जिसस, अल्लाह र बुद्द बन्न खोज्नेलाई चुनावको सन्देश

मदन बज्राचार्य

writer-iconजनता नै देश र व्यबस्थाको बास्ताविक निर्णायक शक्ति हो । यो कुरा नमान्ने कुनै व्यक्तिलाइ नेता मान्न सकिँदैन । नेता तथा दल त्यही हो जसले जनताको बहुमतको प्रतिनिधित्व गर्छ । सरकार र व्यबस्थाको बिरुद्ध कुनै दल बा व्यक्ति उभिन सक्छ । तर नागरिक मतको बिरुद्ध कोहि उभिन्छ भने त्यो सरकारको शत्रु होइन नागरिककै शत्रु बन्छ । नागरिकको शत्रुको शासन कुनै मुलुकमा चलन सक्दैन ।

नागरिकको अभिमत नबुझिकन आफ्नै नीति अनुसारको ब्यबस्था लाद्नेलाइ नै तानाशाही भनिन्छ । इतिहास साछी छ, धेरैले तानाशाही बन्ने प्रयास गरे । केहि समयसम्म उनीहरु सायद सफल पनि भए । तर अन्तमा तिनीहरुले कस्तो नियति भोग्नु पर्यो । त्यो सबैले देखेकै हो ।

नागरिकहरु कसैको सैनिक र लडाकुबाट कहिले पनि पराजित हुँदैनन् । नागरिक नै सत्ता र शक्तिको अन्तिम निर्णायक शक्ति हो । नेताले नेतालाई पराजित गर्दैमा, सैनिकले लडाकुलाई वा लडाकुले सैनिकलाई पाराजित गर्दैमा कोहि बिजेता हुँदैन भनेर यसपालिको चुनावले स्पष्ठ संकेत गरेको छ ।

नागरिक नै देशको बास्तविक माटो हो । माटोले नचाहे त्यहाँ कुनै बिउ पलाउन सक्दैन । माटोले नरुचाहेको बिजको निमित “माटो” उसको चिहान बन्छ । जहाँको माटोको पनि आफ्नै बिशेषता हुन्छ । कुनै माटोमा उम्रिने बिउ-बिरुवा अर्को माटोमा नमिल्नपनि सक्छ । यसपालिको चुनावले पनि यहि कुरा स्पस्ट गरेकोछ ।

नेपालको माटोले अनेकौं उत्कृस्ट नीतिज्ञ्य र नेता जन्माएकोछ । नेपालको नागरिकहरुको निमित उहाँहरु आज पनि आदरणीय नै हुनुहुन्छ । नेपालको माटोले जन्माएका ति महान नीतिनिर्माता र नेतालाई आफ्नो नीतिको श्रोत र प्रेरणाको आधार मान्नुको सट्टा कसैले नेपालको माटोको भन्दा नितान्त भिन्न फरक माटोमा जन्मेको नीतिज्ञ र नेतालाई आफ्नो नीतिको आधार र प्रेरणाको श्रोत माने त्यस्ता ब्यक्तिले कस्तो नियति भोग्छ भनेर यो चुनावले स्पष्ठ देखाएको छ ।

“राष्ट्र राष्ट्रियता र राजनीति” जातीय प्रभुत्वबादबाट मुक्त हुनुपर्छ । राष्ट्र राष्ट्रियता  र राजनीतिको सवालमा “नागरिकता” नै समस्त नागरिकको जात हो । धर्म हो । राष्ट्र, राष्ट्रियता र राजनीति सबै नागरिकहरुको साझा सम्पति हो । यसलाई कसैको व्यक्तिगत वा बौपति बनाउन खोज्नेलाइ यसपालिको चुनावमा लोप्पा खुवाईदिएको छ ।

देश “राष्ट्र, राष्ट्रियता र नागरिक” पुजिने मन्दिर हो । मस्जित हो । चर्च हो । गुम्बा हो । नेताहरु त मात्र भट्ट, मुल्लाह, फादर वा भिच्छु हुन् । यसपालिको चुनावले आफै ईश्वर, अल्लाह, जिसस र बुद्ध बन्न खोज्ने नेताहरुलाइ उनीहरुको को हुन् र उनीहरुको हैसियत के हो देखाईदिएको छ ।

