पाषाणहृदय
● आनन्दराम पौडेल
२०७०\ ०२\ ०८ गते मुडिकुवाको सिर्सुवा जङ्गलमा भेटिएको बेवारिसे बच्चाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विजयराज पण्डितलाइ घटनाको सुत्र पत्ता लगाउन कठिन भएन। पर्वत,मुडिकुवाका गाउँलेहरुले अघिल्लो दिन (जेठ ७ गते मङ्गलबार) मात्रै एउटी युवतीले यही तन्नामा बेरेको वच्चालाइ पिठ्युँमा बोकी कुस्माबाट मुडिकुवातिर लागेको देखेका रहेछन्। अपरान्ह मुडिकुवाको उकालोमा भेटिएकी भनेकाले धेरै टाढा पुगेको छैन भन्नेमा गाउँले र प्रहरी इन्स्पेक्टरले ठहर गरे।
अघिल्लो दिन ती युवतीलाइ देख्ने गाउँलेलाइ लिएर विजयराज पण्डित होटल, लजहरुमा खानतलासि गर्दै र गाउँलेहरुसँग सोधपुछ गर्दै फलेवास पुगे। फलेवासमा धेरै खोजतलास गर्नुपरेन। शुरुकै होटलमा ती युवती भेटिइन्। तिनले दाञाबाञा कुरा गर्नै पाइनन्, अघिल्लो दिन वच्चासहित देखेका गाउँलेहरुले चिनिहाले। एकजनाले “हिजो अपरान्ह तपाईंलाइ मुडिकुवाको उकालोमा भेटेको हैन ?” भनेर सोधे। “पूलनजिकको चियापसलमा हामीले सँगै चिया पिएको हैन ?” भनेर अर्कोले सोधेपछि तिनी तुरुन्तै गलिन् र अपराध स्वीकारिन्। जिल्ला प्रहरी कार्यालय, कुस्मामा ल्याएर बाँकि सोधपुछ गरे ।
“यो वच्चा तपाईंको हैन ?” वच्चाको फोटो देखाएर इन्स्पेक्टर विजयराज पण्डितले सोधे ।
“हो।”
“किन त्यो पाखो जङ्गलमा फालेको ?”
“बुद्धि बिग्र्यो।”
“तपाईंको नाम के हो ?”
“मिना पौडेल।”
“यो वच्चा कति महिनाको भयो ?”
“११ महिनाको भयो।”
“ल, बुद्धि नै बिग्र्यो’रे। यो बच्चालाइ जङ्गलमा फाल्नुको कारण त हामीले थाहा पाउनुप-यो नि ? खुलस्त भन्नुहोस् त ?” इन्स्पेक्टरले खो-याएर सोधे।
“एउटा मनपरेको केटासँग पोइल जाने निश्चय गरेकी थिएँ। त्यही केटालाइ भेट्न भनेर आएकी थिएँ। ‘त्यो अर्काको बच्चालाइ छाड् , अनिमात्र तँलाइ स्वास्नी बनाएर राख्छु’ भनिरह्यो। त्यो केटालाइ छाड्नैनसक्ने भैसकेको थिएँ, त्यसैले बच्चालाइ फालें।”
“पोइल नगैनहुने स्थिति के प-यो ? पुरानो लोग्नेले पिट्थ्यो कि ? झगडा गर्थ्यो कि ? माया गर्दैनथ्यो कि ? कि अर्कै केटीसँग सल्केको थियो ?” इन्स्पेक्टरले सोधे।
“त्यस्तो केही थिएन ?”
“त्यस्तो केही थिएनभने भैरहेको लोग्ने छाडेर पोइल जानुपर्ने आवश्यकता किन प-यो ?” इन्स्पेक्टरले सोधे।
मीनाले केही जवाफ दिइनन्। भूईंतिर हेरेर टोलाएर मात्र बसिन्।
“तपाईंको पुरानो लोग्नेको नाम के हो ?”
“कृष्णबहादुर पौडेल।”
“तपाईंको माइती र घर कहाँ हो ? यो त बताउन मिल्छ कि ?” इन्स्पेक्टरले पुन सोधे।
“घर चितवन, नारायणगढमा हो। माइती बाग्लुङ, पैंयुपाटा वडा नं ५ हो।”
“बाग्लुङ, पैंयुपाटाबाट तपाइंको दाज्यु गोपाल परियार आउनुभएको छ। उहाँसँग भेट्ने हो ?”
दाज्युको नाम सुनेर मीना झस्किन्। केही बोलिनन्। इन्स्पेक्टरले गोपाललाइ बोलाए, र मीनाकै अगाडी सोधे, “ज्वाईं बदमास छन् कि क्या हो ? नत्र बहिनी किन यसरी बराल्लिएर हिंडिन् ?”
“ज्वाईंलाइ दोष दिनुहुँदैन, पाप लाग्छ। ज्वाईं त देउतै हुन्। आफ्नै माल खराब भएपछि अरुलाइ किन दोष दिने ?” गोपाल परियारले भने।
“ज्वाईंको त निकै प्रशंसा गर्नुभयो नि ?”
“राम्रोलाइ राम्रो त भन्नैप-यो नि। घरमा मिलेर बस्न नसकेको र श्रीमतिलाइ असहज भएको देखेर मीनालाइ लिएर घरबाट निस्के। र, छुट्टै डेरा लिएर राखेका थिए। डेरा भएपनि सबै आवश्यकता पूरा गरेका थिए।” गोपालले एकसासमा भने।
वच्चाको बिषयमा इन्स्पेक्टरले बताए, “तन्नाले पोको पारेर सिर्सुवाको जङ्गलमा छाडिएको रहेछ। भोलिपल्ट झण्डै २४ घण्टापछि हामीले फेला पार्दा गुमुतमा डुबेको थियो। रातभरी र अर्को दिनको दिनभरी कति रोयो होला ! भोकले लखतरान भएर होला, रुनपनि नसक्ने हालतमा थियो। कुस्माको जिल्ला अस्पतालमा लग्यौं। त्यहाँबाट पोखरा रेफर गरेकोले त्यता पठाएका छौं।”
इन्स्पेक्टरले वच्चाको हालत बर्णन गरेपछि मीना एक्कासि रुन थालिन्। रुमालले मुख छोपेर घुँक्क-घुँक्क गर्न थालिन्। गोपाललाइ खपिनसक्नु भएछ। भने, “तेरो हृदयमा पनि दया, माया, करुणा छ ? तेरो हृदय त ढुङ्गाको रहेछ भन्ने ठानेका थियौं। ढुङ्गापनि रसाउँछ र ?” यति भनेर गोपाल निस्के। मीनालाइ थुनुवा कोठामा पठाएर इन्स्पेक्टर पनि डिएसपीको कार्यकक्षतिर लागे।




