रित्तो भाँडो बढी बज्छ

आनन्दराम पौडेल

anandaram-paudel-33434नेल्सन मण्डेलासँग नेपालको संयोग कस्तो परेको छभने २०४७ सालमा नेपालमा व्यबस्था परिवर्तन हुँदा दक्षिण अफ्रिकामा पनि व्यबस्था परिवर्तन भैरहेको थियो । १३ प्रतिशत गोराहरुले ८७ प्रतिसत कालाहरुमाथि चरम पक्षपातपूर्ण शासन गरेको ३०० बर्षको अध्याय टुङ्गिंदै थियो । नेपालमा राज्यव्यबस्था लोकतान्त्रिक भएन भन्ने मात्रै आवाज थियो । दक्षिण अफ्रिकामा त सम्बिधान, कानुन र राज्यका संयन्त्र पूरै १३ प्रतिशत गोराको पक्षमा थियो । राज्य आफैं अघि सरेर ८७ प्रतिसत कालाहरुलाइ पक्षपात, दमन र उपेक्षा गरिरहेको स्थिति थियो । व्यबस्था परिवर्तन भएर जनता सार्वभौम भएपछि ३०० बर्षदेखि विभेदको शिकार भैराखेका जनतामा प्रतिशोधको भावना आउन सक्थ्यो । जनतालाइ भड्काउन र प्रतिशोध जगाउन उग्रपन्थी पार्टी र समूहहरु सकृयपनि थिए । नेपालको तत्कालिन स्थितिभन्दा हजारौं गुना बढी जटिल र कठिन स्थिति त्यहाँ थियो । राष्ट्रको बागडोर सम्हालेका नेल्शन मण्डेलाको फराकीलो छाति, उच्च विचार, दूरगामी भिजन, त्याग र उदारताको कारणले मात्र गौंडा उतार्न सम्भव भएको थियो । 

यता, राज्यको अङ्गप्रत्यङ्गमा लोकतान्त्रिक पद्धति, संस्कार, चरित्र र शैलि स्थापित गरेमात्र पुग्ने नेपालमा भने सङ्कीर्ण स्वार्थमा रुमल्लिईरहेका नेताहरुले परिस्थितिलाइ झन्-झन् जटील बनाउँदै वहुदललाइ नै रछानमा पु-याए । अहिले नेल्सन मण्डेलाको महाप्रस्थानकै समयमा नेपालमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि नेताहरुमा परिस्कार आउला र राष्ट्रलाइ सही निकास देलान् भनेर जनताले फेरि एकपल्ट आशा राखेका पनि हुन् । तर, ‘बिहानले दिनको सङ्केत गर्छ’ भनेझैं लक्षणहरु शुभ छैन । ठूलो पार्टी भएको नेपाली कांग्रेस समानुपातिक सूचिबाट सभासद छनौट गर्न नसकेर ठस्ठसि कनिरहेछ भने नेकपा एमाले सबै काम छाडेर राष्ट्रपति र उपराष्ट्रपति फेर्ने अभियानमा कुदिरहेछ । सम्बिधान निर्माणको एजेण्डा भुसुक्कै बिर्सेको प्रतित हुन्छ । आफ्नै समानुपातिक सूचिबाट सभासद छान्न नसक्नेले राष्ट्रलाइ सङ्कटबाट पार लाउलान् भनेर विश्वास गर्न जनतालाइ कठीन हुँदै गएको छ ।

