सकेसम्म युवाजति बिदेश लघार, बाँकिलाई देशभित्रै भिडाउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकले भन्छ ‘लगभग प्रत्येक दिन आठ सय नेपाली बाहिरिन्छन् ।’ बिदेशमा श्रम गर्न । ति मध्ये ९० प्रतिशत युवानै हुन्छन् । गाउँ खाली छन् कतै । काम गर्ने सक्षम मानिस नभएर कति ठाउँमा खेत जग्गा बाँझै परेको छ । तर उपयुक्त खेती प्रणाली नहुँदा ति बिदेशमा हानिन्छन् थोरै तलबकालागिपनि । अनेक खर्च गरेर, अनुदान लिएको रकमले पोलियो थोपा खुवाएर हुर्काइसकेपछि देशको विकासमा खट्नुपर्ने बेला ति बलिया पाखुरा बिदेशको मरुभूमी हराभरा बनाउन जान्छन् । नेपाल सधैं मानविय श्रम उत्पादन गरिदिने तालिमकेन्द्र, बिदेशीकालागि । हाम्रा राजनितिक पार्टीहरु सकेसम्म युवाहरुलाई लखेट्नै चाहन्छन् । कि त तिनलाई भिडाएर आफ्नो राजनितिक स्वार्थ पुरा गर्नमात्रै चाहन्छन् । अहिले त्यहि भैरहेको छ । किनकि बाठा टाठा, शिक्षित, जाने बुझेका, पाखुरि बलिया भएका युवा बिदेशिय भने बिद्रोहको संभवना टर्छ । बिरोध कम हुन्छ । राष्ट्रमा यस्तो शक्ति नभएपछि लूटको शासन लम्ब्याउन पाइन्छ ।
जनयुद्दकालमा नेपाली सेना र प्रहरीसित भिडाउनु भिडायो माओवादीले युवाहरुलाई । गरिबको राज्य ल्याउने । देशलाई पराधिनताबाट मुक्त पार्ने । शिक्षा, स्वास्थ्य र गास, बास कपालको सुनिश्चितता गर्ने । यि सबै आश्वाशन दिएर जनयुद्दमा लडाए । जनताका हजारौं छोराछोरी युवाहरुको रगत बगाए । तर जनयुद्दले केहि दिएन । दियो त केहि चोट्टा दलाल, केहि नेता र नेताका परिवार, केहि भरौटेहरुलाई । जनयुद्दमा सबल र सक्षम भनेर जुध्न, भिड्न लगाए । काँधमा बन्दुक थमाए । तर जनयुद्दपछि तिनलाई असक्षम घोषित गरेर रित्तो हात फर्काए । यसरि तिनले हजारौं युवाको जिवन बर्बाद पारिदिए । ६०, ७० जना नेपाली सेनाका अधिक्रितसित ३५ हजार सेना साटे । हजारौं यूवाको रगतमा केहि महिना मन्त्री बने । गाडी चढे । केहि महल बनाए । देश बिदेशको यात्रा गरे । आफन्तको जागिरसित तिनको भविष्य साटे ।
अहिले करिब तिस लाख नेपाली आमाका होनहार युवाहरु बिदेशमा श्रम गरिरहेका छन् । तिनलाई नेपालमै रोजगारीका अवशर दिन भनेर कहिल्यै सोचेनन् । बरु नेपाललाई परादिननै बनाइराखे । पहिलो संविधान सभाको निर्वाचनमापनि माओवादीले तिनै बेरोजगार युवाहरु परिचालन गर्यो । सरकारमा गएर युवाहरुकालागि केहि गर्न सकेन । गर्नै चाहेन । बरु जन युद्दमा लडेका युवाहरुको भत्ता समेत शोषेर खाए तिनका नेताले ।
अहिले फेरि संविधान सभाको निर्वाचन हुँदै छ । त्यसमा एक पार्टीले अर्को पार्टीसित भिडाउन खोज्दै छन् तिनै युवालाई । एमालेले युथफोर्स बनाएको छ । माओवादीले वाई सि एल। कांग्रेसको तरुण दल र मधेशी केहि दललेपनि बनाएका छन् । ति सरर गाडीमा कुद्ने छन् । वरिपरि सुरक्षाकर्मी राखेर, हतियार सहित । युवाहरुलाई लाठी, बूट, ढुंगा र सानातिन हतियार थमाईदिएर ।
सरकारले गर्ने निर्वाचनमा किन चाहियो युवा दस्ता ? के निर्वाचनको सुनिश्चितता गर्ने, सुरक्षा दिने काम सरकारको होइन ? सरकारी सुरक्षाकर्मीको होइन ? त्यसैकीलागि सरकारले तलब र भत्ता दिई दिई सुरक्षाकर्मी पाल्ने होइन ? अनि किन चुनावका बुथ बुथमा चाहियो हरेक राजनितिक पार्टीका युवा दस्ता ? कुनै एउटा राजनितिक दलले युवाहरुको दुरुपयोग गर्यो । युवा उर्जालाई गलत ढंगले प्रयोग गर्यो भने त्यसको बिरोध गर्ने । त्यसलाई दुरुपयोग हुन नदिने काम हो सरकार र अन्य राजनितिक दलको कि आफूलेपनि त्यसैलाई टक्कर डिन खोजेझैं अर्को युवा दस्ता बनाउनु ?
