प्रचण्डहरुमा विकृति आउँदा हाम्लाई परेको पीर
– आनन्दस्वरुप बर्मा, (भारतीय पत्रकार)
प्रचण्डलाई मैले क्रान्तिकारी पार्टीको अध्यक्षका रुपमा हेरेको थिएँ । उहाँसँग मेरो परिचय पनि थिएन । जब मैले प्रचण्डजी र नेपाली क्रान्तिका बारेमा लेख्न थालें, त्यतिबेलासम्म मेरो बाबुराम भट्टराईशिवाय अरु कसैसँग परिचय थिएन ।
बाबुराम भट्टराईसँग भेट हुँदा नेकपा मालेको घोर समर्थक थिएँ । पञ्चायती समय, एमाले बनेकै थिएन । बाबुरामजी मोहविक्रम सिंहका साथमा थिए । मेरा मित्र सीपी मैनाली भूमिगत र केपी ओली जेलमा थिए । राधाकृष्ण मैनाली रिहा भएपछि मैले दिल्लीमा एउटा ठूलो मिटिङ गरें । हल भरिएको थियो । पछाडिपट्टि बाबुराम भट्टराई र राम कार्की बसेका रहेछन् ।
जब नेपालमा ०४६ सालको आन्दोलन भएर राजा वीरेन्द्रले बहुदलको घोषणा गरेका थिए, त्यही दिन नोयडाको मेरै घरमा बैठक चलिरहेको थियो । मालेका मोहनचन्द्र अधिकारी सामेल थिए । उनैको नेतृत्वमा दिल्लीमा हामीले एक दिन पहिले प्रदर्शन गरेका थियौं । बहुदलपछि एमालेका धेरै नेतासँग मेरो भेटघाट भयो । माधव नेपाल, रघुजी पन्त, पद्मरत्न तुलाधर । म भाकपा माले (लिबरेशन) सँग जोडिएको । त्यसको मोर्चा इण्डियन पिपुल्स फ्रन्टको संयोजक ।
सुरा–सुन्दरीकाण्डपछि मोहभंग
जब संसदमा सुरासुन्दरी काण्ड हुन थाल्यो, वामदेव गौतम, केपी ओलीहरुबाट केही पनि हुँदैन भन्ने लाग्यो । त्यसबेला माओवादी आन्दोलनको सुरुवात हुन थालेको थियो । मलाई लाग्यो कि यी मान्छेले नेपालको भाग्यलाई बदल्न सक्छन् । त्यसैले यिनीहरुप्रति रुझान बढ्यो ।
किताब लेखेपछि सम्पर्क
मैले जतिखेर ‘रोल्पा से डोल्पा तक’ किताब लेखें, त्यसबेलासम्म मेरो कोही पनि माओवादी नेतासँग भेटघाट थिएन । आफ्नै प्रयासले तमाम सामग्री भेला पारें । केही समय काठमाडौं पनि आएँ ।
पाँच चरणमा मूल्यांकन
प्रचण्डको जीवनलाई म पाँच हिस्सामा बाँडेर हेर्छु । पहिलो पिरियड, जतिबेला उनी जनयुद्ध सञ्चालन गरिरहेका थिए । दोस्रो पिरियड, जतिखेर बाह्रबुँदे सम्झौतादेखि लिएर शान्ति सम्झौतासम्म । तेस्रो चरण हो शान्ति सम्झौतादेखि गणतन्त्रको घोषणासम्म । चौथो पिरियड त्यो हो, जब उनी गणतन्त्रपछि प्रधानमन्त्री बने । र, पाँचौं पिरियड प्रधानमन्त्रीबाट हटेदेखि अहिलेसम्म । यसरी समग्ररुपमा हामी जब प्रचण्डको मूल्यांकन गर्छौं, धेरै सकारात्मक चिज देख्छौं । नकारात्मक पक्ष पछिल्ला दिनहरुमा देखिइरहेका छन् । आत्मगत कारण यो हो कि प्रचण्ड कमजोर बने । वस्तुगत कारण उनले पार्टीलाई शुद्धीकरण गर्न सकेनन् ।
तयारीका साथ बाह्रबुँदे
बाह्रबुँदे सम्झौता जब भयो, शुरुमा मभित्र एउटा शंका थियो कि कहीँ अघि बढ्ने काममा यिनीहरुलाई हैरानी त हुँदैन ?
