माओवादी कार्यकर्ता : कोहि पछुताउँदै, कोहि दम्पट
‘जिन्दगीको सबैभन्दा उर्जाशील उमेर २५ वर्ष राजनीतिमा लगाइयो, डेढ वर्ष जेल पनि बसियो, भूमिगत पनि भइयो, युद्धका डरलाग्दा क्षण पनि विताइयो यत्रो दुःख गर्नै नपर्ने रहेछ, मल्याकमुलुक गरेर माला र टीका थापे हुनेरहेछ, थुक्क खिले !’
गत मे १८ का दिन एकिक्रित नेकपा माओवादीका कार्यकर्ता, माओवादी निकट पत्रकार खिल बहादुर भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा हाकाहाकी ब्यक्त गरेको पश्चाताप । अहिले अवस्था साँच्चै यस्तै छ, धेरै माओवादी कार्यकर्ताको । ति कि त पश्चाताप मानेर बसिरहेका छन् । कि त गुपचुप छन् । कति त सामाजिक सञ्जालबाटै गुप्त छन् ।
अघिल्लो वर्ष सम्मपनि एकिक्रित नेकपा माओवादीका कार्यकर्ताको उपस्थिति सामाजिक सञ्जालमा एक छत्र झैं देखिन्थ्यो । आफ्ना नेताको असाध्यै बचाउ गर्थे । माओवादी नेताले हेलिकोप्ट चढे । महँगा गाडी चढे भन्ने खबर आउन्जेलसम्मपनि ति आफ्ना नेताको बचाउ गर्दै नेपाली कांग्रेस र एमालेलाई गाली गर्दै सामाग्रि राख्थे । कांग्रेसले १४ वर्ष सम्म देश चुस्यो । यो देश बिगार्नेनै कांग्रेस र राजा हुन् भन्थे । एमालेलेलाई राष्ट्रघाती पार्टी, टनकपुर बेचीखाने दल भन्थे । कांग्रेस र एमालेको तुलनामा माओवादी नेताहरु स्वच्छनै छन् भन्दै सामाजिक सञ्जालमा दह्रोसित उपस्थित हुन्थे । नेताहरुले देश बनाउँछन् भने गाडी चढ्नु र बंगालामा बस्नु सामान्य हो भनेर पनि माओवादी कार्यकर्ताले आफ्ना नेतालाई ढाडस दिए । प्रचण्ड लाजिम्पाटको भग्य बंगालामा सर्दासम्म ‘पार्टी अध्यक्षको लागि सुबिधा सम्पन्न ठाउँ त चाहिन्छ’ भनेर बचाउ गर्दै थिए ।
माओवादी पार्टी फुटेपछि केहि समयसम्म त तिनले बैध्य समूहलाई गाली गर्नुसम्म गरेको देखियो । तिनले अबको निर्वाचनमा दुई तिहाई ल्याउँथ्यो पार्टीले र देशलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउँथ्यो । त्यसलाई धोका दिन पार्टी फुटाए भनेर निकै गाली गरे । माओवादी कार्यकर्ता कस्तासम्म देखिएका थिए भने सानो भुसुने स्तरकालेपनि लेखनाथ न्यौपाने, प्रदीप नेपाल, प्रदीप ज्ञवालीसम्मलाई गाली गरिगरि प्रतिक्रिया लेखेको देखिन्थ्यो । तर अहिले ? ति सबै गुप्तवास छन् । तिनले न आफ्ना नेतालाई समर्थन गरेको देखिएको छ । न बिपक्षी दलहरुलाई गाली गरेकोनै देखिन्छ । धेरै माओवादी कार्यकर्ता बरु तिनै खिल बहादुर भण्डारीलेझैं पछुतो मान्दै गुपचुप बसेका छन् ।
माओवादीको वास्तबिक अवस्था साँच्चिकै खिलबहादुरले छोटकरिमा सटिक ढंगले उतारेका छन् । अहिले त्यस्तै छ । पार्टीमा दुख गरेकाहरु पाखा लगाइएका छन् । जो चाकरि गर्न जान्दैन उ पछि परेको छ । चाकरि र चाप्लुसी गर्ने, शहरमा नेताका पछि पछि लागेर हट्टहुट्ट गर्नेहरुको मालामाल छ । धेरैले सरकारि ठाउँमा स्थानपनि पाएका छन् । जसले पाएका छैनन् तिनलाईपनि नेताहरुले निजि कम्पनी, संस्थाहरुमा भनसुन र दबाबकै भरमापनि उपाए गरिदिएका छन् । जो ईमान्दार छ । जो काममा बिश्वास गर्छ । जसले पार्टी, देश, समाज भन्छ । निति र आदर्शका कुरा गर्छ । उ पाखा लगाइएको छ । पार्टीमा उर्मिला अर्याल, रेखा थापा र रामचन्द्र झा जस्ताको बिगबिगी र हाईहाई भएपछि ईमानदर भएर, हाट्टहुट्ट नगरि गाउँ गाउँ खटिने, खाइ नखाइ पार्टी बनाउन दगुर्नेको हालत के हुन्छ ?
