खोलो तरेपछि बिर्सेको लौरो

आनन्दराम पौडेल 

anandaram-paudel-33434पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु । तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ , आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो । २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु भेट्यो । देवीप्रसाद रेग्मी आफ्नै गाउँबस्तीका रहेछन् भन्ने वुझिएपछि कुमारको मनमा कौतुहल जाग्यो । देवीप्रसाद जीवितै छन् कि ? अहिले कहाँ बस्दाहुन् ?

पत्रिकामा भेटिएका प्रसङ्गहरु सबै एमालेका पुराना नेताहरुले उल्लेख गरेकाले नेकपा एमाले, झापा जिल्ला कमिटीको कार्यालयतिर हान्नियो । पार्टी कार्यालय नजिकैको चियापसलमा एमालेका धेरै कार्यकर्ता र नेताहरु चियाखाजा खाँदै रहेछन्, कुमार पनि त्यहीं मिसियो । यतिका नेता र कार्यकर्तामध्ये कसैनकसैबाट देवीप्रसाद रेग्मीको बिषयमा केही जानकारी कसो नपाइएला भन्ने विश्वास लिएर एक-एकसँग भलाकुसारी गर्‍यो । सबैले देवीप्रसाद रेग्मीको बिषयमा अनभिज्ञता मात्र प्रकट गरेनन् धेरैले को हुन् देवीप्रसाद भनेर कुमारसँग उल्टै प्रश्न गरे ।

कुमार आश्चर्यचकित, दु:खित र निराशपनि भयो । देवीप्रसादसँग भेटेरै छाड्ने अठोट गरेका कुमार सम्पर्कसूत्र खोज्दै रेग्मी समाजका पदाधिकारीकहाँ पुग्यो । रेग्मी समाजले धेरै सोधखोज गरेर देवीप्रसादको लोकेशन पत्ता लगाइदिए ।

जे होस्, देवीप्रसाद जीवितै रहेछन् । झापा नगरपालिका वडा नं १६ मा एउटा छाप्रोमा बस्दारहेछन् । यति ठेगाना पाएपछि कुमार घर खोज्दै पुग्यो । आफ्नो परिचय दियो । सबैले भुलिसकेकाले पत्ता लाउनै गाह्रो परेको यथार्थ बतायो । समान्य भलाकुसारीपछि बातचित अघि बढायो ।

“उमेर कति भयो ?” गलेको शरीर र थाकेको अनुहार हेरेर कुमारले सर्वप्रथम उमेर सोध्यो।

“७३ बर्षको भएँ ।” देवीप्रसादले छरितो उत्तर दिए ।

“स्वास्थ्य कस्तो छ ?”

“स्वास्थ्यको त कुरै नगरौं बाबु । बडो कष्टकर दिन बिताउँदैछु । शरीरका अङ्गप्रत्यङ्गमा नशा र मांसपेशीभरी गाँठैगाँठा छन् । यी गाँठागुँठीहरु पोलेर रातभर सुत्नै सक्दिन । दिनभरी पनि शरीर झमझम गरिरहन्छ ।” देवीप्रसाद रेग्मीजीले अनुहारमा पीडाको भाव दर्शाउँदै भने ।

“देखाउनुभएन ? के कारणले यस्तो भएको रहेछ ?”

“ठूलो अस्पतालमा गएर बिज्ञ डाक्टरलाइ देखाउन सकिन । सरकारी अस्पतालमा टिकट काटेर भिडभाडमा देखाइयो । भिडभाडको डाक्टरले सबैलाइ भ्याउनुपर्ने । समस्या भन्नैनपाइ प्रेस्कृप्शन लेखिसक्दा रहेछन् । लामो समयसम्म प्रहरीले दिएको चरम यातनाको कारणले स्नायुहरुमा दखल पुगेको रहेछ भन्नेसम्म वुझियो ।” देवीप्रसादले थोरै प्रष्ट्याए ।

“लामो समयसम्म प्रहरीले चरम यातना दिनुपर्ने कारण के थियो ?”