आज माओवादी ‘सेट ब्याक’ को अवस्थामा पुगेको छ । ‘सेट ब्याक’लाई असफलता मानिँदैन । लडाइँको मोर्चामा जितेका थिए, खुल्ला मोर्चामा यिनीहरु हारे । यिनीहरुले संयमबाट काम लिएनन् ।
शान्ति सम्झौतामा हडबड
बाह्रबुँदेपछि शान्ति सम्झौतासम्म किुशलतापूर्वक काम गरे । तर, जव शान्ति सम्झौता भयो, त्यसमा हडबडी गरे । त्यसमा बुर्जुवाहरु हावी भए । बाह्रबुँदेका लागि यिनीहरु पूरै तयारीका साथ आएका थिए । यिनीहरुले बाह्रबुँदेमा हस्ताक्षर गर्न गिरिजाबाबुलाई रोल्पा लैजान चाहेका थिए ।
शान्ति सम्झौतामा लेखिएको छ कि हामीले लिएको जमीन फिर्ता गरिने छ । बाह्रबुँदेमा भनिएको थियो कि अन्यायपूर्वक लिइएको जमीन फिर्ता गरिनेछ । जब बुर्जुवाहरुले चलाखी गरिरहेका थिए, माओवादीले पनि केही चलाखी गर्न सक्थ्यो । जनसेनालाई प्राविधिक रुपमा विघटन गरेर, नाम बदलेर, बर्दी उतारेर विकास निर्माणको काममा लगाउन सकिन्थ्यो ।
आधार क्षेत्रको जनसरकारलाई प्राविधिक रुपमा विघटन गरेर अर्कै नाममा गाउँको सफाइ, शिक्षालगायत काममा लगाउन सकिन्थ्यो । एमालेको सरकारले आफ्नो गाऊँ आफैं बनाऔं भनेर यसै गरेको थियो । प्रचण्डको सरकारले पनि उनीहरुलाई यसैगरी विकासका लागि बजेट दिन सक्थ्यो । तर, उनीहरुले यस्तो काम गर्न सकेनन् ।
‘आइडियोलोजी’मै समस्या
यिनीहरु सफलताबाट उत्तेजित भए । बुर्जुवा जीवनशैलीको प्रलोभनमा परे । एकदम जंगलबाट आएर प्रधानमन्त्री बन्ने अवस्थामा जव पुगे, त्यस समय विचलन आउनु स्वाभाविक थियो । यसलाई रोक्नका लागि आफूभित्र वैचारिकरुपमा मजवुत हुनुपर्थ्यो ।
प्रचण्ड र बाबुराम भट्टराईवीच जति पनि विवाद देखिन्छन्, यसबाट स्पष्ट हुन्छ कि यिनीहरु वैचारिकरुपमा ‘साउण्ड’ थिएनन् । कुनै मुद्दा आउनासाथ त्यसलाई माक्र्सवादी लेनिनवादी तरिकाबाट हल गर्नुको साटो ‘कर्पोरेट’ संस्कारअनुसार दबाउन या सुल्झाउन खोजे । यसको प्रतिफल धेरै खतरनाक भयो । माओवादीहरु जनताको समर्थन देखेर बढी विश्वस्त भए । दोस्रो, प्रचण्ड प्रधानमन्त्री बनेपछि जनतासँग सम्बन्ध टुट्यो । र, कार्यकर्तासँग पनि टुट्यो । यिनलाई विश्वासै थिएन कि यति छिटै सरकार बनाउन सकिएला । उनीहरुले केन्द्रीय भेलामा प्रशिक्षण दिनुपथ्र्यो कि प्रधानमन्त्री या मन्त्री बनेपछि के गर्ने ? यस्तो नहुनाले धेरै ठूलो ‘कन्फ्युजन’ पैदा भयो ।
एमाओवादी नेताहरुको जीवनशैलीमा परिवर्तन आयो । हामीलाई लागेको थिएन कि यिनीहरुभित्र पनि यस्तै विकृति आउने छ, जति एमाले नेताहरुभित्र परिवर्तन आएको थियो । यो हाम्रा लागि ज्यादै दुःखलाग्दो कुरा हो ।
(अनलाइनखबरका सम्पादक अरुण बरालसँग तीसरी दुनियाँका सम्पादक बर्माले गरेको कुराकानी । अस्ति बुधवारको जनआस्था साप्ताहिकबाट)




