खुसी हुनै पर्ने कारणबारे बन्द कोठामा खुलासा
‘चीनले अडान लिएर नरोकेको भए हामीलाई आतंककारी घोषणा गरिसक्थे’ माओवादी अध्यक्ष मोहन वैद्य‘किरण’ले विद्यार्थीहरूको भेलामा उपस्थित कार्यकर्तालाई स्तब्ध पार्दै खुलासा गरे, ‘चिनियाँ प्रतिनिधिहरूसँग लगातारको भेटघाट र कुराकानीबाट यो कुरा थाहा पाएपछि हामी प्रचण्ड–बाबुराम समूहप्रति आक्रामक भएका हौँ ।’
‘एमाओवादी र प्रचण्डहरूले हार्दा हामीले खुसियाली मनाउँदै बसेर हुन्छ ?’ किरणलाई कार्यकर्ताले सोधेका थिए । किरणले, ‘वर्गशत्रु हार्दा खुसी हुनुपर्छ । खुसियाली मनाउनुपर्छ’ भन्दै गत साता ललितपुरको कुपण्डोलमा सम्पन्न विद्यार्थी फ्र्याक्सन भेलालाई सम्बोधन गर्दै भने, ‘हिजोसँगै भए पनि प्रचण्ड–बाबुराम समूह नेपाली क्रान्तिको सबैभन्दा गद्धार, धोकेबाज र प्रधान शत्रुका रूपमा रूपान्तरण भएको छ । उनीहरू अमेरिकी र भारतीयको योजनामा हामीलाई आतंककारी घोषणा गर्ने तयारीमा थिए । हारेर मात्रै हो, तिनले जितेको भए अहिले तपाईं हामी यसरी भेला भएर बोल्न पाउने अवस्थामा हुन्थेनौँ ।’
संसारभरको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको इतिहासमा एकपटक हतियार उठाएको या क्रान्तिमा सामेल भएको समूह अर्को चरणमा क्रान्तिकारीविरुद्ध नांगो रूपमा उत्रने गरेको र नेपालमा पनि प्रचण्ड–बाबुराम समूहले त्यही घटनाको पुनरावृत्ति गराएको बताएका उनले प्रचण्डहरू भारतीय, युरोपियन र अमेरिकीसामु विश्वसनीय बन्न क्रान्तिकारीविरुद्ध मोर्चाबन्दीको नेतृत्व गर्न पुगेको बताए ।
‘हो, उनीहरू अमेरिकी र भारतीयसँग मिलेर हामीलाई आतंककारी घोषणा गरी दमनको अन्तिम तयारीमा थिए । युरोपियन युनियनसँग चुनावअघिको भेटमा उनीहरूले यस्तो संकेत गरेका हुन् । चिनियाँ प्रतिनिधिमण्डलसँगको हाम्रो दोहोरो भेटमा यो कुरा प्रस्ट भयो । चीनमा हामीले गरेको भ्रमण चुनावअघिको चिनियाँ सक्रियता र दबाबले तत्काल अमेरिकी–भारतीय योजना कार्यान्वयन हुन पाएन । प्रचण्डहरूले जितेको भए चुनावमा हिंसा गरेको नाममा हामीलाई आतंककारी घोषणा गरेर जाने भित्री योजना बनाएका थिए । त्यहीअनुसार एमाओवादीका नेताहरू हाम्रो बन्दविरुद्ध मोटरसाइकल र्याली निकाली सोहीअनुसार सार्वजनिक गरिरहेका थिए । उनीहरूले हार्दा मात्रै तपार्इं–हामी यसरी भेला भएर भेटघाट गर्न पाएका छौँ, जितेको भए चरम फासीवादी गिरोहमा पतन भएर हामीमाथि दमन गर्थे । त्यसैले उनीहरूले हार्नु भनेको हाम्रो वर्गदुस्मनले हार्नु हो । वर्गदुस्मनको हारमा रुवाबासी होइन खुसियाली मनाउने हो ।’
एमाओवादीले जितेको भए पार्टी फुट्दा केही असर नपरेको जस्ता कुरा गरेर प्रचण्डले हाम्रो अवमूल्यन गर्थे भन्दै उनले विद्यार्थीलाई बताए, ‘पार्टी जीवनका लागि १८ महिना ठूलो कुरा होइन तर यही छोटो अवधिमा हामीले प्रचण्डहरूको अवसरवादितालाई नंग्याएर क्रान्तिकारी आन्दोलनको विचार रक्षाको काम सफल पारेका छौँ ।’
जनयुद्धको जगमा जनविद्रोहको पार्टीलाइन कार्यान्वयन गर्न पार्टीभित्र सुदृढ एकता कायम गर्नुपर्ने किरणको भनाइ थियो । विद्यार्थी भेलाले आर्थिक तथा नैतिक चरित्र पतन भएका कारण महासचिव कमल शाहीमाथिको कारबाहीलाई अनुमोदन गर्दै महासचिवमा रत्न ढकाल र सचिवहरूमा खगेश्वर केसी, वीरेन्द्र बस्नेत, उत्तम अधिकारी, सेवन्त भण्डारीलगायतलाई चयन गरेको छ भने कोषाध्यक्षमा लालबहादुर तामाङ आएका छन् ।
(आज २०७० साल पुष २४ गतेको जन आस्था साप्ताहिकबाट)




