‘प्रगतिशिल राष्ट्रवादी जनदिशा’ र मदन भण्डारी

सिद्धिचरण भटराई

siddi-charan-bhattarai-lumbini-1212‘बैदेशिक दासत्व र पराधिनता हामीलाई स्वीकार्य छैन, शत्रुता हाम्रो चाहना होइन । पञ्चशिल र पारस्परिक लाभमा आधारित संझौताहरुको नविकरण’ नै हाम्रो विदेश सम्वन्धको दृष्टिकोण हो ।

‘देशको आधारभुत स्थितीको निर्णायक तत्व उत्पादन पद्धति हो । सामन्त, दलाल नोकरशाही पुँजीपति वर्ग, वैदेशिक एकाधिकार पुँजीवादका हातमा जीविकोपार्जन र उत्पादनका साधन छन । यीनिहरु बाट आम जनता शोषणमा छन । यीनको शोषण समाप्त पार्ने राष्ट्रिय स्वाधिनता हाम्रो कार्यभार हो । माक्र्सवाद र लेनिनवाद हाम्रो राष्ट्रिय स्वाधिनताको मार्गदर्शक सिद्धान्त हो।’

‘देशको औद्योगिकरण र पर्याप्त भौतिक विकास बिना ‘ योग्यता अनुसारको काम र काम अनुसारको दाम’ दिने समाजवादी व्यवस्था स्थापना गर्न सकिदैन ।’

‘उदार अर्थतन्त्रको नाममा भर्खरै बामे सर्न लागेका राष्ट्रीय उद्यमलाई बिदेशी पुँजीसंग प्रतिष्पर्धा गर्न बाध्य काम गरिरहेको परिणाम स्वरुप कतिपय राष्ट्रिय उद्यमहरु बन्द हुने अवस्थामा छन् ।’

यी मदन भण्डारीको अगुवाईमा निर्माण भएको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादबाट तानिएका उद्धरण हुन । आज पनि ‘राष्ट्रिय स्वाधिनता र समाजवाद तर्फको सक्रमण’, र ‘जनजीविकाका समस्या समाधान, विकास निर्माण र प्रगतिशिल राष्ट्रवादी जनदिशा‘मा नेकपा एमाले दृष्टिकोणहरु यसैबाट निर्देशित हुनु पर्ने हो, तर भईरहेको छैन । हिजो मदनको भौतिक अवसान पछि लोकतान्त्रिक अधिकारको सिमितिकरण र राजतन्त्रको अन्त्यका बिषयमा पनि जबजको निर्देशन पालना नगरेर सत्तातिर होइन सरकारमा बहाल हुनतिर लाग्दा एमालेले मदनले देखाएको बाटो बिराएकै हो । आज पनि राष्ट्रिय स्वाधिनता मुखरित भईरहेको परिस्थतीमा जवजले यसरी नै निर्देशित गर्छ । तर यसका कथित उत्तराधिकारीहरु मदन र जबजको भजन मात्र गाइ रहेका छन् । त्यसले बोकेको लाइन छोडिरहेका छन । यस बिषयमा मैले ०५३ देखि आजसम्म निरन्तर आफना विचार सार्वजनिक गरेकै छु ।

नेकपा एमालेको नायकत्वको अनुभुति राष्ट्रलाई दिलाउन नसकेपनि यसको वैचारिक बिरासत वैचारिक नायकत्व जबज र मदनका विचारहरुलाई नै जान्छ । चाहे यीनका उत्तराधिकारीहरु जबजको नाम लिँदै जबजकै घाँटी रेटिरहुन तर यस भित्रको क्रान्तिकारी आत्माको पुनरुत्थान र पुनर्जागरण जरुरी छ भन्ने मैले आज पनि उत्तिकै रुपमा बिश्वास गर्छु ।  जति हिजो गर्थें ।

दोश्रो जनआन्दोलन पछि स्थापित लोकतान्त्रिक गणतन्त्र र संविधान सभा, यसबाट नयाँ संविधानको निर्माणको अवस्थामा आज पनि जबजले राष्ट्रीयता, प्रगतिशिल विकास र क्रान्तिकारी पहलकदमीका बिषयमा सबै भन्दा बैज्ञानिक र स्पष्ट विचार बोक्छ । यही सैद्धान्तिक निष्ठाका कारण म युद्ध र क्रान्तिकारी बलिदान, क्रान्तिकारी आशाबादीको पुनरुत्थान गर्ने विगत बिद्रोहमा पनि त्यता आकर्षित हुन सकिन । यद्यपी यो बिद्रोहलाई निकास दिँदा जबजको बाटोमा एक कदम फडको हान्न सकिन्छ भन्ने सोचाईमा म बिश्वास गर्थें । त्यो विचार आज पनि सही नै थियो भन्ने लाग्छ । यहि विश्वासमा अडिएर मैले विगतमा सक्दो भुमिकाहरु खेलेँ ।

