ज्याद्रो च्याँसे बाहुन
● आनन्दराम पौडेल
“ओह्रालो लागेको मृगलाइ बाच्छाले पनि खेद्छ भन्थे । हो रहेछ । ४ बर्ष यता मैले टेकेको धर्ती भासिएको र दायाँबायाँ पहिरो गएको त महसुस गरिएको हो । तर यत्तिकैमा भुसुनाहरु शेर बनेर देखा पर्लान् भनेर चिताएको थिइन ।” पुष्पकमल दाहाल आज निकै गम्भीर भए । घोत्लिए । र आत्मसमीक्षामा लीन भए । सोचे, “यो ४ बर्षमा के भएन ? जनयुद्धको ओज बोकेर राज्यसत्ताको शक्तिसमेत् आफ्नै हातमा भएको बेलामा “अरिङ्गाल खाएँ बाच्छ्युँ खाएँ यो झुसे बारुलो” भने झैं ‘नाथे एउटा कर्मचारी !’ भन्ने सोचेर रुक्माङ्गद कटुवालमाथि हात हालेको मात्र थिएँ, सत्ताको कुर्सीबाट एकैचोटी सडकमा पछारिन पुगें । सडकमा पछारिएपनि धुलो टक्टक्याएर हुङ्कार गरेकै हुँ ।
जनताको भावना भड्काउनको लागि सजिलो उपाय ठानेर दक्षिणतिर औंला ठड्याउँदै भारतविरुद्ध तथानाम वोल्दै भाषण गरें । यो ‘राष्ट्रिय स्वाधीनताको आन्दोलन’ हो भनेर व्यापक प्रचार गरें । जनतामा भ्रम छर्न निकै हदसम्म सफल भएको पनि हुँ । एसडी मुनी लगायतले भित्री रहस्यको पर्दाफास गरिदिएपछि धोती र लगौंटीसमेत् खुस्किएर चौबाटोमा डङ्गरङ्गै उत्तानो परें । पछारिंदा यो नारा पोल्टाबाट पोखियो र त्यहीं छाडिदिएँ । यो नारा मेरो पोल्टामै यति मैलिसकेको रहेछ कि त्यो टिप्नलायक थिएन ।
यो प्रयोग असफल भएपछि अर्को प्रयोग गरें । माधव नेपालले कुर्सी नछाडेसम्म देशै ठप्प पारिदिन्छु भनि ५ दिनसम्म अनिश्चितकालीन आमहडताल गरें । छैठौं दिनमा काठमाडौंका मध्यम वर्ग र निम्नमध्यम वर्गका जनता विरोधमा उत्रिएका मात्र थिए । यो प्रयोगपनि पितिक्कै तुहियो । आफ्नो स्वार्थअनुकुल नहुँदासम्म जात-जातका वीचमा भिडन्त गराएर सम्बिधानसभालाइ ४ बर्ष लम्ब्याइदिएँ । तराईको भोटब्याङ्क देखेर लोभिएँ, र मधेशी नेतालाइ रिझाउनका लागि हुँदोनहुँदो गर्न सबै छुट दिएँ।”
टेबुलमा कुइनो अड्याई, मुठ्ठीमा च्यापु अड्याएर कुर्सीमा बसेका थिए । समय धेरै वितेछक्यार, हात दुखेको महसुस भयो । घोत्ल्याईंलाइ एकछिन स्थगित गरेर बसाईको स्थान र पोस्चर बदले । लम्पसार परेर सोफामा बसे, र पुन आत्मालापमै केन्द्रित भए सोचे, “वैचारिक हिसाबले पार्टीभित्रको २ लाइन भनेको एउटा बाबुरामको र अर्को किरणको लाइन थियो । त्यही २ लाइनको अन्तर्विरोधमा मैले खेलिरहेको थिएँ। अन्तर्विरोधको व्यवस्थापनमा कहाँनिर तलबितल परेछ, किरणजीले पार्टी नै फोडिदिनुभयो। यस्ले निकै ठूलो क्षति पु-यायो। एसडी मुनीले गरेको पर्दाफासले मेरो व्यक्तित्व र छविलाइ जति ध्वस्त पा-यो