बिदेशमापनि माओवादी पत्तासाफ
उता हेलिकोप्टर मोहले प्रचण्ड कामरेड आफैं काठमाडौंबाट पत्तासाफ भए । पार्टी देशैभरिबाट पत्तासाफ भयो । यसबाट पाठ सिक्नु त कता कता तिनै प्रचण्ड कामरेडको अहं देखाउन खोज्दा, निति र बिचार ढुलमुलिँदा माओवादीहरु बिदेशमापनि पत्ता साफ बनेका छन् । युरोपभरि संगठन धान्नै नसक्नेगरि कार्यकर्ता र स्थानिय नेताको बगाल निस्किएझैं गत साल माओवादीका प्रचण्ड, राम कार्की, युवराज चौलागाई लगायतका नेता युरोप आएका थिए । विभिन्न देश चहारेका थिए । तर अहिले युरोपको राजधानी भनिने बेल्जियममै माओवादीको हैशियत लाजैमर्नु भएको छ । कार्यकर्ता र समर्थक त परै जाओस् राज्यसमिति, कार्य समितिकै सदस्यहरु वार्षिक साधारण सभामा उपस्थित भएनन् । फट्टफुट्ट उपस्थित भएकापनि बिचैबाट उठेर लुरुलुरु घरतिर लागे ।
एकिक्रित नेकपा (माओवादी) को जनवर्गिय संगठन नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमको वार्षिक साधारण सभा हिजो क्रिसमसका दिन राखिएको थियो । बेल्जियमको आन्तर्पेन शहरमा । नेपालबाट एकिक्रित नेकपा माओवादीका बिदेश संगठन प्रमुख दिनानाथ शर्मापनि आएका थिए । उनी प्रमुख अतिथि थिए ।
गत साल पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ल्याएको थियो जन प्रगतिशिल मञ्चले । पार्टी अध्यक्ष प्रचण्डलाई बेल्जियम ल्याएर तडगभडक देखाएका थिए । प्रचण्डलाई साक्षी राखेर बन्द शेशन गरेका । फार्तीफूर्ती । बोलीमा शान । हिँडाईमा तमक झमक । प्रस्तुतीमा बडप्पन । सबै त्यहाँका नेपालीलाई देखाएका । चर्कै थियो । हेर्न लायकको बनाएका थिए । प्रचण्डलाइ छाम्न, नजिकबाट हेर्न र उनका कुरा सुन्नपनि हजारौं आउँछन् । अरु पार्टीका लुरुरु आफ्नो पार्टीमा प्रवेश गर्छन् भन्ने ठानेर एक हजार मानिस अटाउने त हलनै लिएका थिए ।
नेपालमा हेलिकोप्टर हेर्न आएकालाई समर्थक र जनताले पत्याएको, समर्थन गरेको भनेर जसरि माओवादी गलत ब्याख्यामा मख्ख परे । हालत त्यस्तै भयो यता बेल्जियममापनि । प्रचण्ड आउँदा चार पाँच सय मानिस आएका । यसपाली यसैपनि हाम्रो संगठन भब्य छ । कार्यकर्ता टन्न छन् भन्ने सोचे । संगठन कमजोर भएको जानकारि त रहेछ । त्यसैले गतसाल एक हजार जना अट्ने हल लिएकाले यसपाली जम्मा एक सय जना अट्ने हल लिएका थिए । तर त्यहि हलमापनि मुश्किलले ६० जना भन्दा बढि भएनन् । यो साठी जना भनिएको पनि संगठनकै सदस्यहरुको दाबी हो ।
नेकपा माओवादी फुटेपछि ड्यासको समर्थन गर्दै जनप्रगतिशिल मोर्चा बन्यो । क्यासको मञ्च नै रह्यो । नेकपा (माओवादी) नफुट्दा हलमा ठूलै कार्यक्रम हुने गरेको थियो । फुटपछि जनप्रगतिशिल मञ्चका अध्यक्ष सुरेन्द्र भूसालले ‘९० प्रतिशत कार्यकर्ता, सदस्य हाम्रो संगठनमा छन् । उता मोर्चातिर त को छ र ? कोहिपनि छैन, संगठननै छैन’ भनेर अन्तर्वार्तानै दिएका थिए । तर अहिले वार्षिक साधारण सभामा त कार्यकर्ता २० जनापनि उपस्थित भएनन् । उपस्थित भएका मध्येपनि बेल्जियमका करिब २० वटा संघसंस्थाका प्रतिनिधी, पार्टीको हल मिलाउने, मन्च सजाउने र समितिका सदस्य र पती पत्नी मात्रै उपस्थित भए ।
त्यत्रो संगठन कसरि यसरि खस्कियो त ?
