नेता डाक्टरका अनेक पराक्रम

pm-Baburam-Bhattaraiबाबुराम भट्टराई समकालीन नेपाली राजनीतिमा अध्ययनशील र बौद्धिक मानिन्छन् । समाजको मान्यताअनुसार भेडा भेडासित र बाख्रा बाख्रासित भनेझैँ हुने हो भने उनको वरिपरि विद्वान र अध्ययनशील राजनीतिकर्मीको भेला हुनुपर्ने हो । विज्ञानकै नियमानुसार पनि पानीमा हालेको घ्यू तैरन्छ र सुनमा मिसाइएको जर्ती सुन पगालेपछि छुट्टिन्छ । तर, बाबुराम राजनीतिमा लागेर न त चलिरहेका फोहोरी राजनीतिकर्मी भन्दा अलग्गै पहिचान देखाउँदै घ्यू बन्न सके न फोहोर जर्तीको मिसावटले बद्नाम भएको राजनीतिमा टलक्क टल्कने २४ क्यारेटको सुन नै बन्न सके । बरु उनी अरू औसत राजनीतिकर्मीभन्दा फोहोरी र खराब मान्छेको कोटरी चलाएर बस्ने ‘विरप्पन’ जस्ता पो देखिए । चुम्बकीय गुरुत्वको नियमसित मिल्ने गरी विपरीत ध्रुव एकापसमा आकर्षित हुन्छन् भनेझैँ उनको वरिपरि जनयुद्ध र पछिल्लो समय घटेका आपराधिक घटनामा संलग्नहरूको घुइँचो देखिन्छ । 

एमाओवादी केन्द्रीय सदस्य बालकृष्ण ढुंगेल जनयुद्धकालमै ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोगमा जेल परे । पुनरावेदनबाट सफाइ पाएर छुटे पनि पछि सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । उक्त फैसलालाई चुनौती दिँदै खुलेआम हिँडिरहेका छन् । बाबुराम प्रधानमन्त्री हुँदा बालकृष्णको बचाउ भएको भन्दै अधिकारकर्मीहरू आन्दोलनमा समेत उत्रिए । तिनै बालकृष्णलाई आफूले केन्द्रीय सदस्यमा सिफारिस गरेको भन्दै बाबुरामले केन्द्रीय समिति बैठकमा गर्वका साथ भाषण गरे । बाराका पत्रकार वीरेन्द्र साहको हत्या हुँदा त्यहाँको इन्चार्ज रहेका केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ अहिले पर्सा इन्चार्ज छन् । साहको हत्याको व्यवस्थापन र हत्यारालाई सकुशल भगाउने काममा संलग्नता भएको भन्दै आरोपित बाबुराम पक्षधर हुन् । उनीभन्दा सिनियर थुप्रै नेता अझै केन्द्रमा आउन सकेका छैनन् । अनिल तिनै व्यक्ति हुन्, जसले पार्टी नफुट्दै वीरगन्जमा भएको आन्तरिक कार्यक्रममा तत्कालीन स्थायी समिति सदस्य नेत्रविक्रम चन्दमाथि कुर्सी हानेका थिए ।

वीरगन्जकै हिन्दूवादी कार्यकर्ता काशी तिवारीको हत्याको मुख्य योजनाकार भनिएका प्रभु साह मधेसमा बाबुरामको दाहिने हात मानिन्छन् । आफू प्रधानमन्त्री भएका बेला प्रभु साहको बचाउ गर्न बाबुरामले राम्रै भूमिका निर्वाह गरे । साहको बचाउका लागि तिवारीकी पत्नीलाई आठ लाख रकम दिने नागेन्द्र झालाई नापी विभागको महनिर्देशक बनाएर पुरस्कृत गरे ।

