गंगा बहादुरको अन्तरङ्ग
● आनन्दराम पौडेल
सधैंझैं आजपनि गङ्गाबहादुर लामाले भारी हालेर उन ल्याए । मिहेनत गरेर सम्पूर्ण उन रङ्ग्याए । रङ्ग्याएको उनलाइ पुन भारी हालेर पु-याए । त्यती सकेर घर फर्कंदा चार, साढेचार बजिसकेको हुन्छ । सधैंको तालिका अनुसार गङ्गाबहादुरले यस्पछिको समयलाइ कपन वरिपरी, काठमाडौंको निर्वाचन क्षेत्र नं ४ का जनतासँग सुखदुख बाँड्नको लागि छुट्याएका थिए । तर, आज तालिका अनुसार जनताको छेउमा गएनन् । घरभित्रै सोचमग्न बसे । सोच्दै आफ्नै विगततिर फर्किए ।
काभ्रे, गोठपानीमा जन्मिएपनि केटाकेटीमै काठमाडौं, कपनमा आएकोले जन्मस्थलको धमीलो सम्झना मात्र रहेछ । युवावस्थामा काठमाडौंका रेष्टुरेण्टमा काम गरेको पैसाले जीवन रमाइलैसँग बितेको थियो । २०३६ साल देखि नै नेकपा मसालका साथीहरुसँग सङ्गत बढेकोले पार्टीका कामहरु गरिदिने गर्थें । २०४४ सालदेखि सङ्गठितै भएर पार्टी काम गर्न थालें । २०५२ सालमा त जनयुद्धमै हेलिएँ। जनयुद्धको शुरुकालमा काठमाडौंको बौद्ध, चावहील र महाङ्काल एरियामा पोष्टर टाँस्ने र पर्चा बाँड्ने कामको जिम्मा मेरो भागमा थियो । पछि पार्टीले धादिङ र त्यहाँबाट मकवानपुर खटायो । मकवानपुरका कतिपय साथीहरुको कार्यशैली र ब्यवहारले मन कुँढिएको र चित्त दुखेको थियो । त्यहाँदेखि लमजुङ खटिएकोले मकवानपुरका साथीहरुको क्षुद्र ब्यवहारबाट मुक्ति मिल्यो । लमजुङमा वातावरण मिलेकोले काममा निकै खटियो ।
एकदिन अचानकै सेनासँग आमनेसामने हुन पुगियो । आफूलाइ जोगाउँदा जोगाउँदै खुट्टामा गोलि लाग्यो । गोलि लागेको खुट्टा घिसार्दै, लुक्दै, छल्दै एकठाउँमा लुकेर बसें । तीन दिनसम्म एक्लै भोकप्यास सहेर बसें । खुट्टाको घाउमा स्याउँस्याउँति किरा पर्न थाल्यो । बाँच्ने दिन सकिएछ जस्तो लाग्न थालेको थियो । तै, एकजनाले देख्नुभयो र उद्धार भयो । हारगुहार गरेर भरतपुर अस्पतालमा पु-याए । घाउ कुहिएर किरा परिसकेकोले खुट्टा काट्नुप-यो । उपचार सकेर पार्टी काममै फर्कें । बाबुराम भट्टराईको विचारलाइ समर्थन गरेको भनेर पार्टीभित्र सधैं अछुत जस्तो ब्यवहार गरिरहे । तैपनि, आफ्नो ब्रह्मले देखेको र विवेकले ठहर गरेको दृष्टिकोण नै राख्थें । शारिरीक क्षति र आफ्नै नेता र सहयोद्धाहरुको सङ्कीर्ण व्यवहारले मलाइ रत्तिभर विचलित गराएको थिएन । लोकतन्त्रको खुला परवेशमा आइपुग्दासम्म पनि म आशावादी नै थिएँ । अर्थमन्त्री भएका बेलामा समेत् बाबुरामले वास्ताव्यास्ता नगरेपछि गुटबन्दी भित्रको मान्छे ह्वैनरहेछ भनेर बल्ल वुझेछन् साथीहरुले । प्रधानमन्त्री भएका बेलामा समेत् बाबुरामले नसम्झेपछि ममाथि अन्याय भयो भन्ने ठानेर पार्टी कमिटीले नै सिफारिश गरी प्रधानमन्त्री कार्यालयमा राख्न दबाव दियो । मैले पार्टीमा प्रवेश गराएका र प्रशिक्षित गरेका व्यक्तिहरुलाइ मन्त्री र राज्यमन्त्री सरह तलब, भत्ता, सुविधा पाउनेगरी माथिल्लो हैसियतमा राखिएको थियो । पार्टी कमिटीको सिफारिसमा नियुक्ती गर्नुपरेकोले होला, मलाइ शाखा अधिकृत सरह तलब पाउनेगरी नियुक्त गरियो ।