“पञ्चायतकालमा मेरो घर धरमपुर गाविस, वडा नं ५ मा थियो । त्यस्लाइ मेरो आफ्नो घर भन्नुभन्दा तत्कालीन नेकपा मालेको सेल्टर भन्दा बढी वास्तविक हुन्थ्यो । जासुसहरुको नजरमा नपरेकोले मेरो घर सुरक्षित सेल्टर थियो । घरका परिवारले मात्र खाना खाएको कुनै दिन थिएन । २०४४ सालमा ४ दिनसम्म चलेको नेकपा मालेको विस्तारित बैठक मेरै घरमा सम्पन्न भएको हो । उता मालेको विस्तारित बैठक सकियो, यता मेरा दुर्दिन शुरु भए । मेरो घरमा विस्तारित बैठक बसेको सुईंको सरकारी जासुसहरुले चाल पाएछन् । मलाइ प्रहरीले पक्डेर लग्यो । ८४ दिनसम्म चरम यातना दिएर राख्यो । बेहोस नहुञ्जेल कुट्थे । कुट्दाकुट्दा कति लठ्ठी भाँचिए । केही नभेट्टाए डाडुपन्युँले पिट्थे । मेरो माइलो छोरालाइ पनि लगेर यातना दिएछन् । ८४ दिनको चरम यातनापछि बल्ल मलाइ जेल पठाए ।” देवीप्रसादले यथार्थ खोले ।

कुमारले छाप्रोतिर नजर लगाए । यो त छाप्रो हैन झुप्रो छ । अलि ठूलो हावाहुरी आयोभने थेग्न सक्दैन । सोधे, “धरमपुरको घर त योभन्दा गतिलो थियो होला नि ? किन छाड्नुभयो ?”

“थियो नि । घर ठूलै थियो । घरसँगै दुई बिघा राम्रो जग्गा थियो । धानमिल थियो । कारोबार राम्रो चलेको थियो ।” देवीप्रसादले विगत सम्झे ।

“किन छाड्नुभयो त ?”

“प्रहरीले पक्डन थालेपछि सबै भागाभाग भयो । कारोबार डुब्यो । २०४७\ ०१\ १७ गते छुटेर आएपछि उपचार गराउँदा ऋण लाग्यो । ऋणमाथि ऋण र व्याजमाथि स्याज गर्दै सबै सम्पति स्वाहा भयो । त्यस्तो बन्दोबस्तीसँग बसेको मान्छे टाट पल्टेपछि त्यहीं बस्न उपयुक्त नलागेर यहाँ आएको हुँ ।” देवीप्रसादले भित्री मर्म कहे ।

“बचेखुचेको पैसाले यहाँ जग्गा किनेर बस्नुभएको हो ?”

“धरमपुरबाट खालि हात आएको हुँ । साथमा १ पैसा थिएन । यो ४ कठ्ठा जग्गा लिजमा लिएको हुँ । त्यसैमा यो झुप्रो हालेर ओतलाग्ने ठाउँ बनाएको छु ।” देवीप्रसादले छ्याङ्गै पारे ।

“छोराहरु के गर्छन् त ?”

“जेठो कृष्ण मन्दिरतिर बस्छ । माइलो पञ्जाब गएको फर्केको छैन । साईंलो मलेसियामा र कान्छो साउदीअरबमा छ ।”

“पार्टीको लागि र आन्दोलनको लागि तपाईंले यत्रो त्याग गर्नुभएको रहेछ । पार्टीहरुले, नेताहरुले सहयोग गर्दैनन् ।” कुमार मुख्य प्रश्नमा आइपुगे ।

“पहिले-पहिले त निकै आशा, विश्वास र भरोसा थियो। अब त आशा मर्‍यो । यहाँभित्र ठूलो घाउ छ । यो घाउ नकोट्याउँ ।” यसभन्दा बढी बोल्न सकेनन् । बुढाको गहभरी आँसु भरिएको कुमारले देखे । पल्टिन खोजे । सोझै पल्टिन नसक्ने रहेछन् । कुमारले मद्दत गरे । देवीप्रसादको कथाव्यथा सुनेर कुमार द्रवित भैसकेका थिए । गहभरीको आँसु देखेर आफूलाइ रोक्न सकेनन् । रुलाइ फुट्लाजस्तो भयो । देवीप्रसादलाइ प्रणाम गरेर कुमार फटाफट हिंडे । बाटामा झल्झलि डिकेन्द्र राजबंशीलाइ सम्झे ।

 

तपाइँको प्रतिक्रिया