सर्वहाराकरण
● आनन्दराम पौडेल
महेन्द्रनगरको दुइटा घरमा घरधन्दाको काम सकेर डेरातिर फर्कंदैगर्दा सीता बोहराले खुला चउरमा धेरै मान्छे जम्मा भएको देखिन् । त्यही चउरकै छेउबाट बाटो भएकोले नचाहँदानचाहँदै पनि तिनको नजर पर्यो । रङ्गीन ध्वजापताका र राता झण्डाहरु देखिन्थे । माइकबाट ठूलठूलो स्वरमा आवाज आइरहेको थियो । पार्टीका नेताका भाषण होला भनेर अनुमान गरिन्, तर नरोकिइकन फटाफट बाटो लागिन् । चउरको अर्को कुनामा पुगेकी थिइन्, एउटा परिचित अनुहार देखा पर्यो । आफ्नै गाउँ दैजी-१ नं वडा (कञ्चनपुर) का माओवादी नेता रहेछन्। अभिवादन गरेर केही कुरा भन्न खोजेकोले नबोली जान सकिनन् ।
“अध्यक्ष कामरेडले बोल्न बाँकि छ। किन हिंडिहाल्नुभएको ?” पार्टीको नेताले भन्यो।
“म भाषण सुन्न आएकी नै होइन ।” सीता बोहोराले भनिन् ।
“दैजी (कञ्चनपुर) देखि यहाँ कार्यक्रमस्थलसम्म आइसक्नुभयो । भाषण नसुनेनि अब एकछिन बस्नुभए हुन्थ्यो ।” नेताले भन्यो ।
“तपाईंहरुले मेरो जीवन बर्बाद पारिदिनुभो । तपाईंहरुकै कारणले परिवार ध्वस्त भयो । फेरि, तपाईंहरुकै भाषण सुनिबस्नु ? यो मनले मान्छ ?” सीता बोहोराले पीडा ओकलिन् ।
“महेन्द्र कामरेडको आमा भनेर झन् म सम्मान गरिरहेछु, तपाईंचाहीं उल्टै हामीमाथि नै आरोप थोपर्नुहुन्छ। कसले तपाईंको जीवन बर्बाद पार्यो ? कसले तपाईंको परिवार ध्वस्त ग-यो ?” पार्टी नेताले अलि कस्सिएरै सवाल ग-यो ।
“मेरो श्रीमान रघुवीर बोहोरालाइ तपाईंहरुले मारेको होइन ?”
“उ प्रहरीमा जागीरे रहेछ नि त । प्रहरी भनेकाले मारेका हुन् ?”
“अरु काम पाएको भए अर्थोकै गर्नुहुन्थ्यो । अन्यत्र जागीर पाएको भए अन्तकै जागीरे बन्नुहुन्थ्यो । प्रहरीमा भेट्टाउनुभो, त्यहीं जागीर खानुभो। के बिराउनुभो ?”
“प्रहरीमा जागीर खाएकोले साथिहरुले दुश्मन सम्झे ।”
“मेरो पतिलाइ मार्नुअघि त हप्तैपिछे हूलकाहूल आइरहनुहुन्थ्यो । दुश्मनको घरमा आइरहेको चाहीं किन नि ?”
“सेल्टरको लागि प्रहरीको घर सुरक्षित हुन्छ भनेर आएका होलान् ।”
“हूलकाहूल आएर हामीलाइ सधैं दु:ख त दिई नै रहनुभएको थियो। त्यतिले नपुगेर मेरो जेठो छोरो महेन्द्रलाइ बहकाएर लैजानुभयो। दुश्मनको छोरालाइ किन माओवादी लडाकु बनाउनुभएको नि ?”
“त्यो त राष्ट्रको लागि, मुक्ति र न्यायको लागि चाहियो नि । महेन्द्र जस्तै धेरै कामरेडहरु जनयुद्धमा सामेल नभएको भए यो परिवर्तन सम्भव हुन्थ्यो ?”
“के मुक्ति भयो भन्नुहुन्छ ? हामीजस्ता दु:खीदाखीहरु झन् गोलखाडीमा भासिएका छन् ।”
“हुँदैछनि । देशबाट राजतन्त्र उन्मुलन भयो । गणतन्त्र आयो । यो सानो परिवर्तन होइन नि ।”
“को आयो ? को गयो ? हामीलाइ के सरोकार भयो र ? हाम्रो दु:ख झन् बढेको छ । झन् खपिनसक्नु भएको छ ।”
“परिवर्तनपछि झन् दु:ख र पीडा थपियो भन्नुहुन्छ। के दु:ख थपियो त्यस्तो ?”
“घरमा कान्छो छोरो राजेन्द्र र म मात्रै छौं । कान्छो छोरो छ भन्नुमात्रै, नेत्रहीन छ । आँखा देख्दैन । म ५० पुग्नलागेकी बुढी । कमाइ केही छैन । यस्तो अवस्था देख्दादेख्दै तपाईंको पार्टीका मान्छे आएर पैसा मागेर हैरानै गरे । आजीत भएर दैजी (कञ्चनपुर) को घर छाडेर यहाँ महेन्द्रनगरमा आएको हुँ । यहाँ बनिबुतो गरेर दुईजनाको प्राणसम्म धानेको छु ।”
“राजेन्द्रको मात्रै किन नाम लिनुहुन्छ ? अहिले हामीसँग रहेका हाम्रो पार्टीका कामरेड महेन्द्रपनि त तपाईंकै छोरा होनि ?” नेताले सवाल राखे ।
“हाम्रो लागि त्यो हुनु र नहुनु कुनै अर्थ रहेन । बाउ मारिएपछि एकपल्ट घर आएको थियो । त्यसबाहेक उस्ले हाम्रो कुनै खोजखबर लिएको थाहा छैन । बरु, तपाईंहरुकै सङ्गतमा पूरै बिग्रिएर अहिले त लागूपदार्थको कुलतमा फँसेको रहेछ। महेन्द्र जस्तै कति छोरालाइ बिगारिसक्नुभयो होला । एउटा महेन्द्रलाइ त असल मान्छे बनाउन सक्नु हुन्न, के परिवर्तन ल्याउनुहुन्छ ? के आधारमा ठूला कुरा गर्नुहुन्छ ?” सीता बोहोराले पीडाको मर्म मात्रै ओकलिनन्, नेतालाइ र्याख्र्याखती नै पारिन् ।
सीता बोहोराको कडिकडाउ शब्दले नेताको नुर गिर्यो । सीता बोहोरा र असङ्ख्य सीता बोहोराहरुसँग नराम्ररी पराजित भएको महसुस गरे । मञ्चबाट बोल्ने नेताको भाषणमा, “अन्यायको पीडामा झुल्सिएर रहेका, सीमान्तिकृत र सर्बहारा वर्गको लागि…” वाक्य दोहोरिईरहेको थियो । त्यो वाक्यले सीतालाइ खपिनसक्नु भएछ, प्याच्च थुकिन् । नेताको अनुहार हेरिन् । नेता सीतासँग आँखा जुधाएर हेर्न सक्ने अवस्थामा थिएनन् ।




