आफैंभित्र वर्गशत्रु

आनन्दराम पौडेल 

anandaram-paudel-33434सधैंझैं यसपालि पनि महिला हिंसाविरुद्ध १५ दिने अभियान शुरु भयो । अमूर्त नारा मात्र घन्काउनुभन्दा यशोदाजीले महिलामाथि भएका हिंसा, अत्याचार र पक्षपातका बिबरण सङ्कलन गर्ने निधो गरिन् । बिवरण सङ्कलन गर्न सोधखोज गर्दै जाँदा तामाकोसी सहकारी अस्पताल पुगिन् । त्यहाँ एउटी बृद्धासँग भेट भयो । रामेछाप, सुनारपानीकी मसिना सार्की रहिछन् । ७१ बर्षकी भइछन् । भनिन्, “बुहारी टीकाले निहुँ खोजि-खोजि झगडा गर्न थालेकी थिइन् ।

पोहोरसाल पुस मसान्तको साँझ बिछ्यौनामा पल्टेकी मात्र थिएँ, सुम्ला उठ्नेगरी लठ्ठीले हानिन् । त्यतिले पनि रिस मरेनछ, बञ्चरोले प्रहार गरिन् । भलभलि रगत बग्न थालेपछि भागिछ । छिमेकीहरुले यहाँ ल्याइदिए । डा. सुमन कर्माचार्यको कृपाले वाँचें ।” यति बिबरण टिपेर यशोदाजी रविभवन छेउको आमाघर पुगिन् । 

सधैंझैं दिलशोभाजी अति व्यस्त हुनुहुन्थ्यो । ९० बर्षकी बृद्धा सरस्वती थापासँग भेट भयो । भनिन्, “नयाँ बानेश्वरमा लोग्नेले जोडिदिएको घर आफ्नै नाममा थियो । घरखर्च चल्ने भाडा आउँथ्यो । छोरो विदेशीहरुको अफिसमा काम गर्छ । बुहारीले स्कूल चलाएकी छ । छोराबुहारीको आ-आफ्नै कार छ । कुनि के कारोबार गर्नुप-यो भनेर यिनीहरुले घर आफ्नो नाममा गराए । अड्डामा गएर सहीछाप गरेको दिनदेखि कुकूरलाइ जतिपनि इज्जत गरेनन् । खायो-खाएन सोद्धैनन् । म-योवाँच्यो हेर्दैनन् । पोहोर मङ्सीर १६ गते बुहारीले कारमा राखेर ल्याइन् र अनामनगरमा ओह्रालिदिएर हिंडिन् । पोलिक्लिनिक नजिकै फलफूल पसलकी महिलाले ट्याक्सीमा राखेर यहाँ ल्याइदिएकी हुन् ।”

दिलशोभाजीको आमाघरबाट यशोदाजी नयाँसडक आउँदैथिइन् । जुद्ध शमशेरको शालीक अगाडी मागेर बसेकी बृद्धा भेटिइन् । काभ्रेकी मिठु दमाई रहिछन् । एकछिन भलाकुसारी गरेपछि भनिन्, “लोग्नेको राम्रो कमाइ थियो । काभ्रेमा पानी लाग्ने, उब्जनी हुने खेत जोडेका थिए । उहाँको मृत्युपछि छोराहरु काठमाडौं बस्नथाले । काठमाडौंमै घर किन्ने भन्नथाले । काभ्रेमा भएको खेतबारी बेचेर घर किन्न रकम जुटाइदिएँ । स्वयम्भूमा तीनतले घर किने । माथिल्लो तल्लामा आफू बसेर बाँकि बहालमा लगाएका छन् । मेरो नाममा भएको खेत बेचेर आफ्नो नाममा घर किनेको दिनदेखि बुहारी मसँग निहुँ खोज्न र झगडा गर्न थालिन् । सधैं अपमानित भएर कति बस्नु भनेर यहाँ यसरी जीविका चलाइरहेछु ।”

एकपछि अर्को भेटिएका यी बृद्धाहरुको दर्दनाक कथा सुनेपछि यशोदाजीलाइ अरु थप बिबरण टिप्ने जाँगर रहेन । यशोदाजी किशोर वयदेखि नै महिला हक अधिकारको लागि लड्दैआएकी एक्टिभिष्ट थिइन् । यस अघिसम्म, सासुले बुहारीमाथि र पुरुषले महिलामाथि अत्याचार गर्छन् भन्ने उनको धारणा थियो । यी घटनाले उनको धारणा बदल्यो । महिला दबाब समूहको अफिसमा पुगुञ्जेल महिलामाथि हिंसा र अत्याचार गर्ने महिला नै हुँदारहेछन् र संख्यामा झन् बढी रहेछ भन्ने पक्का निस्कर्षमा पुगिसकेकी थिइन् ।

तपाइँको प्रतिक्रिया