निर्वाचन बारे एकै दिन माओवादी नेताका दुई भिन्न आश्वासन

janardan-sharmaprachandaसंविधान बनाउन भनेर चार वर्षभन्दा बढि तलब र भत्ता खाए । अन्तिममा आफैंले संविधान सभा बिघटन गराए । आफ्ना आम कार्यकर्ता, पार्टी र जनतालाई त ढाँट्नुसम्म ढाँटेको फेगरिस्त अलग्गै छ । अहिले फेरि संविधान सभाको निर्वाचन हुँदै छ । यो निर्वाचन केका लागि ? संविधान बनाउन भनिरहेका छन् । उमेदवार हुन नपाएका लोभी पापी, कुर्सीको र्‍याल काढेका नेता कार्यकर्तालाई भनेकापनि छन् ‘यो संविधान बनाउने निर्वाचन भएकाले कामरेडहरुले यसमा धेरै चित्त नदुखाउनुस्, रहर र गुनासो नगर्नुस् ।’ अनि संविधान कस्तो बनाउने ? कसरि बनाउने ? कस्ता प्रवधान राख्ने भन्ने बहसलाई पुरै किनारामा लगाएर देशमा विकासको मूल फुटाउँछौं हाम्रो पार्टीलाई बहुमत दिएमा भन्नुको अर्थ के ?

जनतालाई सोह्रै आना ढाँट्नु, छल्नु । जनताका आँझामा जिरे खुर्सानि हालेर गुमराहमा पानु होइन ? हुन त सबैजसो पार्टीले केहि न केहि ढाँटेकै छन् । निर्वाचन भनेकै यस्तै चिज हो  जसकालागि साम, दाम, दण्ड, दह्रा पाखुरा चाहिन्छ । तर त्यसकोपनि हद त हुन्छ नै । एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान बनाउने निर्वाचनलाई संविधानमा केन्द्रितनै नगरि पुरै विकासको मूल फुटाउन प्रतिनिधी छान्न लागे झैं पो गरेका छन् । जनतालाई विकासका चर्का चर्का आश्वशन दिँदै । उनैका पार्टीका अर्का नेता फेरि बहुमत दिए संविधान बनाउने भन्छन् । एकैदिन एउटै पार्टीका दुई नेताका कति बिरोधाभास भनाई । पश्चिमको दाङ जिल्ला पुगेर एकिक्रित नेकपा माओवादीकै नेता जनार्दन शर्माले बरु अघिल्लो संविधान सभामा सहमतिय प्रणालीमा गएकाले संविधान बनाउन नसकेको बताए । ‘कसैकोपनि बहुमत नभएकाले अघिल्लो संविधानले संविधान बनाउन सकेन । त्यसैले अब संविधान बनाउन माओवादीलाई बहुमत दिनुस् । नत्र फेरिपनि संविधान बन्दैन ।’ तर हिजै प्रचण्डले संविधान बनाउने कुरै गरेनन् पूर्वी जिल्ला पुगेर । विकासको मूल फुटाउने, संसारकै धनी देश बनाउने पो आश्वासन दिए ।

काठमाडौं बस्ने गरेको निकै भो प्रचण्ड । उनीपनि अब टाढाबाठा र सुकिला मुकिलाको संगत गर्ने भएकाले होला । राजधानी बाहिरका जनता त यो निर्वाचन संविधान बनाउन हो कि विकास मूल फुटाउन हो भन्नेपनि बुझ्दैन्न भन्ने लाग्दो हो । बाठा राजधानी, लाटा, केहि नजान्ने गाँडाहरु बाहिर बस्छन् । ति बुझ्दैनन् । जे जे भनेर अहिलेकालागि भोट तानौं । पछि हेरौंला । फेरि अर्को पटकको चुनावमा फेरि केहि ढाँटछलका अक्किल निकालिहालिन्छ भन्ने लागेर हो कि ? उनले धरानमा विकासको मूल फुटाउने चर्को आश्वाशन बाँडे । उनैको पार्टीका केन्द्रिय नेता जनार्दनले आफ्नो पार्टीलाई बहुमत दिए संविधान बन्ने बताए ।

तर प्रचण्डले ? आफ्नो पार्टीलाई बहुमत दिए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गरिदिए । यस अघिपनि प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाइसकेका हुन् । ढाँट्नपनि एउटा हद हुन्छ नी । अघिल्लो संविधान सभाको निर्वाचनमा कसैकोपनि बहुमत नभएकाले संविधान नबनेको भन्छन् जनार्दन शर्मा । प्रचण्डले चाहिँ कसैको बहुमत नभएकाले देशको विकास हुन नसकेको बताए । आश्वाशन त कति कति । आखिर बाँड्ने र सुनाउने न हो । गर्नु पर्ने र सक्ने होइन । त्यसैले होला प्रचण्डले पनि दिए आश्वाशन ‘एमाओवादीलाई बहुमत दिए धरानमा विकासको मुल फुटाउँछौं । धरानको खानेपानी समस्या समाधान गर्छौं । धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्छौं ।’ त्यति मात्रै हो र ?  धरानका सुकुम्बासीहरुलाई जग्गापनि दिने रे । यसबाट के बुझिन्छ ? माओवादीका दुई मध्ये एक नेताले जनतालाई मूर्ख बनाइरहेको छ ।

संविधान बनाउने निर्वाचन भएकाले जनार्दनले भनेको बरु सहि मान्न सकिन्छ । तर पार्टी अध्यक्षले विकासको मूल फुटाउने, ४० वर्षमा विश्वकै विकसित मुलुक बनाउने आश्वाशन के हावादारी होइन ? जनतालाई मूर्ख बनाउन खोजिएको होइन ? जनतालाई कतिसम्म हेप्ने रहेछन् । कतिसम्म मूर्ख र गँवार ठान्ने रहेछन् त ठूलो पार्टीकै मूल नेताले ! अब यस्ता नेताले संविधान बनाउँछन् भनेर कसरि पत्याउने ? यदि उनी ईमान्दार हुन्थे भने आफ्नो पार्टीलाई बहुमत दिए हामी यस्तो यस्तो खालको संविधान बनाउँछौं भन्नुपर्ने होइन ? हामीले जितेमा शासकिय स्वरुप यस्तो हुन्छ । ब्यवस्थापिका र न्यायपालिका यस्तो बनाउने सोच छ । हामी जनताका पक्षमा यो यो किटानका साथ लेख्छौं संविधानमा भन्नुपर्ने होइन ? जब जनतालाई ढाँट्ने, छल्ने, मूर्ख बनाउने, झुंटो आश्वाशन बाँडेर एक पटकलाई भोट मात्रै सोहोर्ने नियत भएपछि जति आश्वाशन बाँडेपनि भो । अर्को पटक फेरि ‘टुरिस्ट उमेदवार’ बन्यो । फेरि अर्को ठाउँका जनतालाई त्यस्तै आश्वाशन दिएर भुट्यो ।

तपाइँको प्रतिक्रिया