प्रधानमन्त्री भएकै बखत चर्किएको दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यासम्बन्धी केसमा पनि कानुनी राज्यलाई चुनौती दिँदै हत्या अनुसन्धान नगर्न आदेश दिए । पछि अदालतले निर्देशन दिएपछि मात्रै डेकेन्द्र प्रकरण अघि बढ्यो । दैलेख प्रकरणमा सिंगो पार्टीलाई बद्नाम बनाउने गरी जनयुद्धकालमा माओवादी छाडेर आत्मसमर्पण गरेका र पछि हिसिला यमीको प्यान्ट समात्दै माओवादीमा छिरेर बाबुराम प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका मुिक्त प्रधानले समेत निकै फुर्तीफार्ती गरे ।

बुटवलका एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्यामा संलग्न सुजित विकलाई मानवअधिकार आयोगबाटै भगाउने काममा बाबुरामका अनन्य सहयोगी टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल सहभागी थिए । विक पछि पक्राउ परेर हाल जेल सजाय भोगिरहेका छन् । रायमाझी र पौडेललाई आर्थिक र फौजदारी सबैखाले कसुरमा बाबुरामले संरक्षण दिँदै आएका छन् । पौडेल जनयुद्धकालमा कहिले पोखराको बगरमा गाडिएको सुनसहित पक्राउ परे त कहिले भारतमा गिरफ्तार भएका नेतालाई पक्राउ गराएको अभियोगमा छानबिनमा तानिए । शान्तिप्रक्रियामा आएपछि उनी कमाउ धन्दामा लागेको माओवादी नेताहरूको बुझाइ छ । सामान्य पुस्तक पसलेको १८ हजारदेखि भक्तपुरको हनुमन्ते खोला फर्काउन दलालसँग करोडौंको डिल गर्दै हिँड्ने पौडेलले नवलपरासीमा पार्टीको पैसामा माछापालनलगायत अन्य धन्दा सञ्चालन गरिरहेका छन् । रायमाझी मन्त्री हुँदा फाइलमा दस्तखत गर्न पनि कति पैसा आउँछ भन्दै बार्गेनिङ गर्थे ।

अहिले बहुचर्चित गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको भनिएकी जानुका पौडेल ‘बन्दना’ बाबुराम पत्नी हिसिला यमीकी निजी सचिव हुन् । हिसिलासँग मिलेर ‘गँड्यौला’ उठाउने गरेकी वन्दना तमुवान राज्यसमितिमा डोजर काण्ड लागेर कारवाहीमा परेपछि कार्यक्षेत्र छाडेर काठमाडौं आई हिसिलासँग निकट भएकी थिइन् । कृष्णप्रसाद अधिकारीको हत्यामा बन्दनासहितको नामै किटेर अधिकारीका बाबु नन्दप्रसाद र आमा गंगामायाले किटानी जाहेरी दिएका छन् । त्यही कारण न्याय माग्न धर्नामा बसेका अधिकारी दम्पतीलाई पक्राउ गरी बाबुराम प्रधानमन्त्री हुँदा थुनामा राखिएको थियो ।

यसरी जनयुद्धकाल र शान्तिप्रक्रियापछि पार्टी नीतिविपरीत भएका प्रतिशोधजन्य आपराधिक घटनामा संलग्न कार्यकर्ताको सम्बन्ध बाबुरामसँग हुनु र तिनलाई संरक्षण दिइनु उदेकको विषय हो । ‘बौद्धिक नेताका रूपमा परिचित राम कार्की टाढिँदै जानु र भ्रष्टहरूको अग्रपंक्तिमा रहेका भनिएका वर्षमान पुनहरू नजिकिँदै जानु तथा निजी सचिव विश्वदीप पाण्डेले सामान्य बुर्जुवा आचरणसमेत नाघेर भव्य सानसहित कन्यादान लिई बिहे गर्नुले बाबुराम बाहिर जस्तो देखिन्छन्, उनको भित्री रुप भिन्नै छ भन्ने बुझिन्छ,’ एमाओवादीकै एक नेता टिप्पणी गर्छन् । 

(आज ३० साउन बुधबारका दिन किन यसो गर्न थाल्नुभो कमरेड ?’ शिर्षकमा प्रकाशित जनआस्था साप्ताहिक बाट ।)

तपाइँको प्रतिक्रिया