प्रहरीसमक्ष मैलासाफ

● आनन्दराम पौडेल  

anandaram-paudel-33434प्रहरी हिरासतबाट कारागार सरेको पनि ३ महिना भएछ। चन्द्रिका राउतले हिसाब गरे। यो ३ महिनामा मनचित्तका कलुष निकै पखालिएछ। निकै कञ्चन महसुस गरे। मन जति चङ्गा भयो दिमाग त्यति नै सन्तुलित हुँदोरहेछ। सन्तुलित दिमागले अपूर्व उर्जा प्राप्त गर्दोरहेछ। त्यही सन्तुलित दिमागले सोचे, हिजो जितेन्द्र नामका पत्रकार आएका थिए। भोलि आउनुहोस्, लामै बसेर कुरा गरौंला भनेको थिएँ। आज आउलान्। जे-जे जान्न र वुझ्न चाह्न्छन्, बिस्तुर नराखि बेलिबिस्तार गर्ने निर्णय गरे। आफ्नै विगततिर फर्केर हेरे। औसतमा मेरो जीवन ठीकै चलिरहेको थियो। मेरो घर परिवार व्यवस्थितै थियो। बस्नको लागि सप्तरी, बथनाहा -७ मा घर थियो। परिश्रम गर्दा खेतको उव्जनिले खान पुग्थ्यो। गाउँसमाज र जातबिरादरीमा इज्जतपनि थियो। जीवनदेखि वाक्कदिक्क र असन्तुष्टी त्यस्तो केही थिएन। एउटै घटनाले गर्दा सुचारु जीवनयात्रा र भरिपूर्ण घरपरिवार चक्नाचुर भयो।
छोरी रुबी राउत बजरङ्गी निमाबिमा कक्षा ८ मा पढ्थी। बथनाहा- ७ मै बस्ने छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारले भित्रभित्रै प्रेम गर्दोरहेछ। पछिल्लो कालमा हल्का भनक पाएको पनि हो। तर, १४ पुगेर १५ बर्ष लागेकी छोरी किशोरी नै छ, बैंश चढेको छैन भनेर सोचें। यो सोच गलतपनि थिएन। २५-३० बर्षका भुस्तिघ्रे सन्तानसमेत् आमाबाबुका लागि अदना लाग्छनभने यो त १४ बर्ष मात्र पुगेकी थिई। तर, यस्ता सम्बेदनशील बिषयलाइ हल्काफुल्का लिन नहुने रहेछ। उनीहरुको वीचमा प्रेमको बिरुवा झाङ्गिईसकेको रहेछ। अण्डरइष्टिमेट गरेको परिणाम देखा प-यो। आफ्नो प्रेमलाइ सार्थक परिणाममा पु-याउनको लागि चैत ३ गते दुबै जनाले घर छाडेर भागे।
 छोरो अरुणकुमारले केटी टिपेर भाग्यो भनेर छिमेकी सत्यनारायण साहलाइ खासै असर परेन। मेरो हकमा भन्नुपर्दा हाम्रो घरमा त वज्रपातै भयो। एक त छोरीको कुरो    प-यो। तराई मूलको समाजमा छोरीको बाउको इज्जत सधैं धरापमा हुन्छ। छोराले केटी खेलाउँदै हिंड्यो भनेर परिवारको इज्जतमा चुना लाग्दैन। छोरी पोइल गई, एक रात हराई वा केटासँग मस्किंदै-जिस्किंदै हिंडी मात्र भनेपनि घरको इज्जतमा धब्बा लागिसक्छ। त्यतिले नपुगेर मेरी छोरी रूबी त तल्लो जात (तेली)सँग पोइल हिंडेकी थिई। गाउँसमाज र जातबिरादरीमा हाम्रो कत्रो शान थियो। त्यो शान, मान र इज्जत हाम्रो लागि प्राण जत्तिकै पृय थियो। त्यसैमा ८ रेक्टरको भूईंचालो गएपछि मैले थेग्न सकिन।
