ड्यास र क्यासबिच पार्टी एकिकरणको भित्रि रहस्य
माओवादी पार्टी फुटेको दुई वर्षपनि पुग्दा नपुग्दै एकताको प्रस्ताब ल्याए प्रचण्डले । चुनावमा होमिएको बेला चाहिने हो पार्टी ठूलो । तर चुनावका बेला ‘पार्टी फुटेर खासै फरक परेको छैन । हेर्नुहोला चुनावले देखाइहाल्छ नी परिणाम’ भनेका थिए प्रचण्डले । देख्न त देखियो । तर प्रचण्डले देखाउन खोजेको भन्दा अलग ढंगले । पार्टी फूटको परिणामले क्यास माओवादीलाई नराम्रोसित पराजित गरिदियो, निर्वाचनमा । त्यसपछिपनि क्यास माओवादीको लोकप्रियता घट्दो छ । उता ड्यास माओवादीहरु संगठन बिस्तारमा होमिएका छन् । तर पार्टी एकताको प्रस्ताब संभवत ड्यास माओवादीले अन्य साना पार्टीसित गर्न लागेको एकताको कारण पो हो कि ?
मणी थापाले नेत्रित्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापाले नेत्रित्व गरेको नेकपा एकिक्रितसित ड्यास माओवादीले एकिकरण गर्दै छ । त्यसको मनोबैज्ञानिक असर परिहाल्छ । कार्यकर्ता र जनतामा । पार्टी ठूलो नभएपनि । त्यति मात्रै होइन। माओवादीले मधेशको हिरो ठानेको मात्रिका यादवले पार्टी अध्यक्ष प्रचण्डलाई नै ‘गद्दार, जनयुद्दका उपलब्धिमाथि धोका दिएको धोजेबाज’ भन्दै सरापेर हिँडे । नेकपा माओवादी गठन गरे । अहिले ड्यास माओवादीले तिनै यादवको नेकपा माओवादीसितपनि एकताकालागि पहल गरिरहेको छ । ति तिनवटै पार्टी एकिक्रित हुँदा निकै प्रभाव पर्न सक्छ । किनकि मात्रिका यादवको प्रभाव मधेशमा राम्रो छ । अझैपनि । परी थापाको पार्टीपनि पश्चिम नेपालमा नराम्रो छैन ।
यता ड्यास माओवादी फुल्दै जाने । उता क्यास माओवादी सुक्दै जाने । संसदिय राजनितिमा घाटा ब्यहोरेको । त्यसलाई कसरि पूर्ती गर्ने ? चुनावमा कम आँकेपनि अहिले क्यास माओवादीले ड्यासलाइ कम आँकेको छैन । त्यहिँमाथि जनयुद्दमा खटिएका, ईम्मान्दार भनिएका धेरै नेता र कार्यकर्ता ड्यासतिर छन् भनिन्छ । त्यसैले माओवादी अध्यक्ष प्रचण्ड एकताकालागि लालायित भएका हुन सक्छन् ।
उनको जालो कार्यकर्ता अल्झाउनेपनि हुन सक्छ । झिनामसिना कम्युनिष्ट पार्टी मिलेर ड्यास ठूलो हुँदा आफ्ना कार्यकर्तापनि यता तानिन सक्छन् । ‘पार्टी एकताको प्रस्ताब राखेर जालो फालिदिँदा ‘ए एकता नै हुँदै छ । किन हतारिएर जाने अहिलेनै ?’ भन्ने मनोबैज्ञानिक प्रभाव कार्यकर्तामा पर्न सक्छ भन्ने आँकलन प्रचण्डको हुन सक्छ ।
प्रचण्डलाइ अर्को यथार्थतापनि थाह छ । त्यो हो, मणी थापा र मात्रिका यादव प्रचण्डको हावापनि वरिपरि नआओस भन्ने चाहन्छन् । मात्रिका यादव त झन प्रचण्डको नाम सुन्दापनि उफ्रिन्छन् रिसले । तत्कालै ‘गदार’ भनेर कुर्लिहाल्छन् । क्यास माओवादीसित एकता हुन्छ भन्ने सन्देश फालिदिए ति पार्टीलाई ड्याससित एकताबाट रोक्न सकिन्छ भन्ने प्रचण्डको चलाखी हुन सक्छ ।
