धाँधली-रोइलो

आनन्दराम पौडेल   

anandaram-paudel-33434दिल्लीको तिलकमार्गमा बसेर छोरी ज्ञानुले उपचार गराइरहेकी थिइन् । ३ दिनदेखि प्रचण्डले छोरीलाइ नछाडी बसे । यताउती कतै गएनन् । राजनीतिक भेटघाट मात्र हैन, राजनीतिक कुरासमेत् गरेनन् । बरु छोरीको उपचारमा संलग्न डा. मुनिस सिङ्गलसँग २ पटक टेलिफोनवार्ता गरे । पोलिटिकल ब्युजिनेशलाइ दिमागबाट पूरै पन्छाएपनि अन्तर्हृदयमा राजनीतिक तरङ्गको उच्छाल उठिरह्यो । राती बिछ्यौनामा पल्टेका थिए। निन्द्रा परेको थिएन । आत्मसमीक्षामा तरङ्गित भए । सोचे, “निर्वाचनमा धाँधली भयो भनेर गर्जें । यति गर्जन पार्टी कार्यकर्तालाइ थुमथुम्याउन, अल्मल्याउन र ध्यान मोड्नको लागि पनि जरुरी थियो । नत्र, अघिल्लो निर्वाचनमा माधव नेपाल र सुशील कोइरालाले राजिनामा दिएको उदाहरण अगाडी सारेर ममाथि राजिनामाको दबाब पर्न सक्थ्यो । विकासोन्मुख देशहरुमा पार्टीको आ-आफ्नो पकड भएको ठाउँमा थोरबहुत धाँधली त जहाँपनि भैराखेको हुन्छ । त्यहीपनि जेजति हुन्छ, मतदानकै बेलामा हुन्छ । मतपेटिका बन्द गरेपछि धाँधलीको सम्भावना न्युन हुन्छ । २०३६ सालको चाहीं बेग्लै हो । यति वास्तविकता त मलाइपनि थाहा छ ।” 

तरङ्गका बेगहरु अलि तिब्रगतिमा उच्छालित हुनथाले । ओल्टेकोल्टे फर्के । पुन आत्मसमीक्षामै लीन भए । सोचे, “धाँधलीको दोष कस्को थाप्लामा हाल्नु ? यो सरकार मैले नै बनाएको । खिलराजलाइ मैले नै ल्याएको । मैले जोडबल नगरेको भए सेना परिचालन हुने थिएन । मतपेटिकालाइ सुरक्षित तवरले मतगणनास्थलमा पु-याउने जिम्मा लिन सेनाप्रमुखसँग मैले नै वचन लिएको थिएँ । कात्तिक २९ गते सिफलमा आयोजित आमसभालाइ सम्बोधन गर्दै, ‘यो खिलराज रेग्मीनेतृत्वको सरकार मेरै प्रस्तावमा बनेको हो । निर्वाचनमा सेना परिचालन गर्न कांग्रेस र एमालेले आनाकानि गरेका थिए, मेरै जोडबलमा भएको हो । मतपेटिकाको सुरक्षा सेनाले नै गर्नुपर्छ भन्ने पनि मै हुँ’ भनेर भाषणपनि गरेको थिएँ । ड्यास माओवादीबाट भयाक्रान्त भएर यति बन्दोबस्त गर्नुपरेको थियो । साँच्चै भन्ने हो भने आफैंले नियुक्त गरेका पदाधिकारीहरु र आफैंले मिलाएको तारतम्यमा पनि असफल भएर मैले कस्लाइ दोष दिनु ?”

प्रचण्ड आत्मसमीक्षाको यति गहिराईमा पुगेकि निन्द्रा कोशौं पर पुग्यो । तरङ्गका उच्छालले लपेट्दै लग्यो । मनोवादमै लागे । सोचे, ” ‘धाँधली भयो’ भनेर गर्जेको मात्र के थिएँ, सरीता गिरी, ‘हो, हो’ भन्दै उफ्रिन् । मेरा शव्द भैंमा नखस्दै उपेन्द्र यादव, सीपी मैनालीहरुले मेरै बोलि टपक्क टिपेर चिच्याउँदै कराए । हाम्रो महान गौरवशाली पार्टीका हनुमानदाशहरुले मेरै बोलि बोल्नु त सामान्य नै भयो, तर प्रकाशचन्द्र लोहनीले समेत् जब मेरै बोलीमा लोली मिलाउन थाले तब मैलेपनि निशुल्क मनोरञ्जन लिएँ ।” ‘निशुल्क मनोरञ्जन’ शव्द सम्झेर प्रचण्ड एक्लै हाँसे । तर, यो हाँसो धेरैबेर टिकेन । त्यसपछिका घटनाक्रमले उनलाइ लछा-यो । पुन आत्समीक्षाकै तरङ्गमा बगे ।

सोचे, “देशभित्रकालाइ त कच्याककुचुक पार्ने थिएँ । लतार्दै लगेर धाँधली भएकै हो भनेर स्थापित गरेरै छाड्ने थिएँ । विगतमा मैले जे-जे उठाएँ, सबै जबर्जस्ती स्थापित गराएकै छु । तर, यस्पालि यी अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले गर्दा मलाइ कठिन भयो । युरोपियन युनियनबाट आएको टोलीले त, ‘धाँधली भएको देख्नुभएको छभने प्रमाण पेश गर्नोस्’ समेत् भने । कार्टरले ठाडै नभनेपनि कुटनीतिक भाषामा त्यही भने । मैले धाँधली भयो भनेर जति कुर्लेपनि संरासं, भारत, चीन लगायत कोहीपनि सुन्न तैयार भएनन् । केहीसिप नलाग्ने देखेर फेस सेभिङको लागि, ‘सबै काम सहमतिमा मात्र गर्न तैयार भए हामी सम्बिधानसभामा आउँछौं’ भनेर शर्त राखेको हुँ । मलाइ थाहा छ, यो शर्तको आधारभूमि झन् कमजोर छ ।

कात्तिक २३ गते, दाङको चुनावीसभालाइ सम्बोधन गर्दै मैले, ‘सहमतिमै अल्झिरहने होभने सम्बिधान जारी गर्न नसकिने रहेछ । अब बन्ने सम्बिधानसभामा हामी त्यस्तो कमजोरी गर्नेछैनौं’ भनेको थिएँ । प्रतिबद्धतापत्रको पेज ६ मा, ‘सहमति भनेर अल्झिरहनाले अघिल्लो सम्बिधानसभा असफल भएको हो । अब हामी कुनै हालतमा यो गल्ति दोहो-याउने छैनौं’ भनेर कडिकडाउ शव्दमा लेखेका छौं ।” आत्मविश्लेषणका तन्तुहरु केलाउँदै यहाँसम्म आइपुग्दा कामरेड प्रचण्डलाइ निन्द्राले झ्याप्प छोप्यो । आत्मसमीक्षालाइ स्थगित गरेर घुप्लुक्क सुते ।

तपाइँको प्रतिक्रिया