प्रचण्डलाई बेल्जियममा ल्याएर उभ्याएपछि पुग्छ भन्ने दम्भ देखियो । त्यसपछि उनीहरुले संगठननै गर्न सकेनन् । बेल्जियममा बैध्य पक्षिय सक्किए भनेर हिँड्दैमा ठिक्क भयो । ‘अब माओवादीले नेपालमा ४० वर्ष निर्धक्कले राज्य गर्छ’ भन्दै टाई तिनिक्क तिनिक्क तान्ने । कोट सम्याउने गर्दै कार्यक्रम सकिन्थ्यो । कार्यक्रम गर्ने तर पद्दतीमा गएनन् । कार्यक्रम त हुने तर कार्यकर्ता नहुने । बैठक र थितिमा चलेन । केहि नेता हुँ, प्रचण्डको निकट छु । कोहि नारायणकाजीको निकट छु । कोहि म त फलानाको निकट हुँ भन्ने खालका दम्भ र देखावटी अनि शानमै संगठन लेर्खरायो । सांगठनिक तरिकाले चलेन । नेताका बोलीमा निर्देशन हुन्थ्यो । संगठन बनाउन कोहि हिँडेन । ‘विशौं शताब्दीका महान नेता प्रचण्ड, नेपालका जनताले आशा गरेका एक मात्र राजनेता प्रचण्ड’ भन्दै हिँडे । त्यस्ता नेता आएर भाषण गरिदिएको, नेपालीलाई भेटेको । नाथे दुई चार सय नेपाली त यसै धुइरिन्छन् भन्ने भ्रम पाले । निति केहि थिएन । कार्यनिति भुत्तो भैसकेको थियो । कम्युनिष्ट भनेपनि नेपालदेखि यतासम्म शामान्ति सोचले पहाड बनाइसकेको थियो ।
नेतानै अनुपस्थित
बेल्जियमको वेस्ट भ्लान्डर क्षेत्रमापनि माओवादीले आफ्नो समिति बनेको दाबी गर्दै आएका थिए । तर हिजो वार्षिक साधारण सभामा त्यो क्षेत्रबाट एक जना नेपालीपनि उपस्थित भएन । उनीहरुको त्यहाँ बनेको समितिका सबै निष्क्रिय भएको देखियो । वा सडकमा हिँड्ने सबैलाई उनीहरुले माओवादी कार्यकर्ता पो ठानेका थिए कि ? हेलिकोप्टर हेर्न जानेलाई माओवादी समर्थक ठाने झैं !
