जबजको सिर्जनात्मक विकासका चुनौती

सिद्धिचरण भटराई

siddi-charan-bhattarai-lumbini-1212१९८०  अघि ३ जना बेलायति समाजशास्त्रीहरुले पश्चिम नेपालको सामाजिक विकासको अध्ययन गरे । मार्क्सवादी समाजशास्त्रीय पद्धति अपनाइएको उक्त अध्ययनलाई अक्सफोर्ड युनिभर्सिटीले १९८० मा ‘नेपाल इन क्राइसिस’ नामक पुस्तकमा प्रकाशन गरेको थियो । उक्त पुस्तकमा अध्येताहरुले औंल्याएको यी सन्दर्भलाई संझन जरुरी छ  । “ नेपाल एकिकरण पूर्व नै काठमाण्डौ, पाल्पा, र बुटवल शहरका रुपमा विकसित भइसकेका थिए । यी भारत र तिब्बतको व्यापारिक नाका थिए । सन १७५२ मा कास्की र पश्चिम नेपालको साना राज्यको आमन्त्रणमा काठमाण्डौका नेवारहरु व्यापार र कलाको ध्येयले बसाई सरे ।

१८३० तिर पाटनबाट बन्दीपुर सरेका व्यापारीले तान उद्योगको स्थापना गरे । यी नै व्यापारी तीब्बत र भारतको मध्यस्थकर्ता बने र बन्दीपुर व्यापारिक नाका बन्यो । यी व्यापारीहरु भारततीर बिस्तार हुन पुगे । नेपालको पुर्वी तराई नजिकै भारतीय रेल गुडन थालेपछि भारतीय औद्योगिक उत्पादनको नेपालमा खुल्ला प्रवेशले बामे सर्न लागेको नेपाली घरेलु उद्योगको उत्पादनमा पक्षघात भयो ।”

यसरी औद्योगिक पुँजीले पक्षघातको समस्या बेहोर्नु परेको नेपालमा भारतीय उत्पादनका बनिबनाउ सामानले बजार लियो । यसले ब्यापारिक पुँजी बढायो, नेपाली उद्योग टाट पल्टीए । नेपालमा जति सुकै सडक बिस्तार भएपनि बिस्तारीत बजारमा अव भारतको मात्र होइन नेपाली उद्यम भन्दा तमाम बिदेशी उत्पादनले आजसम्म आफनो व्यापार गरिरहेको छ । यो आज आम चरित्र बनेको छ । श्रमशक्ति बाहिरिने, गुजारामुखि कृषि अर्थतन्त्रले देश नथामिने, उत्पादन श्रोत रहेको जमिन प्लटिंग गरेर रातारात धनि हुने, बाहिरिएको श्रमशक्तिले ल्याएको पैसा घडेरी र घर किन्ने जस्तो अनुत्पादक क्षेत्रमालगानी हुने, औद्योगिक अर्थतन्त्र निर्माण नहुने र दलालपुँजीले नै अर्थतन्त्र चलायमान बनाउने अवस्था आजसम्मको निरन्तरता हो । जसले निरन्तरको व्यापार घाटाको राष्ट्रिय अर्थतन्त्र निर्माण गरेर देशलाई गरिब राष्ट्रको सूचिमा राखेको छ । यसले राजनीति, कर्मचारीतन्त्र, विचार विनिमय र सष्कृतिमा समेत प्रभाव जमाइरहेको छ । हामीले आज उठान गरिरहेको राष्ट्रिय स्वाधिनताको नारा भित्र यही सामाजिक बिरासतले ल्याएका असन्तोष र आकांक्षा मिश्रित छन ।