क्वेक डाक्टरले बिरामीलाइ दशथरी औषधि दिइरहेको हुन्छ भने बोनाफाइड डाक्टरले रोगको डाइग्नोसिस गरी सामान्य एउटा औषधि दिन्छ । त्यस्तै क्वेक नेताले हुँदैनभएका समस्याहरु सृजना गरी परिस्थितिलाइ जटील बनाउँदै लान्छ भने स्टेटम्यानले जनताको भावना, राष्ट्रको आवश्यकता र समस्या वुझेर सम्बोधन गर्छ । फिलिपिन्स स्वतन्त्र हुँदा राज्यको बागडोर रेमोन म्यागसेसे नामका गैरराजनीतिक व्यक्तिको हातमा पुगेको थियो । उहाँले सत्ता सम्हाल्दा एकातिर हुकबेलाहुप जस्ता गुरिल्ला सङ्गठनहरुको हिंसात्मक आक्रमण र अर्कोतर्फ गिरोहहरुका अपराधिक कर्मबाट राष्ट्र आक्रान्त थियो । यिनैसँग सामना गर्दै राज्यको ८० प्रतिसत बजेट खर्च हुन्थ्यो । अर्थतन्त्र जर्जर भैसकेको थियो र जनताको मनोबल गिरेको थियो । राज्यप्रति जनताको विश्वास र भरोसा जगाउन आवश्यक छ र त्यस्को लागि प्रशासनिक कार्यशैलिमै आमूल परिवर्तन ल्याउनुपर्छ भनेर म्यागसेसेले ठहर गर्नुभयो । उहाँले सैनिक बजेटमा भारी कटौति गर्नुभयो र त्यो रकम प्रशासनिक सुधारमा लगाउनुभयो । उपचार सफल भयो । राज्य जनताको नजिक हुँदै गयो । जनताको मनोबल बढ्यो । जनताको मनोबल जति-जति बढ्दैगयो, त्यत्तिकै मात्रामा अपराधिक गिरोहहरु किनारा लाग्दैगए । गुरिल्लाहरुको हिंसात्मक आक्रमणपनि स्वाट्टै घट्यो ।

जनताले नेताप्रति विश्वास वा घृणा गर्ने कसौटी एउटै हुन्छ- त्याग वा स्वार्थ । जनताले अभिव्यक्तिको भित्री मनसाय खोतल्छन् र उस्का शब्द र कर्मको वीचमा कत्तिको इमान्दारिता छ, त्यस्लाइ केलाएर हेर्छन् । त्यागको भनक पाए श्रद्धा गर्छन्, स्वार्थको गन्ध आए घृणा गर्छन् । स्वार्थको गन्ध नआउनासाथ सहयोग गर्न जनता स्वतस्फूर्त ओइरिन थाल्छन् । द्वितीय विश्वयुद्धमा बेलायत सङ्कटापन्न अवस्थामा थियो । “यो सङ्कटको घडीमा अहिले म तपाईंहरुलाइ दु:ख र झण्झटबाहेक केही दिन सक्दिन”  प्रधानमन्त्री चर्चिल भन्नुहुन्थ्यो । चर्चिलको आव्हानमा स्वार्थको गन्ध नआएकोले जनताले शीरोपर गर्थे । राजनीतिमा लगानिको प्रतिफल हिसाब गरी जो महत्वाकांक्षी भएर हस्याङफस्याङ गरिरहेको हुन्छ, त्यसप्रति जनता उदासीन मात्र हुँदैनन्, टाढिंदै जान्छन् । जस्ले कर्तव्य सम्झेर लुरु-लुरु काम गर्दै जान्छ, त्यस्लाइ जनताले खोजेरै प्रतिफल पोल्टामा हालिदिन्छन् ।

अमेरिकी जर्नेलहरुमा डगलस म्याकअर्थरको उच्च मूल्याङ्कन छ । जापानमा नवनिर्माणको जग यिनैले हाले । जापानको सम्बिधान यिनैले बनाए । फिलिपिन्सलाइ स्वतन्त्रता दिलाउन यिनको अपूर्व योगदान रह्यो । तर जब सैनिक सेवा छाडेर राजनीतिमा आए, पूरै असफल भए । अर्का जर्नेल थिए- आइसनहावर । सैनिक सेवामा रहँदा कुनै विशेष काम गरेका थिएनन् । सैनिक सेवा छाडेर जब राजनीतिमा आए । राजनीतिमा कर्तव्यभावले लुरु-लुरु काम गरिरहे, र सफल भए । आइसनहावरको बिषयमा निक्सनले ‘लिडर्स’ पुस्तकमा लेख्नुभएकोछ, “आइसनहावर आफ्नो कर्तव्य मात्र सम्झनुहुन्थ्यो, प्रतिफलको हिसाब गर्नुहुन्नथ्यो । त्यसैले सफल हुनुभयो ।”

