टिकटको सट्टा एक करोड ‘अफर’

आनन्दराम पौडेल 

anandaram-paudel-33434छाँगाबाट खसेर बजारिन पुग्दा कस्तो अनुभूति हुन्छ ? आज (२०७०\ ०७\ ०४ गते) यज्ञराज पाठकजीले त्यही अनुभव गरे । आफ्नो मित्रको घर शिलगढी (डोटी) मा बसेका थिए । कौसीमा बसेर दूर क्षितीजतिर नियालिरहेका थिए । आफ्नै पुनरावलोकन गर्न थाले । चिन्तामग्न भएर सोचे, “चेतना पसेदेखि घर,परिवार र आफैंलाइ समेत् बिर्सेर यही नेपाली कांग्रेसको राजनीतिमा जिन्दगी होमें । जेलनेल भोगें । प्रशासनको वारेन्टबाट जोगाउन पार्टीले प्रवासमा रहेर पार्टी-काम गर्न निर्देशन दियो ।  देशभित्रका हरेक आन्दोलनमा अग्रपङ्क्तिमै थिएँ । पुलिसका कति लाठिमुङ्ग्री यो ज्यानले खप्यो, त्यस्को लेखाजोखा र हिसाब छैन । उपचार गराउन नपरेको कुनै आन्दोलन छैन । एकपल्ट त पुलिसले लाठी मजैसँग हानेछ । धेरै दिन अस्पताल बस्नुप-यो । राजनीतिमा मेरो एकोहोरो समर्पण देखेर मेरो घरपरिवार र नातागोता समेत् वाक्कदिक्क भएका थिए । डोटीका साथीहरुकै अनुरोधमा नेका डोटी जिल्ला कमिटीको सभापति भएर काम गरें । संसद पुनर्स्थापना भएको बेला यज्ञराज पाठकलाइ सांसद बनाउनुपर्छ भनेर साथिहरुले केन्द्रमा निकै दबाब दिएछन् ।

मनोनित सांसद हुन पटक्कै इच्छा थिएन । साथीहरुकै करबलले, आफ्नै आत्मा मिचेर, डेढ बर्षजति सांसद भैटोपलें । मेरो खुट्टाले बिरलै जुत्ता भेट्योहोला । चप्पल नै मेरो परिचय बन्यो । मैले घरबार जोडिन । केटाकेटीले गतीलो स्कुलमा पढ्न पाएनन् । अहिले ६५ बर्षको भएँ । जीवनभरी सङ्घर्ष, दु:ख, कष्ट र चुनौतिको सामना गरिरहें । शरीरले जति दु:ख पाएपनि मेरो आत्मा सधैं आत्मविश्वासले दह्रो र उत्साही नै रह्यो । तर, आज पार्टीकै नेताले, ‘आर्थिक अभावमा तपाईंको परिवारले साह्रै दु:ख पाए । त्यसैले, यस्पालि टिकटको सट्टा पैसा लिनुहोस् है ।’ भनेर मलाइ १ करोडको अफर गरे । यस्तो प्रस्ताव सुन्न सकिन । खङरङ्ग भएँ । ओठ-तालु एक्कैचोटी सुक्यो । यस्पालि यज्ञराज पाठकलाइ टिकट दिनैपर्छ भनेर जिल्लाबाट १ नम्बरमा सिफारिश मात्र ह्वैन, जिल्लाका साथीहरुले दह्रो लबिङ्ग गरेका रहेछन् । केन्द्रका नेताहरुको भने आफ्ना मान्छेलाइ टिकट दिने सूर रहेछ ।”

