राज्य र विद्रोहीले पिसेको चटनी
● आनन्दराम पौडेल
आज राधा घर्तीले मनको बह र गुम्सिएका भावना पोख्ने निश्चय गरिन् । ३ दिनअघि घरमा आएकी दिदीले उनीहरुको दुर्दशाप्रति चिन्ता प्रकट गरिरहेकी थिइन् । उनको विगत जीवन कोट्याउन खोज्दैथिइन् । घाम डुबिसकेको थियो, र घाम अस्ताएको मौका पारी सन्ध्याले सुस्तरी चियाउन थालेको थियो । दिदीलाइ पिंढीमा चकटी राखिदिइन् । आफूचाहीं थाममा अडेस लगाएर बसिन् । र पर क्षितीजतिर हेरेर एकछिन टोलाइन् । बाहिरी आँखाले डाँडाको थुम्कोलाइ एकटकले हेरिरहेको थियो । तर भित्रभित्रै उनी आफ्नै विगतलाइ नियालिरहेकी थिइन् । विगततिर फर्केर १८ बर्ष अघिको जीवन सम्झन पुगिन् । दिदीतिर फर्केर बिस्तारै बोलिन्, “तपाईंलाइ थाहै छ, त्यसबेला परिबार धेरै ब्यवस्थित थियो । सङ्घर्ष थियो । तर क्लेश-दु:ख थिएन ।
अमृत साइन्स क्याम्पसबाट बिएस्सी गरेका पति कर्णबहादुर घर्ती जङ्कोट गाविस, माडीचौर (रोल्पा) स्थित बाल उदय स्कुलमा मावि स्तरका बिज्ञान शिक्षक थिए । म आफैंपनि हुलाक कार्यालयमा मुखिया थिएँ । हामी दुबैको घरपायक जागिर थियो । करेसाबारीको तरकारी र टारीखेतको उब्जनीले धेरै भरथेग गर्थ्यो । कर्णबहादुरजीले ट्युशनबाट पनि राम्रै आर्जन गर्नुहुन्थ्यो । मासिक आम्दानीबाट मैले राम्रै वचत गरिराखेको थिएँ । दुबैको स्थायी जागिर भएकोले बुढेसकालमा पेन्सन आइहाल्थ्यो । सुन्दर सपना देख्न थालेको थिएँ र सुनौलो भविष्य छेवैमा महसुस गर्थें । सासु, हामी दम्पति र २ छोरी गरी ५ जनाको परिवार थियो । एउटी छोरी ५ बर्षकी र अर्की डेढ बर्षकी भैसकेकी थिई । जनमोर्चाको सदस्यता लिएको कारणले कहिलेकहीं तिनीहरुको कार्यक्रममा भाग लिनेबाहेक राजनीतिमा त्यति सकृय थिएनौं ।”
अडेस लाएको खम्बामा टाउको अलिकति खस्कियो । खम्बाबाट हटेर भित्तापटी सरेर अडेस लाएर बसिन् । आफ्नो पोजिशन मिलाइन् । र आत्मबयान गरिन्, “उज्यालो भविष्यतर्फ बढिरहेको हाम्रो परिवारमा एक्कासि कालो छेद पस्यो । २०५१ सालमा हो, मेरा पति कर्णबहादुरजीलाइ प्रहरीले अनाहकमा पक्ड्यो । कसैको छुल्याईं र आशङ्काले गर्दा परिवन्दमा पर्नुभएछ भनेर प्रहरीको हाकीमले भन्न त भन्यो । तर मुद्दाको रुप लिइसकेकोले त्यसै छाड्न मिलेन पनि भन्न थाल्यो । आज-आज, भोलि-भोलि गर्दै २२ दिन हिरासतमा बस्नुपर्यो । कर्णबहादुरजीले यो घटनालाइ गम्भीरतापुर्वक लिनुभएछ । उहाँ क्षुब्द हुनुभएको थियो । हत्या-हिंसाको समर्थक नभएकोले मसाल पार्टी फुटेर बनेको नेकपा माओवादीलाइ हामीले समर्थन गरेका थिएनौं । तर, त्यो घटनापछि उहाँमा सरकारप्रति आक्रोश र विद्रोहको भाव जाग्यो । सरकार र राज्य व्यवस्थाको प्रसङ्ग आयोकि आगो ओकल्नुहुन्थ्यो । यही क्षुब्दता र आक्रोशले बिस्तारै उहाँलाइ बिद्रोही माओवादीको नजिक पु-याएछ । उहाँले जनयुद्धमा लाग्ने निर्णय गर्नुभयो । यत्रो व्यबस्थित घरबार छाडेर उहाँ भूमिगत हुनुभयो ।”