जेष्ठ ३  र मदनलाई संझदा जबजलाई बिर्षन सकिँदैन । जबजका कुरा गर्दा एमालेका आज बिधि व्यवहार प्रति आलोचनात्मक दृष्टि नराख्नु जबजको भजन गाउनु मात्र हुन्छ । यसर्थ आजको सन्दर्भमा जबज के हो ? आजको सन्दर्भमा नेकपा एमालेको भुमिका केहो ? नेकपा एमाले आत्मालोचित हुनु पर्ने बिषय के हुन ? आज जबजको जनदिशा र कार्यदिशा के लिने ? यसको चर्चा गरिएन भने एमालेलाई ठिक ठाउँमा उभ्याउने कुरा मात्र होइन मुलुकको बाम लोकतान्त्रिक आन्दोलन नै ठिक ठाउँमा उभिन सक्दैन ।

प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुँदा नेकपा एमालेले देशलाई एउटा आश लाग्दो सरकार दिएकै हो । सायद, यसैले कि भर्खर जबजको लाईन पारित भएको मदन भण्डारीको प्रगतिशिल विकास र राष्ट्रवादी लाइनको ताजा राप बाँकी रहेको थियो । त्यो सरकार जबजबाट निर्देशित थियो भन्ने जनतालाई महसुस पनि भयो । तर त्यसपछि पटकै पटक हामी सरकारमा किन गयौं ? के उपलब्धी हासिल गरयौं ? राष्ट्रिय स्वाधिनता र प्रगतिशिल विकासमा हामीले कहाँ धक्का मार्न सफल भयौं ? पटक पटक उपप्रधान मन्त्री र पछिल्लो पटक माधव नेपाल र झलनाथ  नेतृत्वको सरकार हाम्रै पार्टीको नेतृत्वमा भए । यसले हामीले बोकेको रणनीतिमा कहाँ सेवा गरयो ? बरु उल्टै मौन रुपमा बैदेशिक दासत्व स्वीकार्ने, साम्रज्यवादको बिरोध गर्नुको साटो राजदुतलाई पार्टी कार्यलय बोलाउँदा माक्र्स एंगेल्सका फोटा गायब पार्ने तहसम्म झर्ने, देशका हुर्कदै गरेका उद्यमहरुलाई विप्पा सझौता गरी विदेशी पुँजीसंग प्रतिष्पर्धा गराउने निर्वलिया संग बलियालाई जुधाउने तरिकालाई ओँठे बिरोध मै सिमित गरियो । ०४७ सालको संविधान प्रति २७ बुँदै असहमतिलाई तत्कालिन कार्यमुलक नारा नबनाउँदा त्यो विचार र आन्दोलनको नायकत्व अरुले नै लिए ।  त्यसो भए नेकपा एमालेको समस्या के हो ? यो बिषय खोतल्नै पर्छ । फेरी पनि त्यो खोतल्न नयाँ सिद्धान्तका ठेली पल्टाउनु पदर्नै जबजलाई नै राम्रो संग आत्मसाथ गरे पुग्छ, भन्ने मलाई लाग्छ ।

जबजले भन्छ ‘पार्टीका कार्यनीतिले पार्टीका रणनीतिहरुलाई विद्यमान स्थिती र अवस्थाको आधारमा व्यहारिक रुप दिनु पर्छ । क्रान्तिकारी राजनीतिक कार्यदिशाको नेतृत्वमा सुधार वा परिवर्तन, साना वा ठूला, परोक्ष वा प्रत्यक्ष, संसदीय वा असंसदीय सवै कुराको सञ्चालन गर्नु पर्छ’ तर दुःखको कुरा एमालेको समस्या भनेकै विचार र सिद्धान्त सहि भएर पनि तत्कालिन राजनीतिक कार्यदिशा क्रान्तिकारी नहुन नै हो । यसको अभावमा कुनै पनि सिद्धान्त व्यवहारमा रुपान्तरण हुन सक्दैन । के एमाले आजको दिनमा यो क्रान्तिकारी राजनीतिक कार्यदिशा बोकेर हिँडन तयार छ ?

