बैद्यबाको अन्तरङ्ग

आनन्दराम पौडेल

anandaram-paudel-33434आकाश छ्याङ्ग भएर होला, बाक्लो बादल देखिनासाथ गह्रुङ्गो भैहाल्ने बैद्य बाको छातिपनि आज हलुका भएको छ । साँझ छिप्पिसकेको छ । पार्टीका नेताहरु आज चाँडै हिंडेकाले बैद्य बालाइ आज फुर्सद मिलेको छ । आज बल्लबल्ल मिलेको फुर्सदको समयलाइ आत्मसमीक्षामा लगाए । घोत्लिएर सोचे, ‘दु:खकष्ट गरेर र पूरै जीवन बिछ्याएर आफैंले निर्माण गरेको पार्टीमा बिद्रोह गरियो। पार्टी फुटाइयो । नेतृत्वले सिद्धान्त, विचार र दर्शनलाइ चटक्कै छाडेर बिचलनमा गएपछि कसरी सहनु ? सहन सकिएन ।

एमालेले कम्युनिष्ट आदर्श र समाजवादी दर्शन छाड्यो भनेर आलोचना गर्थ्यौं। तर, बिडम्बना के भयोभने जुन गतिमा एमाले स्खलित भएको थियो, त्यस्को दशगुना तिब्र गतिमा हाम्रा नेताहरु स्खलित भए । पार्टी सुधार्न सकिन्छ कि भनेर हामीले भरमग्दुर प्रयास ग-यौं । गलत प्रवृत्तिका विरुद्ध बेस्सरी आवाज उठायौं । हामीले विकृति र गलत प्रवृत्तिका विरुद्ध आवाज उठाउन थालेपछि प्रचण्डले विकारहरु उधिनी-उधिनी देखाए र त्यसविरुद्ध हजार गुना चर्को आवाज बुलन्द गरे । २०६७ पुस २१ गते सम्पन्न भएको पार्टी केन्द्रीय समितिको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदनमा विकृतिहरु यसरी औंल्याएका थिए: “पार्टीभित्र सम्पन्न र विपन्नका अलग-अलग वर्ग बन्न थालेका छन्। माथिदेखि तलसम्मका केही सीमित पदाधिकारी वा टाठा बाठाहरुको दिनप्रतिदिन वर्गउत्थान हुँदै जाने र कार्यकर्ताहरुको विशाल पङ्क्ति बेरोजगारी, अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भैरहेको छ ।

यतिमात्र ह्वैन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ । सँगसँगै भ्रष्टाचार, तस्करी र जवर्जस्ती प्रवृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेका छन् ।” प्रचण्डले औंल्याएका उक्त विकृतिहरु पढ्दा लागेको थियो, प्रचण्डले पार्टीलाइ चीरफार र अप्रेशनै गरेर रोगजति सबै निकालेका छन् । उनले लेखेका थिए: “आज हाम्रो पार्टीमा जनवादी केन्द्रीयताको परिचालन समाप्तप्राय हुन थालेको छ । कमिटी प्रणाली, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, आलोचना र आत्मालोचनाको पद्धति भताभुङ्ग भएका छन् । कमिटीहरु यति ठूला र भद्दा बनेका छन् कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन । माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्धा र नोकरशाही प्रवृत्तिहरु मौलाउँदै गएका छन् ।” पार्टीलाइ थला पारेका यस्ता भयङ्कर डरलाग्दा रोगहरु डाइग्नोसिस गरिसकेपछि, हामीलाइ लागेको थियो प्रचण्डले रोगको उपचार गर्नेछन् र पार्टी स्वस्थ बनाउनेछन् ।

पछि बिस्तारै वुझियो, योपनि प्रचण्डको चतु-याईं रहेछ । पार्टीभित्र फस्टाएका विकृतिहरु हामीले कोट्याउन थालेपछि हामीलाइ उछिनेर झन् डरलाग्दा भयङ्कर रोगहरु देखाउँदै आफू पार्टीप्रति अतिसय गम्भीर, चिन्तित र जिम्मेवार भएको देखाउन खोजेका रहेछन् ।’

