असङ्ख्य भगन र पार्वतीहरु
● आनन्दराम पौडेल
पत्रकारिता पेशामा आउँदा रविले सञ्जयलाइ आदर्श बनाएको थियो । महाभारतका सञ्जयले कुरुक्षेत्र युद्धको रिपोर्टिङ गरिरहँदा घटनाको प्रभावबाट आफूलाइ मुक्त राखेका थिए । युद्धमा सञ्जयले सर्वाधिक माया गरेका आफन्तजन र दुश्मनहरु सामेल थिए । युद्धमा भएका एक-एक घटना सञ्जयले छर्लङ्ग देखिरहेका थिए। आखिर सञ्जयपनि मनुष्य नै थिए । आफन्त घायल हुँदा र मारिंदा गहीरो पीडा तथा दुश्मन तड्पिंदा र मारिंदा सन्तोषको अनुभूति हुनु स्वाभाविक थियो। १८ दिनसम्म चलेको महाभारत युद्धभित्र भएका एक-एक घटना नबिराइ रिपोर्टिङ गरे, तर त्यस्मा आफ्नो निजी भाव मिसिन दिएनन् । यस्बाट प्रभावित भएरै रविले सञ्जय-शैलीलाइ अनुशरण गर्ने निश्चय गरेका थिए । निश्चय गरे अनुसार रविले व्यबहारमा लागु गर्दै आएका पनि हुन्। तर, एउटा घटनामा निकै कठिन प-यो।
साउन ३२ गते दिनभरीको काम सकेर खाजा खान माइस्थान चौकमा आइपुगेका थिए, गएराति एकजना महिलालाइ लखेटी-लखेटी कुटेर मारे भन्ने अधुरो खवर सुन्यो । राष्ट्रिय मेडियाको रिपोर्टर भैसकेको नाताले, को मारियो ? कहाँको हो ? कस्ले मा-यो ? र किन मा-यो ? यति तथ्य पत्ता लगाइहाल्नु उस्को जिम्मेवारी र कर्तव्य भएकोले अर्डर गरेको खाजासमेत् खान छाडेर जिल्ला प्रहरी कार्यालयतिर दौडिए ।
डिएसपी वासुदेव खतिवडा भेटिए । पर्सा, सुपौली गाविस-९ सढीटोल बस्ने भगन चौधरीकी पत्नी ४५ बर्षीय पार्वतीदेवी चौधरीलाइ बोक्सीको आरोप लगाएर गएराति मारेको भन्नेसम्म डिएसपीबाट वुझ्न सक्यो । अधुरो जानकारीको आधारमा हत्याजस्तो जघन्य सम्बेदनशील घटनाको रिपोर्टिङ गर्न कठिन हुने भएकोले घटनास्थलमा जाने निश्चय ग-यो । घटनास्थल वीरगञ्जबाट पश्चिमतिर ४० किलोमिटर टाढा रहेछ । मोटरसाइकल भएका अर्को पत्रिकाको रिपोर्टर साथिलाइ बोलायो, र दुबैजना घटनास्थलतिर कुदे । सुपौली, सढीटोल पुगेर जे वुझ्यो, त्यस्ले उस्को आङै सिरीङ्ग पा-यो ।
घटना मध्ययुगीन बर्बरतालाइ बिर्साउने खालको थियो। ध्रुब महतो, बनारसी महतो, विसुनदेव महतो, अनिल चौधरी, धनराज चौधरी, नवीन चौधरी, विश्राम चौधरी, पासपती, सीमाकुमारी र रेणुकुमारीहरु मिलेर साउन ३२ गते राती १२.१५ वजे पार्वतीलाइ घरबाट लछारपछार पार्दै घिसारेर निकालेछन् र निर्घात चुट्न थालेछन् । गुहार माग्दै पार्वती पार्टीका स्थानीय नेताहरुका घर-घरमा ढोका ढक्ढक्याउन पुग्दिरहिछन्, उनीहरु लखेटी-लखेटी चुट्दारहेछन् । गुहार माग्दै सबै नेताका घरमा पुगिछन् । उनलाइ शरण दिने त परको कुरो, कुनैपनि नेताले ‘नचुट’ सम्म भनेनछन् । १ घण्टाभन्दा बढी यसरी लखेटी-लखेटी चुटेछन् । चुटाइ खाँदाखाँदै पार्वतीले प्राण त्याग गरिछन् ।
