्ने के दुनियाँलाइ थाहा छैन र ? यहाँ प्रधानमन्त्रीलाइ होइन की सुशील कोइराला नामका ब्यक्तिलाइ बलियो बनाउने कुरा भनेको भए त्यो सही हुन्थ्यो । हाम्रा  साथिहरुले, ‘माधव नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री एमालेलाइ दिएको’ भनेर ब्यापक प्रचार गरिरहनुभएको छ ।

२०६६ जेठमा कोलिशन मन्त्रीमण्डल बनाउने बेलामा एमाले पार्टीभित्रबाट बिद्या भण्डारीलाइ गृहमन्त्री बनाउने दबाब परेको रहेछ । बिद्या भण्डारीलाइ गृहमन्त्री बनाउनुपर्ला भनेर माधव नेपाल गृह मन्त्रालय लिनै नचाहने । कांग्रेसतिर पन्छाउने । कांग्रेस पार्टीबाट खुमबहादुर खँड्काको नाम अघि सारिएछ । खुमबहादुर खँड्कालाइ गृहमन्त्री बनाउनुपर्ला भनेर गिरिजाप्रसाद कोइराला गृह मन्त्रालय लिन नचाहने । एमालेतिरै पन्छाउने । त्यसबेला कोलिशन मन्त्रीमण्डल बनाउन खटिएका टोलिसदस्य बिमलेन्द्र निधीजीले भनेर पो थाहा भयो । त्यसबेला त्यत्रो दाउपेचमा पन्छाएको गृहको बिषयमा अहिले आएर, ‘हो न हो, त्यसबेला हामीले सैद्धान्तिक आधारमा उदारमनले दिएको’ भनेर ब्यापक प्रचारवाजी गरेको सुनिरहेछु । यिनीहरुको यो दरिद्र मानसिकतामाथि टीठ लागेर आउँछ ।”

घडीले ट्याङट्याङ बजायो । ८ बजिसकेछ । भन्नुपर्ने त धेरै थियो । लामो कुरा कस्ले सुन्छ ? सम्पादकले पनि स्थान दिंदैनन् । यति गुन्दै अन्तर्मनको यात्रा स्थगित गरे ।

 

 

तपाइँको प्रतिक्रिया