यस कारण प्रचण्ड देउ राजिनामा
माओवादीको सरकार जहाँ टेक्छ त्यहिँ पहिरो जान्छ । जे निर्णय गर्छ त्यहि उल्टिन्छ । अगाडि एक पाईला सार्छ । तर धतङ्गाउँदै सार्ने गरेकाले दुई पाईला पछाडी हट्न बाध्य हुन्छ, पारिन्छ । एउटा निर्णय तामझामका साथ गर्छ अनि असफल भएको कुरो कुप्री पर्दै स्विकार्छ । भ्रष्टाचार गरेर रातारात नकुम्ल्याएको बाहेक कहिँ कतै माओवादी सरकार सफल भएको देखिएन ।
तराईमा मधेशी जनताको आगो निभाउन एक मधेश एक प्रदेशमा हत्त न पत्त गएर कांग्रेस, माओवादी र एमाले सबैले हस्ताक्षर धस्काए । तर अलिकतिपनि सदबुद्द्दी देखिएन माओवादीमा । जब थारु समूदाय उठ्यो ‘ए गाठे लौ त हामीलाई कसले राख्छ एक मधेश एक प्रदेशमा‘ भन्दै । दुई चार जनाको ज्यान गएपछि, करोडौकरोडको क्षती ब्यहोर्नुपर्ने गरि थारुहट आन्दोलन भएपछि अनि बल्ल चेत खुल्यो । त्यसमा आफैंले गरेको निर्णयलाई लोप्पा चखाउँदै अन्तरिम संबिधानमा सच्याउनै परेपनि सच्याउने भन्दै थारुका मागमा सहि धस्काउनु पर्यो । माओवादी सरकार नराम्रोसित बल्ड्याङ खायो ।
अब मधेशीले होइन एक मधेश एक प्रदेश हुनै पर्छ भनेका छन्, के गर्लान ? वर्षौं वर्षदेखि सुगममा बसेका कर्मचारीलाई दुर्गम र ग्रमिण भेगमा पठाएर सधैं दुर्गममा बसेकालाई सुगम र शहरमा केहि वर्ष काम गर्ने मौका दिइने भनियो तर कार्यान्वयन भएन । ब्यापारीलाई सहुलियत दिने भन्यो कसैले टेरपुच्छर लागाउँदैन । १० प्रतिशत शिक्षा शुल्कको घोषणा गर्यो त्योपनि निजि स्कूलहरुले बरु स्कूल सबै बन्द गरिन्छ तर तिरिन्न भनेर तिरेका छैनन् ।
नाथे पशुपतीका छ ढोका मध्ये एउटा ढोकामा नेपाली पूजारी राख्दा त्योपनि कार्यान्वयन हुन सकेन । त्यति सानो निर्णयबाट समेत सरकारले निहुरिमुन्टी न लगायो । भए भरका ठाउँमा कूलपती भटाभट टिका लगाउँदै तथास्तु गरियो त्योपनि टिकेन । बिरोधी त के आफ्नै पार्टीकाले समेत रुचाएनन् र शत्रुका अगाडि खुब हिङ झारे आफ्नै पार्टीको । बिद्दुत परियोजनाको उद्घाटन गरेर फर्किन नपाउँदै बिद्दुत परियोजनाको कार्यालयनै अंधकारमा डुब्छ । आठ जना जर्नेललाई अवकाश दिईयो । त्योपनि सर्बोच्चले धोती लगाइदियो । अन्तिम अवस्थासम्म टसको मस नदेखिएपनि झुक्नै पर्यो ।
यसरि कुनैपनि निर्णय पालना भएको छैन । माओवादी सरकार त्यहि कर उठाउने र एमाले र कांग्रेसलेझैं भ्रष्टाचार गरेर कुम्ल्याउने बाहेक अन्य ठुला काममा सफल हुन सकेको छैन । सरकारमा भएका अन्य दल कसरि हुन्छ माओवादीलाई अलोकप्रिय बनाउन र खुइल्याउनमै तल्लिन छ । यद्दपी त्यसमा माओवादीका आफ्नै कमजोरीपनि छन् । प्रतिपक्षको त यसैपनि कामनै सत्तामा हुनेलाई अलोकप्रिय बनाउने नै हो । कांग्रेसलेपनि त्यो छोड्ने कुरै भएन । कांग्रेसले सत्तामा बस्ने बाहेक अरु जानेकोपनि त छैन । किनकि जनता कहाँ जाने त उसको बाटै छैन ।
सरकार जति रह्यो उति माओवादी यूद्दक बिमानको गतीमा असफल छ अनि सफल भने बुढो गोरुले गाढा धसारेजति पनि छैन । हुँदा हुँदा त प्रधानमन्त्री प्रचण्डका आफ्नै पुत्रसमेत बाबुकै पद र आफ्नै पार्टी खुइल्याउन दिउँसै जाँडले रल्लिएर जगत हसाउने गर्दै छन् । आफ्नै छोरोलाई त सरकारको डर छैन । राष्ट्रप्रतीको जिम्मेवारीबोध छैन भने हुन्छ अरु कसलाई ?
जे निर्णय गर्यो बलेसीको फोको भन्दापनि हतारिँदै फुट्ने । जनताले कुनै राहत नपाउने । संबिधान निर्माणपनि थाती रहने । जनसेना समायोजनपनि नहुने । न प्रशासन सुधार न त आर्थिक बिकास । केहि नहुने, नसक्ने हो भने किन सरकारमा टाँस्सिईरहने । जति बस्यो उति घाटा छ एकिक्रित माओवादीलाई । त्यसैले प्रचण्ड अझैपनि बुद्दी पुग्छ भने देउ राजिनामा । लाग संबिधान बनाउन । आफ्ना कार्यकर्ता र जनसेनालाई देशभरि परिचालन गर । देश बिकास र समाज सुधारका बिभिन्न क्षेत्रमा काम लगाउ । जनताको मन जित । अर्को निर्वाचनमा एकल बहुमत ल्याउने कोसिस गर । फोरम, नेपाली कांग्रेस र एमालेलाई लुछाचुँडी गर्न देउ सरकार । आफ्ना कार्यकर्ताहरुलाई सैयम बनाउ । त्यसैमा कल्याण होला । नत्र यस्तै पाराले सरकार चलाए त खोइ यि आँखाले एकिक्रित नेकपा (माओवादी) भन्ने पार्टी जनता परिषदकै हालतमा पुगेको पो देख्छ कि ! शंकै छ ।