प्रस्ट छ, तिनलाई जसरि हुन्छ चुअनव जित्नु परेको छ । जनताको मनमा बसेको पार्टी र नेता भए, जनताकालागि लोककल्याणकारि काम गरेको भए, जनताको सेवा गरेको भए, जनतालाई सुख र सुबिधा दिएको भए पो जनता उर्लिएर मत दिन आउने । तिनले सास्ति बाहेक केहि दिएका छैन । तिनमा जनताप्रति विश्वास र भरोसानै छैन । त्यसैले बुथ कब्जा गरेर, मतपेटिका लुटेर, धम्क्याएर चुनाव जित्नुपरेको छ । तिनलाई जनताको मतसित विश्वासै छैन । जनताको विश्वास जित्ने कामनै गरेका छैनन् । त्यसैले युवाहरु लगाएर धाँधली गर्नु परेको छ । जसरिपनि जितेर फेरि मुलुक ठग्ने र मोज गर्ने, दाम कमाउने गर्नुपरेको छ । त्यसैकालागि युवाहरुको शक्ति दुरुपयोग गर्न युवा दस्ता तयार पारेका हुन् । नेपाली युवाहरु बेरोजगार छन् । कति अशिक्षित छन् । तिनलाई शिक्षा दिने । रोजगारी बढाउने, रचनात्मक काममा लगाउने होइन । युवा दस्ता बनाएर पाखुरा सुर्काउन लाउने र युवा युवा भिडाएर रगतको खोलो बगाउने । आफ्नो राजनितिक स्वार्थ पुरा गर्ने ।
तर किन बुझ्दैनन् नेपाली युवाहरुले यो बास्तविकता ? किन हेर्दैनन् राजनितिक दलको बिगतको ईतिहास ? किन आफुहरु दुरुपयोग हुन तयार छन् ? किन आफु जस्तै बेरोजगार, पिडितहरु एक अर्काका लड्न दस्तामा सामेल भएका हुन् ? मुलुकलाई खरौं खरब घाटा गराउने, ऋणको भारि बोकाउने चुनावमा फेरि आफु जस्तै युवासित किन लड्न तयार भएका हुन् ? यस्तो चुनाव जसले न संविधान दिने सुनिश्चितता छ । न शान्ति दिने निर्क्यौल छ । न आर्थिक विकासका ढोका खोल्ने आशा र छनक छ । सरकारले देशको शान्ति र सुरक्षा गर्न भनेर प्रहरी र सेना पालेको छ । गुप्तचर राखेको छ । तर जब शान्ति र सुरक्षा गर्नुपर्ने बेला आउँछ तब भिडन्तमा युवाहरुलाई उतार्छ । कति निर्लज्ज यो सरकार ! कति नांगिएका हाम्रा राजनितिक दलहरु । कति अविश्वाश राजनितिक दलहरुबिचनै कि आआफ्ना युवाहरु परिचालित नगरेसम्म तिनलाई निर्वाचनमा विश्वासनै छैन ।
अझ केहि राजनितिक दल त कति निर्लज्ज । हेर्नुस् त माथिका दुई तस्विर । योङ कम्युनिष्ट लिगका सदस्य । यि कति उमेरका छन् ? के यि युवा हुन् ? यि पाका, अर्ध बैंशे कि युवा ? कति हो युवाको उमेर हद ? युवाहरुलाई समेट्ने नाममा कति नितिहिन, लज्जास्पद र नांगो रुपमा प्रस्तुत भएका हाम्रा राजनितिक दलहरु । यिनको तस्विरलेनै बताउँदैन र यि युवाको परिभाषा, उमेरहदभित्र पर्छन् कि पर्दैनन् भनेर ?
(पछिल्ला दुई तस्विर पत्रकार यादव देवकोटाको फेसबुकबाट लिएको हो)