गाउँसमाज र जातबिरादरी सबै लागेर दुबै भगुवालाइ खोजेर ल्याए। पञ्चायतले निर्णय गरे अनुसार सत्यनारायणले क्षतिपूर्तिस्वरुप रु.५० हजार पनि मलाइ वुझायो। छोरी फर्काएँ, रु.५० हजारपनि भित्र्याएँ, तर पहिरो गएको इज्जतमा ‘रिटेनिङ वाल’ लगाउन सकिएन। घरमा जति छोरीलाइ देख्थें, त्यति नै मेरो मुटुमा छुरी चल्थ्यो। दिमाग छड्किरहन्थ्यो। यो तनावको एकमात्र कारण यही रुबी हो भन्ने लागिरह्यो। रुबीलाइ नपन्छाएसम्म तनावबाट मुक्ति पाईंदैन बन्ने निस्कर्षमा पुगें, र काँडा पन्छाउने तानाबाना बुन्नथालें।
सुनियोजित योजना मुताबिक रुबीलाइ फुफूको घर दरभङ्गामा पठाएँ। सँगसँगै ‘कण्ट्याक्टकिलर’ को खोजी गर्न थालें। जब कण्ट्याक्ट किलरको व्यवस्था हुने भयो, तब रुबीलाइ दरभङ्गाबाट ल्याएर मामाघर सप्तरी, रम्पुरामल्हनियाँमा ल्याएर राखें। कण्ट्याक्ट किलरले दिएको समय अनुसार २ दिनपछि घर जाने भनेर रम्पुरामल्हनियाँबाट रुबीलाइ लिएर हिंडें। अलि पर पुगेपछि छोरीलाइ ‘कण्ट्याक्ट किलर’ को जिम्मा लगाएँ। अपरिचित व्यक्तिहरुसँग जान रुबी मानिरहेकी थिइन, जाँदै गर म आउँछु भनेर सम्झाई पठाएँ। कोसी नदीको पश्चिम तटबन्ध छेउको सुनसान ठाउँमा लैजाने भनेकोले अलि पछि म त्यतै गएँ। त्यहाँ पुग्दा कण्ट्याक्ट किलरहरु २ जनाले रुबीलाइ बेस्सरी अँठ्याएका र एउटाले घाँटि रेटिरहेको थियो। मुख च्याप्पै समातेकाले रुबीको चर्को आवाज निस्कन पाएको थिएन, केवल घुँ…घुँ मात्र सुनिन्थ्यो। घाँटी रेटिसकेर एकछिनसम्म रुबीको शरिर छट्पटाइरहेको थियो। काम सम्पन्न गरेर तिनीहरुले रुबीको मृत शरिरलाइ बोरामा हालेर २ किलोमिटर पर कोइलाडी- ९, चट्टीटोलको नहरछेउमा ल्याए। त्यहाँ शवमाथि मट्टितेल हालेर आगो लगाए।
छोरीलाइ मारेर फालेपछि मेरो टेन्सनको जड नास भयो भन्ने सोचेको थिएँ। तर नास भएन, झन् बढ्यो। अहर्निश छोरीको घाँटी रेटेको, मुखबाट घुँ….घुँ आवाज निस्केको दृश्यको झझल्को मात्र आइरह्यो। म तावाबाट झरेर भुङ्ग्रोमा परेजस्तो भएको थिएँ। भित्रभित्रै छड्किरहेको थिएँ। प्रहरीले केरकार गर्नासाथ जिप्रका सप्तरीका डिएसपी श्यामसिंह चौधरी र सई रत्न पौडेल समक्ष सबै ओकलें। सम्पूर्ण घटना ओकलेर अपराध कबुलेको क्षणदेखि टेन्सनमुक्त भएको छु। र ताजा, चङ्गा र सन्तुलित महसुस गरिरहेछु।

तपाइँको प्रतिक्रिया