नेतृत्वसँग भिजन, सङ्कल्प र त्याग छ भनेर जनता विश्वस्त हुनुमात्र पर्छ, परिवर्तनको द्वार स्वत खुल्दै जान्छ । सङ्कल्प पूरा गर्न र लक्षप्राप्तीको लागि जनता एकजुट हुन थालिहाल्छन् । स्टेभ किङ्सस्टनले अक्टोबर २ को बीबीसी अनलाइनमा सात बर्षमै ब्राजिलमा कसरी यस्तो चमत्कारिक परिवर्तन भयो भनेर एउटा लेख लेखेका छन् । राष्ट्रपति लुलाको नेतृत्वमा ब्राजिलले भौतिक संरचनामा मात्र हैन, आर्थिक र सामाजिक रुपमा समेत् ठूलै प्रगति ग-यो । दरिद्र परिवारलाइ गरिबीको रेखाबाट माथि उकास्न ‘बोल्सा फामिलिया’ कार्यक्रम ल्याए । यो कार्यक्रमबाट ४ करोड ४० लाख जनता लाभान्वित भए । आर्थिक समृद्धिसँगै आर्थिक असमानतालाइ पनि न्युनिकरण गरियो । सातै बर्षमा ब्राजिललाइ आठौं समृद्ध राष्ट्रको पङ्क्तिमा राख्न जुन सफल भए, त्यो उनी एक्लैबाट सम्भव थिएन । उनको भिजन, सङ्कल्प र इमान्दारितालाइ हेरेर जनताले साथ दिएकाले सम्भव भएको थियो । लालु यादवको लाइनअनुसार अपराधी र गुण्डाराज चलिरहेको बिहारलाइ नितिशकुमारले एउटै कार्यकालमा कायापलट गरिदिए, त्योपनि जनताको विश्वास प्राप्त गरेर सम्भव भएको थियो ।

सन १९६१ मा नेपालको औसत प्रतिव्यक्ति आय ८८ युएस डलर थियोभने दक्षिण कोरियाको ७१ डलर थियो । पार्क चुङ्ग हीले १७ बर्षमा कोरियालाइ समृद्धीको शीखरमा यति माथि पु-याए कि आज कोरियामा प्रतिव्यक्ति आय २२ हजार युएस डलर भन्दा माथि छभने नेपाल ६०० युएस डलरमै अड्केर बसेको छ । राष्ट्रलाइ समृद्धीको शीखरमा पु-याउने पार्क चुङ्ग हीले पद छाड्दा उनीसँग १०० डलरपनि थिएन । १९६५ सम्म सिङ्गापुरको हालत दयनीय थियो । ली क्वान यूले सत्ताको बागडोर हातमा लिएपछि एउटै सूत्रमात्र प्रयोग गरे । उनले भने, “सबैले सिष्टमको फलो गर्नुपर्छ । हामी अनुशासन र मर्यादाको सीमामा रहनुपर्छ । जो जति अगुवा छ, त्यो त्यति नै अनुशासित हुनुपर्छ ।” यही एउटा सूत्र प्रयोग गरेर ली क्वान यूले सिङ्गापुरलाइ समृद्धीको शीखरमा पु-याइदिए ।

इतिहासको आलोकमा वर्तमानमा टेकेर समृद्ध भविष्यको कल्पना गर्नु नै भिजन हो । जोसँग भिजन छैन त्यस्ले नेतृत्वको धृष्टता गर्नुहुँदैन । भिजनलेस नेतृत्व नै नेपालको मुख्य समस्या हो। भिजन छैन, सङ्कल्प छैन, इमान्दारिता छैन र त्याग छैन । यस्ता रित्ता व्यक्तिहरुले नेतृत्व ओगटेर बसेका छन् । त्यसैले राष्ट्रको मुख्य एजेण्डा छाडेर कोही राष्ट्रपतिको कुर्सीमा –याल चुहाइरहेका छन् त कोही समानुपातिकको सूचिबाट सभासद छनौट गर्न नसकेर कनिरहेछन् ।

तपाइँको प्रतिक्रिया