जनयुद्द दिवश : क्रान्तिका नायकहरुलाई प्रश्नै प्रश्न
● नबिन गल्कोटे
यही फाल्गुन एक गते त्यो साल माता सरस्वतीको पूजाको दिन पारेर मैले एउटा स्कुल सुरुवात गरेको थिएँ । यही फाल्गुन एक बाट मेरो जिबन का दुई वटा महत्वपूर्ण पद्दति सुरु गरेको थिएँ । ति थिए, अनुशासित शिक्षा र आदर्श समाज । म आफ्नो जिबनकाल पूर्णत आफूबाट समाजको परिवर्तन गराउने अभियानमा थिएँ । मेरो जिबन सुधारको अभियान सानो थियो । केही ससंकेत मात्र थियो । तर यही दुई वटा मेरो जिबनको उद्देश्यलाई म मेरो जिबन ठान्थें । तर त्यो पुरा हुनु पाएन ।
आज यही दिन फाल्गुन एक मेरो जिबन का दुई वटा मार्ग लाई समर्पण गरेको दिन हो । म र मेरो मार्गमा यस दिनले बिशेष अर्थ राख्छ । मुल त समाजमा बिकास क्रमिक र आमुल कुन सत्य हो त भन्ने सबालमा आजको दिनले मलाई एउटा निर्णय दिएको थियो । म जिबनको परिवर्तनबाट मात्र समाजको परिवर्तन हुन्छ भन्ने मान्यता राख्ने एउटा सरल मान्छेलाई आजैको दिनले क्रान्तिकारी परिवर्तनको मार्गमा धकेलेको थियो । हुन त अहिले कतिपय कुरा काल्पनिक र अहिलेको समाज बिकासमा असान्दर्भिक होलान । तर मेरो मन मस्तिस्कमा त्यही जिबनमा बदलिएको बाटोको याद आउँछ । मेरो जन्मलाई निरर्थक बाटोमा म आफुले हिँडाएकोमा पश्चाताप लाग्छ । हरेक मान्छेको आफ्नो चाहना हुन्छ र त्यही चाहना बमोजिम जिबन सहज अनी खुशी हुन्छ । तर जब आफ्नो इच्क्षा बिपरित जिबनलाई हिडाउँदा न त खुशी न त उपलब्धी। न कुन्नै सन्तुस्टी हुन्छ । केबल उपलब्धीबिहिन जबर्जस्ती बाध्यताको जिन्दगी जिउँदा निक्कै कठिन् हुन्छ ।
म बिशुद्द नेपालको दुर्गम जिल्ला बाग्लुङको पनि शक्ती खोसिएको गल्कोट को एउटा मान्छे । त्यही जन्में । हुर्कें। प्रशिक्षित पनि त्यहीँ बाट भएँ । त्यो समयको माग बमोजिम र गल्कोटको चाहनाले मेरो मन मस्तिस्कमा डेरा जमाएको थियो । म त्यो समयमा जुन चिजले अभावग्रस्थ थिएँ ति चिज मेरो सन्ततिमा नहोस् । या कि मेरो गल्कोटमा मैले जुन समस्या भोगें त्यो भोग्न नपरोस भनेर आफुले देखेकै मार्गमा लागि रहें । गल्कोटमा मुलत बाध्यताले लाहुरे हुने र पछी तेस्रो मुलुक जाने लहर नै थियो । तर म ति भन्दा भिन्न बाटो लिनु पर्छ भन्ने मान्यता राख्थें । तैपनि ति बाटा मेरो निम्ती अधुरै भए । म अहिले हिजो र भोलीपनि त्यो बिचारमा अडिग छु । कुनै समाजको बिकास गर्न आफ्नो मानसिक बिकास हुन्नै पर्दछ । मेरो मान्यता ब्यक्ती आदर्श बन्दै समाजलाई आदर्श बनाउनु पर्छ ।समाजमा भएको बिक्रिती हटाउन पहिले त्यो बिक्रिती आफुबाट हटाउनु पर्छ । जुन जुन चिजको अभ्यास हिजो गरिँदै थियो ति सबै ठुलो परिवर्तनको नाममा समर्पण् गरेको दिन आज हो । मेरो मान्यता मदिरा नपिउनेबाट मदिरा फ्याँक्नेमा गएको दिन आज हो । हिजो मैले जुन जुन कुराको सुरुवात गरें ति सबै क्रमिक सुधार थिए । र आजैको दिन बाट त्यो मेरो क्रमिक सुधारलाई क्रान्तिकारी रुपान्तरणलाइई जिम्मा दिएको दिन आज हो ।
