प्रकाशको अन्तर्मन्थन
● आनन्दराम पौडेल
मनमस्तिष्कमा उठेका भावतरङ्गहरुलाइ बाबुराम भट्टराईले जस्तो ट्वीटर र फेसबुकमा पितीर-पितीर चुहाइरहने बानि नारायणकाजी श्रेष्ठ (प्रकाश) को थिएन । नपोखेकोले असहमतिका गुम्फनहरु भित्र तह-तह भएर जमेका थिए । झुसिझुसीसम्म आइसकेकोले अलिकति असन्तुष्टीको लेख लेखेर चल्तिको राष्ट्रिय पत्रिकामा पठाएँ । त्यस्मा, देश र जनताप्रति जिम्मेवारीबोध तथा प्रष्ट सोचको अभाव, चरम सत्तालिप्सा र भ्रष्ट आचरण नै एनेकपा माओवादी पार्टी ओरालो लाग्नुका प्रमुख कारणहरु हुन् भनेर उल्लेख गरें । मतगणनाबाट प्रतिनिधि फिर्ता बोलाउने र सम्बिधानसभाको प्रकृयाबाटै बाहिरिने भनि हठात् गरिएको निर्णयले पार्टीको छविमा नकारात्मक असर परेको निस्कर्ष निकालें । यो निर्णयले गर्दा चुनाव जिते परिणाम स्वीकार्ने, हारे अस्वीकार गर्ने र सम्बिधानसभालाइ ओठेमहत्व मात्र दिने पार्टीको रुपमा एनेकपा माओवादीलाइ जनताले वुझ्ने भए भनेर निस्कर्ष पनि लेखें । प्रकाशनार्थ लेख पठाइसकेपछि हल्का महसुस हुनुपर्थ्यो, तर भएन । लेख लेख्दा बढी नै खट्किएका बिषयहरु हुलुक्-हुलुक् भएर प्रस्फुटन हुन खोजिरहेका थिए, तर लेख्ने आँट गरेनन् । लेखमा हाल्न नसकेपनि पार्टीलाइ बिद्रुप पार्ने तत्वहरु मनमनै खोतलखातल गरेर एक-एक केलाएँ ।
निर्वाचनपछि बसेको पार्टीको बैठकमा कमरेड प्रचण्डले, गिरिजालाइ राष्ट्रपति नबनाउनु, रुक्माङ्गदलाइ हटाउने निर्णय गर्नु, पाँचदिने आमहडताल गर्नु, पालुङटारमा जनविद्रोहको लाइनमा जाने निर्णय गर्नु, ड्यास माओवादीलाइ निर्वाचनबाहिर राख्नु र मध्यरातमा मतगणना प्रतिनिधि फिर्ता बोलाउनु हाम्रो गल्ति थियो भनि स्वीकारेका छन् । प्रचण्डले गल्ति कमजोरी स्वीकारेको देखिएपनि रोगको जरा अन्तै छ । खुलेर भन्न नसकेपनि सबैले प्रष्टसँग वुझेको ‘ओपेन सेक्रेट’ के होभने जातीय, साम्प्रदायिक राजनीतिलाइ पार्टीको कार्यनीति बनाएदेखि नै वर्गसङ्घर्ष ध्वस्त भएको छ र पार्टीले सैद्धान्तिक आधारभूमि छाडेको छ । विचार, दर्शन र सिद्धान्तको राजनीतिलाइ चटक्कै छाडेर पपुलिष्ट राजनीतिको यात्रामा बेपत्ता कुदेको छ ।
बरु, २०६७ पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट पारीत दस्तावेजमा प्याथोलोजि टेष्ट गरेरै पार्टीलाइ लागेको रोगको डाइग्नोसिस यसरी भएको थियो: (१) सर्वहारावादी निष्ठामा रहनेलाइ न प्रोत्साहन छ, न त गैह्र सर्वहारावादी आचरण गर्नेलाइ कार्यवाही नै । यस्ले गर्दा जनवाद अराजकतामा र केन्द्रीयता नोकरशाहीमा परिणत हुँदै गएका छन् । (२) पार्टीभित्र सम्पन्न र विपन्नका अलग-अलग वर्ग बन्न थालेका छन् । कतिपय पदाधिकारीहरु र टाठाबाठहरुको दिनप्रतिदिन वर्गउत्थान हुँदैजाने तथा, सिद्धान्तनिष्ठ इमान्दार कार्यकर्ताहरु उत्पीडन, अभाव र बेरोजगारीको शिकार बन्दै जाने गम्भीर स्थितिको विकास भैरहेको छ ।