घोत्लिंदाघोत्लिंदै साँझ छिप्पसकेछ । छोरी बिद्यालाइ खाना बनाउन अह्राइन् । पिंढीको भित्तामा अलि सजीलोसँग अडेस लाएर बसिन्, र पुन विगत ओकलिन्, “कर्णबहादुरजी भूमिगत भएपछि राज्यको सम्पूर्ण आक्रोश हामीमाथि खनियो । प्रहरी दिनदिनै घरमा आउन थाल्यो । सरकारी जासुसहरु पछि लाग्न थाले । गाउँसमाजदेखि अफिससम्म असहज स्थिति पैदा भयो । हैरान र आजित भएर मैलेपनि जनयुद्धमै जाने निर्णय लिएँ । जेठी छोरी छिमेकीको जिम्मा लगाएँ, र डेढ बर्षकी कान्छी छोरीलाइ च्यापेर मपनि भूमिगत भएँ । हामी दुवैजना २०५६ सालसम्म जनयुद्धमा निकै सकृय रह्यौं । धेरैजसो राती सुतिएन । निन्द्रा मारेर रात-रातभर हिंडिन्थ्यो । कडा फौजी अभ्यासलाइ कर्णबहादुरजीको शरिरले धान्न सकेन । पतिपत्नीको भेटपनि बिरलै हुन्थ्यो । २०५६ सालको एकदिन पतिपत्नी सँगै भएको मौकामा हामीले भूमिगत जीवन छाडेर खुल्ला हुने सल्लाह ग-यौं, र नेता कृष्णबहादुर महरासँग अनुमति माँग्यौं । महराले, “खुला भएपछि सेना र प्रहरीले तपाईंहरुलाइ रुटगाइड बनाएर हामीलाइ खोज्न हिँडाउँछ । त्यस्तो सम्भावना भएकोले हाम्रै साथिहरुले तपाईंहरुलाइ सूट गर्नेछन्” भने ।
छोरी बिद्याले खाना पकाइसकिछ । छेउमा उभिएर खाना खाने होकि भनि सोधी । इशारामै ‘एकछिनपछि’ भन्ने सङ्केत गरेर राधा पुन दिदीतिरै फर्किन् र बाँकि वृतान्त राखिन्, “हामीले घर छाडेर हिंडेपछि एक्ली वृद्ध सासूलाइ प्रहरीले धेरै सताएछ । कतिपल्ट लछारपछार पनि गरेछ । घरब्यबहार बिग्रेको चिन्ता र प्रहरीले दिएको दु:ख, अपमान खप्न नसकेर २०६१ सालमा सासूले प्राण त्याग्नुभएछ । यो खबरले कर्णबहादुरजीलाइ पुन क्षुब्द गरायो । उहाँ निकै रन्थनिनुभएको थियो । २०६१को अन्ततिर पार्टीले उहाँमाथि ‘अभिव्यक्ति अराजकता’ को आरोप लगायो । २०६२ साल बैशाखमा पार्टीको साधारण सदस्यबाट समेत् निस्कासन गर्यो । पार्टी सदस्यता समेत खारेज गरेपछि कर्णबहादुरजी घर फर्कनुभएको थियो । ४०-५० जना जनसेना आएर घर घेरेछन् र उहाँलाइ पक्डेर थवाङ पु-याएछन् । त्यहाँ श्रमशिवीरमा ६ महिना राखेछन् । शरीरले धान्न नसक्ने वोझ उठाउन लगाउने र दिनरात खट्नुपर्ने भएकोले शरिर जर्जर भएछ । लोकतन्त्र आएपछि श्रमशिवीरबाट मुक्त गरेका थिए । हामी आफ्नै घरमा बस्न थालेका थियौं । जिल्ला कमिटीका नेताहरु घरमै आएर हामीलाइ धम्क्याउन थाले । जहाँ गएपनि हामीलाइ ‘भगौडा गद्दार’ भनेर अपमानित गर्थे । जासुस, सिआइडी, गुप्तचर भनेर ब्यापक प्रचार गरेछन्। एकदिन त वाइसिएलको एउटा जत्था आएर हाम्रो घरै भत्काइदिए ।”
राधाले लामो सास तानिन् । ‘सू..इय’ गरिन् । बसाईको पोजिशन मिलाइन्, र भन्नथालिन, “आफ्नो घरगाउँमा बस्नैनसक्ने भएपछि काठमाडौं आएर बालाजुमा डेरा लिएर बस्न थाल्यौं । कृष्णबहादुर महरा सञ्चारमन्त्री भएका थिए । गएर भेट्यौं । दु:ख पाएको वृतान्त कहन खोज्यौं । उहाँले, ‘आफ्नो स्थानीय जिल्ला कमिटीलाइ चित्त वुझाउनुहोस्’ मात्र भन्नुभयो । अर्थोक केही बोल्नुभएन । ध्यान दिएर हाम्रो कुरा सुन्नुभएन । हाम्रो कुरै सुन्न चाहनुभएन । बर्षमान पुनहरुलाइ भेट्न धेरै प्रयत्न ग-यौं, मरे भेट दिएनन् । त्यही बालाजुको डेरामा समेत वाईसिएलहरु आएर हाम्रो हाँडोभाँडो सबै लुटिलगे । जे त होला भनेर पुन गाउँ फर्केर आएका ह्वौं ।”
छोरीले फेरी खाना खान बोलाइन् । कुनबेलादेखि दिदी रोइरहेकी रहिछन् । “कति रुनु ? मेरो त आँसुपनि सुकिसक्यो । खाना खान जाउँ” भनेर राधाले दिदीलाइ उठाइन् । दुबै दिदीबहिनी छोरीको पछि लागेर भान्छामा पसे ।




