चुनावी तानातानमा बैध्य बा
बैध्य बा यतिखेर चौतर्फी तानातानमा परेका छन् । निर्वाचन निर्वाचन भनेर जति दलहरु कुर्लिँदै छन् । जति तिनले भनेको निर्वाचन तात्दो छ, उतिनै उनको भाउ बढ्दो छ । निर्वाचनमा सरिक भएर सरकार बनाउँला, पद लिउँला, संबिधान सभाबाट संविधान बनाउँला भन्ने अरु दललाई छ, बैध्य बामा भने त्यो देखिन्न । निर्वाचन हारिएला कि जितिएला, ठूलो दल बनौंला कि नबनौंला भन्ने जति हुटहुटि छ, उनलाई भने वास्तै छैन । रपनि उनी तानातानमा छन् । त्यसो हुनुको कारण बैध्य बाका हातमा यस्तो चाबी छ, त्यसले एमाले, नेपाली कांग्रेस र एकिक्रित नेकपा माओवादीको पासा उल्टिने वा सुल्टिने हुन सक्छ । त्यसैले यि बा तानातानमा परेका छन् । किन होला यि बुढा यस्तरि तानातानमा परेको ? त्यो तानातानमा आआफ्नै दाउ छन् ।
‘हामी बहुमत ल्याउँछौं’ भनेर जतिसुकै उड्डी हाँकेपनि एकिक्रित माओवादीले ल्याउन सक्दैन । एमाले र नेपाली कांग्रेसलेपनि ल्याउनै सक्दैनन् । नेपाली कांग्रेसले लामो समयसम्म सरकार चलाएर देश उँधो गतिमा पुर्याएको जनताले अहिल्यै बिर्सिने बेला भएकै छैन । जनताले मत दिउँ दिउँ लाग्ने कुनै काम गरेकै थिएन । केका आधारमा दिने बहुमत ? एमालेको हालत उहि हो । राष्ट्रियतामा उ चुकेको छ । भ्रस्ट, गतिहिन, नितिहिन, एजेन्डाहिन छन् नेता । पार्टीमा मारामार छ । बेमेल छ । बुढा दिशाहिन नेताले पार्टी ओगटेर बसेका छन् । सरकारमा गएका बेला जनतालाई सास्ति दिने बाहेक केहि काम गर्न सकेकै छैन । किन दिने बहुमत ? झन एमालेका धेरै नेता पार्टी छोडेर हिँडेकाले एमालेको हबिगत चौपट छ । नेपाली कांग्रेसकापनि जनजाति पक्षिय धेरैले छोडेकाले उस्तै छ हालत ।
एकिक्रित नेकपा माओवादीको त झन चालिस प्रतिशत अलग भए । अहिल्यै बहुमत कहाँबाट आउने ? नेता रातरात बिलासी बने । ज्यानमारालाई पदोन्नति गर्ने । दण्डित हुनुपर्नेहरुलाई धमाधम उच्च पदमा अशिन गराउने । भ्रस्टहरुको मनपरि चलाउने । रोल्पामा खनेका सुरुङ दिल्ली दरबारमा गएर जोडिएको जनताले बुझे । नेपाली सिमा मिचियो भन्दै सिमा क्षेत्रमा पुगेर भारततिर फर्किँदै ताकेको खुकुरी प्लास्टिकको रहेछ र त्यहिपनि जनता झुक्याउन रहेछ भनेर बुझे ।
त्यसैले कुनैपनि दलको फेरिपनि बहुमत आउने अवस्था छैन । त्यसैले माओवादीको दाउ जसरिपनि बैध्य बासित पार्टी एकतानै गर्ने । त्यो त मुखले भनिहालेपनि भित्रि बिश्वास पक्कै छैन । तर कम्तिमा फकाएर, थुम्थुम्याएर निर्वाचनकालागि मात्रै एकता गर्न सकियो भने बहुमत ल्याइन्छ भन्ने छ । यदि बैध्य पक्ष आएनन् भने मत स्वाट्टै घट्ने मात्रै होइन कि तिनले सकेसम्म आफ्नो बल लगाएर लघार्ने र असफल पार्ने मुख्य तारो नै एकिक्रित माओवादी हो । अहिले तिनलाई बैध्य बा नभै भएको छैन । त्यसैले माओवादीका प्रचण्डदेखि बाबुरामसम्मले बैध्य अबको तारिफ गर्न थालेका छन् ।