बाहिर जे गफ लगाएपनि भित्र क्यास माओवादी संकटमा छ । प्रचण्डालाई साथ दिने पहिलेका धेरै नेता क्यासतिर छन् । पार्टी फूटको आरोप अधिकांश प्रचण्डकै नेत्रित्वमाथि लागेको छ । साथ दिने नेता स्वार्थी, सुबिधाभोगी छन् । धेरैले निर्वाचनमा हारेकापनि छन् । स्थानिय स्तरमा अकर्यकर्ता भाँडिएका छन् । निरास छन् । अर्को तिर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको अलग र बलियो गूटले पेलिरहेको छ । संसदिय राजनितिमा हार भएको छ । यहि मेसोमा नेपाली कांग्रेस र एमालेले पेलेका छन् । मधेशबादी दलसित जतिसुकै गला जोडेपनि तिनले छिन छिनमै घात गर्छन् । एउटा मन्त्री पदमै तिनले भएको सहमती रातारात फेरेर समिकरण बदल्छन् । कांगेस वा एमाले जो सरकारमा गएपनि केहि सिट, सत्ता पाउनासाथ थाल्छन् प्रचण्डलाइ सराप्न । यस्तो बेला प्रचण्डलाई केहि नगरि भएकै छैन । आफ्नो पद, छबी र पार्टी जोगाउनपनि एकताको चारो मिल्काउनु परेको छ ।
त्यसो त, पार्टी फुटेपछि ड्यास माओवादीलेपनि ठूलो काम केहि गरेर देखाउन सकेको छैन । बिद्रोहको लाईन पास गरेपनि तत्कालै बिद्रोह गर्ने अवस्था, वातावरण छैन भन्ने प्रचण्डको बुझाई हुन सक्छ । यस्तो अवस्थामा पार्टी एकिकरण कुनै तरिकाले भयो भने फेरि प्रचण्डको नेत्रित्व केहि वर्षलाई सुरक्षित हुन्छ । किनभने एकिकरणको पहल र नेत्रित्व गरेकामा जस पाइन्छ ।
यहि संकटका बेला पार्टी महाधुबेशनको बहस चर्काएका छन् बाबुराम भट्टराईले । चौतर्फी आक्रमण, आलोचना र असफल भएका बेला महाधिबेशनमा गए प्रचण्डको हालत के होला ? यो संकट नछोपी, छामछुम, टालटुल नपारि प्रचण्ड कुनै हालतमा महाधेबेशनमा जाने मनशायमा छैनन् । यसलाइ टार्ने गतिलो वाँणपनि एकताको चारो हो । एकता हुँदै छ । छलफल, बहस चलिरहेको छ । ढिलो चाँडो एकता हुन्छ ड्यास माओवादीसित भनेर छ्याप्छ्याप्ती पार्दिए महाधिबेशनको आवाजलाई मत्थर पार्न सजिलो हुन्छ । किनभने महाधिबेशन अहिले किन गर्ने ? कुरौं न । पार्टी एकता भयो भने महाधिबेशन गर्नुपर्छ । पटक पटक महाधिबेशन गर्ने कुरो हुन्न । यहि बहानामापनि महाधिबेशन टार्न सकिने भएकोलेपनि प्रचण्डले एकताको प्रस्ताव अघि सारेका हुन सक्छन् ।
ड्यास माओवादीमापनि पार्टी फूटको औचित्य साबित गर्न कार्यकर्ता तहबाट दह्रो दबाब छ । पार्टीले कि त संसदिय राजनितिमा अग्रसर हुनुपर्यो । कि क्रान्तिकारी दिशामा अगाडि बढ्नुपर्यो भन्ने आवाज उठेको छ । एकताको चारो यस्सो मिल्काइदिए ड्यास माओवादीमापनि त्यो बहसका रुपमा छिरोस् । पार्टीहरुमा फुट पार्न सिपालु प्रचण्डले त्यहाँपनि क्यास माओवादीसित एकिकरणका लागि पहल गर्नुपर्छ भन्ने बहस र मतभिन्नता तिब्र होस् भन्ने चाहेका हुन सक्छन् ।
मुख्य उद्देश्य त महाधिबेशनको मागलाई किनारा लगाउने । नयाँ पार्टीहरुसित ड्यासको एकतालाई कम्तिमा तत्कालकालागि असफल पार्ने । तत्कालको संकट टार्ने मूल उद्देश्यले प्रचण्डको प्रस्ताव आएको देखिन्छ, ड्याससितको एकिकरणको प्रस्ताव । तर उनको प्रस्तावले ड्यास माओवादीमा खासै प्रभाव पारेको भने देखिन्न । ड्यास माओवादीको ध्यानपनि पार्टी निर्माणमै देखिन्छ । ड्यास माओवादीका युवा नेता लेखनाथ न्यौपानेले भनिपनि सकेका छन् ‘अहिले हाम्रो पार्टीको ध्यान पार्टी निर्माण र सुद्रिढिकरण बाहेक अन्यत्र छैन ।’





