प्रचण्ड कामरेड मुलुकमारा कि भोट नहाल्ने मेरा जस्ता लाखौं सोझा बाउ आमा ?

prachanda_20110422114320-212संविधानसभा निर्वाचनको विरोध गर्नेहरु जनता र मुलुकविरोधी भएको बताउनुभएछ महान नेता, राजनेता  प्रचण्डले । मलाई असाध्यै निको लागेन । प्रचण्डको बोली र मेरा बाउ आमा सम्झेर । अनि मेरा बाउ आमा जस्ता हजारौं अन्य बाउ आमा र गाउँ छिमेकका अन्य सोझा, ईमान्दार बाउ आमा सम्झेर । जिवनभर भोट लिँदापनि तिनको जिवनमा कुनै सकारात्मक परिवर्तन देख्न नपाएका सोजह नेपाली दाजुभाई दिदीबहिनीहरु सम्झेर । मेरा बाउको चौरासियौं जन्मदिनपनि मनाइयो । उहाँले जिन्दगीमा धेरै पटक भोट दिनु भएछ । र केहि महिना अघि मैले भनेंको थिएँ बाउ आमा दुबैलाई ‘आमा, बा, नेपालाँ चुनाब गर्नी भन्चन के रे’ । त्यसपछि आमाले भन्नु भो ‘बाबु चुनाव त मैले सधैं गरेको गर्‍यै देखा हुम् । भोटपनि कैलेकाइँ बायक देकै हो । तर हेर त खै के भो तनी देश ? के पायमतनी हाम्ले ऐले सम्म । त्यो पर्चन्न उदुम तगडो छ रे, केइ गर्च रे भन्ते, माउवादीले देश बनाउँच भन्थे । तो पनि चोरै रच । किन दिनी हो भोट ? के खान दिनी हो भोट ?’

जिन्दगीभर दुख गरेका, कसैको एक पैसो नखाएका, कसैलाई नछलेका, कहिल्यै जागिर खान नपाएका, सरकारि दस्तुर  छ्ल्नपनि नजानेका, डोको दाम्लो र नाम्लोमा रमाएका । मेरा बाउ आमाले केलाई, किन दिनी हो भोट नेद्याओ भन्नुहुन्छ । दिन्नम्, दिएर क्यै फाइदा छैन ‘ भन्नुहुन्छ । उहाँहरु’नी संविधान सभा निर्वाचनकै बिरोधी हुनु भो । ७६ वर्ष भकि मेरी आमालाई मैले ‘आमा तपाईले भोट दिन हुन्न, नदेउ, म चुनाव बिरोधी भन्नु भो भने तपाई मुलुक बिरोधी, मुलुक मारामा पर्नु हुन्च रे’ भनेर सुनाएँभने आमाको जवाफ के होला ?

के निर्वाचनमा सहभागि हुनु र नहुनु, मत दिनु र नदिनु । मत देओ भन्नु र नदेओ भन्न पाउने अधिकार नेपाली जनतासित सुरक्षित छैन ? मुलुकमाराहरुले जे भन्छन् त्यसैमा आम जनता सती जानु पर्ने ? प्रचण्ड नेपालमा जनयुद्द हुँदा त्यो चुनौतिपूर्ण अवस्थामा, त्यो जोखिमपूर्ण बेला अधिकांश समय भारतमा बसेछन् । उतै भारतीय सित साँठगाँठ गरेछन् । उतै आफ्ना परिवार सुरक्षित राखे । यता जनताका छोराछोरीको रगतको खोलो बगाए । चितवनको स्यानो पाखोबारी मात्रै भएका उनले धेरै नेपाली जनतालाई उचाले जनयुद्द गर्न भनेर । देश बनाउन भनेर धेरैको रगत बग्ने माध्यम बने । जनताका दुख उनी शान्ति वार्तामा आउँदा भन्दा अझ गहिरिएका छन् । झनै सास्ति खेपेको छ देशले । मुलुकले अझ भार बोकेको छ । जनता अझै पिल्सिएका, छट पटिएका छन् । तर उनी एकाएक करोडपती भए । उनको जिवनशैली फेरियो । तर उनले खाएका कसम र दिएका आश्वाशनहरु हावामा उडे । उनी अझै आश्वाशन बाँड्दै छन् । अनि के त्यहि प्रचण्डले जे जे भन्छन् उहि मान्नु देशभक्ति ? राष्ट्रियताप्रेमी, देशप्रेमी, प्रजातान्त्रिक र लोकतान्त्रिक ? प्रचण्डको लोकतन्त्रमा मत दिन्न भन्न पाईन्न ?

के प्रचण्ड जस्तो जनसेनाको भत्तापनि लिएर चप्काउने, महलमा बस्ने, विश्वकै महाधनी र शामन्तले जस्तो महँगो गाडी चढ्ने, ढाँट्ने, छल्ने र अनेक काण्डमा मुछिएको नेता भन्दा मेरा बाउ आमा जस्ता भोट नदिने हजारौ बाउ आमा मुलुकमारा, बिरोधी हुन् ? मपनि भन्दिम् ? प्रचण्ड बाबु तिमीले झै मुलुक शोसेर, लुटेर, निति ढाँटेर, बिदेशीको पाऊमा लम्पसार परेर मेरा बाउ आमा र ति जस्ता लाखौं बाउ आमाले खाका छैनन् है । संविधान बन्छ कि बन्दै भन्ने कुनै निश्चित नभएको । संविधानका अन्तर्बस्तुमा कुनै सहमती नभएको । निमुखा जनतालाई अँध्यारो, भोक, रोग, अशिक्षा र समस्याका भुंग्रामा कोचेर तिनको रगत र पसिनाको खरबौं राष्ट्रिय सम्पत्ती उडाइदिने तिम्रो चुनावमा सति नजाने मुलुकमारा ? मपनि तिम्रो चुनाउको ब्यक्तिगत रुपमा बिरोधीनै हुँ । मैले’नी तिम्ले झै खाको छैन मुलुक मारेर । जिन्दगी भरि घोटिँदापनि मेरो हालत उस्तै छ त । ए गाँठे मुलुक मारेर खाने मुलुकप्रेमी, मुलुक नमारि दुखजिलो गरिगरि खाने चाहिँ मुलुक मारा ?

तपाइँको प्रतिक्रिया