मुलुकको स्वाधिनता र विध्यार्थी राजनिति
● सिद्धिचरण भटराई
अहिले बिद्यार्थि राजनीतिको मौसम शुरु भएको छ । जव बिद्यार्थि राजनीतिको कुरा शुरु हुन्छ मलाई आठ, नौ कक्षामा पढ्दाका दिनहरुको याद आउँछ । बिद्यार्थि संगठन चलाउँदा बिद्यार्थिले राजनीति गर्ने कि नगर्ने ? पहिलो प्रश्न यो हुन्छ जहिले पनि । दोश्रो प्रश्नः बिद्यार्थि राजनीति किन गर्ने ? तेश्रो प्रश्न: बिद्यार्थिले कसका लागि राजनीति गर्ने ? आजको बिद्यार्थि राजनीतिमा पनि यी नै प्रश्नहरु नै प्रधान हुन्छन, जुन मैले ०४३ / ४४ सालमा आठ कक्षामा पढदा अनुभुत गरेको थिएँ ।
‘राजनीति फोहोरी खेल ! ’
म आठ कक्षामा जनता मावि बिर्घा स्याङ्जामा भर्ना हुँदा त्यहाँ भुमिगत बिद्यार्थि संगठनहरु क्रियाशिल थिएः अनेरास्ववियु र नेविसंघ । नेपाली कांग्रेसले लगाउने नारा ‘जय नेपाल’ थियो र छ अझैपनि । त्यतिखेर केही बिद्यार्थिहरु जय नेपाल खुइले कपाल भन्दै जिस्कन्थे । ‘हाफ छुट्टि’ को बेला मैले त्यही सिको गर्दै त्यहि जिस्काउने कुरा दोहोर्याउँदै भने ‘जय नेपाल खुईले कपाल’ । म अवोध नै थिएँ । किन त्यो भनियो मलाई नै थाहा छैन । स्कुल मैदानमा भलिबल खेलिरहेका एक जना नेवि संघका बिद्यार्थिले मेरो भनाई प्रति राता आँखा लगाएपछि म झसंग भएको थिएँ । पछि त ४ बजे पछि घर जाने बेलामा गौडो कुरेर १०/१५ जना भुसतिघ्रे केटाहरु सहित त्यही राता आँखा लगाउने केटाले किन ‘जय नेपाल खुइले कपाल’ भनिस भनेर पो निउँ खोज्न थाल्यो । हामीलाई त्यही गौंडामा पिटने योजना रहेछ । संयोगले एक जना शिक्षक आउनु भो र त्यो कुरालाई शान्त पार्नु भो । यो घटना नै मेरो जीवनका लागि महत्वपूर्ण रहयो ।
ती को थिए ? किन त्यसो गरे ? त्यसको अर्थ के हो ? भन्ने कुराले मलाई राजनीतिको नजिक पुर्यायो । त्यसपछि हामीले गुल्मीबाट स्याङ्जाको बिर्घामा पढन आउनेहरु असुरक्षित महसुस गरी ‘गुल्मेली युवा बिद्यार्थि मञ्च’ गठन गरयौँ । म त्यसको सचिव भएँ । बाटामा नै पिटिने डर भएपछि हामी स्कुल जाँदा आउँदा समुहमा जाने र समुहमा आउने गर्न थाल्यौं । एक्ला एक्लै नहिडने । हामीले समुहको नियम यसरी नै बनाएका थियौं । हाम्रो संगठन सक्रिय भएपछि हामीले गुल्मेली बिद्यार्थिहरुका तर्फबाट प्रसासनलाई हाम्रो सुरक्षा र आउँदा जाँदा परेका बाटो राम्रो बनाउनु पर्ने र पढाई राम्रो हुनु पर्ने शैक्षिक मुद्धा पनि राख्न थाल्यौं । किनकी हामी आउने बाटो बर्षाको पानीले खोलेर पहिरो जस्तै बनाएको थियो र बाटोमा नै खुल्ला दिशा गरेर नाक छोपेर हिँडनु पर्ने थियो ।
