बैध्य माओवादीको ओरालो लाग्ने मती
धुलिखेलमा यात्रु बोकेर गुडिराखेको सार्वजनिक बसमा नेकपा-माओवादीले आगो लगाए । सायद तिनका कार्यकर्ता जुँघामा ताउ लगाउँदै बसेका होलान्, ‘अबदेखि हामीले बन्द भनासाथ सातो पुत्लो जान्छ र तिनले सबै बन्द गर्छन् । हाम्रो बन्द सधैं शानदारले सफल हुन्छ’ भन्दै । तर यस्ता घटनाले बैध्य माओवादीलाई रसातलमा पुर्याउँछ । चितवन माडीको बाँदरमुँढेमा बसमा आक्रमण गरेको घटनाले माओवादीलाई अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमै बदनाम गरिरहेको छ । देश र जनताकालागि लड्ने, तिनको अधिकारका लागि आफ्नो ज्यान दिन तयार भन्ने पार्टीले यसरि जनतालाई सास्ति दिँदैन, आतंकित पार्दैन । जनताबाट उ सधैं तिरस्क्रित हुन्छ । बहिस्क्रित हुन्छ । तर्साएर क्षणिक काबुमा लिनुलाई लोकप्रियता मान्न सकिन्न । धुलिखेलमा यात्रुलाई भित्रै राखेर आगो लगाएको यो घटना राजनितिक हैन, अपराधिक हो । कुनैपनि बाद, माग, निति र परिभाषाले यसलाई क्षम्य मान्दैन ।
बैध्य माओवादीको बन्दले सरकार आतंकित बनेको छैन । चुनावमा होमिएका पार्टीलाई सास्ति दिएको छैन । तिनलाई चुनौति यो बन्दले जति दिएको छ त्यो भन्दा सयौं गुणा बढि स्थानिय जनतालाई आतंकित पारेको छ । सरकारका उच्च अधिकारि बकाईदा सरकारी सुरक्षामा हिँडेका छन् । चुनाबमा हाम्फालेका पार्टीका बडे बडे नेतालाइपनि सरकारले निर्धक्कै सुबिधा दिएकै छ । तर सरकारलाई अप्ठेरो पार्न, असफल पार्न आन्दोलनमा होमिएको पार्टीले त सरकारलाई पो अप्ठेरो पार्नु पर्ने हो । अत्याउनु पर्नेपनि सरकारलाईनै पो हो । सास्ति दिनु पर्ने त खिलराजको मन्त्री परिषदको चुनाव जसरिपनि गराउन खोज्ने संसदिय पार्टीहरुलाई हो । तर कामरेडी आक्रोश त जनतालाई बढि सास्ति दिएर पो तुरिँदै छ । यसले कसरि जनताको मन जित्ला ?
फुटेर दुई वटा बनेका माओवादी मध्ये यो बैध्य माओवादी ठिक छ भन्ने धेरै थिए । त्यहि सुनिन्थ्यो । जनयुद्दमा दुख पाएका, लडेभिडेका, भ्रस्टाचारमा परेर नगन्हाएका । वा अति कम गन्हाएका । अलि ईमान्दारहरु यता छन् । फट्याइ गर्ने, पद र पैसाका लागि ज्यान फाल्ने । ठेक्कापट्टा, एन जि ओ र बिदेश भ्रमण भनेपछि ज्यान फाल्ने । कम्युनिष्ट सिद्दान्त र आदर्शलाई लत्याउने गतिछाडा, लोभी र पदकालागि मरिहत्ती गर्ने स्वार्थीहरु प्रचण्ड कामरेडले हाँकेका छन् भन्नेहरु निकै थिए । अर्थात्, दुई माओवादीमा बैध्यका अलि गतिला हुन् है भनेर नैतिक समर्थन दिने बढि थिए । तर यो घटनाले यिपनि उहि जनता पिरुवाहरु हुन् । जनतालाईस् सास्ति दिनै अर्को पार्टी बनाएका हुन् भनेर आँखि भौं उचाल्नुपर्ने बनाए । अब ‘बैध्य माओवादी’ भनेपछि धेरैले सिरिङ्ग गर्ने छन् ।
भर्खरै दश वर्षे जनयुद्दको हत्या र हिंशा झेलेर आएका जनताले देखेका छन्, माओवादीले भन्ने गरेको जनताको मुक्ति पानीको फोको झैं फुटेको । जनताका हातमा, शहिदका हातमा, दुखि जनताका भागमा शुन्य परेको छ । नेतालाई मालामाल । हो यहि त्रास, निराशय, नैराश्यता, धोकामा बाँचेका, तर्सिएका जनतालाई नेपाल बन्दका नाममा फेरि यसरि आगजनी गर्नु, मान्छे भित्र हुँदाहुँदै न्युनतम मानविययापनि नअँगाली आगो झोस्नुले फेरि जनतालाई झस्काएको छ ।
जनताले हाम्रा पार्टी, बिगतका सरकारबाटै सास्ति पाउनुसम्म पाएका छन् । महँगी, असुरक्षा, धम्कि, मूल्य ब्रिद्दी, बेरोजगार, गरिबीको उपहार बाहेक केहि दिएका छैनन् अहिलेसम्म बनेका कुनैपनि सरकारले । बैध्य माओवादीको आक्रोश सरकारसित छ । त्यो आक्रोश जनतालाई भाग लगाउनु न्यायपूर्ण छैन । सरकार फेर्न, असफल बनाउन उनीहरुले जनतालाई जगाउने हो, सास्ति दिने होइन । कुनै पनि दल, पार्टी, बाद र सरकार वा प्रतिपक्षसित असम्बन्धित सर्वसाधारण जनतालाई यसरि दुख दिएर बैध्य माओवादीले जित्दैन, लोकप्रिय बन्दैन । बरु ओरालो लाग्छ । जनताबाट उपेक्षित, तिरस्क्रित बन्ने छ ।
युद्दकै बेलामापनि, बन्दकै क्रममापनि केहि मानविय पक्ष, युद्दका नियम हुन्छन्, पालना गर्नुपर्ने । युद्द, बन्दसित सरोकार नराख्ने जनतालाई जबर्जति दुख दिनु अपराध हो । त्यसैले यस्ता अपराधिक काम बैध्य माओवादीले तत्कालै बन्द गरोस । यस्तो अपराधमा संलग्न कार्यकर्तालाई तुरुन्तै कारवाही गरोस । अनि आम जनतासित माफी मागोस् । आफ्ना कार्यकर्ता होइनन् भने तिनलाई पक्रेर सुरक्षाकर्मीको जिम्मा लगाउन सहयोग गरोस् । अनि भविषयमा यस्ता घटना नदोर्याउने प्रतिबद्दतापनि गरोस् ।
(फोटो- नागरिक न्युज)




