उपचार नगरे क्रोनिक

आनन्दराम पौडेल 

anandaram-paudel-33434गुरुप्रसाद मैनालीको ‘नासो’ कथामा एउटा पात्रले अनुभवको निचोड व्यक्त गर्दै, “ज्ञान र अनुभव अरुलाइ उपदेश दिनमात्र काम लाग्दोरहेछ, आफूलाइ पर्दा होइन” भन्छन् । राज्य सञ्चालनको ड्राइभिङ सिटमा बसेका पार्टीका नेताहरुको व्यबहार हेर्दापनि यही सूत्रवाक्य सार्थक भैराखेको देखिन्छ। कम्युनिष्ट पार्टीका नेताहरु, “हरेक बिषयबस्तुको विकास वा विनासको कारकतत्व अन्तर्निहीत नै हुन्छ, बाह्य तत्वहरु सहायक (सपोर्टिङ) मात्रै हुन्छन्” भनेर प्रशीक्षणमा आफ्ना कार्यकर्ताहरुलाइ द्वन्दवादका नियम घोकाइरहेका हुन्छन् । तर, जब आफ्नै बारेमा प्रश्न खडा हुन्छ तब आत्मसमीक्षा गर्दैनन्, दोष थुपार्ने पात्र खोज्न थाल्छन् । निर्वाचनको नतिजा आउनथालेपछि एनेकपा माओवादीले असफलताको कारण आफूभित्र खोज्न चाहेन, दोष थुपार्नको लागि अमूक पात्रको खोजि गर्न थाल्यो ।

एनेकपा माओवादीले रोग पत्ता (डाइग्नोसिस) नपाएको ह्वैन, उपचार गर्न नचाहेको देखिन्छ। २०६७\ ०९\ २१ मा सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष क.प्रचण्डले पार्टीभित्र लागेको महारोगलाइ यसरी डाइग्नोसिस गरेका थिए:

  • आज हाम्रो पार्टीमा जनवादी केन्द्रीयताको परिचालन समाप्त प्राय हुन थालेको छ । कमिटी प्रणाली, समूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी तथा   आलोचना-आत्मालोचनाको पद्धति भताभुङ्ग भएका छन् । कमिटीहरु यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन । माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्धा र नोकरशाही प्रवृत्तिहरु मौलाउँदै गएका छन् ।
  • पार्टीभित्र सम्पन्न र विपन्नका अलग-अलग वर्ग बन्न थालेका छन् । माथिदेखि तलसम्मका केही पदाधिकारी र टाठावाठाहरुको दिनप्रतिदिन वर्ग उत्थान हुँदैजाने र कार्यकर्ताहरुको विशाल पङ्क्ति बेरोजगारी, अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भएको छ । यतिमात्र ह्वैन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जवर्जस्ती प्रवृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेछन् ।
  • पार्टीमा सर्वहारावादी निष्ठा र आचरण प्रस्तुत गर्नेहरुलाइ न प्रोत्साहन छ, न त गैर सर्वहारावादी आचरणलाइ कारबाही नै। यो स्थितिले जनवाद अराजकतामा र केन्द्रीयता नोकरशाहीमा परिणत हुँदै गएको छ ।

पार्टीको एक्सरे गर्दा देखिएका उपरोक्त कैफियतलाइ २०६७ साल पुस २१ गते सम्पन्न केन्द्रीय समितिको बैठकले पारीत गरेको छ । र, दस्तावेजको पृष्ठ ५ मा सुरक्षित छ । यो हेर्दा उहाँहरुले पार्टीभित्र लागेको रोगचाहीं पत्ता लगाएकै (डाइग्नोसिस भएको) हो भन्नुपर्छ । रोग पत्ता लगाएको, तर उपचारचाहीं नगरी छाडेको स्थितिमा एनेकपा माओवादी पार्टी छ । समस्या गुरुप्रसाद मैनालीको ‘नासो’ कथाले भनेझैं ज्ञान र अनुभव अरुलाइ उपदेश दिनका लागि मात्र काम लागेको छ । उपचार गरिएको हुँदो हो त हेटौंडा महाधिवेशनसम्म आइपुग्दा रोग झन् बल्झेको देखिने थिएन । हेटौंडा महाधिवेशनमा पार्टीभित्र रोग झन्-झन् बल्झिंदै गएको स्थितिलाइ प्रचण्डले दर्शाउनुप-यो ।