प्रसासनलाई अल्टीमेटम र कक्षा बहिष्कार सम्म गरेपछि हाम्रा माग पुरा भए । मेरो यो सक्रियता देखेपछि अनेरास्ववियुका साथिहरुले हामीसंग राजनीतिक कुरा गर्न थाल्नुभयो । हामी अखिल भयौं । खुइले कपालको अर्थ नेपाली कांग्रेसले २०१६ सालमा प्रधानमन्त्री हुँदा कोशि र गण्डक संझौता गरी नेपाली जनताको हित विपरीत भारतीय बिस्तारबादसंग झुकेको कारण रहेछ । विपिले ‘‘राजा र मेरो घाँटी जोडिएको’ भनेर राजा संग पनि झुकेकोले बिरुद्ध त्यो नारा लगाएर कांग्रेसलाई खुइल्याउन खोजिएको राजनीति मैले अखिल भएर बुँझे । भिम कार्की, पदमा अर्याल, दुर्गा बिक, ऋषी पाण्डेहरु हामीलाई संगठित प्रशिक्षित गर्ने काम गर्नु भयो त्यतिवेला ।
मेरो यो खालको सक्रियता घरमा बुबालाई चित्त बुझेको थिएन । किनकी बुबा त्यतिखेर पञ्चायत समर्थक समाजसेवी हुनुहुन्थ्यो । उता बिद्यार्थि उमेरमा राजनीतिमा लागेर भाई बिग्रन्छ भनेर बम्बैमा भएको मेरो दाईलाई पनि यो चित्त बुझेको थिएन । मलाई घरमै बस्न नदिनेसम्मको दबाब आयो । त्यतिखेर दाईले अंग्रेजीमा ‘राजनीति बिद्यार्थिहरुका लागि फोहोरी खेल हो’ कोटेशन सहित २ पेज लामो पत्र लेखी मलाई संझाउने कोशिस गर्नु भो । मैले त्यसको प्रति उत्तरमा एक पत्र दाइलाई लेखेँ । मलाई संझना भएसम्म पत्रमा ‘हाम्रो पुस्ता राजनीतिक फोहोरी खेलको शिकार भएको छ, हो त्यहि सत्य कुरा नै तपाईले लेख्नु भो । त्यही फोहोरी खेललाई सफा गर्ने, नयाँ र सबै नेपालीहरुलाई यही देशमै खान, लाउन र बस्न पुग्ने बनाउने जिम्मेवारी हाम्रो हो । राजनीति फोहोरी भएकैले तपाई आफनो परिबार छोडेर बिदेशीनु परेको कुरा तपाईपनि बिर्सनु हुँदैन दाई । यही कारण मैले बिद्यार्थिहरुका लागि राजनीति फोहोरी खेल होइन र त्यही फोहोर सफा गर्ने अवसर र चुनौती दुवै हो । यो काम नगरी हाम्रो पुस्ताको जीवन समेत सुखमय हुँदैन’ भन्ने उल्लेख गरेको थिएँ । मेरो पत्रबाट दाई स्वयं प्रभावित हुनु भो र उहाँले बम्बैमै ‘लालि गुराँस प्रवासी नेपाली समाज’ खोल्नु भयो । मलाई राजनीति गर्ने कुरामा बाधा नगर्न बुबा आमालाई पनि संझाउनु भयो । पछि बहुदल आएपछि म आफै बम्बै गएँ र मेरै सक्रियतामा नेकपा एमाले निकट प्रवासी नेपाली संघ संग एकता गराएँ ।
राजनीति र शिक्षा
आज पनि राजनीति सफा छैन । संस्थागत छैन । हामीले लडेर र रगत बगाएर ल्याएका दुइवटा जनआन्दोलनबाट प्राप्त उपलब्धी खतरामा छन । राजनीति पुन फोहोरी भएको छ । देशको भविश्य स्पष्ट छैन । राष्ट्रियता खतरामा छ । राष्ट्रिय स्वाधिनता कमजोर भएको छ । हाम्रो देशमा को प्रधानमन्त्री, मन्त्री बन्ने ? कसले के जिम्मेवारी लिने ? को संवैधानिक आयोगमा जाने, को नजाने ? भन्ने कुराको निर्णय समेत बिदेशीहरुले गरिदिन थालेका छन । ठूला पार्टीको बैठकमै भारतीय राजदुत जाने र निर्णय प्रभावित गर्ने सम्मका हर्कत भएका छन एकातिर भने अर्कोतिर शिक्षा क्षेत्र उत्पादन र श्रम संग जोडिएको छैन । फलस्वरुप मावि, उच्चमावि र उच्च शिक्षाको अध्ययन गरेका बिद्यार्थिहरु बेरोजगार बनेका छन । उनिहरु उच्च शिक्षा हासिल गरेर पनि सिप बिहिन छन । त्यो प्रमाणपत्रले उसको पेट भर्ने ग्यारेण्टि गर्दैन । श्रमसंग त उ जोडिन नै चाहँदैन ।