त्यस्तै, बेल्जियमको धेरै नेपाली बस्ने अर्को शहर हो ब्रुज (बुर्गेपनि भन्छन् नेपालीले) । त्यहाँबाटपनि हिजोको माओवादी वार्षिक साधारण सभामा कोहि उपस्थित भएन । ब्रुजबाट संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल र उनकी पत्नी सुष्मा भुसाल, नेपाली जनप्रगतिल मञ्चका उपाध्यक्ष कमल भारती र उनकी पत्नी गरेर चार जना मात्रै उपस्थित थिए । कार्यकर्ता चरोमुसो कोहि आएन ।
त्यस्तै गरि, जनप्रगतिशिल मञ्चकै एक विशेष स्रोतले नेपालप्लसलाई दिएको जानकारि अनुसार एल्जियमको राजधानी ब्रसेल्सबाट मञ्चका महासचिव क्रिष्ण तिवारी, सल्लाहकार जित लामा र सरस्वती सुबेदी गरि जम्मा चार जना उपस्थित थिए । ठूलो संगठन छ ब्रसेल्समा भन्दै दाबी गरिएकोपनि हावाकै तालमा रहेछ भन्ने हिजोको अनुपस्थितिले देखायो ।
नेपालमा क्यास माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका गिरिराज मणी पोख्रेल जो मन्त्री भैसकेका हुन् । फेरि सभासद पदमा जितेका छन् । उनैका सहोदर भाई सुदेशमणी पोख्रेल बेल्जियममा माओवादीको भगिनि संस्था जनप्रगतिशिल मञ्चमा छन् । उनी आफैं भेला प्रचारप्रसार समितिमा थिए । तर हिजोको कार्यक्रममा अनुपस्थित भए । वेस्टेन्डे क्षेत्रकै केन्द्रिय सदस्यहरु अनुपस्थित भए । कार्यकर्ताका त के कुरा गर्नु ? मञ्चको हिजोको वार्षिक साधारण सभामा मञ्चकै उपाध्यक्ष होम गुरुङनै आएनन् । कोषाध्यक्ष भिम सुबेदीनै अनुपस्थित रहे । मञ्चले गर्ने कार्यक्रममा सांस्क्रितिक कार्यक्रम देखाउने, सिकाउने कलाकारनै अनुपस्थित रहे । संगठनकै कोषाध्यक्ष, उपाध्यक्ष नआएपछि को उपस्थित भयो होला ?
जनप्रगितिल मञ्चकै एक सदस्यले नेपालप्लसलाई बताए अनुसार संगठनका सदस्य, कार्यकर्ता त मुश्किलले २० जनापनि उपस्थित थिएन । ‘ड्यास माओवादीकै थिए होलान् १०, १२ जना त । अनि बाँकि करिब २०, २२ वटा संस्थाका एक एक जना गर्दापनि ३० भयो । अतिथि, हाम्रो संगठनकै मुख्य नेता र तिनका श्रीमती छोराछोरी जोड्दा कति भो सर ? हरे बेइज्जतै भो नी ‘ उनले निराश हुँदै फोनमा सुनाए । कार्यक्रममा माओवादीको युरोप भरिका पत्रकारको संगठन भनिने क्रान्तिकारि पत्रकार संघका अध्यक्ष दधिराज घिमिरे मञ्चको बेल्जियम शाखाका तर्फबाट उपस्थित थिए । तर उनी बेलायत सरेको धेरै भैसक्यो ।
जम्माजम्मी जोड्दा हलमा ६० जना भन्दा बढि हुने त प्रश्नै रहेन । किनकि हलमा ५६ वटा कुर्सी मात्रै राखिएको थियो । कार्यक्रम सञ्चालक क्रिष्ण तिवारी स्वयंले बेल्जियमका ५० वटा संस्थालाई बोलाएको माईकबाट बताएका थिए । ५० वटा संस्थालाइ निम्ता, ५६ वटा कुर्सी । उपस्थित कति भएछन् त कार्यकर्ता ?
