मतदाताको पाटोबाट

आनन्दराम पौडेल

anandaram-paudel-33434गञ्जी किन्नुपरेकोले बानेश्वर, भीमसेनगोला, भत्केको पूलनिर लुगापसलमा छि-यौं। ग्राहकहरु धेरै थिए। निर्वाचनको प्रसङ्ग चल्यो। मत हाल्ने बिषयमा एउटा अचम्मको साझा धारणा देखा प-यो। त्यहाँ अधिकांश कांग्रेसी मतदाता रहेछन्। भन्दैथिए, “हामी त पुर्ख्यौलि कांग्रेस। तर, यस्पालि प्रत्यक्ष तर्फको मत कांग्रेसलाइ दिएपनि समानुपातिक मत ‘गाई’ मा हालिन्छ।” म छक्क परें। मतदाताहरुको यस्तै निर्णय सिनामङ्गल पेट्रोलपम्पमा पनि सुनेको थिएँ। कपडापसलमा भएकामध्ये उच्च शिक्षित लाग्ने एकजनालाइ सोधें, “किन यस्तो उल्टोपाल्टो काम गर्नलाग्नुभएको हो ?”  “उल्टोपाल्टो काम त उहाँहरुले गर्नुभयो, र झन्-झन् गरेकोग-यै गर्नुभयो। हामी जनताले जति कराएपनि हाम्रो कुरा उहाँहरु सुन्नुहुन्न।” उहाँले खरो जवाफ दिनुभयो। “त्यस्तो उल्टोपाल्टो काम के भएछ ?” प्रष्ट नभएकोले पुन कोट्याएँ। बोलिरहेका साथिलाइ उछिनेर अर्को साथिले जवाफ दिए, “१८ प्रतिसत क्षेत्री, १२ प्रतिसत ब्राह्मण र दशनामी गरी करिव ३२ प्रतिसत जनतालाइ ‘अन्य’ मा फालिदिने ? के हो ‘अन्य’ भनेको ?” उनले उल्टै मैसँग प्रतिप्रश्न गरे। ” ‘अन्य’ भनेको ‘इत्यादि’ अथवा ‘गणनालायक नभएको’ भन्न सकिन्छ।” मैले जवाफ दिएँ। “आरक्षण कस्तालाइ दिनुपर्छ ?” उनले पुन मलाइ नै प्रश्नको झटारो हाने। “सीमान्तिकृत भूईंमान्छेहरुलाइ दिनुपर्छ।” मैले भनें। “अहिले कस्तालाइ दिईराखेको छ ?”

उनको प्रश्नमा आक्रोश थियो। मैले केही भनिन; मनमनै सम्झें, “युएनडिपी लगायत सबैको मानव विकास सूचकाङ्कहरुले नेवार, मनाङ्गे, थकाली, गुरुङ तथा तराईका फर्वार्ड कास्ट (राजपूत, कायस्थ, भूमिहार र बाहुन)हरुलाइ पहाडे बाहुन-क्षेत्रीभन्दा धेरै माथिल्लो हैसियतमा देखाउँछन्। ए, हो त ! यहाँपनि तिनै बाहुनचरीहरुलाइ नै घात गरिएको रहेछ।” म चुप लागेपनि उनको आक्रोश थामिएन, भन्दैगए। “के हो यो बाहुनवाद भनेको ? वाद बन्नको लागि के-के तत्व चाहिन्छ, र के-के प्रकृया पूरा गर्नुपर्छ ? हामीलाइ अपराधी जस्तो व्यबहार गरिन्छ ? के अपराध गरेका छौं हामीले ? के यो थर, जातमा जन्मनु नै अपराध हो ? के हामीले जात-थर छानेर, रोजेर, निवेदन हालेर जन्मेका ह्वौं ? तराईमा बितण्डा मच्चाएर पहाडेलाइ खेद्दा आजसम्म कुनै पार्टी बोल्यो ?” उनी आवेगमा थिए। प्रश्नको बर्षा भैरहेको थियो। वहस रोक्नुप-यो भनेर बिट मार्ने हिसाबले मैले भनें, “ती गल्ति सँच्याउलान् नि त ?” “के सँच्याउँथे ? घोषणापत्रहरु पढ्नुहोस् न।” उनले भने। घोषणापत्र पढ्छु भन्ने वाचाबन्धन गरेर बिदा भएँ।