कृषि श्रम प्रधान रहेको नेपालमा कुनै पनि बिद्यालयमा कृषिको पढाई हुँदैन । आजको समयमा कृषिमा के परिवर्तन ल्याउने भन्ने शिक्षा मुलुकलाई चाहिएको छ । तर हाम्रो शिक्षाले त्यो दिँदैन । उच्च शिक्षा हासिल गरेको एउटा बिद्यार्थि ०२८ साल अगाडि ठूलो वर्णमालामा पढाइने भरपाई, तमसुक, निवेदन, पत्राचारका शैली, नाप तौलका इकाई जस्ता जीवनका लागि हरपल चाहिने कुरा लेख्न बुझ्न नसक्ने छ । जबकी त्यतिखेर त्यो ५ कक्षा भन्दा अगाडि नै सिकाइन्थ्यो । अहिले जमाना फेरिदै गएको छ । सूचना प्रविधिसंग उत्पादन पद्धति पनि गाँसिइसक्यो । तर सूचना सञ्चार प्रविधि, यातायात, जनस्वास्थ्य संग जोडिएका कुराहरुमा हाम्रो शिक्षा पद्धति अझै एकाकार भएर दौडन सकेको छैन ।
प्रगतिशिल शिक्षा पद्धती
हाम्रो शिक्षापद्धती लोकतन्त्र आयो भनेका यतिका बर्षपछि पनि प्रगतिशिल बनेको छैन, किन ? किन बिद्यार्थि बिद्यालय गएकै र पढने नाममा बिदेशिएकै कारण पहाड र मधेसमा उत्पादनका क्षेत्र रहेका खेतबारी आज बाँझै छन ? परम्परागत कृषि, जनस्वास्थ्य, सीपहरु लोप हुँदै जाने र नयाँ शिक्षाले त्यो उत्पादनलाई नछुने हो भने नेपाल कहिले स्वाधिन बन्ला ? कहिले समृद्ध होला ? हिजो भन्दा आज नेपाली बढि लाहुरे बन्दै गएका छन । यहाँ भन्दा उताबाट बढि नै कमाएर ल्याएका छन । तर किन लाहुरबाट आएको पैसाले देश धनि र समृद्ध हुन नसकेको होला ? किन उनिहरुले भित्राएको रेमिटेन्सको प्रगतिशिल उपयोग हुन सकेन ? आजका बिद्यार्थिहरुले राजनीति गर्दा वा गर्न शुरु गर्दा यी प्रश्नको उत्तर खोजेनन भने उनिहरुको पुस्ता पनि मेरो पुस्ता जस्तै फोहोरी खेलकै शिकार हुनेछ भन्ने मलाई चिन्ता छ ।
आजका शिक्षालयहरु कस्ता छन ? कस्तो बनाउनु पर्ने हो ? आजको बिद्यार्थि सानै देखि घोकेर नम्बर ल्याउन, रातदिनको ट्युसन पढेर समय बिताउन व्यस्त छ । उसलाई जीवन बुझ्न र जीवनका अनगिन्ती आयामहरुलाई अनुभुत गरेर सिक्ने समय नै दिइएको छैन । किनकी हाम्रो शिक्षा पद्धति बिद्यार्थिले परिक्षामा ल्याउने प्रतिशतको आकारमा अन्तरनिहित छ । गुणस्तरीय सिकाईमा आधारीत छैन । सरकारी र नीजि बिद्यालयलको अवधारणाले त्यही अंकको होडबाजीले घोकन्ते, रटन्ते पद्धतीलाई मलजल गरेको छ । गुणस्तरको प्रतिष्पर्धा होइन मात्राको प्रतिष्पर्धा छ ।
तीन बर्षको कलिलो उमेरमै (नर्सरी कक्षामै) उसका जिज्ञासु स्वभावलाई मार्दै जब किताबमा जे लेखिएको छ त्यही घोक्न सिकाइन्छ । अनि कसरी नयाँ पुस्ताले सिर्जना उमार्न सक्ला ? आजका बिद्यार्थिहरुले राजनीति र शिक्षासंग यो अन्योनाश्रित सम्वन्धलाई कसरी बुझ्ला ? मेरो प्रश्न त्यहाँ छ । हुनुपर्ने के हो ? आजका बिद्यार्थिले पढने भन्दा बढि सिक्ने, घोक्ने भन्दा बढि बुझ्ने र उत्तर लेखाउने भन्दा बढि प्रश्न जन्माउने बातावरण पाउनु पर्छ भन्ने मलाई लाग्छ । के यो बहसमा बिद्यार्थी राजनीति स्थान प्राप्त गर्ला ?
