सुशिलको भविष्य
● भरत दहाल
देश र जनताका निम्ति सोंच्ने एक जना पनि शासक नभएको राज्य प्रणालिमा तुलनात्मक रूपमा विवादास्पद र भ्रष्ट नरहेका सुशिल कोइराला प्रम हुँदा थोरै राहतको अनुभूति हुनु स्वाभाविक छ। तर नेपालको संकटको समाधानको प्रश्न उनको सरल वैयक्तिक जीवनसंग संबन्धित नभएर उनले अबलम्बन गर्ने विचार र इच्छाशक्तिसंग संबन्धित विषय हो। उनी नेपालको बेग्लै चरित्रको सफल प्रम बन्ने हो भने कम्तिमा ४ वटा विषयहरूमा स्पष्ट भएर निर्णायक इच्छाशक्ति प्रदर्शन गर्न जरूरी हुन्छ ।
१. नेपाल समस्याको स्तरबाट संकटको स्तरमा प्रवेश गरिसकेको छ । समस्यालार्इ शासन प्रणालिका केहि अंगहरूमा सुधार गरेर समाधान गर्न सकिन्छ तर संकट समाधानका लागि राज्य संरचनामा आमूल परिवर्तनको आवश्यकता पर्दछ। दल र सरकारको नेताका रूपमा परम्परागत शैलिबाट सफलता प्राप्त गर्न संभव छैन।
२. नेपालको अहिलेको संकटको मूख्य पक्ष नेपालको भू-राजनीतिको प्रयोगलार्इ लिएर बाह्य शक्तिहरूले अघि बढाएको रणनीतिसंग संबन्धित छ । तसर्थ, हस्तक्षेपकारी शक्तिहरूमाथिको नियन्त्रण विना वर्तमान तरलता ठोस हुनसक्ने अवस्था छैन ।
३. अहिलेको संकट मूलभूत रूपमा राष्ट्रिय संकट हो। तसर्थ यो कुनै दल विशेषको राजनीतिक मान्यताबाट मात्र समाधान हुन संभव छैन । यसको समाधान यस्तो राष्ट्रिय विचारधाराले मात्र गर्न सक्दछ, जसको छहारीमा आम नेपाली देशभक्तहरूले संरक्षण पाउन सक्दछन। दलिय विचारधारा सत्ता केन्द्रित हुन्छ, राष्ट्रिय विचारधारा देश र जनता केन्द्रित हुन्छ ।
४. बुझ्नेहरूका लागि राजनीति भनेको मानिसहरूको दैनिक जीवन प्रणालि हो। जनताका समस्याहरूबाट अलग्गिएको कथित राजनीति ठगि मात्र हो । यस मानेमा संकटको समाधान भनेको मूलतः जनताका समस्याहरूको समाधान गर्ने भनेको हो ।
यी कुराहरूमा ध्यान केन्द्रित गरेर शासन प्रणालिको विरासतसंग संबन्ध विच्छेद गर्न सके भने सुशिल कोइरालाको नाम बेग्लै अर्थमा उच्चारण गरिनेछ । अन्यथा उनी राजतन्त्रको विस्थापनपछिको पहिलो निर्वाचित कांग्रेसी प्रधान मंत्रिका रूपमा सिमित रहने छन् । संकट समाधानको प्रश्नलार्इ व्यक्ति केन्द्रित नभएर विषय केन्द्रित आँखाबाट हेर्दा उनलार्इ सबैले यहि सल्लाह दिनुपर्छ। गलत घेरा तोड्ने वा नतोड्ने उनको इच्छाशक्तिको कुरा हो ।
(दहालको फेसबूकबाट लिइएको हो)




