अबको राजनीतिको यो जटिलता
● पदम गौतम / डेनमार्क
नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का बिबिध बिषयमा पछिल्ला केही साता यता नेपाली मिडियाले बिभिन्न कुरा लेखिरहेका छन् । यस पछिल्लो समयमा आएका बिभिन्न कुरामध्ये धेरैजसो त उनी र उनको पार्टीको विपक्षमा छन् । यहाँनेर मैले प्रचण्डको पक्ष वा समर्थनमा कुरा उठाउन खोजेको होइन, बरु उनी कमजोर र राजनीतिमा भूमिकाबिहीन भएपछिको संभावित राजनीतिको अनुमान गर्ने प्रयास गरेको छु ।
प्रचण्ड नेपाली राजनीतिमा अलिकति साहस, अलिकति दुस्साहस, अलिकति राजनीतिक गणित र थोरै वैचारिक आधारले अघि बढेका नेता हुन् । अझ उनले अलिक हतारमा नै तत्कालीन शक्तिहरूको खुलेर आलोचना गर्दै हतियार उठाएका थिए । सिंगो विश्वलाई नै चकित पारिदिने गरी उनको चलखेल राजनीतिले सफलता पाउँदै गयो । चरम असफलता र मूख्र्याइंको राजनीति गरिरहेका संसदीय दलले आफ्नै कमजोरीमा माओवादीले खेल्न थालेको बुझ्नै पाएनन् । दुई मुख्य दल बत्तीका पुतलीझैं माओवादी कूटनीतिमा अल्झिँदै गए । अन्ततः रातारात मुलुकमा राजा बनेका ज्ञानेन्द्रको चरम बेबकुबीका कारण प्रचण्ड नेपाली राजनीतिमा शक्तिका रूपमा स्थापित भए । ज्ञानेन्द्रकै पागलपनका कारण विश्वमै कतै नहुने संसदीय पार्टी र सशस्त्र दल मिलेर उन्नत लोकतन्त्रको माग गर्दै संयुक्त आन्दोलन गर्ने वातावरण ज्ञानेन्द्रले नै मिलाएका थिए ।
यससँगै सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा सम्मानजनक ठाउँ खोजिरहेको माओवादीलाई त्यो वातावरण चाहीँ कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले मिलाइदिए । फलतः तत्कालीन माओवादी पार्टी कतिसम्म ठूलो भयो भने, प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्राप्त गरेको कुल सिट संख्या जोड्दा पनि माओवादी बराबरको हैसियत पुग्दैनथ्यो । यस जनमतले पनि सत्तामा रहँदा वा नरहेकै समयमा पनि नेपाली राजनीतिमा एमाओवादी पार्टी र अध्यक्ष प्रचण्डको प्रमुख भूमिका निकै माथि रह्यो । यो त बाहिर देखिने शक्ति र पहुँचको कुरा भयो । यस बाहेक माओवादीले २०५२ सालमा जनयुद्ध शुरू गर्नेबित्तिकै प्रचण्ड एक अर्थमा शक्तिमा नै थिए । युद्ध हाँक्ने व्यक्ति र पार्टीका समस्यालाई बिर्सने हो भने प्रचण्ड पार्टीभित्र डा. बाबुराम भट्टराईको क्रेज र मोहन वैद्यको दर्शनबीच अडिएर नेता भए । नयाँ पुस्ताको ऊर्जा र आफैंले उठाएको नाराले पनि उनलाई साथ दिइरहेको थियो । जनयुद्ध शुरु भएको केही महिनापछि देखि नै मुलुकका महत्वपूर्ण निर्णयहरू माओवादी बिषयलाई केन्द्रमा राखेर गरिन्थे । बाहिर बाहिर माओवादी एक महिनामा सकिन्छ भनिए पनि भित्र चाहीँ माओवादी के हो र कस्तो छ भन्ने कसैले थाहा पाएको थिएन । राज्य कतिसम्म बेकुब व्यक्तिहरूको हातमा थियो भन्ने कुरा बुझ्नका लागि यो पंत्रिलकार एउटा उदाहरण यहाँ पेस गर्न चाहन्छ । दरबार हत्याकाण्डको केही साता अघि रामचन्द्र पौडेल नामका एकजना मान्छे उपप्रधानमन्त्री र गृहमन्त्री थिए । सार्वजनिक रूपमै उनले भने–‘प्रचण्ड नाम गरेको कुनै मान्छे नै छैन । यहाँका केही मानवअधिकारवादीले प्रचण्ड बनेर मान्छे मार्ने काम गरिरहेका छन् ।’ यो अभिव्यक्तिको केही दिनपछि राज्यले पद्मरत्न तुलाधर र दमननाथ ढुंगानामाथि निगरानी ग¥यो, अनेक केरकार गरिए र यी सहित अरूलाई पछिसम्म दुःख दिइयो ।