पछिल्लो पटक नेपाली राजनीतिज्ञ मध्ये नेकपा एमालेका युवा नेता घनश्याम भुसालले उत्पादन सम्वन्ध, सामाजिक संगठन र समाज विकासको आजको अवस्थाको मार्क्सवादी कोणबाट वर्ग बिश्लेषण गरेर मुख्य दुईवटा पुस्तक प्रकाशन गरे, उनले नेपाली राजनीतिमा नेपाल अर्ध सामन्ती र अर्धऔपनिवेशिक हो भन्ने सबै बामपन्थी पार्टीको मान्यता गलत रहेको ठोकुवा गरे । यसको ठाउँमा उनले ‘अहिलेको नेपालमा दलाल पुँजीवादको बोलवाला छ यो नै क्रान्तिको प्रमुख निशाना हुनु पर्छ’ भने । ‘यसका लागि पार्टीका हरेक कमिटी र यसका सदस्यहरु उत्पादन संग प्रत्यक्ष रुपमा जोडिएको हुनै पर्छ वा आफ्नो स्तरमा उत्पादक शक्तिको बिकास, गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सष्कृति जस्ता बिषयमा योजनाबद्ध रुपमा अघि बढनुपर्छ,,” भुसालले आजको माक्र्सवाद र नेपाली क्रान्ति (२०६४) यही कुरालाई जोड गरे । नेपाली अग्रज समाजशास्त्री चैतन्य मिश्रले केही दशक अगाडि नै नेपाल पुजीवादमा प्रवेश गरेको भन्दै आएका थिए । तर उक्त कुराले समाजपरिवर्तन बाहक ठान्ने बामधारामा खासै प्रवेश पाएन । उनले ‘नेपाली समाज सिमान्त पुँजीवादी चरित्रको’ भनेर ०५५ सालमा लेखे । ती पार्टीका कुनै पनि प्लेनममा यो बिषयले खास महत्व नै पाएन । तर भुसालले नेपालको पुँजीवादको चरित्र कस्तो छ ? भन्ने कुरालाई अझ प्रष्ट पार्दै व्याख्या गरे । पुँजीवादको चरित्र दलाल छ भने । पार्टीको बुटवल महाधिवेशनमा समाजको वर्ग विश्लेषण गर्दै पुरक प्रस्ताव समेत पेश गरे । त्यो ‘फरकमत’को विचारलाई ‘पुरक’ किन भनिएको थियो ? त्यसले कसलाई पूर्ण बनायो ? त्यो भुसालले समयक्रममा प्रष्टयाउनु होला तर त्यसले नेपालको बाम आन्दोलनमा एमालेको आठौ महाधिबेशन देखि ठाउँ पायो ।

पछिल्लो पटक एमाओवादीको हेटौंडा महाधिवेशनमा भुसालका प्रस्तावहरुकै सेरोफेरोमा रहेर प्रचण्डको कार्यक्रम पेशभएपछि यसले भने धेरैलाई झस्काउन  थालेको छ । त्यसयता समाजको अर्थराजनीतिक कोणबाट गरिएका बिश्लेषणका यी निष्कर्षमा आधारित भएर देशका प्रमुख शहरहरुमा खुल्ला मञ्चहरुमै बहसहरु चलेका छन । आफनै पुराना आग्रहका भक्त र प्रशंसक होइन, आलोचनात्मक दृष्टि राखेर निष्कर्ष निकाल्ने युवाहरु अझ बढि यो बहसमा तानिएका छन ।