यतिमात्र होइन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जवर्जस्तिका भयानक प्रवृत्तिहरुले टाउको उठाइरहेछन् । (३) सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको कमिटी प्रणाली भताभुङ्ग भएका छन् । कमिटीहरु यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन । माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ उछिनापाछिन र नोकरशाही प्रवृत्तिहरु मौलाउँदै गएका छन् ।
यहाँ आइपुगेर नारायणकाजी एकछिन टक्क रोकिए । गम्भीर भए र पुन सोच्न थाले । रोग पत्ता लागेर पनि उपचार नगर्ने होभने डाइग्नोसिस गर्नुको के अर्थ रह्यो र ? डाइग्नोसिस भैसकेको रोगको उपचार गर्नेतर्फ लागेको भए यो ३ बर्षमा पार्टी धेरै स्वस्थ भैसक्थ्यो । उपचारतर्फ नलाग्नुको कारणपनि सबैलाइ थाहा छ । विकृतिका श्रोत र सम्बाहकहरु अधिकांश प्रचण्डकै संरक्षणमा छन् । यसैको देखासिकी हिसिला यमीले पनि समूह बनाएरै उठ्तिपुठ्ति र असुलीको धन्दा अघि बढाइन् ।
सात बर्षयता विकास भएको नयाँ वर्गको बिषयमा नेवा राज्य समितिका विदुर खँड्काजीले सटीक विश्लेषण गरेका थिए । सिद्धान्त-स्वत्व वेच्न नसक्ने, जवर्जस्ती चन्दा नअसुल्ने, ठेकेदार-व्यापारी पट्याउन नजान्ने, मन्त्रालय नधाउने र यस्ता विविध कृत्यहरुबाट ‘दाई’हरुलाइ कमिसन दिलाउन र दारुपानीको ब्यबस्था गर्न नसक्ने कार्यकर्ताहरु डेटएक्स्पायर ठहरिएका छन् । सबथोक गर्न सक्ने चैतेहरु ‘दाई’ हरुको अन्तरङ्ग बन्न सफल छन् पार्टीमा विचारको साटो लुटको धन्दा चलाउन उनीहरुले यस्तो चक्र बनाएका छन्, जसलाइ छिचोलेर ‘दाई’हरुसम्म पुग्न पहिलोथरी कार्यकर्ताको बस र बलबुताले नभ्याउने भएको छ । विदुर खँड्काजीले देखाउनुभएको स्थितिलाइ पार्टीका धेरै घटनाले पुष्टी गरे ।
वाइसिएलको राष्ट्रिय सम्मेलनमा केन्द्रले प्रस्ताव गरेको प्यानललाइ सिङ्गै हलले अस्वीकार गरेको थियो। सिङ्गै हलले एउटै स्वर र एउटै आवाजबाट गरेको अस्वीकारलाइ जबर्जस्ती पेलेरै, किचेरै लगियो । पार्टीको महाधिवेशनमा भ्रष्टाचारीहरुलाइ कार्यवाही हुनुपर्छ भनेर प्रतिभाशाली युवाहरुले जोडदार आवाज घन्काएका थिए । त्यस्तो माग गर्ने निष्ठावान युवाहरुलाइ मार्शल लगाएर हलबाहिर गलहत्याइयो । स्वस्थ प्रतिस्पर्धाबाट केन्द्रीय कमिटी छानिनु पर्छ भन्ने मागलाइ लत्याइयो । हुकुमप्रमाङ्गी शैलीमा भ्रष्ट, छट्टु, चलाक र धूर्तहरुलाइ राखेर कमिटीहरु निर्माण गरियो ।
प्रकाशनार्थ पठाएको लेखमा यी यावत कर्तुतहरु उल्लेख गर्न नसकेपनि अन्तर्मन्थनबाट सर्लक्क निकालेपछि नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ जीलाइ आधा सञ्चो भयो । लामो सास फेरे र चिटिक्क परेर फुत्त निस्के ।