त्योभन्दा ठूलो क्षति हिन्दूस्तान दैनिक अक्टुवर ०५, २०१२ को पेज १० मा प्रकाशित यो समाचारबाट भयो: (कैलिफोर्निया से एक अखवार निकलताहै न्युज ब्लेज । इस अखवार मे सेंट्रल बेङ्क अफ स्विट्जरल्याण्ड के सहायक मेनेजर हलासी वास का एक लेख छपा हे कि प्रधानमन्त्री के पद छोड्ने के वाद प्रचण्ड अपने साथ बाबुराम भट्टराई, हिसिला यमी और कृष्ण बहादुर महराको स्विटजरल्याण्ड ले गए थे । माओवादी नेताओं ने यहाँ एकाउण्ट खुल्वाया और दस अर्ब भारू भारतीय बैंकोसे ट्रान्स्फर कराए।) धन्न, यो समाचार प्रकाशित भएको साथिहरुले थाहा पाएछन् र नेपालभित्र आएका त्यो अखबारका सबै प्रति किनेर जलाइदिएछन् । नत्र त मेरो ‘पोलिटिकल क्यापिटल’ सबै निख्रिने थियो । जे होस्, जोगाइदिए । यो अखबार ड्यास माओवादीको हातमा परेकोभए बर्बादै हुन्थ्यो । सानो बबाल हुने थिएन ।”
बसाईको पोजिशन बदले । तन्काएका गोडा खुम्च्याएँ । र, आत्मालापको कडीलाइ अघि बढाएँ । सोचे, “भुसुनापनि शेर भएर खडा भयो भनेकोचाहीं यो नन्दप्रसाद अधिकारीलाइ हो । यो च्याँसे बाहुनले यतिसम्म होहल्ला मच्चाउला भनेर बाबुरामलगायत हामी कसैलेपनि कल्पना गरेका थिएनौं । प्रधानमन्त्री भएका बेलामा बाबुरामले यो नन्दप्रसाद अधिकारी दम्पति र जेठो छोरा (कान्छो छोरालाइ त हाम्रै जानुकाहरुले मारिदिई हाले) लाइ ४९ दिन अँध्यारो कोठामा कोचिदिएका थिए । त्यतिले नपुगेर हत्कडी लगाएर अड्डासार गर्दै गोर्खा पु-याइदिएका हुन् । पछि त बाबुरामपनि आजित भएछन् । यो नन्दप्रसाद भन्ने ज्याद्रो बाहुन रहेछ भन्न थालेका थिए । खिलराज रेग्मीले त, ‘यो दम्पतिलाइ मानसिक अस्पतालमा राखेर पागललाइ गर्ने कडा उपचार गर्नु’ भनेर ठाडो आदेश गरिदिएछन् ।
खिलराजलाइ मन्त्रीपरिषदको अध्यक्ष बनाएर मैले ठूलै बुद्धि पु-याएछु । खिलराजको ठाउँमा अरु भएकोभए हत्याराहरु पक्डाउ परिकन मुद्दा अदालतमा पुगिसक्थ्यो । खिलराजले हत्यारालाइ जोगाउँदाजोगाउँदै पनि यी मेडियाले चर्को होहल्ला गरेकाले संरासं मानवअधिकार आयोग, एम्नेष्टी इण्टर्नेशनल, ह्युमन राइट वाच, इण्टरनेशनल कमिशन अफ जुरिष्ट, एसियाली मानवअधिकार आयोग र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो राख्न थालिसके । नन्दप्रसाद अधिकारी जस्ता ज्याद्रा बाहुनहरु १०० जना जति मैदानमा उत्रेभने मेरो के गति होला ?” यो प्रश्न अजङ्गको भएर देखा प-यो। यो प्रश्न यति भयङ्कर भएर अगाडी उभियो कि त्यसअघि सोच्ने स्थानसमेत् देखिएन । पुष्पकमलजीको नौनारी गले। लामो सास फेरे । बाबुरामजीलाइ फोन गर्नतिर लागे ।