मित्रको श्रीमतिले चिया ल्याएर राखिन् । केही भन्न खोजेकी थिइन होला । एकछिन उभिइन् । यज्ञराज पाठक एकोहोरो घोत्लिरहेको देखेर डिस्टर्ब गर्न उचित ठानिनन्, र फर्किन् । बरु यज्ञराज पाठकले नै मित्रको परिवारको बिषयमा सोचे, “यो मित्र र म सँगसँगै हुर्केबढेका थियौं  । यस्ले, ‘एकोहोरो राजनीति-राजनीति भनी कुदेर मात्र हुँदैन । घरपरिवारको  पनि ख्याल राख्नुपर्छ’ भनेर धेरै पटक सम्झाएको थियो । आज यस्को घरपरिवारको राम्रो बन्दोबस्त छ । छोराछोरीलाइ गतीलो अङ्ग्रेजी बोर्डिङ् स्कूलमा राखेर पढाएकोले छोराबुहारी र छोरीज्वाईं युरोपमै सेटल भएका छन् । मित्रसँग आफ्नो परिवारलाइ दाँजे । आफ्नो छोराछोरीले सरकारी स्कूलमा समेत् राम्ररी पढ्न पाएनन् । १० बर्षदेखि नै घरको काममा सघाउन लगाइयो ।” यो सम्झँदा पाठकको मुटु कटक्क काटियो । पुन सम्हालिए, र मनोवादमै घोत्लिए ।

सोचे, “हिजो सङ्घर्षका दिनमा जतिसुकै दु:ख पाएपनि त्यस्ले पीडा दिएको थिएन । तर, आज ममाथि टीठलाग्दो नजरले करुणा राखेर टिकटको सट्टा नोटको बिटो तेर्स्याएको दिन मेरो आत्मा फतक्कै गल्यो । चक्नाचुर भयो । पार्टीका सभापतिले विवेकविचार नपु-याएको कारणले पनि यो स्थिति उत्पन्न भएको हो । सुशील कोइराला दह्रो नेता होइन, लुलो रहेछन् । सुशील कोइराला, रामचन्द्र पौडेलहरुले आफ्नो निर्वाचन क्षेत्रका धेरैलाइ समानुपातिकमा हालेका छन् ।”

पाठकजीले लामो सास ताने, र आत्मावलोकनको शिलशिलालाइ नै अघि बढाए । सोचे, “जतिसुकै अत्याचार गरुन् । चोटमाथि चोट र पीडामाथि पीडा थपिरहुन् । तर, नेपालगञ्जलका निजामुद्दिन अन्सारीले जस्तो पार्टीलाइ लात हान्ने काम मबाट हुँदैन । यो पार्टी निर्माणमा मेरो रगतपसिना बगेको छ । यो पार्टी ती ठालूहरुको मात्र बपौति, पेवा होइन । कुनै-न-कुनै दिन मूल्याङ्कन कसो नहोला !

पर्वतका ऋषिकेश तिवारीजीलाइ झन् बढी अन्याय भएको छ । अन्याय, पक्षपात र थिचोमिचो सहेरै पार्टीकाममा खटीरहेका छन् । आजभन्दा ३४ बर्षअघि नै अङ्ग्रेजी साहित्यमा एमए गरिसकेका थिए । २०३६ सालमा मण्डलेहरुले लादी आउने गरेर कुटेछन् र म-यो भनेर पोखराको सेतीमा फालिदिएका थिए । कीर्तिपुर, मच्छेगाउँको बाघभैरब माबिको व्यबस्थापन कमिटीले घरबाटै बोलाएर लगि शिक्षक बनाएका थिए । सरकारी (सामुदायिक) स्थायी शिक्षक भएका थिए । स्कूल धनी थियो । सरकारी तलबको अतिरिक्त झण्डै त्यति नै भत्ता दिन्थ्यो । अङ्ग्रेजी राम्रो भएकोले ट्युशन पढ्नेको धुइरो हुन्थ्यो । २०४७ सालतिर पार्टीले जागीर छाडेर जिल्ला जानु भन्यो । त्यस्पछि जिल्लामै छन् । एकजना सांसदको मृत्यु भएकोले वाँकि अवधी (५ महिना) को लागि सांसद बनाएको बाहेक आजसम्म एउटै अवसर उनले पाएका छैनन् । पर्वत क्षेत्र नं २ मा एमालेका उम्मेदवार विकास लम्सालजीले बरु चुनाव प्रचारमा ऋषिकेश तिवारीका योजनाहरु बोकेर हिंडेको देखियो । त्यस्ता योग्य व्यक्तिले त सहेरै बसेका छन् भने मैलेपनि सहनैपर्छ ।”

पिल्सिएर बस्नुपरेपनि यज्ञराज पाठकजीले सहने नै निश्चय गरे । मित्रलाइ समेत् लिएर निर्वाचन अभियानतिर हिंडे ।

तपाइँको प्रतिक्रिया