बैद्य बा आफ्नै अन्तरङ्ग संसारभित्र आत्मालापमा मग्न थिए, खोकिले ध्यान भङ्ग ग-यो । १ मिनेटसम्म खोकिरहे । २ हप्तादेखि दमले एट्याक् गरेको थिएन। दम आउने होकि भनेर चिन्ता लिए। लामै समयसम्म चर्को खोकेको सुनेर भतिजो दौडँदै आयो। तुलसी-चिया बनाउन अह्राए । तुलसी-चियाको चुस्कि लिंदै पुन: अन्तरङ्ग संसारभित्रै घोत्लिए । सोचे: “प्रचण्डले असहमत र क्रिटिकल जति सबैलाइ निर्ममतापुर्वक सिध्याउँदारहेछन्। बाबुरामलाइ तह लगाउन खोजेकै हुन् । पहिले मोहनबिक्रमले निर्मल लामालाइ जासुस, सिआइडी, गुप्तचर भनेर व्यापक प्रचार गरेजस्तै प्रचण्डले रामबहादुर थापा ‘बादल’ लाइ ‘लिन पियाओवादी’ भनेर सर्कुलर गरे । २०६२ असोजमा चुनवाङ बैठकबाट पार्टीलाइ रसातलतिर मोड्ने सूर रहेछ, त्यस्को बाधक हुनसक्ने ठानिएका हामी सबैलाइ एक-एक गरी भारतमा पक्डाउने काम गराएको भनेर साथिहरुले आशङ्का गरेका छन् । पार्टी विचलनमा गयो । गलत बाटो र दिशातिर मोडियो। गोलखाडीमा भासियो । समग्रमा पार्टी बिद्रुप भयो ।

यो सब हुनुमा के प्रचण्डको मात्र दोष थियो त ? मबाट पनि गल्ति भएको होला । ‘प्रचण्डपथ’ को गर्भाधान मैले गरेको भनेर स्वीकार्नुपर्छ । २०५७ मा भारतमा भएको पार्टी सम्मेलनबाट ‘प्रचण्डपथ’ लाइ अनुमोदन गराइयो । पार्टी, सेना र मोर्चा तीनवटै अङ्गको कमाण्डर बनाई पुष्पकमललाइ पार्टीको समानान्तर संस्थाको रुपमा स्थापित गर्ने र ‘प्रचण्डपथ’लाइ पार्टी र क्रान्तिको मार्गनिर्देशक सिद्धान्त भनि व्याख्या गर्ने काममा मेरोपनि सकृयता रह्यो ।” तुलसी-चियाले निकै राहत दिएछ । बसाईको पोजिशन अलिकति बदले । र अन्तरङ्गमै घोत्लिए । सोचे:  “हामीले निर्वाचन बहिस्कार मात्र हैन, निर्वाचन विरुद्ध भौतिक आक्रमण नै गर्ने तैयारी गरेका छौं भनेदेखि हाम्रो यो निर्णयमा चौतर्फी आलोचना भैरहेछ ।

जनमत सङ्ग्रहमा तत्कालीन नेकपा-मालेले बहिस्कार घोषणा गरेर ऐतिहासिक भूल गरेको थियो भनेर उदाहरण दिईरहेछन् । पार्टी सङ्गठनलाइ विस्तार र सुदृढ नगरी निर्वाचनमा भाग लिने हो भने २०५६ सालको निर्वाचनमा नेकपा-मालेले पाएको पोजिशनमा हाम्रो पार्टी पुग्ला भन्ने भय पनि छ । यो जोखिम मोल्नुभन्दा निर्वाचनविरुद्ध खडा हुनु नै बुद्धिमानी हो ।” यो ठहरसँगै दिमागको वोझ निकै हल्का भयो । चिन्तामुक्त हुनासाथ निन्द्राले झ्याप्प पा-यो । आज खाना नै नखाई लुटुक्क सुते र भुसुक्क निदाए ।

 

तपाइँको प्रतिक्रिया