नेपालमा क्षिक्षा गुणस्तरीय छ । तर गुणस्तरीय बनाउने मान्यता मेरो हो । हिजो म त्यही कुराको अभ्यासमा एउटा स्कुल म आँफै खोल्ने नेत्रित्व गरेको थिएँ । त्यो समयमा गल्कोटको पनि मध्यभाग तर धेरै कुराको अभाव भएको ठाउँ नरेठाँटीलाई आफ्नो मान्यताको अभ्यास स्थल बनाएको थिएँ । मुल त यो ठाउँ मेरा मित्रहरुले जुराउनु भएको थियो । मेरो मान्यता नै अनुशासित शिक्षा थियो । जबसम्म बच्चालाई अनुशासनको पाठ सहित शिक्षा दिइँदैन तबसम्म त्यो शिक्षा पूर्ण हुन्न । मुल त बिद्यार्थीलाई पढाउने शिक्षक वास्तविक गुरु हुँनै पर्छ भन्ने मेरो मान्यता थियो । यो मेरो अभियान त्यो समाजले स्वीकार पनि गरेको थियो । त्यही बेला यो मेरो अनुशासित पथलाई पनि सिङ्गो समाजको परिवर्तन हुन्छ भनेपछी छोडनै पर्यो । म एउटा सरल शिक्षक स्कुलबिहिन बिद्यार्थीबिहिन बन्नुपर्यो । र यही दिन नै मेरो जिबनको सबैभन्दा आजसम्मको दुखिद दिन हो । तर म त्यो समय मैले गर्न खोजेको त्यो समाजको बिकास छिट्टै र सजिलै हुने आश्वासनले गर्दा मेरो ब्यक्तिगत चाहनालाई बन्द गर्दै क्रान्तिकारी फाल्गुन एक लाई मेरो फाल्गुन एकमा समर्पनण गरें ।
मेरो लक्ष्य आदर्श समाजको निर्माण नै थियो । तर ति सबै कछुवा गती मै थिए । कम्सेकम बाटो त मेरो आत्माले सहि मानेको थियो । तर ति सबै छिटो परिवर्तनको नाममा मैले त्याग्नु पर्यो । जे जे मेरो मनले गर्न चाहन्थियो ति सबै त्याग्नु पर्योर र जे जे म जिन्दगी मा गर्दिन भन्थे गर्नै पर्यो । वास्तवमा म जिबनदेखी हारें । तर खुशी थिएँ किनकि मेरो हारमा समग्र समाजको बिकास हुने छ । मलाई अहिले पनि ताजै लाग्छ हिजोको छलफल । मेरो अनुशासित शिक्षाभन्दा नयाँ जनबादी क्षिक्षा राम्रो हो । मेरो आदर्श समाज भन्दा नेपाल भरी नै कम्युनको बिकास राम्रो हो । मेरो केही युबा, केही सय विद्यार्थी, केही शिक्षक, केही अभिभावकलाई मदिरा, दाईजो, जस्ता बिक्रिती बिरुद्दको शिक्षाभन्दा नेपाली जनयुद्दका नेताको बिक्रिती बिरुद्दको शिक्षा बढि प्रभावकारी हुन्छ । सानो अंशको परिवर्तन भन्दा सिङो देशको परिवर्तन राम्रो हो । यि यस्तै छलफलबाट म आशावादी हुँदै मेरो ब्यक्तिगत चाहानालाई यही बन्द गरें । अनी पुरानो पेशा त्याग गरें ।
आजपनि मलाई उही पुरानै रहर छ । तर बाटो फाल्गुन एकले फेरिदिएको छ । बिदेशको कल्पना नगर्ने म आज बिवशताले लाहुरे बनेको छु । गुरु बन्ने मार्गबाट आज कता हो कता पहिचान बिहिन बनिरहेको छु । मेरो त ठीक छ । तर जिबन नै ब्यर्थक भएको छ । तर केही चिन्ता भने छ । हिजो मैले पढाएका शिकाएका ति बच्चाको हालत के छ ? मलाई धेरै आशा थियो, ति बच्चाहरु ठुला ठुला मान्छे होलान् । कोही डक्टर । वकिल । आदर्श नेता । तर सोचे जस्तो भएनन दु:ख लाग्छ ।
जुन दिन जे जती बाचा गरेर मैले मेरो जिबनको मार्ग छोडेको थिएँ ति कुनैपनि चिज नहुँदा दु:ख लाग्छ । अनी प्रश्न गर्न मन लाग्छ, हे क्रान्ति नायकहरु हो कता गयो तपाईंहरुको नयाँ जनबादी शिक्षा ? कता गए तपाईं हरु को जनबादी कम्युन ? अनी कता गए तपाईंहरुको सुसंस्क्रित समाज ? अनी कता जाँदै छ तपाईंको बर्ग बिहिन समाज ? अनी कती पुरा गर्नु भो एउटा आदर्श नेताको गुणहरु ? अनी कता गयो हजुर मदिरा बिरोधि अभियान ? अनी कहाँ छ तपाईंको जनवादी विवाह पद्दति ? अनी के हाल छ बहुपत्नी प्रथाको कुरा ? अनी कुन नेता कुन कम्युनमा बस्नुहुन्छ त ? दु:ख लाग्छ, जसले रक्सी फ्याँक्न सिकाए आज उन को हातमा बिदेशी रक्सीको बोतल छ । हिजो जसले गाउँमा दुइ वटी बिहे गर्नेलाई भाटे कारवाही गर्थे तिनै का दुई चार वटी छन । जसले बोर्डिङ बन्द गर्ने अभियान चलाए उनै आज शिक्षा क्षेत्रका माफिया छन । जसले गुण्डा तह लगाउने कुरा गर्थे आज उनै तिनै गुण्डाका नाइके छन रे । हिजो आदर्शको कुरा गर्ने आज राणाकालिन बिलासितको मस्तीमा छन । धन्न मेरो फागुन एक ।