बैध्य पक्षियहरु एकिक्रित नेकपा माओवादीसित मिले भने बहुमत आउने संभावना छ पनि । मिलेनन् भने एमाले र नेपाली कांग्रेसले पेल्ने भनेको एकिक्रित माओवादीलाईनै हो । पाएसम्म आफ्नै पार्टीका उमेदवार उठाउने, नपाएमा जसरि हुन्छ, जुन पार्टीलाई दिएर हुन्छ माओवादी उमेदवार हराउ अभियानमा एमाले र कांग्रेस लाग्छन् भन्ने माओवादीलाई राम्रोसित थाह छ । त्यसो हुँदा सबैको तारो माओवादी हुने छ । त्यसलाई सामना गर्न गाह्रै हुन्छ ।
एमाले र नेपाली कांग्रेसका दाउ आफ्नै छन् । बैध्य पक्षले निर्वाचनमा भाग नलिए धेरै भोट माओवादीलाई जान्छ । निर्वाचन बहिस्कार गर्ने भनेपनि कतिपय तल्ला तहका कार्यकर्ताले माओवादीलाई मत दिन सक्छन् । ‘आ जे भएपनि कंग्रेस र एमाले भन्दा त माओवादीनै ठिक’ भनेर मत दिन सक्छन् । स्थानिय स्तरको स्वतन्त्र मतपनि धेरै माओवादीतिरै तानिन सक्छ । त्यसैले एमाले र नेपाली कांग्रेस जसरिपनि बैध्य बालाई निर्वाचनमा तान्न चाहन्छन् । त्यसैले एमालेका नेता माधव नेपाल र नेपाली कांग्रेसका केहि नेताले भनिसके ‘बैध्य पक्षिय सहभागि भएन भने निर्वाचननै हुन सक्दैन ।’
त्यसैले अहिले चार राजनितिक दलहरुको संयन्त्रमा बैध्य पक्षलाई ल्याउनु पर्छ भन्ने शुरुमै निस्किए, नेपाली कांग्रेसका सभापती शुसिल कोइराला । त्यसमा माधव नेपालले बोलि मिलाए । उनको दाउपनि यतिखेर कहिँ कतै बैध्य बासित तालमेल मिलाएर केहि सिटमा भएपनि जित्न सकिन्छ । माओवादीलाई पछार्न सकिन्छ कि भन्ने नै छ । किनभने एमालेलाई राम्रोसित थाह छ, बैध्य पक्षको लागि यो चुनाबी समय एकिक्रित नेकपा माओवादीलाई चखाउने, बदला लिने, तिनलाई नांगो पार्ने र सकेसम्म असफल पार्ने हो । किनभने उ सफल हुनु भनेको बैध्य पक्षकालागि थप चुनौति हो । कसको पार्टी बलियो र कसको निर्धन बन्ने भन्ने परिक्षापनि हो । त्यसैले बैध्य पक्ष कुनैपनि हालतमा एकिक्रित नेकपा माओवादीसित तालमेल गर्दै गर्दैन भन्ने एमालेले बुझेको छ ।
उता संघिय समाजवादी पार्टीसित त निकट हुने भैहाले बैध्य बाको नेकपा-माओवादीसित । किनभने दुबै पहिचान सहितको संघियताका पक्षमा छन् । चार दलको सिन्डिकेट तोड्नुपर्ने र खिलराज रेग्मीले राजिनामा दिएर राजनितिक दलकै नेत्रित्वमा सरकार गठन गर्नुपर्ने लगायतका माग राखेका छन् । ति ३३ दलमा सहभागि भएर संयुक्त कार्यक्रमपनि गर्दै आएका छन् । त्यसैले निर्वाचनमा बैध्य बाले सहयोग दिन्छन्, खुलेर सहयोग नगरेपनि मौन समर्थन गर्छन् वा चुप बसिदेलान् । त्यसो गर्दा पहिचान वालाको मत आउँछ हामीलाई भन्नेमा संघिय समाजवादी पार्टी देखिन्छ । त्यसैले निर्वाचनमा जान कम्मर कसेका र भर नभएका सबै दलको आकर्षण र तानातानमा छन् यतिखेर बैध्य बा । उनको पार्टीले साँच्चै निर्वाचनमा भाग लिएन भने कस्तो निति लिएर अगाडि बढ्छ त ? त्यो चाहिँ हेर्न बाँकि छ ।




