नेपाली राजनितिलाई समाप्त पार्न कांग्रेस बाधक ?
● भरत दहाल
दलिय रूपमा मैले यो ठिक र त्यो बेठिक भन्दिन । मात्राको अन्तरका बाबजुद सबैले नकारात्मक भूमीका खेल्दै आएका छन् । तर विषयहरूलार्इ ग्रहण गर्ने तरिकाका बारेमा व्यक्तिहरूका बीचमा ठूलो भिन्नता छ । राजनीतिको पूर्ण ध्रुविकरण नहुँदासम्म यो विरोधाभाष कायम रहिरहने छ ।
सत्ताको राजनीतिमा सुशिल कोइराला विदेशिहरू (विशेषतः भारतीयहरू)बाट निरन्तर लखेटिंदै आएका छन् । एमाओवादी नेता बाबुरामले सुशिललार्इ कुनै हालतमा प्रम स्विकार नगर्ने भनि कुर्सि नछोडेको घटना धेरैलार्इ याद हुनुपर्छ । संविधानसभाको अघिल्लो चुनावपछि कांग्रेसलार्इ सरकार बनाउन नदिइएको कुरा पनि इतिहासबाट लुकेको छैन ।
यसका पछाडि दुई वटा कारणहरू छन् । ती मध्ये पहिलो कारण सुशिल नै हुन् । उनी भारतीयहरूबाट आज होइन, दशकैांदेखि लखेटिएका छन् । दोश्रो कारण हो, कांग्रेस नाम गरेको संस्था । यो संस्था केहि मूल्य र मान्यताहरू सहित राणाकालमैं स्थापना भएको हो । भारतको अंग्रेज विरोधि आन्दोलन समेतको राजनीतिक सँस्कारबाट गुज्रेका कारण यसभित्रका कैयैां मानिसहरूमा त्यसको र बाह्य संबन्धको गहिरो प्रभाव पनि छ । त्यसकारण कांग्रेसको अस्तित्व नेपाललार्इ पूर्ण तरलतामा लैजानका लागि बाधक बनिरहेको छ ।
जसरी नेपाललार्इ यसको इतिहासबाट कटाएर अस्तित्व समाप्त पार्नका लागि पृथ्वीनारायण शाहमाथि गलत ढंगले हमला भैरहेको छ र यहाँको साँस्कृतिक सभ्यताको अन्त्य गर्न धर्म निरपेक्षताको उपयोग गरिएको छ । त्यसैगरि नेपालको बचेखुचेको राजनीतिक मूल्यलार्इ पूर्ण रूपमा विसर्जन गरेर नेपाली समाजलार्इ केवल घाँस खानेहरूको भिडमा परिणत गर्नका लागि कांग्रेसलार्इ समाप्त पार्न खोजिएको छ । किनभने सानातिना छोडेर बाँकि सबै दलहरूलार्इ विदेशिहरूले संस्थागत रूपमैं खाइसकेका छन् ।
म वामपन्थी विचारको व्यक्ति हुँ । कांग्रेसको सँधैको आलोचक पनि । तर यतिबेलाका मेरा धारणाहरू देशको मुख हेरेर आएका छन् । मैले देशको षडयन्त्रकारी सत्ता राजनीतिभित्रको विषयवस्तुका आधारमा पक्षधरता देखाएको हुँ । म कांग्रेसको समग्र सिद्धान्तको आलोचक नै रहने छु । तर यतिबेला म यो कदापी चाहन्न कि खुंखार पार्टीवादी बनेर देखाउने नशामा लठ्ठीएर मैले मातृभूमीको घाँटी निमोठ्ने भूमिका निर्वाह गरूँ र मेरो दलसंग नमिल्ने बाहिरका सापेक्ष असल तत्वहरूको हत्या गरूँ ।
(दहाल राजनितिक विश्लेषक हुन् । भिन्न कोणबाट आएको नितान्त भिन्न खालको उनको यो प्रस्तुति उनको फेसबूकबाट लिइएको हो)