जिज्ञाशा जगाइदिएका थिए। घरमा आएर घोषणापत्रहरु केलाएँ। कांग्रेस, एमाओवादी र एमालेको घोषणापत्रले उपरोक्त प्रश्नको सम्बोधन गर्ने त परको कुरा, कोट्याउने आँटसमेत् गरेनछन्। यी तीनवटै पार्टीका घोषणापत्रले पहाडे बाहुन,क्षेत्री र दशनामीलाइ “अन्य” बाट हटाउनुपर्छ भन्नसकेनछन्। यिनीहरुले भविष्यसम्म ‘अन्य’ मै राख्ने सूर गरेका रहेछन् भन्ने प्रष्ट भयो। यी तीनवटै घोषणापत्रले आरक्षणलगायत राज्यले दिने विशेष सुविधा र अवसरहरु सीमान्तिकृत, भूईंमान्छेलाइ दिनुपर्छ भन्न सकेको छैन; जातकै आधारमा प्रदान गर्ने सूर देखियो। जातीय राज्य बनाउने बिषयमा एनेकपा माओवादीले शव्द फेरेर ‘पहिचान’ को आवरणमा एकल जातीय राज्य नै बनाउने प्रष्ट उद्घोष गरेको छ। नेकपा एमालेपनि जातीय राज्यकै पक्षमा उभिएको छ। फरक केवल यति छकि माओवादीले एकल जातीय राज्य भनेको ठाउँमा एमालेले एउटा थपेर द्वीजातीयको कल्पना गरेको छ। हचुवाको भरमा जथाभावी सङ्घीय राज्य बनाउने प्रस्ताव गरेका पार्टीहरु आर्थिक सामर्थ्यको बिषयमा मौन छन्।

घोषणापत्र पढ्दा अडमिल्दा कुरा धेरै खट्कियो। यति ठूला-ठूला सपना देखाइएको छकि एउटा नेपाली जनता सपनाको खातमा पुरिएर निसास्सिएरै मर्छ। “जो हो नबर्षने मेघ उसैको हुन्छ घर्घर” भनेझैं पूरा गर्नुनपर्ने हवाईयोजनाहरु जति बनाएपनि हुन्छ। घोषणापत्र पढ्न शुरु गर्नासाथै हामीले यथार्थ धरातललाइ छोडिसक्छौं। उडन्ते हवाई कल्पनामा बत्तिंदै आकासमा कावा खान थाल्छौं। त्यतिले नपुगेर हामीलाइ पुष्पकबिमानमा बिराजमान गराएर अन्तरीक्षमा पु-याउँछ। यी घोषणापत्रका एउटै दु:खद विडम्बना के छभने, जग नभएको घर गर्ल्यामगुर्लुम ढलेजस्तै हामीपनि अन्तरीक्षबाट एकैचोटी खस्छौं र भूईंमा डङ्ग्रङ्गै पछारिन्छौं। केही बर्षदेखि नेपालको वैदेशिक व्यापारघाटा तिब्र गतिमा बढ्दै छ, र अहिले ६ खर्ब नाघेको छ। छुमन्तर गर्नासाथ यो चुलिएको व्यापारघाटा तुरुन्तै ‘ब्रेक थ्रू’ मा आइहाल्छ, र ५ बर्ष नपुग्दै व्यापारनाफाको स्थितिमा पुग्छ भन्ने जस्ता रहरलाग्दा हवाईकल्पनाहरुले भरिएको छ।

