सारजउद्दिन सामतको दु:ख

आनन्दराम पौडेल

anandaram-paudel-33434होमजी नेपाली दूतावास, कतार पुग्दा तिनीहरु आ-आफ्ना दु:खका गाथा सुनाउँदैरहेछन् । दु:खी नेपालीहरु ३२ जना एउटै कोठामा बसेका थिए। होमजी पुग्दा आफ्नो व्यथा-कथा भन्ने पालो सामतको थियो। सामत, अर्थात् सारजउद्दिन सामत । आफ्नो विगत ओकल्नुअघि सामतले कपडा फुकाल्यो र खत गन्न लगायो । १४५ भन्दा बढी खत थिए । “ओहो ! १४५ भन्दा बढी खत रहेछन् हगि ? मैले त गनेकै थिइन ।” खत संख्याको बिषयमा यत्ति भनेर सामतले आफ्नो विगत सुनायो- “मेरो घर कमरिया गाविस, रुपन्देहीमा छ । २०६३ सालको कुरो हो । एक दिन साथिहरुसँग थिएँ । खाजा खाउँ भने । गाउँकै भट्टीपसलतिर लागे । हामी मुसलमानहरु भट्टीपसलमा गएको जातबिरादरीले राम्रो मान्दैन । त्यस्माथि गाउँकै भट्टीपसलमा नजाउँ भनें । तर, साथिहरुले ठेलठाल गरेर लगे। हामी पुग्दा केही केटाहरु रक्सी,मासु खाँदैथिए । तीमध्ये दुइटा केटाले हामीलाइ घोचपेच गरेर, निकै होच्याएर अण्टसण्ट भनिरह्यो । मैले रक्सी खाएको थिइन । मैले तिनीहरुलाइ निकै सम्झाएँ । तिनीहरु उल्टै ममाथि नै जाइलाग्न थाले । अति भएपछि मेरो कन्सिरी तात्यो । कठालो समातेर एकजनालाइ थप्पड हान्यौं । तिनीहरु भागे । तिनीहरु माओवादी रहेछन् । भोलिपल्ट १५-१६ जनाको हूल लिएर आए । तिनीहरुले घेरेर मलाइ जङ्गलमा लगे। तिनीहरु सबैसँग ब्लेड रहेछ । ती सबैले मेरो जिउभरी ब्लेडले चर्चरी चिरे । नुनचुकपनि ल्याएका रहेछन् । चिरेको घाउमा नुनचुक दलेर हिंडे । नुनचुक दलेपछि मैले खप्न सकिन । न्वारानदेखिको बल निकालेर चिच्याएँ; चिच्याईरहें ।” 

सामत एकछिन चुप लाग्यो। उस्लाइ निकै ऐंठन भएजस्तो देखिन्थ्यो। विगतको पीडाले निकै आहत गरेको महसुस गर्न सकिन्थ्यो। जे होस्, सामतले आफूलाइ सम्हाल्यो र पुन आफ्नो विगत कहन थाल्यो । भन्यो- “निकै चर्कोसँग धेरैबेर चिच्याएछु। सुनेर गाउँलेहरु आए । मलाइ स्थानीय डाक्टरकहाँ लगे । मेरो अवस्था देखेर डाक्टर आफैं डरायो । गाउँलेले हामी जिम्मा लिन्छौं भनेपछि बल्ल मलमपट्टी ग-यो । राम्रो उपचार हुन नसक्दा घाउहरु पाकेर पीप निस्किरहन्थ्यो । जिउ पूरै गन्हाएको थियो। दुर्गन्धले गर्दा मेरो छेउमा कोही आउँदैनथे । गाउँलेले घरैपिच्छे दुईचार सय उठाएर अस्पतालमा उपचार गराए। ३ महिना अस्पताल बसें। अस्पतालबाट आएर १ बर्षसम्म घरमै उपचार गरें। काम गर्न नसक्ने भएकोले १ बर्षसम्म गाउँलेले नै पाले ।”

सामतले एकछिन बिश्राम लियो । अघिजस्तो ऐंठन नदेखिएपनि लामो स्वाश लियो । र, पुन अघि बढ्यो । भन्यो- “३२ बर्षको भएँ । तीन छोरा र एक छोरी छन् । विपन्नताले गर्दा कसैलाइ पढाउन सकेको छैन । खाडीमा आएर थोरबहुत वचाउँछु र छोराछोरी पढाउँछु भनेर कतार आएँ । खसी र भैंसी ३५ हजारमा बेचें । मामासँग २० हजार, काकासँग १० हजार र बहिनी-ज्वाईंसँग साढेसात हजार सापटी लिएँ । यसरी रु. ९० हजार जोगाड गरें, र स्थानीय एजेण्टलाइ वुझाएर कतार आएँ । यहाँ आएको ९ महिना भयो । आएदेखि तलब दिएन । श्रम अदालतमा केस गरेर ५ महिनाको तलब हात पारें । यहाँ रहनसक्ने स्थिति छैन । पैसा नकमाइकन कुन मुखले घर जानु ?”

सामत एक्कैछिन अड्कियो । “लडेर छोरीको हात भाँचिएको खबर आएको छ । सबै दुर्दशा एक्कैचोटी मैमाथि खनिएको छ ।” यति भन्दनभन्दै सामत भक्कानो छाडेर रुन थाल्यो । सबैका आँखा रसाए । कारुणिक दृश्य हेर्न नसकेर होमजी पनि हिंड्नुभयो ।

# # #          # # #

“तपाईसँग हर्षोल्लासका कथा छैनन् । किन सधैं आँसुको भेलभित्र डुबेका दु:ख, पीडा र सुस्केराका कथामात्र लेख्नुहुन्छ ?” बहुभाषिक राष्ट्रिय कवि सम्मेलनमा भाग लिन हेटौंडा जाँदा हेटौंडाकी साहित्यकार अनिता न्यौपानेले भनेकी थिइन् । होमजीले यो झन् हृदयविदारक कथा ल्याउनुभयो । अनिताले के भन्लिन् भनेर एकपल्ट सोच्यो । अधिकांश अभागी नेपालीका कथा बिदीर्ण छन् त यस्मा एउटा लेखकले के गर्न सक्छ ? यो सोचले लेखकलाइ बल मिल्यो । त्यही बलको ढाडसले कथाकार यो कथा बोकेर सम्पादकको अफिसतिर लम्क्यो ।

तपाइँको प्रतिक्रिया