“चुनाव” नागरिक न्यायधिस हुने न्यायालयको इजलास हो । त्यहाँ फैसला नागरिकले गर्छ । नागरिक न्यायधिस बन्ने अदालतको माथि अर्को कुनै अदालत पनि हुँदैन । नेता नेता बिचमा सहमति वा बहुमतबाट निर्णय हुन नसकेको हराएका मुद्दामा “चुनाव” नाम दिएको नागरिक न्यायधिस बन्ने अदालतमा अन्तिम फैसला गरिन्छ । त्यो फैसला बिरुद्ध कसैको रित कहिँ पनि लाग्दैन । कर्मचारी न्यायधिस बन्ने अदालत र नागरिक न्यायधिस बन्ने न्यायालय बिचमा फरक यति मात्रै छ कि नागरिक न्यायाधिस हुने अदालतले सजाय मात्रै गर्दैनन् पुरस्कार पनि दिन्छ । तर त्यस्तो पुरस्कार पनि निशर्त हुँदैन । शसर्त हुन्छ । जसले नागरिकले सम्मान पाउन तोकेको शर्त पुरा गर्दैनन् त्यस्तालाई दण्ड पनि दिन्छ भनेर यसपालिको चुनावको नतिजा (नागरिकको फैसला!!!) ले राम्रै सित देखाईदिएको छ ।

नागरिकको अदालतले अपराधि ठहर गरेको अभियुक्त फैसला भोग्न तयार नभए न्यायधिस बनेर फैसला गर्ने नागरिक “प्रहरी” पनि बन्न सक्छ । नागरिक प्रहरीले कालो सुचिमा चढाएको अपराधिको उन्मुक्ति असम्भव छ । यो नेपाल लगायत विश्वकै इतिहासले पनि पटक पटक प्रमाणित गरेको छ ।

चोर-बाटो बाट’ भित्ता फोडेर “चोर” मात्रै घर भित्र पस्छ । हुलमूल गरेर, हतियार देखाएर जवर्जस्ती घर भित्र पस्छ भने त्यस्तालाई डाँका भनिन्छ । घरको बास्तविक मालिकलाई झुक्याई ल्याप्चे लगाउन बाध्य पारेर घर कब्जा गर्नेलाई किर्ते भनिन्छ । कसै माथि बिवशता लादेर उसको झोपडी माथि महल खडा गर्नेलाई सम्राट होइन सामन्ति भनिन्छ । समाजमा यस्ता विकृत व्यक्तिहरु भएको त हामीले देख्दै आएको हो । तर समस्त नागरिकहरुको साझा घर सदन भित्र पनि यस्तैको राज चल्नु नागरिकहरुको निमित सैह्य नहुने कुरा पनि यो चुनावले देखाएको छ ।

हामी नेपालीहरु आपसमा कुरा नमिले निष्पक्ष व्यक्तिको सल्लाह मान्छौं । त्यस्तो सल्लाह पनि मान्न सकिने अवस्था भएन भने बहुजनको सल्लाह मान्छौं । हामी बहुजन हित हुने कुरामै आफ्नो हित हुने कुरामा बिस्वास गर्छौं । यस्तो नेपालीको नेपालमा आफूलाई नेता भन्ने कुनै कुनैले बहुमत नमान्ने, आफ्नै कुरामा सबै सहमत हुनु पर्ने, नभए फेरी पनि नेपालमा शान्ति छिनिने कुरा गरे । यस्ता नेतालाई यस पालिको चुनावले उनीहरुको हैसियत राम्रै सित देखाईदिएको छ ।

हिजो भुलेको, बिराएको अंगुलीमाल जस्तोलाई पनि सुध्रिएमा सम्मान गर्ने बुद्ध जन्मेको नेपालको नेपालीको हृदय बिशाल छ । यसपालिको चुनावले धेरै धेरै अंगुलीमालहरुलाई सुध्रिएर जनमतको सम्मान गरे फेरीपनि नागरिकले सम्मान गर्ने संदेश दिएको पनि छ । तर यति कुरा उनीहरुले बुझ्नु पर्छ कि माफी र अवसर पटक पटक त दिन सकिएला । तर सधैँ दिन सकिँदैन । अति सम्म सहनु । तर अत्याचारै कहिले पनि नसहनु भन्ने नेपालमै जन्मेको बुद्धको यो उपदेश बाध्यताबस पनि नेपालीले मान्नु पर्ने अवस्था आयो भने बारम्बार बहुजन तथा बहुमतले दिएको जनादेशको अपमान गर्नेले ठुलो दुर्भाग्यको सामाना गर्नुपर्ने छ ।

 

तपाइँको प्रतिक्रिया