अहिले प्रचण्डको राजनीतिक हैसियत कमजोर भएसँगै नेपाली राजनीतिमा उनका सबै विपक्षीहरू वाहवाहीको तालि बजाइरहेका छन् । तर उनको राजनीतिक हैसियत ओरालो लागे पनि नेपाली राजनीति र शक्तिमा उनको अभाव भने खट्किइरहने देखिन्छ । चामत्कारिक क्षमताको भ्रम हटे पनि प्रचण्डको राजनीतिक शक्ति घट्नु भनेको उनले बोकेका दर्जनौं नयाँ पुराना मुद्दा राष्ट्रिय राजनीतिमा कमजोर हुनु हो । यसको अर्थ उनको पक्षमा रहेका र उनलाई अझै पनि नेता मान्ने ठूलो समूह राष्ट्रिय राजनीतिको मूलधारबाट टाढा हुनु हो । यो समूह मुलुकको राजनीतिबाट निराश बन्दै जानु अर्को विद्रोह चाहने शक्तिका लागि आधार तयार हुनु पनि हो । त्यस अवस्थामा अहिले मूलधारका राजनीतिक शक्तिलाई प्रचण्ड र उनको पार्टीलाई मात्र सम्बोधन गरेर हुने गरेका अस्थायी समाधान अब निकै जटिल बन्ने पक्का छ । अहिलेसम्म मुलुकमा उनकै पार्टीबाट विभाजित नेकपा–माओवादी मात्र विद्रोहमा लालायित देखिएको छ । तर अबको जटिल राजनीति त्यतिमा मात्र सीमित हुने देखिँदैन ।
निर्वाचनमा मतबाट अस्वीकृत शक्तिहरू बिभिन्न मागका साथ सडक बन्द गर्दै जनताको दैनिक जीवनमाथि खेल्न थाल्नेछन् । जातीय र क्षेत्रीय नारा लगाएर बिगतमा शक्ति आर्जन गरेको ठूलो जमात अहिले सत्ताबाट मात्र हैन, लगभग मुलुकको राजनीतिको केन्द्रबाट टाढा पुगेको छ । यस अवस्थामा संविधान निर्माणमा नै बाधा पुग्छ । प्राबिधिक रूपले टुंगिइसकेको शान्ति प्रक्रिया नाम मात्रको रहने खतरा बढ्छ । यसो गर्न र गराउन नेपालमा सधैं खेलिरहने भारतको चाहना पनि छ भन्ने कुरा मधेश आन्दोलनमा उसको खुला संलग्नताले पुष्टि गर्छ ।
अहिलेका मुख्य दल बनेका नेपाली कांग्रेस र नेकपा एमालेले आफैं कहिल्यै कुरा बुझ्दैनन् । सामान्य राजनीतिक कुरा बुझाउनका लागि उनीहरूलाई कि त ज्ञानेन्द्र शैलीको प्रहार चाहिन्छ, कि त माओवादीले बिगतमा जस्तै कार्यकर्तालाई गाउँमै बस्न नदिने अवस्था सिर्जना हुनुपर्छ । सिंगो संसारमा कम्युनिज्म मात्र होइन, बामपन्थी पार्टी नै संकटमा परिरहेको समयमा पेरुको शैलीमा प्रचण्डले बिद्रोहको नेतृत्व गरेका थिए । अनेक तिकडम र षड्यन्त्रका साथ नेपाललाई तल पार्न खोजिरहेको भारत, सत्ता टिकाउनका लागि जे पनि गर्न पछि नपर्ने तत्कालीन कांग्रेस, सैनिक शक्ति हातमा लिएर बसिरहेको दरबार र चीनतिर आँखा गाडेर नेपालमा बलियो जरा गाडेको अमेरिका लगायतका शक्ति मुलुकमा विद्यमान थिए । यी सबैलाई बिभिन्न समयमा बिभिन्न किसिमले छक्याएर छापामार युद्धलाई उचाइमा पु¥याउनु चानेचुने कुरा थिएन । प्रचण्डकै कारण जनयुद्धको समय र त्यसपछि माओवादीकै जगमा जन्मेका उग्रवादी मुद्दाहरू धेरै सिथिल पनि भएका थिए । दल अलग भए पनि पछिल्लो समयमा माओवादीलाई माउ पार्टी मानेर उसको पदचिन्हमा हिँडेका समूह र साना दलहरू अहिले चुनावमा पराजित भएका छन् । तर ती समाप्त भएका चाहीँ छैनन् । वैद्य समूह कमजोर भएका कारण स्वयम् माओवादी कार्यकर्ता र वास्तविक परिवर्तनका पक्षपातीहरू पार्टी भित्र र बाहिर चुप लागेर बस्नै छैनन् । प्रचण्डले जगाएको महत्वाकांक्षा र उनकै नेतृत्वले देखाएको सपना बिर्सेर सबै चेतनशील नेपाली चुप लागेर बस्दैनन् । अहिलेकै स्थितिमा त्यो उफान आउनु भनेको असंगठित शक्तिले आफ्ना मुद्दा बोकेर निकास खोज्नु हो । नेपाल जस्तो मुलुकले यस अवस्थाको मूल्य निकै महँगोसँग चुकाउनु पर्छ ।
पछिल्लो समयमा उदाएको प्रतिगामी शक्ति अर्थात् राप्रपा नेपालले यसको संकेत दिइसकेको छ । सो पार्टीका नेता कमल थापाले भर्खरै भनेका छन्–‘ पुरानो संविधानसभाका एउटै निर्णय पनि लागु गर्न खोजेमा हामी संघर्ष गर्छौं ।’ यसको गम्भीरता बुझेर माओवादीले आफैं बेवास्ता गरेका जनताका वास्तविक मुद्दालाई सम्बोधन गर्ने कि सधैं प्रचण्डको हारमा ताली पिटेर बस्ने ? कांग्रेस र एमालेमा नेताहरूले यति सोचे कसो होला ?
(गौतम कवि तथा स्वतन्त्र लेखक हुन्)




