नेताचिन्तन
● आनन्दराम पौडेल
प्रत्यक्ष निर्वाचनको परिमाण प्राप्त भैसकेको छ। समानुपातिकतर्फ पार्टीका सभासदको संख्या समेत् निर्वाचन आयोगले खुलाइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेसलाइ ठूलो पार्टी बनाएको छ । नेपाली कांग्रेसका सभापतिको काँधमा राष्ट्रिय जिम्मेवारी थपिएको छ । जिम्मेवारीवोधले थिचिएर एकाबिहान सुशील दा चारैवजे उठे । एक कप रातो चिया पिएर राष्ट्रिय चिन्तनमा एकाग्र भए । सोचे, “सङ्क्रमणकालको गौंडा उतार्न घुमिफिरी राष्ट्रले नेपाली कांग्रेसलाइ नै दायित्व सुम्पेको छ । राज्य संरचनाको खाका मिलाएर सम्बिधान निर्माण गर्ने, पीडकहरुले न्याय पाउनेगरी शान्तिप्रकृया पूरा गर्ने र सुशासन कायम गर्ने ऐतिहासिक कार्यभार नेका र एमालेले पाएको छ । ठूलो पार्टीको हैसियतले नेकाले नै संयोजन गर्नुपर्ने छ । हिजोमात्र डा. जयराज आचार्यजी आउनुभएको थियो । जटील परिस्थितिमा पनि नेल्शन मण्डेलाले कसरी राष्ट्रलाइ निकास दिन सक्षम भए भनेर सुनाउनुभयो । उहाँले, ‘यो अपूर्व अवसरलाइ चिन्नुहोस् र नेल्शन मण्डेला बन्ने चेष्टा गर्नुहोस्’ भन्नुभयो ।
उहाँले भनेजस्तै नेल्शन मण्डेला नै त के बन्न सकुँला ! तर, सम्बिधान निर्माण गरेर आवधिक निर्वाचन मात्र गराउन सकेंभने पनि सन्तोषको बिषय बन्ने थियो ।” सुशील दाले पोस्चर बदले । अलि सजिलोसँग बसे । काम गर्नको लागि एकातिर अवसर र अनुकुलताको तथा अर्कोतर्फ चुनौती, अप्ठेरा र जटिलताको आँकलन गरे । अवसर र अनुकुलतातर्फ विचार गर्दा जातीय नारा उराल्ने, जातीय राजनीति गर्ने र जात-जातमा विभाजन गरेर भिडाउने खेल खेल्ने उत्ताउला जति सबैलाइ जनताले नै किनारा लगाएकाले परिस्थिति अनुकुल भएको ठहर गरे । नेका र एमाले मिलेर कार्यभार पूरा गरुन् भनेर सबैले चाहेको देखियो ।
५ बर्षको कार्यकालमा अघिल्लो ३ बर्ष कांग्रेसको नेतृत्वमा र पछिल्लो २ बर्ष एमालेको नेतृत्वमा सरकार चलाउनु भनि धेरैले सल्लाह,सुझाव दिएका छन् । यस्तो हुनसक्योभने अनुष्ठान सम्पन्न गर्न धेरै सहज हुनेछ । यो निर्वाचन परिणाम हेरेर चीन धेरै खुशी छ र भारतपनि सन्तुष्ट छ । हाम्रो अभियानको लागि यो अर्को सपोर्ट हो । चुनौती, अप्ठेरा र जटिलताको बिषयमा सोच्दा निकै गम्भीर भए । सोचे, “सबैभन्दा ठूलो चुनौति एनेकपा माओवादी नै हुने होला । उस्ले जहिलेपनि अत्तो थाप्ने छ, निहुँ खोज्ने छ र बाधाव्यबधान मात्रै खडा गर्ने छ । कट्टर जातिवादी, साम्प्रदायिक र तराईवादीहरुलाइ उचाल्ने छ । राजनीतिलाइ जातमा हुलिदिई कम्युनिष्ट उन्मूलन गर्न र हिन्दू (वैदिक सनातन) धर्मलाइ किचकाच पारी क्रिश्चियन बिस्तार गर्नको लागि ठूलो लगानि गरेका पश्चिमाहरुले पाइला-पाइलामा अप्ठेरा पर्खाल लगाउनेछन् । आरएनएसीको लागि चीनबाट केही हवाईजहाज खरिद गर्ने निर्णय मात्र गरेका थियौं, पश्चिमाहरुले चुनौती दिइसके ।
ड्यास माओवादी अर्को चुनौति भएर रहनेछ । कमल थापाको राप्रपा पार्टी पनि अहिले चौथो ठूलो पार्टी भएर उपस्थित भएको छ । त्यो पार्टीको दुइटा एजेण्डामध्ये राजतन्त्रको त अब सम्भावना छँदैछैन । अर्को एजेण्डा ‘हिन्दू राज्य’ को बिषयमा जटीलता छ । ८३ प्रतिशत जनसंख्या हिन्दू (वैदिक सनातन धर्माबलम्बी) भएको हिसाबले ‘एकमात्र हिन्दू राष्ट्र नेपाल’ भनेर विश्वमा परिचय स्थापित गर्न पाए गौरवको बिषय हुन्थ्यो भन्ने त हामीलाइ पनि लागेको छ । तर, त्यतातिर लाग्ने होभने, ‘के निहुँ पाउँ र कनिका बुक्याउँ’ भनेर बसेका एनेकपा माओवादी र सङ्घीय समाजवादी जस्ता कट्टर जातीवादी र ड्यास माओवादी पार्टीले हल्ला गर्ने बिषय भेट्टाउनेछन् । हल्ला मच्चाउनेछन् र आगो बाल्नेछन् । सत्ता साझेदारीमा चित्त वुझाउन सकियोभने नेकपा एमाले जति सहयोगी भूमिकामा रहने सम्भावना छ, चित्त वुझाउन सकिएनभने एमाले झन् ठूलो बाधक भएर देखा पर्नेछ । आफ्नै कांग्रेस पार्टीका नेताहरुले दिने सम्भावित दु:ख र हैरानी त छँदैछ । समानुपातिक सूचिबाट छनौट गर्ने काम बाँकि रहेकोले मात्र शेरबहादुर देउवाजी मौन रहनुभएको हो । समानुपातिकको छनौट सकिनासाथ उहाँ मडारिन थाल्नुहुनेछ । अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध मेरो भन्दा उहाँकै राम्रो छ । शेरबहादुर देउवालाइ नै प्रधानमन्त्री बनाउनुपर्छ भनि ममाथि पार्टी भित्रको आन्तरिक र बाह्य दबाब समेत् चर्को पर्नेछ ।”
सुशील दाले एकछिन बिश्राम लिए । अवसर, अनुकुलता र सहजता भन्दा १०० गुना बढी चुनौति, अप्ठेरा, जटीलता र समस्या देखे । ‘फस्टम्यान’ हुन गाह्रो रहेछ। फस्टम्यान भएर पार्टी राम्ररी सम्हाल्न नसकिरहेको स्थितिमा राष्ट्रको फस्टम्यान भएर कौशलता देखाउन सक्दिनकि भनेर सशङ्कित भए । “जे त पर्ला” भनेर मर्दाङ्गी आँट निकाले । जुरुक्क उठे, र छाति तनक्क तन्काए । उज्यालो भैसकेछ । बैठक कोठातिर लम्के ।