यो बहसको प्रभाव बढदै जाँदा नेपाली समाज कहाँ छ भन्ने कुरो टुँगो नलगाई क्रान्तिका गफ गर्दै हिडनेहरुलाई भुसालका प्रस्तावहरुले वेचैन गराएको छ । ५ दशक देखि अघि अर्धसामन्ती र अर्ध औपनिवेशिक समाज रहेको ठहर गर्दै त्यस्तो ठाउँमा नयाँ जनवादी क्रान्ति हुने माओकालिन निष्कर्षलाई आफनो सिद्धान्त स्वीकार गरेका नेपाली कम्युनिष्टहरुलाई नेपाली समाज अहिले त्यो ठाउँमा छैन । हाम्रो क्रान्तिको कार्यक्रम पनि नयाँ जनवादी हुन सक्दैन भनेर ०६४ सालमा आफनो अनुसन्धनात्मक पुस्तक मार्फत भुसालले जनताको बहुदलीय जनवादकै व्यापकता खोजेका थिए । उनको उक्त पुस्तक ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’ प्रकाशन पछि यस बहसले अझ उचाई लिँदै गएको छ । तर हिजोको ०४९ पाँचौ महाधिवेशन ताका जबजको बिरोध नयाँ जनवादको पक्षमा रहेको आफनै बैचारिक बिरासतलाई च्यातच्यूत पार्दै जबजलाई कार्यक्रम भन्दा माथि सिद्धान्तको तहमा बुझ्दै यसले बोकेको ‘क्रान्तिकारी सार’ लाई समात्न पुगेका भुसाल प्रति जबजको अनुयाँई हौं भन्नेहरुले नै अहिले हिलो छ्याप्न खोज्नु आश्चर्यपूर्ण छ ।

‘क्रान्ति स्वयंले अतितका सम्पूर्ण अन्धविश्वासबाट मुक्तनहुँदा सम्म क्रान्ति आरम्भ हुँदैन’ भन्ने माक्र्सको भनाई आत्मसाथ गरी आफनै गलत विचारको मलामी नगई कोही पनि क्रान्तिकारी भईरहन सक्दैन, भुसाल स्वयं यसका उदाहरण हुन । क्रान्ति केवल औपचारिक घोषणा र कागजी दस्तावेज होइन, यो मानिसको जीवनमा रुपान्तरित हुने बिषय हो । सिमान्त सर्वहारा, मजदुर, किसान एवं लाखौ श्रमजिवी जनताको मुक्तिको कुरा एकातिर, थन्काएर ‘संघर्षको कुनै सिमा र अवधि हुँदैन’ भनेर संघर्षमा ध्यान नदिने र दिशाहिन हुने र ‘राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन’ भनेर समय सान्दर्भिक विचारलाई आफनो स्वार्थ अनुकुल व्याख्या गर्दै सिद्धान्तहिन हुने विगतमा आलोचनात्मक मुँग्रो बर्साएका भुसालको चिन्ता नेकपा एमालेलाई नै क्रान्तिकारी जगमा उभ्याउनेमा देखिन्छ । तर मदन भण्डारीले भत्काउन नभ्याएका केही पुरातन सोँचहरुको जगमा टेकेर जबजको सुगारटाईमा मात्र रमाउने तर त्यसको क्रान्तिको सार पक्षलाई भुल्नेहरुले भुसालको विचार संग जबजको साइनो नै छैन भन्ने ठान्छन । सिद्धान्तहिन, नैतिकताविहिन र आदर्शच्यूत हुँदै गएको राजनीति माथि उठाइएका सैद्धान्तिक प्रश्नहरुलाई ‘बुद्धिविलास’ ठान्नु तार्किक होइन गाली राजनीतिको उपज हो । उनिहरुले बुझनु पर्छ विचार, पार्टी र संगठनहरु परिमार्जन, गठन र पुर्नगठनको प्रक्रियाबाट नै गतिशिल र जिवन्त हुन्छन ।

भुुसालका प्रस्तावित एजेण्डाहरुमा जबज बिरुद्धका आभास होइनकी बिकास र निकास, स्थापनका तर्कहरु समाविष्ट छन । “एकाइसौ शताब्दिको जनवाद(एशज) को लाइन लिएको माओवादी तत्कालिन मालेको ०४६ सालको कार्य दिशामा र ०६२ को चुनवांग वैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाका हिसावले २०४९को एमालेद्धारा प्रस्तावित जबजको बृहत सैद्धान्तिक परिसरभित्र आइपुगेका’ –(आजको माक्र्सवाद र नेपाली क्रान्ति) बताउने घनश्याम भुसालले नेपाली कम्युनिष्टको क्रान्तिको घटना प्रधान मानसिकतामा प्रहार गरेका छन ।

