संविधान सभा – २ मा कसको कती सिट : एक विश्लेषण
● हर्क पुन
चाहेर वा नचाहेर सम्विधान सभाको निर्वाचन भएरै छाड्ने भो । जनजाती र मधेसी नामधारी भुत्लाहरु एकएक गरी झर्न थालेपछि सकेसम्म निर्वाचन टार्न चाहेको एमालेले बुद्रुक्क बुद्रुक्क उफ्रेर सबभन्दा बढी निर्वाचनको आवश्यकता नेकपा एमालेलाई रहेको बताउँदै छ । अबको निर्वाचनबाट आफु पहिलो पार्टी बन्ने अनी आफुले निर्वाचनमा अन्य पार्टीसित तालमेल गर्न चाहेको पार्टी नेपाली कांग्रेस दोस्रो स्थानमा रहने उदघोष गरिसकेको छ । यसअघिको सम्विधान सभा – १ मा पनि नेकपा एमालेले उपत्यकाको पुरै १५ सिट सहित स्पष्ट बहुमत हत्याउने ढ्वाङ फुकेको थियो । तर प्रत्यक्ष तर्फ देशैभरिबाट ३४ सिट्मा थचारिनु परेको चोट अझै निको भईसकेको देखिन्न । एमालेको पहिलो हुने उदघोषमा प्रष्टसँग उत्ताउलोपन झल्किन्छ जसलाई पचाउन हजमोलाको कुनैपनी पाउचले काम गर्ने देखिन्न । उता एनेकपा माओवादी र नेपाली कांग्रेस पनि आआफ्नै बहुमत आउने एकोहोरो रटानमा लागिराखेका छन ।
सम्विधान सभाको पहिलो ऐतिहासिक निर्वाचनमा स्पष्ट बहुमत सहित पहिलो पार्टी बन्नेमा नेपाली कांग्रेस पुरापुर विश्वस्त थियो । उ सँग प्रधानमन्त्री सहित गृह, अर्थ, रक्षा र सुचना तथा संचार मन्त्रालय र अन्य महत्वपूर्ण मन्त्रालयहरु साथमा थिए । पार्टीलाई गिरिजा प्रसाद कोइराला जस्ता हठी र निडर नेताको पनि साथ थियो । तर निर्वाचन परिणाम कांग्रेसजनहरुले सोचेभन्दा ठ्याक्कै उल्टो भईदियो ।
एमाले तत्कालिन अवस्थामा सत्ताको स्वाद चाखेको तर नेपाली कांग्रेस जस्तो ढाडिने गरी खान नपाएको अवस्थामा थियो । उसलाई जसरी पनि एकलौटी सत्ताभोगको लागि बहुमत लिनैपर्ने थियो । सत्ताभोगको लालच कै कारण एमालेले उतिखेर पनि ठुल्ठुला अपचकारी भाषणहरु गरेको थियो । प्रदिप नेपालले त तत्कालिन माओवादिले ५ सिट पनि जित्न नसक्ने हुनाले अग्रिम रुपमा २५ सिट माओवादिलाई दिएर निर्वाचन गरौं सम्म भन्न पछी परेका थिएनन ।
नेपाली कांग्रेस र एमालेले आफ्नो पुरानै प्रचलित ब्रान्ड रुख र सुर्य चिन्ह देखाएर निर्वाचन जितिन्छ भन्ने सोचमा रहे । तर नेपाली जनताले उनिहरुको पुरानो शैलीलाई अस्विकार गरिदिए । उता तत्कालिन नेकपा माओवादिले भने नयाँ नयाँ मुद्दाहरु जनतामा फालिरह्यो । संघियता, धर्म निरपेक्षता, राजातन्त्रको अन्त्य, जनताको छोरो राष्ट्रपती हुने, समावेशिता, उत्पीडित वर्गको उत्थान आदी आदी । नेपाली जनताले गणेशमान सिंह जस्तो त्यागी नेताले सरकारी नियुक्तिहरुमा “समावेशिता” लाई अपनाउँ भन्दा असैह्य अपमान झेलेको बिर्सेंका थिएनन ।
तत्कालिन गिरिजा प्रसाद कोइराला नेत्रित्व सरकारले राजादूत नियुक्ति गर्दा सात जनामा सातै जना एउटै समुदायको परेको र अन्य समुदायलाई पनि समावेश गर्नुपर्ने अडान लिदा विवाद बढ्दै गएर उनले पार्टी त्याग गर्नु परेको थियो । अर्कोतर्फ ०६२-६३ को जनआन्दोलनले विभिन्न वर्ग र समुदायको आकांक्षालाई ह्वात्तै बढाएको थियो । जसको कारण नेपाली जनताले पुराना ब्रान्डहरु रुख र सुर्यलाई त्यो वर्ग र समुदायको चासोमा ध्यान दिनुपर्ने संकेत सहित मुलधारको राजनीतिबाट केही पछाडि रहन आदेश दिंदै प्रत्यक्ष निर्वाचन प्रणालिमा मात्र ३७ र ३४ सिटमा सिमित पारिदिए । अर्कोतिर प्रदिप नेपाल र सिंगो एमालेले पाँच सिटपनी लिदैन भनेको तत्कालिन नेकपा माओवादिले प्रत्यक्ष तर्फको २४० सिट संख्यामा १२० वटा सिटमा अविश्वसनिय विजय हासिल गर्यो भने भर्खर जन्मेको मधेसी जनअधिकार फोरमले नेपाली कांग्रेस र एमालेको हाराहारिमा २७ सिट प्राप्त गर्यो ।
प्रत्यक्ष निर्वाचनमा कस्को पोल्टामा कती सिट संख्या पर्ला ?
