भूईंमान्छेले देखेको पार्टी
● आनन्दराम पौडेल
साँझ परिसकेको थियो । उकाली-ओराली हिंडेर प्यूठान, जुम्रिकाँठा-९ को बस्तीनिर आइपुग्दा थकाइले लोद भएका थिए । बाटाको छेउमा एउटा घर देख्नासाथ शशिधरको गोडाले अगाडी बढ्न इन्कार ग-यो । गाईगोठबाट निस्केर आउँदैगरेका एकजना किशोर देखिए । उनैलाइ सोधेर घरभित्र पसे, र झोला बिसाएर तिनै किशोरसँग अँगेनाको छेउमा बसे । पानसको उज्यालोमा शशिधरले देखे, एकातिरको कुनामा अधबैंसे महिला चुल्हो बाल्दैथिइन् । अर्कोपटि छेउमा एकजना किशोरले पाञ्चायनको आरती गर्दैथिए । खाना खानुअघि यिनै किशोरसँग सामान्य भलाकुसारीबाहेक विशेष कुरा भएन । खाना खाइसकेपछि चिनापर्चिसँगै वातचित भयो ।
महिलाको नाम बेदी पुँजाली रहेछ । ५० बर्ष पुगिछन् । ९ बर्षअघि उनका पति रिमे पुँजालीको मृत्यु भएछ। जेठो छोरा १३ बर्षको र कान्छो ११ बर्षको भएछ । अढाई बर्षदेखि भारततिरै काम गरिरहेको जेठो अहिले घर आइपुगेको रहेछ । दरिद्रताकै कारणले छोराहरुलाइ स्कुल पठाउन सकिनछिन् । शशिधर लेखक, पत्रकार हुन् भन्ने थाहा पाएपछि बल्ल खुलेर कुराकानि गर्न थाले । निर्वाचनको माहोल भएकोले शशिधरले त्यही प्रसङ्गबाट वातचित शुरु गरे ।
“भोट कस्लाइ हाल्ने विचार गर्नुभएको छ ?” शशिधरले सोधे ।
“उमेर नपुगेको कारणले हामी २ भाइले त भोट हाल्न नपाउने होला, आमालाइ पनि भोट हाल्न नजानुहोस् भनेका छौं।” थोरै विद्रोह मिसाएर जेठो बोल्यो ।
“आक्रोश चर्को रहेछ। के कारण प-यो त्यस्तो ?”
“दुर्भाग्यको मारमा त हामी प-यौं नै। अत्याचारको जाँतोले हामीजति कोही पिसिएका छैनौं। अलिअलि जान्नेवुझ्ने भएदेखि नै अपमान र तिरस्कारबाहेक अर्थोक पाएको मलाइ थाहा छैन ।” जेठो अलि बिस्फोटक भयो ।
“कस्ले ग-यो अत्याचार, अपमान र तिरस्कार ?”
“यही समाजले ग-यो । र, अत्याचारीलाइ साथ दिएर पार्टीहरुले गरे ।”
“कस्ता-कस्ता अत्याचार गरे ? अलिकति खुलाइदिनुहोस् न ।” शशिधरले उत्सुकता बढाए।
यतिञ्जेल किशोर र आमा मौन थिए । मौन भएपनि उकुसमुकुसको छटपटी बेदी पुँजालीको अनुहारबाट प्रकट भैरहेको थियो । अघि सरेर बोलिन्, “अत्याचार खपिनसक्नु छ । भनेर भनिसक्नु र सुनेर सुनिसक्नु भए पो ..!” बेदी पुँजाली एकछिन अड्किन । खम्बामा अडेसलाएर बसेकी थिइन् । अलिकति अघि सरिन् र बोल्न थालिन्, “श्रीमानको मृत्यु भएदेखि नै जेठाजु लिमे पुँजालीका खलक हात धोएर मेरो पछि लागे । सर्वप्रथम एउटा लठुवासँग सल्केकी छ भन्न थाले । त्यतिले नपुगेर ‘यो बोक्सी हो’ भनेर हल्ला फिंजाए । गाउँघर, वरपर जस्को घरमा बालबच्चा बिरामी परेपनि, बस्तुभाउ झोक्राएपनि, तिनीहरु त्यहीं पुगेर, ‘त्यही भेदाहाको काम हो, यहाँपनि भ्याइछ’ भन्न भ्याइहाल्छन् । त्यसपछि जेठाजुको छोरो टङ्के पुँजाली सरासर आउँछ र मलाइ चड्कन हान्न थाल्छ । लठ्ठीले बजाउन थाल्छ । ढाड र पिडुँलाभरी नीलडाम छ । यहाँका ठूलाबडा भन्ने र बुढापाकाहरु सबैलाइ भनिसकें । ममाथि भएको यत्रो अन्याय, अत्याचारको बिषयमा कोहीपनि अघि सरेर बोलेनन् । घरजग्गा बेचेर अन्यत्रै जान्छु भनेर सूर कसें । किन्न आएका मान्छेलाइ पनि किन्न दिंदैनन् । अनेक गरेर भाँडिदिन्छन् ।” बोल्दाबोल्दै बेदीको गला अवरुद्ध भयो। एकछिन रोकिइन् । एक ग्लास पानी पिइन्। सामान्य भएपछि शशिधरले सोधे, “यी बाबुले अघि पार्टीहरुप्रति आक्रोश पोखेका थिए । पार्टीले के ग-यो र ?”
“पार्टीप्रति उस्को आक्रोश जायज छ। यी पार्टीका कार्यालय धाएँ । सबै पार्टीका नेतालाइ भेटें । आफूमाथि खनिएको अत्याचारको बेलिबिस्तार सुनाएँ । ‘ओहो ! यत्रो अत्याचार खपेर कसरी बस्न सक्नुभयो’ पनि भने । गाउँसमाज भेला गरेर छ्यानब्यान गरिदिनुहोस् भन्दा ‘हुन्छ, गर्छौं’ पनि भने । तर, कहिल्यै गरेनन् । किन गरेनन् भनेर वुझ्दा थाहा भयो, हामीमाथि अत्याचार गर्नेको जमात ठूलो छ । हाम्रो कोही छैन । म नितान्त एक्लो छु । त्यहाँमाथि, त्यो टङ्के त ५-६ बर्षदेखि प्रचण्डको पार्टीमा लागेको रहेछ। उस्ले जति अत्याचार गरेपनि पार्टीले उस्कै पक्ष लिने नै भयो। टङ्केले गरेको अत्याचार भन्दापनि पार्टी र नेताहरुले अन्यायविरुद्ध १ शव्द नबोलेकोमा हाम्रो चित्त दु:खेको छ ।” अन्तिम बिसौनीमा आइपुगेर बस रोकिए जस्तै बेदीले ब्रेक लगाइन्। ओढिरहेकै पछ्यौरीको फेर मुखमा कोचेको देखें । घुँक्क-घुँक्क आवाज सुनियो । एकछिन वातावरण स्तव्ध भयो। मौनतालाइ चिर्दै ठूलो बाबुले, “तपाईंको लागि नौलो भयोहोला, हामी त आँसुको भेलमै वाँचिरहेका छौं । हिंडेर आउनुभएको, थाक्नुभएको होला । सुत्ने व्यबस्था यता गरेका छौं, जाउँ” भनेर मलाइ बिछ्यौनातिर लग्यो ।