एउटा युद्धजितेपछिको बिहानीमा घोषणा गरिने नयाँ व्यवस्थाको रुपमा बुझिदै आएको क्रान्तिलाई उनले उल्टाएका छन । यही कुरालाई समर्थन गर्दै एनेकपा माओवादीको नेता रामकार्कीले केही महिना अघि राष्ट्रिय सभागृहको एक कार्यक्रममा ‘क्रान्ति मुसलमानले हलाल (खसी काटे) गरे जस्तो हो, हिन्दुहरुले मार हाने जस्तो होईन ’ भनेका थिए । यसरी नेपाली क्रान्तिको बहस सबै क्रान्तिकारी पार्टीहरुमा चल्नु स्वभाविक छ । अन्य पार्टी भित्र यो बहसले अनौपचारिक रुपमा भएपनि प्रबेश पाइरहेको सन्दर्भमा एमाले भित्र भने बहसमाथि रोक लगाउने र नजर अन्दाज गर्नेहरु सल्बलाएका छन ।

बिचारले सत्ता पनि हल्लाउँछ, ज्ञान र सत्ताको अन्तरद्धन्द्ध सदीयौ देखि चलेको छ । सुकरात देखि ग्यालीलियो सम्म र गान्धी देखि सुब्बा कृष्णलाल सम्मका विचार सत्ता संग टकराएकै कारण बन्देज लगाइएको थियो । संयुक्त राज्य अमेरिकाका केहीराज्यमा केही दशक अघि सम्म चाल्र्स ‘डार्विनको विकासबाद’ पढाउन हुन्छ र हुन्न भन्नेमा ठूलो विवाद थियो । किनकी बाइबलको  मानव जन्मको आख्यानलाई उनको विकासबादले झुठा साबित गर्छ । अहिले पनि समाजको वर्ग चरित्र र संघर्षको मुख्य निशानाको सन्दर्भका छलफलमा आएका तर्कहरुले अहिलेको शासकिय सत्ता संग सोझै अन्तरबिरोध राख्दछन । यो यसैको छटपटी हो ।

अर्कोतिर, नयाँ जनवादमा बहुदलीयता मात्रै थपिएको हो । अरु सबै नौलो जनबादकै कार्यक्रम हो भन्ने मानसिकताबाट जबजका अनुयायीहरुको सम्वन्धबिच्छेद गर्न दर्जनौ सैद्धान्तिक तर्कहरु पेश गरिएका छन । आज जबज ०४९ सालमा प्रस्ताव गरिए जस्तो क्रान्तिको कार्यक्रम मात्र रहेन । यसलाई सिद्धान्त समेत बनाईयो । तर बहुदलीयता थप्दैमा यसले स्वतः सिद्धान्तको स्वरुप ग्रहण गर्दैनथ्यो । औपचारिक रुपमा घोषणा गर्दैमा कुनै सिद्धान्त आफैमा सिद्धान्त बन्दैनथ्यो, यसलाई तथ्यहरु र तर्कहरुले पुष्टि गर्न जरुरी थियो । किन जबज कार्यक्रम मात्र होइन सिद्धान्त  हो ? यही कुरालाई भुसालले आफना अध्ययन र अनुसन्धानबाट  पुष्टि गरेका छन । कार्यक्रम भन्दा माथिको यसको प्रकाशलाई उजेल्याउन उहाँले यसभित्रको केही रुढ मान्यतालाई सामयिक र बस्तुनिष्ठ बनाउन माग गर्नु भएको छ । ‘शक्ति सञ्चयको कार्यनीति’, ‘बलपुर्वक फड्को’, ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको वर्ग विश्लेषण’ जस्ता कुरामा प्रष्ट हुनु पर्ने भएको छ । यही प्रष्टताको अभावमा क्रान्तिका कार्यभार अलमलमा परेका छन । जबसम्म कार्यभारमा अलमल जारी रहन्छ सही कार्यदिशा तय हुने प्रश्नै हुँदैन । यही कुरा नबुझनु हाम्रो आन्दोलनको एउटा समस्या हो ।

