देश जलाएरै खाओ दलालहरु हो !
देश अन्तत ठूलो हत्या हिंशा र द्वन्दमा फस्ने देखियो । यसलाई रोक्न न कुनै नागरिक समाज उत्रिएको छ । पहिले उत्रिने कलाकार त नेतामा बदलिईहाले । लेखक, बिश्लेषक, टिप्पणीकार, पत्रकारले उहि समर्थन जनाउने कि बिरोध वा कसको भोट कति, कसको सिट कति भन्नेमै सामर्थ्य खर्च गरिरहेका छन् । ढोकैसम्म आइपुगेको संभावित द्वन्दका असर, रोक्ने उपायबारे कोहि कलम चलाउँदैन । मंशिर चार पछी जुन खालको टकराव उत्पन्न हुन्छ त्यसले जोसुकैको सरकार बनेपनि न राम्रोसित चल्छ, न शान्ति हुन्छ । न संविधान बन्छ । बनेपनि न त त्यो लागू हुन्छ । वा बनेपनि त्यसले देश चलाउने हैशियत राख्छ । तरपनि यस्तो गम्भिर विषयमा कोहि केन्द्रित भएको देखिन्न ।
पहिलेका स्वतन्त्र जस्ता लाग्ने दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर र क्रिष्ण पहाडीहरु चुपचाप छन् । राम्रो लेख्ने । सहि विश्लेषण गर्ने, गलत भए सबैलाई औंलो ठड्याउने र नागरिकले अलि बढि पत्याएका भनिएका लेखकहरु राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ जस्ता टुप्पी कसेर राजनितिक पार्टीमा लागिहाले । यिनको लेखन अब नागरिक जागरण, सत्य तथ्य विश्लेषका लागि होइन । राजनितिक पार्टीका नेताको स्तुति गाउनु, भक्ति गर्नुमा बदलिएको छ । आखिर तिनलाईपनि पार्टीको मोहनै रैछ, भोटनै चाहिएको रैछ । पार्टीको टिकाबिना जनताको माया र समर्थनले तिनका कलम नटिक्ने रहेछन् ।
यो निर्वाचनमा बहिस्कार गर्दै हिँडेकाहरुको हैशियत र स्थान के हुने ? अहिलेनै बहिस्कार गर्नेले निर्वाचन पछि के गर्ला ? पूर्वी नेपालमा सरकारलाई अहिलेनै हायलकायल पारिरहेको लिम्बुवान आन्दोलनकर्ताहरु निर्वाचन बहिस्कार गरेर आन्दोलन छेडिरहेका छन् । यो निर्वाचनपछि झन लिम्बुवान आन्दोलनले कुन रुप लेला ? कता लैजाला ? बहिस्कारबादीले राजनितिक दलकै नेत्रित्वमा सरकार बनाएर चैतमा निर्वाचन गरौं, हामीपनि सहभागि हुन्छौं भनेर स्पष्ठ गर्दागर्दै किन पेलेरै निर्वाचनमा जानु पर्यो । दुई चार महिना ढिला हुँदैमा पाँच वर्ष रोक्किएको संविधान सभा के फरक पर्थ्यो ? सबै दलको सहमतीमा निर्वाचन हुने मौका हुँदा हुँदै किन माओवादीको लिँटेढिपीमै केहि दललाई बाहिरै राख्ने षडयत्र भो ? किन बाँकि एमाले, कांग्रेस त्यसैमा सति गए ? मुख्य दोषी को थियो ? के स्वार्थ थियो ? खै नागरिक समाज, विश्लेषक र पत्रकारले यसमा ध्यान दिएको ? किन यसलाइ खोलेर जनताका सामु ल्याउन सकेनन् ? किन यो विषयमा प्रभवकारि हस्तक्षेपको भूमिका खेलेनन् ? सबैलाई मान्य हुने सरकार र निर्वाचनका लागि किन कोसिस गरेनन् ? किन जनतालाई त्यसमा जागरुक गराउनतिर लागेनन् ?
देशको ठूलो राजनितिक शक्ति निर्वाचन बाहिरै रहेकालेपनि अहिलेको निर्वाचनले पक्कै राजनितिक निकास दिने छैन । त्यसपछिको अवस्था के हुने ? ति जबर्जति पनि आन्दोलनमै रहने छन् । तिनले उठाएका राजनितिक मागको संवोधन गरेर तिनलाई निस्तेज बनाउने क्षमतापनि अबको संविधान सभाले राख्ने छैन । किनभने अबपनि कुनै दलको बहुमत आउने स्थिति छैन । संविधानका हरेक विषय र बुँदामा ति सहमत हुने छैनन्, बरु बिबादमै बित्ने देखिन्छ । सरकार बदल्ने खेलमै तिनको समय फेरि गुज्रने छ । झन राजनितिक बेतिथि र अन्यौलको अवस्था स्रिजना हुने निश्चित छ । यस्तो जान्दाजान्दैपनि यो निर्वाचनकै पक्षमा लेखक, पत्रकार, बुद्दिजिवी, नागरिक समाज भनाउँदाहरुले सहमति जनाउनु बिडम्बना हो ।
मंशिर चार पछि देशमा द्वन्द झन बढेर जाने निश्चित छ । त्यसपछि झन राजनितिक दल, कलाकार, लेखक, पत्रकारमा झन ध्रुबीकरण शुरु हुन सक्छ । द्वन्द बढेपछि फेरि ति लेखक, पत्रकार, बुद्दिजिवी, अनि पापड र झापड नामका संस्थाका केहि जागिरेदारहरु सडकमा निस्केर नाटक देखाउने होलान् । द्वन्द नगर, भो देशलाई ग्रिहयुद्दमा लान पाइन्न भन्दै । द्वन्द शुरु भैसकेपछि तिनले जागिर, पद र पैसो अनि भ्रमण पाउँछन् । भत्ता र मन्च, माईक र हल पाउन थाल्छन् । द्वन्द बिश्राम हुँदा धेरैको मानो र दानो हराएको छ । शुरु हुनासाथ त्यो सबै पुन शुरु हुन्छ । अनि तिनको कोकोहोलो शुरु हुन्छ ।
एकथरी दलाल, भाटहरुलाई बिदेशीको इशारामा देशमा आगो झोस्नु परेको छ । कोहि भाटलाई संविधान र चुनाबको नाममा देश लुट्नु परेको छ । कोहि भाटलाई नेपालीको हत्या गर्नुपरेको छ । कोहि दलाल, हत्याराहरुलाई नेपालीको लास गनेर हतियारको ब्यापार गर्नु परेको छ । कोहि बिदेशी दलाललाई अझ धेरै हेलिकोप्टर चढ्न पाइन्छ भन्ने लालसा जागेको छ । देशमा द्वन्द हुँदा अनेक खालका फाइदा लुट्न कुरेर, दाउ हेरेर बस्ने धेरैनै छन् । को रैछ त यस्तो भयावह सिथिति जोगाउनतिर उठ्ने ? ल ल देश जलाएर, आगो झोसेरै खाओ दलाल, पिडक, देशमाराहरु हो !