त्यसैले, माओवादी कार्यकर्ताहरुमा अब यो पार्टीले गतिलो काम गर्छ । भोका नांगा जनतालाई राहत दिन्छ । देशको राष्ट्रियता बलियो बनाउँछ । जनयुद्दका मर्महरुलाई आत्मसात गर्छ । शहिदको रगतलाई वर्षे भेल जसरि बगेर जान दिँदैन भन्नेमा विश्वासनै छैन । उनीहरुले अब न नेतालाई खबरदारी गरेर सकिन्छ भन्ने विश्वासमा छन् । कार्यकर्ताहरुमा अब गयो पार्टी, सक्कियो, पुरै शामान्तको पार्टीमा बदलियो भन्ने निराशा देखिन्छ । त्यसैले पार्टी र नेताप्रति तिनको पहिलेको आशा, भरोसा र बिश्वास पुरै टुटेको छ । त्यसैले कि तिनले पार्टी छोडेर बसे । कि नबोलिकन गुपचुप बसेका छन् । अर्थात ति पलायन भएका छन् । माओवादी नेतालाई बाहिरि आवरणका रुपमा बलियो बनाएर राख्ने, जोगाउने, आड, भरोसा र टेको दिने कार्याकर्ताको खडेरी परिरहेको छ ।
तरपनि माओवादी नेताका वरिपरि झुम्मिने त्यस्तै हाट्टहुट्टवाला, टाइँफाईँ देखाउने, शहरमा बसेर नेतालाई अर्ति उपदेश दिनेहरुको झुण्ड कम छैन । त्यो देखे भोगिरहेका माओवादी नेताहरुलाई कार्यकर्ताको संकट परेको अनुभव सायद भएकोपनि छैन होला । त्यसैले मह ओसार्ने माहुरी हो कि सरुवा रोग भित्र्याउने झिँगा हुन् वरिपरि झुम्मिनेहरु भन्ने हेक्का माओवादी नेताहरुमा अहिले देखिन्न ।
ईमान्दार कार्यकर्ता निराश छन् । ति थाकेका छन् । गलेका छन् । आक्रोशित छन् । बिगत सम्झेर उकुसमुकुस भएका छन् । उपायको खोजिमापनि छन् । तर ति झ्याप्पै कतै हिँडिहाल्न सक्ने अवस्थामापनि छैनन् । किनभने त्यत्रो बलिदान गरेर आएको पार्टी र नेता त यस्ता भए भने अरुले के गर्लान् र झन् ? भन्ने शंका देखिन्छ । अन्य पार्टीका काम र निति हेर्दापनि तत्कालै आशा लाग्दो केहि देखिन्न । अर्को कुनै पार्टीले तिनको निराशालाई संवोधन गर्ने स्तरको कार्यक्रम र दिशा देखिन्न र पनि ति चुपचाप बसेका छन्, दिशाबिहिन भएर ।