अघिल्लो निर्वाचन परिणामले नेपाली जनता राजनीतिक दलहरुले लिने मुद्दालाई आधार मानेर भोट हाल्न सक्षम भईसकेको देखाउँछ । यस मानेमा, नेपाली कांग्रेस संघियतामा जान अझै पनि नमानेको अवस्था, जनजाती र अन्य उत्पीडित समुदायको सरोकारको बिषयमा नकारात्मक रहेको र अदुरदर्शी र विवेकहिन नेत्रित्वको कारण पहिलो हुने सपना सपनामै मात्र सिमित हुने देखिन्छ । अझ नेपाली कांग्रेसको मुल नेत्रित्वले नै आफुले निर्वाचन जित्ने कुनै निर्वाचन क्षेत्र खुट्ट्याउन सकेको देखिँदैन । नेपाली कांग्रेसका सभापति शुसिल कोइराला आफ्नै निर्वाचन क्षेत्रमा लज्जास्पद रुपमा तेस्रो स्थानमा थच्चिएका थिए । अन्य शिर्ष नेत्रित्वमा अबपनि चुनाव जितिन्छ भन्ने आत्मविश्वास छैन । त्यसै भएर शिर्षस्थ नेत्रित्वले समानुपातिक उम्मेद्वारी तर्फ आफ्नो रुझान देखाएका छन । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसको शिर्षस्थ नेत्रित्वमा काठमाडौंका प्रकाशमान सिंहले मात्र चुनाव जित्ने छाँट्कांट देखिन्छ ।
यसर्थ, नेपाली कांग्रेस प्रत्यक्ष तर्फ अहिलेको सिट संख्या सहित दोस्रो नै हुने व्यापक लख काटिएको भएपनी वास्तवमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । नेपालका मुलधारका मिडियाले त्यती चासो नदिएको देखिएपनी विभिन्न मधेसी फ्रन्टहरुलाई समेटी निर्वाचनमा जाने तत्परता लिएको र मधेसको मुद्दालाई प्रखर रुपमा समेटेको कारण प्रत्यक्ष निर्वाचन प्रणालिमा महन्त ठाकुर अध्यक्ष भएको तमलोपा दोस्रो स्थानमा आउने प्रवल सम्भावना रहेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेस तेस्रो भएपछी नेकपा एमाले चौथो हुनुपर्ने लख पनि फेल खाने अत्यधिक सम्भावना छ ।
चौथो स्थान विजय कुमार गच्छेदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले हात पार्ने र नेकपा एमालेले पाचौ स्थानमा चित्त बुझाउनु पर्ने देखिन्छ । नेकपा एमाओवादिको जनजाती, दलित, महिला, मुस्लिम, मधेसी मैत्री एजेन्डा, राष्ट्र अन्तरास्ट्रले पत्याएको कुशल नेत्रित्व र जनतामा प्रस्तुत हुने शैलि साथै अघिल्लो निर्वाचनको अनुभवको कारण प्रत्यक्ष निर्वाचनमा पहिले प्राप्त स्थानमा केही थप स्थान जित्ने सम्भावना देखिन्छ । समग्रमा हेर्दा , प्रत्यक्ष निर्वाचनमा एनेकपा माओवादिको १३०, तमलोपाको ३५, नेपाली कांग्रेसको २३, फोरम लोकतान्त्रिकको १८, नेकपा एमालेको ७, मधेसी जनअधिकार फोरम नेपालको ७ को हाराहारिमा सिट संख्या आउने देखिन्छ । अशोक राइको नयाँ पार्टीले ३ सिट सम्म लिने सम्भावना देखिन्छ भने बचेखुचेका सिट संख्या बिजुक्ष्य, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव लगायतका साना पार्टीलाई हातलाग्ने सम्भावना रहेको छ । समानुपातिकको परिणामले भने माथि उल्लेखित दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा तलमाथि पार्न सक्छ ।
(लेखक काठमाडौंस्थित स्वतन्त्र अनुसन्धानदाता हुन्)




