‘नत्र संविधान’ बन्दैन भन्दै थर्काएर पाइन्छ र भोट ?
एकिक्रित नेकपा माओवादीले आजकाल हाकै भन्ने गरेका छन्, ‘हामीलाई मत दिनुहोस् । हामी जनताका पक्षमा संविधान बनाउँछौं ।’ यो चाहिँ तिनले मेडिया र शहरतिरका कार्यक्रममा भन्ने गर्छन् । तर गाउँतिर गएर चाहिँ मत माग्दै धम्काउने रहेछन् । ‘हामीलाई मत देउ, नत संविधान बन्दैन । संविधान नबने फेरि हालत बिगतको जस्तै हुन्छ । सरकार बदलिईरहन्छ अनि केहिपनि काम हुन्न । त्यसैले संविधान बनाएर सुख पाउने हो, देशको बिकास गर्ने हो भने हामीलाई बहुमत नदिईहुन्न ।’
नेपाली कांग्रेसको हालत थाह छँदै छ । उसले एक दशक सरकार बनाउँदा देशको हालत कस्तो बनायो ? कांग्रेस सरकार सञ्चालनमा पुरै असफल सिद्दनै भएकै हो । एमालेलेपनि न पाएको सरकार चलाउन सक्यो । न राष्ट्रियताका मामिलामा उभिन सक्यो। सरकार बनाउँदै कांग्रेसका पालामा भन्दा झन बदनामी काम गर्ने, लुट्ने, नेताका महल ठड्याउने काम गरे । राजा समर्थक राप्रपा जस्ता पार्टीको त के कुरो गर्नु ? फेरि एकतन्त्रिय शासन ल्याएर, राजतन्त्र ब्युँताएर अर्को २४० वर्ष देश लुटौंला भन्ने ध्याउन्नमा छन् ।
आयो नयाँ पार्टी माओवादी, नयाँ जोगी बनेर । जनयुद्द गर्दा पहिलो माग राख्यो, संविधान सभाको निर्वाचन । त्यहि ल्याउन दशौं हजारले ज्यान दिए । पछि सरकारमा गयो । आफैंले मागेको संविधान सभा बचाउन सकेन । उ आफैंले भंग गरायो । त्यसपछि राष्ट्रियता बिरोधी अनेक काम गर्दै अगाडि बढ्यो । भारतको चाकरी र चाप्लुसीमै डुब्न थाल्यो । अब यि तिनै मुख्य भनिएका पार्टीलाई कसरि दिने जनताले बहुमत ? बहुमत त यि तिनवटै पार्टीको आउन्न । बाँकि मधेशी दल कि त ति सत्ताकालागि मात्रै मरिहत्ते गर्ने छन् । कि राष्ट्र ट्क्र्याउने बिखन्डनबादी छन् । कि त भारतका पाल्तु छन् । मधेशी दल र नयाँ कुनैपनि पार्टी जनताले आशा गर्ने बिकल्पको रुपमा देखिएका छैनन् । अनि कसले पाउँछ त बहुमत ? कसैको आउन्न । उसो भए के हुन्छ ?
कुनैपनि पार्टीको बहुमत आउन्न । संविधान बहुमतका आधारमा बन्न सक्ने अवस्था हुँदाहुँदै त माओवादीले संविधान सभा भंग गर्यो भने अब झन कसरि बन्ला ? संविधान सभामा कुनैपनि पार्टीको बहुमत नभएपछि त झन तिनको काम मारमुंग्री गर्ने मात्रै हुने छ । एकले अर्कोलाई दोष संविधान नबन्नुको कारकका रुपमा दोष लगाउँदै फेरि सत्ता र भत्ता लिएरै बिताउने हुन् । सत्ताकालागि हानथाप, अल्पमतको सरकार भंग गर्ने र नयाँ सरकार बनाउने खेलमै तिनले मारमुंग्री मच्चाउने छन् । संविधान त कुनै हालतमापनि बन्दैन । माओवादीले जतिसुकै चिप्ला, चिल्ला कुरा गरेपनि उसले आफ्ना निति, बिचार, कम्युनिष्ट आदर्श र बिगतका बाचाहरु भुलिसकेको छ । उसले सरकारमा गएर जनताका पक्षमा केहिपनि गरेर देखाउनै सकेको छैन । अनि केका आधारमा दिने बहुमत ? उसले हामीलाई भोट नदिए संविधान बन्दैन भन्नु त धम्किको राजनिति मात्रै हो । धम्काएर अलिकति बढि मत ल्याउन सकिन्छ कि भन्ने दाउ मात्रै ।