कताकता ह्युमिलिएशन भैरहकै थियो । तैपनि, अपमानको घुट्कोलाइ भित्रभित्रै पचाएर काममा दत्तचित्त हुन खोजें । जति-जति काम गर्दै जान्थें, त्यति-त्यति घिनलाग्दा दृश्यहरु मात्र देख्न थालें । विजय गच्छेदार, महेन्द्र यादव लगायत मधेशी मन्त्रीहरुले हुँदोनहुँदो जेपनि गर्थे । त्यस्ता निकृष्ट, पतित काममा बाबुरामले पूर्ण संरक्षण मात्र गरेनन्, साथ नै दिए । निरन्तर यस्ता भल्गर दृश्य हेर्नुपर्दा मलाइ बान्ता आउला जस्तो हुनथाल्यो ।
सोच्दासोच्दै धेरै समय वितेछ । भूईंमा गोडा तेर्स्याएर भित्तामा अडेस लाएर बसेका थिए । गोडा निदाएको महसुस गरेकाले बिस्तारै उठे । बैशाखीको सहारा लिएर भाञ्छामा गए । कालो चिया बनाए। चिया लिएर पुन पोजिशन मिलाएर बसे । र अन्तरङ्ग सोचको शिलशीला अघि बढाए । सम्झे, एकदिन प्रधानमन्त्रीको निवासमा थिएँ । डस्टबिनमा मिल्काउन ठीक पारेका कागजको थुप्रोमा एउटा २ पेजको पेपर भेटें । २०६४ साल साउनमा बालाजुमा भएको पार्टीको पाँचौं विस्तारित बैठकमा अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष लेखनाथ न्यौपानेजीले पेश गर्नुभएको पेपर रहेछ । त्यस्मा लेखनाथजीले, “जनताका छोराछोरीलाइ लडाईंको मोर्चामा हेलेर आफ्ना सन्तानलाइ देश\विदेशका महँगा निजी (बोर्डिङ) स्कुल र कलेजमा राखेको” भनेर घोर आपत्ति जनाएका रहेछन् । पढेर आश्चर्य लाग्यो । यस बिषयमा धेरैलाइ सोधें । सबैले पुष्ट्याईं गरे ।
जनयुद्धकालमा रामबहादुर थापा ‘बादल’ ले आफ्नो छोरालाइ देहरादूनमा राखेर पढाएका रहेछन्। त्यही बेलामा हरिभक्त कँडेलले आफ्नो छोरालाइ बाङ्ग्लादेशको मेडिकल कलेजमा राखेर पढाएछन् । जनयुद्ध कालमै टोपबहादुर रायमाझीले दिल्लीमा, दीनानाथ शर्माले नोयडामा, प्रचण्डले जालन्धरमा राखेर छोराहरुलाइ पढाएका रहेछन् । बाबुरामले पनि आफ्नी छोरीलाइ इण्डियामै राखेर पढाएछन् । मातृका यादवले जनयुद्धकालभरी छोराछोरीलाइ पटनामा राखेर पढाए, र लोकतन्त्र आउनासाथै छोरालाइ ब्याङ्कक पठाए । सीपी गजुरेलले पनि आफ्ना छोराछोरीलाइ जनयुद्धको हावा लाग्न दिएनन् ।
यति वुझिसकेपछि वुझ्न बाँकि केही देखिएन । शाखा अधिकृत सरहको पदलाइ लात मारेर हिंडें । कपन एरियाका जनतासँग धेरै घुलमिल भैसकेको छु। धेरैले मलाइ चुनावमा उठ्नुपर्छ भनिरहेछन् । पार्टीले त हामीजस्तालाइ पक्कै टिकट दिने छैन । जनताको माया र विश्वास कमाएको छु । स्वतन्त्र नै खडा हुन्छु । यति अठोट गरेपछि गङ्गाबहादुर लामाभित्र कसीलो विश्वास र अदम्य साहस जाग्यो । मुठ्ठी कस्दै जुरुक्क उभिए ।




