‘पहिचान’ को शिकार

आनन्दराम पौडेल  

anandaram-paudel-33434भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो । बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो । कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो । अर्धनिन्द्रामै नारी आकृति देखें । औसतभन्दा मोटी अधबैंशे महिला थिइन् । प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ । म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन् । परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें  । कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन् । जातिवादी, कट्टर साम्प्रदायिकहरुको शिकार भएको सुनेको थिएँ । जान्ने कौतुहल थियो ।

साम्प्रदायिक, जातिवादीहरुको अत्याचार र उनले गरेको सङ्घर्ष फटाफट बताइन् । उनले भनिन्, “सन १९८९ भन्दा अघिको कुरो हो । त्यसबेला आफ्नो अध्ययन सकेर एउटा हेल्थ इन्स्टिच्युटमा काम गर्न थालेको थिएँ । व्यापारिक कामको शिलशिलामा अफगानी व्यापारी जाँवाज खान आइरहन्थे । हाम्रो हेल्थ इन्स्टिच्युटलाइ आवश्यक पर्ने सामगृ उनैले सप्लाइ गर्थे । मधुर स्वरमा बोल्ने, मितभाषी, जाँवाज खान ह्याण्डसम र सुदर्शन थिए । इन्स्टिच्युटमा हुने औपचारिक भेटघाटसँगै हामीले बाहिरपनि भेटघाट गर्न थाल्यौं । आकर्षण हार्दिकतामा र हार्दिकता प्रेममा रुपान्तर हुँदै गाढा प्रेममा पुगेपछि हामीले बिवाह गर्ने निधो ग-यौं । म बङ्गाली हिन्दू परिवारकी छोरीले इश्लाम धर्माबलम्बी जाँवाजसँग बिवाह गरेपनि कुनै असहज महसुस गरेकी थिइन । कोलकातामा मलाइ काबुलीवालाकी बङ्गाली पत्नी भन्थे ।

बिवाह गरेपछि सन १८८९मा पति जाँवाजको घर खाराना गएँ । खाराना व्यापारिक केन्द्र मात्र हैन, पाक्तिका प्रान्तको राजधानी समेत् भएकोले ठूलै शहर हो । व्यापारिक घरानाका जाँवाज सम्पन्न परिवारका रहेछन् । जातीय कट्टरतावादीहरु हावी भैनसकेकाले त्यसबेला अफगानिस्तान सज्जन मान्छे बस्नलायक नै थियो । सन १९९३ मा जातीय कट्टरतावादीहरुले आफ्नो पकडमा राखेर दमनको जाँतो नचलाउञ्जेल वातावरण त्यति डरलाग्दो थिएन । त्यसबेलासम्म म घरमै औषधीपसल राखेर बिरामीको उपचार गर्थें र स्थानीय महिलाको जनजीवन र जीवनशैलिको भिडियो खिंच्थें । म त्यहाँको जनजीवनमा भिजिसकेको थिएँ । मलाइ त्यहाँ सयद कमला भन्थे। सन १९९३ देखि तालिवानीहरुको दबदबा ह्वात्तै बढ्यो ।

जतिजति तालिबानीको प्रभाव बढ्यो त्यति नै जातीय कट्टरतावादीहरुको अमानवीय, कठोर र क्रुर व्यवहार देखिन थाल्यो। सन १९९३ को अन्तसम्ममा कट्टर जातिवादीहरुले मप्रति कठोर व्यवहार गर्न थालिसकेका थिए । १९९४ नलाग्दै मैले चलाएको औषधीपसलसमेत् बन्द गर्न आदेश गरे । तालिवानीहरुले जारी गरेका आचारसंहिता पूर्ण पालन नगरेको आरोप ममाथि लगाए । मलाइ बारम्बार धम्की दिन थाले । सन्त्रास र आतङ्कको तनावबाट उम्कनको लागि पर्खालमुनी सुरुङ खनेर भागें । त्यहाँबाट उम्केर आएको केही समयपछि सबै घटनाबिबरण समेटेर लामो लेख लेखें । जुन सन १९९८ को आउटलुक पत्रिकामा प्रकाशित भयो । त्यो लेख यति चर्चित भयोकि, जस्ले मलाइ आफ्नो संस्मरणमा आधारीत पुस्तक लेख्न अभिप्रेरीत ग-यो । २-३ बर्षसम्म उक्त पुस्तक भारतमा बेस्ट सेलर भैरह्यो । त्यही पुस्तकमै सन २००३ मा “इस्केप फ्रम तालिवान” फिल्म बन्यो, जस्मा मनिषा कोइरालाले प्रमुख भूमिकाको जिम्मेवारी पूरा गरेकी छिन् ।

यहाँसम्म त ठीकै थियो। स्थितिमा परिवर्तन आएको छ भन्ने सुनेर, भर्खर १ महिनाअघि पतिसँगै आफ्नो घर खाराना पुगेकी थिएँ । म त्यहाँ आएको कट्टर जातीवादीहरुले थाहा पाएछन् । उनीहरु मेरो घरमा आए। मेरो लोग्ने र परिवारका सदस्यलाइ बाँधे । मलाइ घिसार्दै बाहिर ल्याएर गोली ठोके, र मेरो शवलाइ नजिकैको धार्मिक स्कूलको प्राङ्गणमा फ्याँकिदिए ।”

टेपरिकर्डर चलेजस्तै सुस्मिता बेनर्जी एकोहोरो बोलिरहेकी थिइन् । म तन्द्रामै भएपनि देश दुनियाँ र आफैंलाइ समेत् भुलि एकाग्र भएर सुनिरहेको थिएँ । टेपरिकर्डर एकछिन रोकियो र पुन बोल्न थाल्यो । आफ्नो करुणकहानी सुनाइसकेपछि सुस्मिताले यत्ति मात्र भनिन्, “जातीय कट्टरताको भयावहता सुनिहाल्नुभयो । तपाईंको देशमा पनि कम्युनिष्ट पार्टीहरु जातपातको राजनीति गर्न कस्सिएर लागेका छन् । जनता झुक्याउन उनीहरुले “पहिचान” भनेपनि जातीय राजनीति नै हो । होस गर्नुहोला ।” यति भनेर सुस्मिता अँध्यारोमा गायब भइन् ।

तपाइँको प्रतिक्रिया