लब्धप्रतिष्ठित शोक
-आनन्दराम पौडेल
डडेलधुरा त्यतिसाह्रै व्यस्त जिल्ला त होइन, तर पूर्व सभासद हरिलाल थापासँग भेट्नको लागि महिनौंदेखि कोशिस गर्दासमेत् पत्रकारले समय पाएका थिएनन्। आज बल्ल समय पाएका थिए। मुख्य-मुख्य प्रश्नहरु पहिल्यै तैयार गरेर लगेका थिए। पत्रकारले प्रश्न राख्नुअगावै हरिलाल थापाले भने, “पहिला म के हुँ र कस्तो हुँ भन्ने बिषयमा राम्ररी वुझ्नुहोस्। त्यस्पछि मसँग गर्ने वातचित सहज हुन्छ।”
“वुझेकै छुनि। तपाईं पूर्व सभासद हुनुहुन्छ। माओवादी पार्टीका नेता हुनुहुन्छ। यति कुरा वुझेरै मैले तपाईंसँग भेट्न खोजेको हुँ।” पत्रकारले भने।
“यो त सामान्य र सतही कुरा भयो। पार्टी कार्यकर्ता त लाखौं होलान्, ६०० सभासद होलान्। तर, एउटा व्यक्तिलाइ वुझ्नको लागि उस्को पृथकता, विशेषता, सोच, दृष्टिकोण, संस्कार र शैलिसमेत् वुझ्न जरुरी हुन्छ।” हरिलाल थापाले भने।
“तपाईंको बारेमा वुझ्न म कहाँ जाउँ र कोसँग वुझुँ ?”
“आफूलाइ समाजसेवी भन्ने रामबहादुर कुँवरसँग भेट्नुहोस्। हरिलाल थापा कस्तो मान्छे भनेर उसैसित सोध्नुहोस्।”
हरिलालका यी कुरा सुनेर पत्रकार एकछिन त छक्कै परे। अचम्म लाग्यो। कौतुहल र जिज्ञासा पनि बढ्यो। कौतुहल र जिज्ञासा मेट्न रामबहादुर कुँवरलाइ भेट्ने निश्चय गरे। रामबहादुर कुँवरलाइ खोज्न पत्रकारलाइ धेरै समय लागेन। सबै बृतान्त बताए। हरिलाल थापाको बिषयमा वुझ्न मद्दत पुग्ला भनेर रामबहादुर कुँवरले दुइटा घटना बताए।
“ठीक २ बर्षअघि स्यालचौडी माध्यमिक बिद्यालयले अभिभावक भेला बोलाएको थियो। भेला शुरु हुनलागेको थियो। त्यत्रा अभिभावक र हामी सबैको सामुन्ने त्यस्बेला सभासद रहेका हरिलाल थापाले एक्कासि हेडसर महादेव भट्टतिर औंलो ठड्याउँदै, “ओ हेडसर अहिले, यहीं, तुरुन्त राजिनामा गर्छौकि गर्दैनौ ?” भने। हेडसरले केही बोलेनन्। सभासद हरिलाल थापा जुरुक्क उठे, र हेडसरको कठालो समातेर गालामा एक चड्कन दिईहाले। “राजिनामा गर्छस् कि अर्को चड्कन हानुँ ?” भनेर हात उठाएका थिए। हेडसरले “राजिनामा गर्छु” भने। अभिभावक र लब्धप्रतिष्ठित भनिएका ब्यक्तिहरु सबैको सामुन्ने यस्तो निकृष्ट र निच ब्यवहार गरिरहँदा पनि कसैले प्रतिवाद गरेन। प्रतिवादको कुरै छाडौं, एकशव्द कसैले बोलेन। हेडसरमाथि दुर्बाच्यको बाणबर्षा भैरह्यो, सबैले एकटक हेरिरहे। त्यहाँ प्रतिरोध गर्ने म एकजना मात्र थिएँ। यो घटना भएको केही दिनपछि दुर्गा उच्च माध्यमिक बिद्यालयमा अभिभावक भेला डाकिएको थियो। त्यहाँपनि हरिलाल थापाले सबैको सामुन्ने हेडसर प्रताप धामीलाइ कुट्न झम्टेका थिए। त्यहाँचाहीं प्रतिरोध गर्नेमा ममात्र नभएर, शिक्षक धनबहादुर देउवालगायत अरु २ जनासमेत् भएकाले पिटिनबाट जोगाएका थियौं। पिट्नबाट जोगाएपनि, “तँलाइ जिउँदै जलाइदिन्छु” भन्दै औंलो ठड्याएर कुर्लिरहेका थिए। दुनिञा सबैलाइ थाहा छ, उनका भाइभतिजाहरु र उनका ग्याङ्गका मान्छेहरु सबैलाइ शिक्षकको जागिरमा नियुक्ति दिनु भनेर दबाब दिन्छन्, र नमान्नेलाइ भौतिक कार्वाही गर्छन्।”
यी दुई प्रतिनिधि घटना सुनिसकेपछि पत्रकारले थप वुझ्न आवश्यक ठानेन। बरु हेडसर महादेव भट्टलाइ भेट्ने इच्छा जाग्यो। खोज्दै हेडसरको घरमा पुगे। यस बिषयमा हेडसरले जम्मा यत्तिमात्र भने, “आत्मसम्मानमा चोट पुगेकोले राजिनामा गरेको हुँ। प्राथमिक बिद्यालयलाइ निमाबि बनाउन र पुन निमाबिलाइ माबि बनाउन जिउज्यान लगाएर खटें। १५ बर्ष त प्रधानाध्यापक नै रहें। बिद्यार्थी, अभिभावक र समाज कसैले पनि आजसम्म मेरो योग्यता, क्षमता, कृयाशीलता र इमान्दारितामाथि प्रश्न उठाएको थिएन। बरु प्रशंसा नै गरेका थिए। हो, हरिलालले आफ्नो भाइलाइ शिक्षकमा नियुक्त गर्न दबाव दिएका थिए। त्यस्तो बदमासलाइ कुनै हालतमा नियुक्ति गर्दिन भनेकै हुँ।”
हेडसरसँग बिदावारी भएर हिंड्दा पत्रकारको सोच अर्कैतिर मोडिएको थियो। पूर्व सभासद हरिलाल थापाप्रति घृणाभावभन्दा हेडसरलाइ चड्कन लगाएको हेरिरहने लब्धप्रतिष्ठित भनिएका ब्यक्तिहरुप्रति शोकभाव बढी थियो।