हामी सबैलाइ थाहा छ, १५ बर्षयता राष्ट्रको आर्थिकबृद्धि दर घट्दै गएर दश बर्षदेखि ४ प्रतिशतको छेउछाउमा छ। तर, उनीहरुले तात्तातै दोब्बर     पु-याउने र ३-४ बर्षमै दुई अङ्कमा पुग्ने चमत्कारिक मिठाइ मतदातालाइ बाँडेका छन्। सपना बाँड्न उछिनापाछिन गर्दै उनीहरुले त ५ बर्षमै नेपाललाइ विकसित राष्ट्र बनाइदिने जादुगरी चटक प्रस्तुत गरेका छन्। बर्षेनी साढेचार लाख युवा जनशक्ति श्रमवजारमा थपिंदैगएको छ। वेरोजगारी प्रतिसत बढ्दै गएर भयावह स्थितिमा पुगेको छ। यही बर्षबाटै ३ लाखको रोजगारी सृजना भैहाल्ने र १५ बर्षमा त वेरोजगारी नै निमिट्यान्न पारिदिने भनेर कठोर यथार्थबाट हामीलाइ एक्कैचोटी रोमाञ्चकारी दुनिञामा पु-याइदिनुभएको छ। ३ बर्षमै लोडसेडिङ अन्त्य गर्ने र १० बर्षभित्रै १० हजार मेघावाट जलविद्युत उत्पादन गर्ने रमाइला गफ पनि गरिएको छ।

सपना देख्नु गलत हैन, तर सपना बाँड्दाभने होस पु-याउनुपर्छ। यथार्थको धरातलमा टेकेर देखेको सपनामात्र सम्भावनायुक्त हुन्छ। ६-७ बर्षदेखि हामी हेरिरहेछौं, पुस्तौंपुस्तादेखि उद्योगव्यवशायमा लागेका पुराना उद्योगव्यवशायीले धमाधम आफ्नो लगानि झिकेर विदेशतिर लगिरहेछन्। लगानि गर्न आएका विदेशीहरु, यहाँ लगानिको वातावरण नदेखेर फर्किरहेछन्। ऐनाजत्तिकै छर्लङ्ग छ, शान्तिसुरक्षा र सुशासनको अभावले गर्दा वातावरण लागानिको प्रतिकूल बनेको हो। योपनि वुझिएकै छकि, अपराधीहरु पार्टीमा भरिंदै गएकोले यो स्थितिमा पुगेको हो। तर, पार्टीका घोषणापत्रहरु यतातिर गम्भीर छैनन्। एनेकपा माओवादीले त बन्दहडताल गर्दिन भन्नसमेत् सकेको छैन। डाइग्नोसिस नगरी रोगको उपचार सम्भव नभएजस्तै स्थिति बिग्रनुको कारण नखोजि स्थिति सपार्छु भन्नु मनको लड्डु घिउसित खानु हो।

उहाँहरुले, “हामी जनताले जति कराएपनि नेताले सुन्दैनन्” भन्नुभएको थियो। त्यसतर्फ एकछिन घोत्लिएँ। हुनपनि ५-६ बर्षदेखि हामीले स्थानीय निकायलाइ अधिकार थपौं भन्यौं। तर, उहाँहरु स्थानीय निकायको अधिकार खोस्न उद्यत हुनुभयो। सम्बिधानसभाको ‘राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति’ मा एकमतले अधिकार खोस्ने निर्णय गर्नुभयो। मतपत्रमा अस्वीकार मत (राइट टु रिजेक्ट) को महल राखौं भन्यौं। प्रत्याव्हानको व्यबस्था गरौं भन्यौं। न्यायपालिकालाइ राजनीतिक हस्तक्षेपबाट मुक्त राखौं भन्यौं। अदुअ आयोगमा पार्टीको घुसपैठ नगराउँ भन्यौं। तर, उहाँहरुको कानमा बतास लागेन। सबै सम्झँदा लुगाकोठीमा भेटिएका मतदाताको आक्रोश जायज लाग्यो, बोल्ने हुति रहेन।

नोभेम्बर 13, 2013

 

तपाइँको प्रतिक्रिया