आज जती पनि उच्चमावि र कलेजहरु बिस्तार भएका छन, ती मुलुकको उत्पादनलाई गतिशिल बनाउने प्रगतिशिल भुमिका भएका छैनन । यी त्यसरी जन्मिएका नै होइनन । धेरै जसो उच्चमाविमा शिक्षा बिषय किन पढाइन्छ भने त्योसंग माविका शिक्षकहरुको रोजगारी र आयबृद्धिको कुरा गाँसिएको छ । मुलुकको आवश्यकता कमै गाँसिएको छ । बाणिज्य संकायको कुरा पनि यस्तै हो । नेपालमा अव बिद्यालय देखि नै उत्पादनपद्धती र रोजगारीसंग जोडिएका बिषय नराख्ने हो भने हामीले नेपाललाई स्वाधिन मुलुक बनाउन सक्दैनौं । मुलुक आर्थिक रुपमा स्वाधिन नभई नेपालको राजनीति स्वाधिन हुँदैन । राजनीति स्वाधिन हुन मुलुक बनाउने राष्ट्रवादी चिन्तन चाहिन्छ । यसरी हरेक बिद्यार्थिको जीवन संग राजनीति गाँसिएको छ । राजनीतिसंग बिद्यार्थि र शिक्षाका कुरा गाँसिएका छन । यसैले स्ववियु निर्वाचनको बर्तमान माहौलमा हामीले कोरा शैक्षिक मुद्धामा र कोरा राजनीतिक तर्कहरुमा आधारीत भएर होइन राजनीति र शिक्षा, अर्थराजनीति र बिद्यार्थि, बिद्यार्थि आन्दोलनका चुँनिदा बिषय छुटाउन सक्नु पर्छ । वर्तमान राष्ट्रिय राजनीतिसंग उच्चशिक्षामा अध्ययनरत ४१ लाख बढि बिद्यार्थिले जाहेर गर्ने अभिमत निकै ठूलो सन्देश हुनेछ ।
स्ववियु चुनाव र लोकतन्त्र
लोकतन्त्रका पिता मानिने अब्राहम लिंकनले एक मतपत्र बन्दुकको गोली भन्दा बलवान हुन्छ भनेका थिए । स्वतन्त्र बिद्यार्थि युनियनको यो निर्वाचनले शिक्षामा तथ्यहरु खोज्ने बिद्यार्थि मात्र होइन तथ्यका आधारमा तर्क गर्ने, मुल्य र मान्यताहरु स्थापित गर्न जोड दिने, अराजक र उग्र नाराबाट प्रभावित हुने भन्दा पनि सन्तुलित विचार बोक्ने कुरा स्थापित गर्नुका अतिरिक्त मानिसको विचार, अभिव्यक्तिको स्वतन्त्रता मानव मुक्ति र लोकतन्त्रलाई समृद्ध बनाउने अवसर प्रदान गरोस । किनकी ‘लोकतन्त्र नै यस्तो शासन प्रणाली हो जसले सत्तासिनहरु संग बारम्वार प्रश्न गरिरहन्छ कि उनिहरु सत्तामा बस्न उचित छन त ?’ भन्ने सिढनी जे हयारीसको भनाईलाई आत्मसात गर्दै बारम्बार शैक्षिक सत्तामा वा समग्र सत्तामा आसिनहरुलाई यो निर्वाचनले पनि प्रश्न गरोस र राष्ट्रलाई जवाफ देओस । लोकतन्त्रको यो मर्म बिद्यार्थि नेताहरु सम्म सन्देशको रुपमा पुगोस । जनवादी, प्रगतिशिल, राष्ट्रवादीका पक्षमा, विखण्डनवादी, उग्रवादी र अराजकहरुका विपक्षमा बिद्यार्थिहरुले मतदान गर्दै स्ववियु निर्वाचनको भरपुर उपयोग गरुन । शुभकामना ।
(भट्टराई लुम्बिनीस्थित लुम्बिनी टेलिभिजनका पत्रकार हुन्)




