‘मथिंगल हल्लाउने पुस्तक’

प्रतिक ढकाल 

tyo-nepalयो दुई वर्षको अवधिमा धेरै किताबहरु पढिएछन् । तर केही किताबहरुमा मात्र त्यस्तो ‘दम’ थियो जसले मेरो ‘पाठक’ दिमागलाई अझै पनि हल्लाइरहेका छन् । राजा जयस्थिति मल्लले बिक्रम सम्बत् १४३६ मा जारी गरेको कानून “न्यायबिकासिनी” । मोहनराज शर्माको “उताको बाघ” । करणबहादुर शाहको वन्यजन्तु सम्बन्धी कथा संग्रह “आँधो सर्पको खोजीमा” । लक्ष्मीवदन मास्केको जीवन्त संस्मरण “टाइगर वार्डेन” । बुलु शर्माको बिगत “छुटेका पाइला” । पत्रकारिताको खोलभित्रका कथाहरुलाई बाहिर ल्याउने कपिल काफ्लेको “बाघपाश” । आर्यघाटमा राखिएका देवकोटाको करुण कथा सुनाउने प्रकाश सायमीको “बर्सादी दिनहरु” । एउटी नेपाली चेलीले गरेको महा-अनुसन्धान,विद्याबारिधिको थेसिसभन्दा पनि बढी वजन भएको लीला लुइटेलको “नेपाली महिला साहित्यकार” । भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजालको दुर्दान्त कथा “निर्वासन”। नेपाली भाषा, साहित्य र पुरै वाङ्मयका सेवी डा खगेन्द्रप्रसाद लुइटेलको समर्पणकथा “चाउरिएको जिन्दगी”।

तराइको आत्मा छामेको नयनराज पाण्डेको “लू”, मुलुकी प्रशासनको सजीव चित्र जगदीश घिमिरेको “सकस” । मुलुकप्रेमको जीवन्त नमूना मोहन मैनालीको “उपल्लो थलो” । र आजभन्दा ११० बर्षअघि नै प्रकाशनमा अैसकेको गिरिशवल्लभ जोशीको “वीरचरित्र” आदि त्यस्ता किताबहरु हुन् मेरालागि जसको प्रभावमा अझै माथिङल झन्झनाइरहेछ ।

अहिले भर्खर पढिसिध्याएको कृति “त्यो नेपाल” ले मलाई अब कति बर्षा तरङित पारिरहनेछ भन्ने बारेमा म अहिले नै केही पनि बताउन सक्तिन । तर लाग्छ मेरो जीवनभरि नै यस्को प्रभाव रहिरहने छ । सन १९५० र ६० को दशकमा नेपाल घुम्न आएका फ्रान्सेलीहरुले नेपाललाई कस्तो देख्थे ? अरुका आँखामा हामी कस्ता देखिन्छौ ? What others see us ? यो प्रश्नको यति सुन्दर, यति मिठो र यति मेहनतका साथ जवाफ बटुल्ने “ददि सापकोटा” अनन्त धन्यवादका पात्र बनेका छन् । ३०० प्रिष्ठको यति महत्वपूर्ण कृति प्रकाशन गर्ने जगदम्बा प्रकाशनलाई पनि हार्दिक धन्यवाद छ ।

हामी कस्ता छौं ? हाम्रो देश कस्तो छ ? हाम्रा हिमाल भनेका के हुन् ? हाम्रो सभ्यता, सँस्क्रिती, प्रक्रिती, नाच-गान, गायन, उडान, हाम्रा जनजाती, भाषा, रिति-रिवाज सबैका बारेमा जान्न तपाईंले पनि एक पटक पढ्नै पर्ने किताब रहेछ यो ।

(ढकाल मेचीपनि कालीपनि लगायतका केहि चर्चित यात्रा संस्मरण पुस्तकका लेखक हुन्)

तपाइँको प्रतिक्रिया