प्रहरी चौकीमा नजाओस् भनेर ती हत्याराहरुले पार्वतीका पति भगन चौधरीलाइ घेरेर बसेछन् । अरुले नगरेपनि नेताहरुले उनीप्रति सहानुभूति राख्लान् र अत्याचारको बिषयमा बोल्लान् भनेर भगनले ठूलो आशा राखेका रहेछन् । बिहान उज्यालो भएपछि नेताहरु आए, तर भगन चौधरीसँग १ शव्द मिसाएनन्, तिनै हत्याराहरुसँग भलाकुसारी र सरसल्लाह गरेर बसेको देखेपछि भगन निकै निराश भएछन् । कसैगरी उम्कने बारेमा सोच्दासोच्दै दिउँसोतिर हत्याराहरु गफमा मग्न भएको मौका छोपी भगन सुटुक्क भागेछन् । सबैको आँखा छलेर प्रहरी चौकी पुग्न भ्याएछन्। यसरी यो खबर बाहिर आउन सकेको रहेछ ।
भदौ १ गते बिहान उठेदेखि नै रविको दिमाग रन्थनिरहेको थियो । हिजोको घटनाले भन्दापनि राजनीतिक पार्टीका स्थानीय नेताहरुले खुलेरै हत्यारालाइ साथ दिएको बिषयले उनको दिमागलाइ उथलपुथल गरिरहेको थियो । राजनीतिक पार्टीका ठूला नेतालाइ भेटेरै उद्वेलित विचार राख्ने निर्णय लिए । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीको घरमै पुगेर कुरा राखे । सबै कुरा सुनेपछि सुरेन्द्र चौधरीले भने, “अहिले भर्खर सिडिओ र एसपीसँग फोनमा कुरा हुँदा उनीहरुले यो घटनाको बिषयमा मलाइ बताएका थिए । यो त तपाईंहरुले कार्यवाही गर्ने बिषय हो भनिदिएको थिएँ ।”
“यसरी पन्छिन मिल्छ ? तपाईंहरुको कर्तव्य, जिम्मेवारी र दायित्व हुँदैन ?” भगनको आक्रोशसमेत् मिसाएर रविले पुन सवाल राखे ।
“कसरी पन्छिएको भन्नुहुन्छ ? हामीले के गर्न सक्छौं ?”
“तपाईंको पार्टीका स्थानीय कार्यकर्ताहरु अपराधीलाइ जोगाउन कम्मर कसेर लागेका छन् । तिनीहरुलाइ न्यायको पक्षमा उभिनु भन्नुपर्ने होइन ?”
“म एउटाले आदेश गरेर के हुन्छ ? कस्ले टेर्छ ?”
रविले कुरा वुझे । बिदाबादी भएर हिँडे । नेकपा एमालेका जिल्ला संयोजक चिरञ्जीवी आचार्यलाइ फोन गरे । पार्टी कार्यालयमा रहेछन् । यही कुरा राखे । चिरञ्जीवीले भने, “सामाजिक जागरणका बिषयमा जिल्लामा कुनै अभियान छैन । कसैले यस्तो कार्यक्रम राखेमा हामी सहयोग गर्न तैयार छौं ।”
एमालेको धारणा वुझे । एनेकपा माओवादीको धारणा वुझ्न पार्टीअफिसमा फोन गरे । ठूलै नेतासँग सम्पर्क भयो । फोनमै लामो भाषण ठोके । भाषणको सार थियो, वहुमत जनताले जे गर्छन् त्यही ठीक मान्नुपर्छ र उनीहरुले जे भन्छन् त्यसैलाइ सत्य ठान्नुपर्छ ।
राष्ट्रिय पत्रिकाहरुले नै यो घटनाको समाचार राख्दा पत्रिकैपिच्छे भगनको नाम बिगारेर फरक-फरक लेखेका रहेछन् । होच्याईं अर्घेल्याईं सहेका, पिल्सिएर रहेका सीमान्तिकृतहरुलाइ राजनीतिक पार्टीहरुले त पीडा दिए-दिए, मेडियाले समेत् आलो घाउमा नुनचुक थप्ने काम गरेको देखेपछि पत्रकार भएको नाताले रविले आत्मग्लानि महसुस गरे ।