हेटौंडा महाधिवेशनको प्रतिवेदनमा क.प्रचण्डले दर्शाउनुभएको पार्टीको स्थिति यस्तो छ : “पार्टीमा गुटबन्दी, व्यक्तिवादी अराजकता, आर्थिक अनियमितता, अपारदर्शिता तथा दबाब र धम्कीद्वारा पद, प्रतिष्ठा, लाभ प्राप्त गर्न दौडधुप र अस्तव्यस्तता छ । आफ्नो पद-प्रतिष्ठाका लागिमात्र चिन्ता गर्ने, आफ्नो र आफ्नो परिवारको सुरक्षा एवं ग्यारेण्टी खोज्ने, आफूभन्दा तल नोकरशाही बन्ने तथा आफूभन्दा माथि दलाली गर्ने । अरुका दु:खकष्ट एवं आवश्यकतामा उदासीन बन्ने र आलोचना सहन नसक्ने प्रवृत्ति छ । सडक, सदन र सरकारका काम संस्थागत, योजनाबद्ध र प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्ने स्थिति बनेको छ । महिला, दलित, मुस्लिम, मधेसी, आदिवासी, जनजाति र पिछडिएका क्षेत्रको नेतृत्व विकास, आन्दोलनको योजना र संरक्षणमा गम्भीर कमजोरी रहेको छ । जनजीविकाको सवाल फरक ढङ्गले सम्बोधन हुन नसक्दा हाम्रो पार्टीप्रति जनताले प्रश्न उठाउन थालेका छन् । यस्ले गर्दा राजनीतिक परिवर्तनको प्रकृयासँगै बढेको जनउत्साह र विश्वास धर्मराउन लागेको छ ।”

हुन त नेपालका अन्य पार्टीहरु गतिला छन् भन्ने ठाउँ छैन, तर यो नयाँ पार्टी भएकोले एनेकपा माओवादी पार्टीप्रति जनताले बढी नै आशा राखेका थिए । तर, पार्टीका नेताहरुले सर्वप्रथम जनताको कुरा सुन्न छाडे । मङ्सिर ९ गते अपरान्ह ४ वजे न्युज-२४ टेलिभिजनमा खिलबहादुर भण्डारीजीले भन्नुभयो, “एनेकपा माओवादीका नेताहरु चिल्ला सडकमा कुदे, गल्लिभित्र पसेनन् । जस्लेगर्दा जनताबाट टाढिंदैगए ।”  जनताबाट टाढिंदैगएकाले रुपन्देही जिल्ला, कमरिया गाविसका सारजउद्दिन सामतहरुको पीडाव्यथा नसुनिने भयो। कैलाली जिल्ला, खैलाड गाविस, पहलमानपुर भन्ने गाउँका कल्ठू (सायद कल्ठू चौधरी) का बाबुहरु झन् पिल्सिन पुगेका छन् ।

अरुभन्दा ठूलो पार्टी बनाउने एकसूत्रीय अभियानमा एकाङ्गी भएर लाग्दा घाँस, पत्कर, कुँडर सबै सोहोरे । चैते र कात्तिकेहरुले भरिपूर्ण भएपछि खाँटी कार्यकर्ताहरुको कुरा सुन्न छाडे । एनेकपा माओवादी, नेवा: राज्य सम्मेलन आयोजक समितिका सदस्य विदुर खँड्काजीले ६ महिनाअघि भन्नुभएको थियो, “सिद्धान्त-स्वत्व वेच्न नसक्ने, चन्दा नअसुल्ने, ठेकेदार-व्यापारी पट्याउन नसक्ने, मन्त्रालय नधाउने, पूँजीपति व्यापारीहरुको काम नगरिदिने र यस्ता विविध कृत्यहरु गरेर कमिसन मिलाउन नसक्ने, ‘दाइ’ हरुको लागि खर्चवर्चको जोहो गरिदिन र दारुपानी टक्र्याउन नसक्ने फुस्रा कार्यकर्ता गरिखान नसक्ने पङ्क्तिमा परेका छन् । यस्ता कार्यकर्ता अब ‘दाइ’ हरुलाइ चाहिएको छैन । सबथोक गर्नसक्ने चैतेहरुले यो प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । त्यसैले, उनीहरु नै ‘दाइ’ हरुको अन्तरङ्ग बन्न सफल छन् ।” पार्टी अन्तरङ् जीवनको छर्लङ्ग चित्र राख्दै विदुर खँड्काजी थप भन्नुहुन्छ, ” ‘दाइ’ हरुको वरिपरि गोलचक्कर लगाउने तर सिन्को नभाँच्ने अर्को एकथरीका कार्यकर्ताहरु पनि छन् । उनीहरुले एउटा विशिष्ट परिस्थितिमा हिजैदेखि ‘दाइ’ हरुसम्म पहुँच बनाएका छन् । उनीहरुमध्ये धेरैजसो सङ्कटकालमा पार्टी र नेतालाइ धारेहात लाउँदै ज्यान जोगाउन र पैसा कमाउन विदेश पलायन भएभने कतिपय ‘गणेशमान शान्ति अभियान’ तिर लागे । २०६३ पछि पार्टी फर्केका उनीहरु आज मजैले ‘दाइ’ हरुको स्वार्थपूर्तिको साधन बनेका छन् ।”  चैते र कात्तिकेहरुकै हालिमुहालि चल्न थालेपछि किनारा लाग्दैगएका सीपी दाहाल इटहरी नगरपालिका कार्यालय अगाडि गणेश बुढाथोकीको होटलमा भाँडा माझिरहेका छन् । रोल्पा जिल्ला जङ्कोट गाविस, माडीचौर स्थित बाल उदय माबिको माबि स्तरको बिज्ञान शिक्षक पद छाडेर जनयुद्धमा होमिएका कर्णबहादुर घर्ती र त्यहीं हुलाकको जागिर छाडेर जनयुद्धमा हिंडेकी राधा घर्ती पनि चैतेहरुकै कारणले अहिले पार्टीबाट टाढिएका छन्

