यता-न-उता
● आनन्दराम पौडेल
पार्टीले निर्वाचनको जिम्मा दिएकोले निर्वाचनअघि मोहन ज्ञवालीजीलाइ सास फेर्ने फुर्सद थिएन। दशैंतिहार समेत् मनाउन पाएनन्। कास्कीमा यस्पाली निर्वाचन निकै प्रतिस्पर्द्धात्मक रह्यो। त्यसैले पनि दौडधुप अलि बढी पर्न गयो। निर्वाचन सकिएर प्रत्यक्षको परिणाम आएपछि बल्ल सास फेर्ने मौका पाएका हुन्। आज घरमा अनुष्ठान भएकोले नाताकुटुम्ब र साथिभाइ सबै घरमा आएका थिए। आफूले जीवनको लामो कालखण्ड बिताएको स्कुल, भद्रकाली माध्यमिक स्कुल कास्कीका शिक्षकहरु पनि आएका थिए। अनुष्ठान सकिएपछि साथिहरुले पोखरा वजार लैजान निकै कोशिस गरे। तर, मोहनजीले नजाने नै जिद्दी गरेर बसे । सबैलाइ बिदा गर्दा वेलुकाको ४ वजिसकेको थियो । पोखरामा यस्पालि जाडो अलि बढी नै थियो । झन् आज साँझ नपर्दै सिरेटो चल्न थालेकोले मोहनजी माथि उक्लेर सिरकभित्र गुटमुटिएर सुते । निन्द्रा पटक्कै थिएन । आफ्नै अन्तरङ्ग संसारभित्र सर्लक्क प्रवेश गरे, र सोचमग्न भए । सोचे, “आज घरमा आउने साथिहरुमध्ये एकजना मसँगै स्थायी हुने शिक्षकपनि थिए ।
प्रसङ्गबस अब डेढ बर्षपछि तिनको पेन्सन पाक्ने कुरा आयो। डेढबर्षपछि पेन्सन पाक्ने भनेपछि मेरी श्रीमतिले प्रश्नवाचक अनुहार बनाएर मतिर गहिरिएर हेरी । पेन्सन हुनैलागेको सरकारी स्थायी जागिरबाट एक्कासि राजिनामा दिएको मेरी श्रीमतिलाइ पटक्कै चित्त वुझेको थिएन। परिवार, छोराछोरी भएको व्यक्तिले यसरी हावामा कुद्नुहुँदैन भनिरहन्थी । उसले त सम्झाएकी हो । शिक्षकले त पढाउनु पो पर्छ, पढाउन छाडेर सधैं पार्टीकाममा कुदिरहनु हुन्छ, तलब खाएको पच्दैन है भन्थी । उसलाइ मेरो आन्तरिक कुरो थाहा थिएन । मैले स्थायी शिक्षकको नियुक्ती पाउनुमा मेरो योग्यता र क्षमताको कारणले कति र गोविन्दराज जोशीजीहरुको विशेष कृपा र करुणा कति थियो, उस्लाइ थाहा हुने कुरापनि भएन । उस्को पनि कुनै दोष छैन । सरकारी स्थायी शिक्षक भएको व्यक्तिले पढाउन सक्छ होला भनेर उस्ले मात्र हैन जस्लेपनि सोच्छ । पढाउनेतिर नलागेपनि बिद्यालयदेखि जिल्ला शिक्षा कार्यालयसम्म मेरो हाकधाक चल्थ्यो ।
भद्रकाली माध्यमिक बिद्यालयमा मात्रै हैन, वरपरका अरु स्कुलमा समेत् मेरो प्रभाव जमेको थियो । मेरो यो हालिमुहाली अरुको लागि इर्ष्यालाग्दो थियो । अध्यापन कर्मपटी पो लागिन त, पार्टी काममा त दिलोज्यानले खटेकै हुँ । कास्की जिल्लामा नेपाली कांग्रेस पार्टीको हरेक निर्णयमा मेरो छाया परेकै हुन्थ्यो । पार्टीमा मेरो कृयाशीलतालाइ हेरेरै यस्पालि निर्वाचनमा मलाइ समानुपातिक सूचीमा राखेका थिए । समानुपातिक सूचीमा परेपछि सरकारी जागिरबाट राजिनामा दिनुपर्ने नियम रहेछ। यो थाहा पाएकोभए यस्पालि समानुपातिक सूचीमा नराख्नुहोस् भनेर रोक्नेथिएँ । अर्को निर्वाचन सम्ममा त मेरो पेन्सन भैहाल्थ्यो । समानुपातिक सूची निर्वाचन आयोगमा वुझाएपछि मात्र राजिनामाको प्रसङ्ग चल्यो। म त एकदम चेपुवामा परें। केन्द्रीय नेताहरुसँग सम्पर्क गरेर सोधेको पनि हुँ । तपाईं सभासद हुने पक्कापक्की छ, ढुक्क भएर राजिनामा दिनुहोस् भनेर आश्वस्त पारे ।
मेरी श्रीमतिले त, नेपालका राजनीतिक नेताको भर हुँदैन भनेकी थिइन् । यता डेढ बर्षपछि पेन्सन पाक्ने जागिर छाडें, उता सभासद पनि बनाएनन्। अघि माथि उक्लन लाग्दा, “आफ्नो कर्तव्य, जिम्मेवारी भुलेर बाटोकुबाटो हिंड्नेहरु कहींपनि पुग्दैनन्” भनिसकी । उस्ले भनेजस्तै भैरहेछ । यता जागिर गयो, उता पार्टीको चालापनि त्यस्तै छ । नेपाली कांग्रेस पार्टी नभएर मोर्चा भएको छ, जस्मा दुइटा समूह प्यारालाल चलिरहेको छ । नदीको दुई किनारा जस्ता सुशिल कोराला समूह थोरै ठूलो र शेरबहादुर देउबा समूह थोरै सानो मात्र देखिन्छ । कि त सुशील समूहका मान्छे छन् अथवा शेरबहादुरका मान्छे छन्। नेपाली कांग्रेसका त एउटै भेटिंदैनन् ।”
ढोका घरक्क उघ्रेको आवाजले मोहन ज्ञवालीजीको तन्द्रा टुट्यो । श्रीमति आउँदै रहिछन् । श्रीमतिसँग बोल्न त परको कुरा आँखा जुधाउने हिम्मत समेत् भएन। टाउकासम्मै सिरकले ढाकेर निदाएको अभिनय गरे ।