५० वटा संगठनलाइ निम्ता दिईएको भनिएपनि संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पालाईनै त्यहाँ सम्बोधन गर्न दिएनन् । उनीहरुको तर्क के थियो भने कार्यक्रममा बेल्जियमका संराखिएको संगठनलाई मात्रै बोल्न दिने, युरोप स्तरकालाई नदिने । बेल्जियम युरोपमा नपर्दो रहेछ ? संघिय समाजवादी पार्टीको तर्फबाट अन्य कोहि नभएपछि बेल्जियमकालागि पिजी शेर्पा स्वयं हुन् भन्ने सम्म नबुझेको देखियो । क्यास माओवादीलाई सिनियर चाहिन्न जुनियर भए पुग्छ भने मानसिकता देखियो ।
त्यस्तै, पहिलेका कार्यक्रमहरुमा भाईचारा संगठनका प्रतिनिधीहरु हुन्थे । बिदेशी कम्युनिष्ट पार्टीका, बेल्जियन नागरिकको सामाजिक संस्थाका प्रतिनिधी हुन्थे । हिजो भाईचारा संगठनका प्रतिनिधीपनि कोहि थिएनन् । ओरालो लागेको संगठन भन्ने परेर हो कि बिचार खस्किएको, बिचलित भएको देखेर, बुझेर हो, बिदेशी भाइचारा संगठ्नालेपनि पत्याउन छाडेको देखियो ।
मञ्चले गर्ने पहिलेका कार्यक्रममा नाचगान हुन्थ्यो । तामझाम गरिन्थ्यो । खाना खुवाउने चलन थियो । संगठन बनाउन भनेर निशुल्क खाना पनि खुवाए बेल्जियमका क्यास माओवादीले । तर हिजोको कार्यक्रममा त्यो केहि थिएन । तिनको कार्यक्रमबाट कार्यकर्ता निराश बनेको सहभागिहरुले बताएका थिए । कोहि संगठन सिद्दिएछ भन्दै हिँडेका छन् ।
हिजोको कार्यक्रमको टिप्पणी गर्दै बेल्जियमका बाबुराम सिंखडाले आफ्नो फेसबुकमा लेखेका छन् “आज एमाओवादी सम्वद्ध नेपाली जनप्रगतिशील मञ्च वेल्जियमको साधारणसभालाई हेर्दा उक्त संगठन वैचारिक, राजनैतिक र सांगठनिक सवै कोणवाट पूर्ण रुपमा असफल सिद्ध देखियो । संगठनको वैठकसम्म गर्न नसक्दा नसक्दै एक दुइ जना कोठामा वसेर जम्मो प्रचार प्रसार समिति र्सार्वजनिक गर्दै साधारण सभाको तयारीमा लागेको दावी गर्ने संगठनको साधारण सभामा वेज्जियमस्थित विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहित करीव ६० जनाको उपस्थिती रहेको र उक्त संगठनका सदस्यहरु भने २० जना पनि पुगेनन् ।”
कार्यक्रममा कार्यनितिक कमजोरी, ढाँटछल भएकाले संगठन ध्वस्त भएको टिप्पणी गर्नेपनि निकै थिए । हुन त तिनमा एकै जनाको, ब्यक्ति विशेषको दोष नहुनपनि सक्छ । नेपालमै नेकपा माओवादी दिशाहिन, नितिहिन बनेकाले त्यसैको मार यताका भात्री संगठनहरुमा परेको हुन सक्छ । आखिर प्रवाशमा रहेका संगठनलेपनि मूल पार्टीकै बैचारिक र कार्यनितिलाई पिछा गर्ने न हो ।
यता क्यास माओवादीको यस्तो हरिबिजोग भैरहेका बेला उता ड्यास माओवादीको वार्षिक साधारण सभा फर्वरी महिनाको पहिलो सातामा राखेको सुनिएको छ । साँच्चै माओवादीकै संख्या घटेको हो कि क्यास माओवादीको कार्यनिति स्खलित भएर कार्यकर्ता ड्यास मावादीतिर लागेका हुन् ? यो बुझ्न ड्यास माओवादीको आगामी वार्षिक भेलाको प्रतिक्षा गर्नुपर्ने छ । यो कार्यक्रमपछि ड्यास र क्यास माओवादीमा कसको संगठन बलियो । कसको बैचारिक धार स्पष्ठ । कसको कार्यनिति सफल र कार्यकर्ताले पत्याउने खालको हो स्पष्ठ हुने छ । ड्यासको अधिबेशनले बेल्जियमका ड्यास र क्यास माओवादीको हैशियतपनि स्पष्ठ हुनेछ ।
(क्यास माओवादीको यो वार्षिक भेलामा के के भयो ? नेपालप्लसको अर्को समाचार को प्रतिक्षा गर्नुहोला)