जबजलाई सिद्धान्तको तहमा विकास गर्न बामदेव गौतम, गोपीरमण उपाध्याय र पछिल्लो पटक घनश्याम भुसालबाट राम्रै बौद्धिक कसरत भएको छ । (नयाँ जनवादी क्रान्ति र सर्वहारा अधिनायकत्वको लागि दीर्घकालिन जनयुद्ध चलिरहँदा क. मोहन बैद्यहरु प्रचण्डपथले वाद र विश्वक्रान्तिको वैचारिक हतियारको रुपमा विकास गरेको हावादारी कुरा गरिरहँदा गोपीरमण उपाध्यायले माक्र्सवादका ३ संघटक अंग र तीन श्रोत भए जस्तै जबजका पनि दुई श्रोत र तीन संघटक अंगमा योगदान  भएको दावी सहित विचार सार्वजनिक गर्नु भएको थियो ।) यसपछि नै यसलाई सिद्धान्त समेत भनियो ।

०६४ को आठौ महाधिवेशनमै प्रवेश पाएको तर मुख्य आकार ग्रहण गर्ने अवसर नपाएको भुसालका प्रस्तावहरुलाई नेताहरुबाटै नजरअन्दाज हुनु ठिक होइन । आजको संघर्षको प्रधान निशाना कहाँ हो ? ढलीसकेको राजतन्त्र ? सामन्तबाद ? प्रतिक्रियावाद ? उग्रवामपन्थ ? अवसरवाद? दलाल पुँजीवाद ? । हामीले भन्ने गरेका जबजका १४ बिशेषता भित्रका अधिकांश कुरा हामीले अन्तरिम संविधान ०६३ मा समेत उल्लेख गरेका छौं । जबजलाई राष्ट्रिय पुँजीवादी क्रान्तिको चरित्र संग बुझने हो भने त्यसको मुल ढोकामा आएका छौं । अबको काम भनेको जबजको मान्यतालाई आर्थिक समृद्धि र राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको मुल्यमा स्थापित गर्दै समाजवादतर्फको बाटो तय गर्नु हो । यसो गर्दा हाम्रो आन्दोलन मुख्य रुपमा दलाल पुँजीसंग टकराउने खालको हुनु पर्छ । यसले संगसंगै नासीँदै जान लागेको सामन्तबादलाई निर्मुल पार्न पनि लडिरहनु पर्ने हुन्छ । यही कुरा स्पष्ट नहुँदा वर्गिय अन्तरविरोधलाई गौण र जातिय अन्तरबिरोधलाई प्रधान देख्ने, राज्यको पुर्नसंरचनामा आम नागरिकको सरल पहुँच, भौतिक पुर्वाधार विकास र आर्थिक सम्भाव्यता, दिगो विकासका संभावना भन्दा पहिचानलाई बढि जोड दिने दृष्टिदोषहरु उत्पन्न हुनु स्वाभाविक छ । वर्तमानमा मुलुकले निकास नपाउनुमा पनि यही अष्पष्टताले काम गरेको छ ।

फेरी पनि, आज पत्रपत्रिकामा चलेका बहसहरुले भुसाल लगायतको युवा समुहले जुन वैचारिक धरातललाई धक्का मार्न खोजेको छ, यसको निशाना सही ठाउँमै लागेको छ भन्ने कुरा यसले उत्पन्न गरेको राजनीतिक छटपटीले प्रष्ट पारेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी रोमान्सबाट धरातलिय बुझाई, जडताबाट बस्तुनिष्ट सैद्धान्तिक बहस र सही कार्यदिशा अपनाउन वैचारिक हस्तक्षेप गरेको छ । जबजको सिर्जनात्मक विकासका लागि मित्रवत आलोचना र तथ्यगत सैद्धान्तिक बहसको बाटो चौडा पार्नु हामी सबैको दायित्व हो । यो दायित्वलाई पुरा गर्न सम्हालिँदै अगाडि बढौं ।

(लेखक नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य हुन)

 

 

 

तपाइँको प्रतिक्रिया