अर्को हृदयविदारक कथा

आनन्दराम पौडेल  

anandaram-paudel-33434बाँकेको अकलघरुवामा रामेशले ती बृद्ध महिलालाइ प्राय देखिरहेकै हो । धेरैपटक देखेपनि तिनले बोलेको सुन्न पाएको थिएन । एकदिन ती बृद्धा महिला पिंढीमा अडेस लाएर बसिरहेकी थिइन् । कौतुहलबस रामेश पनि बृद्धाकै छेउमा बस्यो । नौलो मानिस आएको देखेर एकजना अधबैंसेले गुन्द्री राखिदिए । गुन्द्रीमा बसेर ती बृद्धासँग बात मार्न खोज्यो । तर, बृद्धा बोलिनन्, एकनासले टोलाएर हेरिमात्र रहिन् । छेउमै राखेको एउटा फोटोलाइ बेला-बेलामा नियाल्थिन् । बृद्धासँग बातचित सम्भव नहुने देखेर जिज्ञाशा शान्त पार्नको लागि रामेशले गुन्द्री बिछ्याइदिने अधबैंसेसँग बातचित गर्न खोज्यो । अधबैंसेले जे बताए, त्यो कहालिलाग्दो थियो । 

अधबैंसेको नाम रामबरण यादव रहेछ। तिनी बृद्धाको माहिलो छोरा रहेछन् । बृद्धाको नाम कैलाशवती यादव रहेछ । हेर्दा ८० नाघेकी जर्जर देखिएपनि बृद्धाको उमेर ६५ मात्र रहेछ । बाहिरबाट सर्सर्ति हेर्दा तिनीभित्र ईनारभन्दा गहीरो पीडाको पोखरी छचल्किरहेको होला भनेर कसैले अनुमान गर्न नसक्ने रहेछ । २०५९ असार २५ गते तिनीमाथि भयङ्कर बज्रपात परेछ । त्यसदिन साँझ सपरिबार खाना खाइरहेका थिए । एक्कासी माओवादीहरु पसे, र खाना खाइरहेका उनका जेठा छोरा सोहनलाल यादवलाइ समातेर बाहिर निकाले । खाना खान छाडेर परिबार सबै पछि-पछि निस्के । घरछेउमै एउटा अचानो भेटे । सोहनलाललाइ त्यहीं थचारे । गोडा अचानोमाथि राखे । एकजनाले बञ्चरो बोकेका थिए । बञ्चरोले मार हाने, र गोडा छिनालिदिए । अर्को एकजनाले खुकुरी बोकेका थिए । खुकुरीले गर्दनमा हाने । गर्दन छिनेको थिएन । परिबारका सदस्यहरुको अगाडी आँखा झिमिक्क नपार्दै एक सासमा यति काम सम्पन्न गरे ।

गरिसकेर उनीहरु हिंडिहाले । उनीहरु हिंड्नासाथ छट्पटाइरहेका सोहनलाललाइ रामबरण र कैलाशवतीले खटियामा राखेर अस्पताल पु-याए । अस्पतालमै सोहनलालले प्राण त्यागे । छोराको लास लिएर घर फिर्दा माओवादीले घरमा बिष्फोट गराइसकेछन् । र, जग्गामा झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरिरहेका थिए ।

घर बिध्वङ्स र जग्गा कव्जा भएपछि कैलाशवतीको परिबार पूरै बिस्थापित भयो । उनीहरु नेपालगञ्जमा बसाईं सरे । सोहनलालका तीन छोरा र एक छोरी रहेछन् । जेठो छोरो २२ बर्षको भएछ। मजदुरी गर्दोरहेछ । बाँकि ३ जना पढ्दारहेछन् ।

आफ्नै आँखाअगाडी सोहनलाललाइ मारेको दृश्यले त परिबारलाइ खपिनसक्नु पीडा दिईरहेकै थियो । सोहनलाललाइ मार्नुपर्नाको कारण के थियो भनेर थाहा नपाउनु अर्को सकस थपियो । परिबारकै अगाडी सोहनलाललाइ मार्नु, घर बिष्फोट गराउनु र जग्गा कब्जा गर्नुको कारण लामो समयसम्म माओवादीले खुलाएन । सोहनलाल राप्रपासँग नजिक थिए । राप्रपासँग नजिक भएकाले मारेहोलान् भनेर सबैले शङ्का गरे । सोहनलाल वडासदस्य पनि भएका थिए । गाबिसका पूर्वपदाधिकारी भएको नाताले मारमा परेका होलान् भनेर अनुमान गरे । पछिसम्म जनमानसमा कौतुहल भैरहेकोले र चर्चा चलिरहेकोले लामो समयपछि माओवादीले सोहनलालको बिषयमा केही बोल्नुपर्ने ठान्यो । सर्बप्रथम उस्ले सोहनलाल बलात्कारी थियो भनेर प्रचार ग-यो । तर, यो आक्षेप स्थापित हुन सकेन ।

गाउँसमाजमा सोहनलाल अत्यन्तै सज्जन ब्यक्ति भनेर चिनिएका थिए । फेरि, सोहनलाल बलात्कारी थियोभने उस्ले कस्लाइ बलात्कार ग-यो ? भनेर प्रश्न उठाउन थाले । त्यो लाञ्छना असफल मात्र हैन प्रत्युत्पादक बनेपछि उनीहरुले अर्को आरोप लगाए । सरकारी सिआइडी थियो भनेर धुवाँधार प्रचार गरे । हुन त यो यस्तो आरोप हो जस्को पुष्ट्याईं गरिरहनुपर्दैन । आरोप लगाइदिनु मात्र पर्छ ।  होला भनेर सबैले पत्याउँछन् । यस्तो अचूक अस्त्रपनि यहाँ कारगर भएन ।

सोहनलाल आफ्नो घरपरिबार, खेती, बस्तुभाउ र आफ्नै बस्तीभन्दा पर कहिल्यै कतै जाँदैनथे । सदरमुकामसम्म पनि जाँदैनथे । यस्तो सिदासादा ब्यक्तिलाइ जासुस भन्न खोज्दा सबैले हाँसेर उडाइदिए । गढिएका लाञ्छना र आरोप सबै बेकम्बा भएपछि अहिले उनीहरु सत्य ओकल्न थालेका रहेछन् । ‘सोहनलाललाइ मार्नुहुँदैनथ्यो, गल्ति भएकै हो’ भन्छन’रे भन्ने सुनिन्छ । घरमा आएर परिबारसँग माफी माग्ने हिम्मतचाहीं गरेका रहेनछन् ।

रामबरणले उठेर आमालाइ औषधी ख्वाए । हप्तैपिछे ग्लुकोज चढाउनुपर्दोरहेछ । औषधि ख्वाएपछि कैलाशवतीले मुख खोलिन् । रामेशतिर हेरेर यत्तिमात्र भनिन्, “मेरो छोरा मार्नेलाइ कार्यवाही गरिदिए छोराको आत्माले शान्ति पाउँथ्यो ।” यत्ति भनेर उनी चुप लागिन् । अघिजस्तै एकटकले शून्यमा निहारिरहिन् । रामेशपनि एकछिन घोत्लिएर बसे । एकछिन शून्यमा अलमलिएर अर्को हृदयविदारक कथा बोकी हिंडे ।

तपाइँको प्रतिक्रिया