पुर्ख्यौलि घर काभ्रे, गोठपानीबाट हाल कपनमा बसोबास गरिरहेका गङ्गाबहादुर लामा पार्टीबाट किनारा लागेका मात्रै छैनन्, आक्रोशित मुद्रामा भेटिन्छन् । लोकतन्त्र आएपछि ३ बर्षजति प्रचण्डको सुरक्षागार्ड रहेका कम्पनि भाइसकमाण्डर बिष्णु परियार ‘शक्ति’ पिल्सिएको उच्छ्वास फाल्दैछन्। सम्पूर्ण सम्पति पार्टीलाइ वुझाई जागीरसमेत् हापेर जनयुद्धमा खटेका जाजरकोट, लाँहा गाविसका वीरबहादुर खँड्का नेताहरुले विश्वासघात गरे भनेर आँसु खसालिरहेछन् । आलोचनात्मक तवरले सैद्धान्तिक कुरा उठायो कि, ” ‘मोहन बैद्यको जासुस’ भनेर खेदो गर्छन्” भन्दै कास्कीका राजु क्षेत्रीले पार्टी छाडे । जनमुक्ती सेनामा कमाण्डरको जिम्मेवारी सम्हालिसकेका र पछिल्लो कालमा नेवा: राज्य समिति सदस्य रहेका यमबहादुर थापा ‘अरुण’ ले पनि ४ महिनाअघि नै पार्टी छाड्ने निर्णय गरेका थिए ।

सैद्धान्तिक आधारभूमि छाडेपछि राजनीति तात्कालिकतामा वाँच्दोरहेछ । तत्कालको जोडघटाउ गर्दा जेमा नाफा देखिन्छ त्यही गर्दोरहेछ । बिहानको बेलुकासम्म र आजको भोलिसम्ममै बोलि र कदममा सङ्गति नभेटिंदोरहेछ । मङसिर ६ गते बिहान उहाँहरुले धाँधलीको कुरा गर्न थाल्नुभएपछि ५ दिनअघिको घटना सम्झें । मङ्सीर १ गते होला, बीबीसी नेपाली सेवामा प्रचण्डको अन्तर्वार्ता थियो । रविन्द्र मिश्रले सोध्नुभयो, “हार्नुभयोभने के गर्नुहुन्छ ?”
“शान्तिप्रकृयामा आउँदा मैले, ‘सम्बिधानसभा निर्वाचन हुन्छ भने जनताको जस्तोसुकै फैसला स्वीकार्छौं, र सानो पार्टी नै हुनपरे पनि रहन्छौं भनेको थिएँ । अहिले जनताले हराएछन् भनेपनि मेरो भनाइ त्यही छ ।” प्रचण्डलेभन्नुभयो ।

“हार्नुभयो भने त देशी-विदेशी प्रतिकृयावादीहरुले षडयन्त्र गरेर हराए भन्नुहोला नि, होइन ?”  रविन्द्र मिश्रले सोध्नुभयो ।

“त्यसो भन्नुको तुक हुँदैन । नैतिकताले पनि दिंदैन । निर्वाचनको मैदानमा प्रवेश गरेपछि खेलको नियम अनुसार हारजित हुन्छ । त्यसलाइ स्वीकार्नुपर्छ ।”  प्रचण्डले भन्नुभयो । त्यस्तै, अहिले ‘सहमति’ को राग अलाप्न थालेपछि उहाँहरुकै प्रतिवद्धतापत्रको पेज ६ मा अबको सम्बिधानसभामा कुनैपनि हालतमा ‘सहमति’ को रटानमा अल्झिन हुँदैन भनेर लेखेको सम्झें ।

यी पार्टीहरु राष्ट्रका सम्पति हुन् । यिनीहरु दूरगामी सोच, उच्च विचार, लोकतान्त्रिक संस्कृति र स्वच्छ चरित्रले लेस भैदिए राष्ट्रको भविष्य उज्वल हुन्थ्यो भन्ने हाम्रो चाहना हो । यी पार्टीहरुले निर्ममतापूर्वक आत्मसमीक्षा गरुन् र आफैंभित्रबाट सुधार थालुन्, यही कामना हामीले राखेका छौं ।

 

तपाइँको प्रतिक्रिया