जबजले भन्छ‘ क्रान्तिकारी भुमिसुधार कार्यन्वयन गर्दै वास्तविक जोताहा र भुमिहिन किसानलाई भुमिको वितरण, दोहोरो भुस्वामित्वको अन्त्य, प्रगतिशिल भुमिकर’ तर आजको एमाले  सकेसम्म यसरी बोल्दैन, बोले पनि दुनियाँले चालपाउने गरी बोल्दैन । नवउपनीवेशी शिक्षा प्रणालीको अत्न्तय गरी माध्यमिक तहबाटै व्यवसायिक शिक्षा, बिद्यालय तहमा वास्तविक प्रजातन्त्र र राष्ट्रिय स्वाधिनता आत्मसात गर्ने खालका शिक्षालय, राजश्व र करनीतिलाई प्रगतिशिल, पारदर्शि र बिकृतिमुक्त बनाइने कुरा जबजले गर्छ तर हामीले राजनीतिक महत्वको मुद्धा तत्कालिन मुद्धा बन्दैन, आन्दोलनको मुद्धा बन्दैन । आफै अपारदर्शि भएपछि अरुलाई प्रहार गर्ने पारदर्शिता र प्रगतिशिल करको कुरा ओझेल पर्छ । यसरी हामी घुमिफिरी दलाल पुँजीवादकै वरीपरि घुम्न पुग्छौ । क्रान्तिका कुरा गर्दै दलाल पुँजीवादी व्यवस्थामै गोलचक्कर लगाउनु नियती हुन्छ ।

नेकपा एमाले त्यसमा तयार छ भने जबजको प्रकाशमा एमालेको लाईन भनेको प्रगतिशिल विकासको राष्ट्रवाद हो । जातीय उत्पीडनको समाधान जातिय पहिचानको राज्यबाट समाधान खोज्ने बाटो होइन, बर्गिय शोषणका अन्तराष्ट्रिय र राष्ट्रिय आयाममा लुकेका अन्तरबिरोधको समाधानबाट मात्र संभव हुन्छ । उत्पादन पद्धती र उत्पादन सम्वन्धको आजको बिश्लेषण नगरीकन अगाडि बढदा हामी क्रान्तिका नाममा पटक पटक प्रतिक्रान्तिमा फस्दै आएका छौं । राजनीतिको केन्द्रबाट वर्ग र वर्गिय हितको कुरा हटेको छ । यो हटेपछि ‘जात र क्षेत्र’ हावी हुनु स्वभाविक छ ।

हामी कहाँ छौ र कहाँ उभिएका छौ भन्ने अर्थराजनीतिक पहिचान नभई परिवर्तनका खाका खिच्दा हावादारी भइन्छ । तर यसको यथार्थ पहिचान सँगै भावी योजना बनाउँदा क्रान्तिका आवश्यकता र मुद्धाहरु, समाधानका दृष्टिकोण जन्मिछन । एमाले युवा नेता घनश्याम भुसालले हालै नेकपा एमाले केन्द्रिय कमिटीमा राखेका प्रस्तावहरु जबजलाई समृद्ध पार्ने र जबजको क्रान्तिकारी सारलाई पक्रने उद्देश्यबाट नै लक्षित छ भन्ने मलाई लागको छ । किनकी समाजको वर्ग बिश्लेषण र त्यसको ग्लोवल अन्तरसम्वन्धको बिश्लेषणले नै हामीले के गर्नु पर्ने हो भन्ने कुरा निधो गर्छ । यो निधोका आधामा एमालेले जवजको प्रकाशमा क्रान्तिकारी कार्यदिशाको पुर्ननिर्माण गर्नु आवश्यक छ । लरबराएको र लडखडाएको एमालेको वर्तमान नेतृत्वलाई दह्रो गरी उभिन क्रान्तिकारी जनदिशा र कार्यदिशा आवश्यक छ । एमालेका युवा नेताहरुले पार्टीमा पेश गरेका सवालहरुलाई वर्गविश्लेषणको तहमा मात्रै सिमित नराखि जबजको क्रान्तिकारी सिद्धान्तबाट निर्देशित ‘तत्कालिन प्रगतिशिल जनवादी राजनीतिक कार्यदिशा’ आउन जरुरी छ । होइन भने युवाहरुको चलखेल पनि हावामा कोरिएको सपना जस्तै हुनेछ ।

(लेखक लुम्बीनीस्थित लुम्बिनी टेभिजनका पत्रकार हुन् )

 

 

 

तपाइँको प्रतिक्रिया