पहिला मन परेन, अहिले माया बस्यो

सोमना थारु / बेल्जियम

som-narayan-thanet-somana-tharu-1212‘संसदिय व्यवस्था खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । यो व्यवस्था फालेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नु पर्छ । तब मात्र नेपाली जनताको मुक्ती हुन्छ । बहुदलिय व्यवस्थामा नातावाद कृपावाद भयो । घुसखोरी र भ्रस्टाचार भो । काङ्रेस र एमालेले देशका नदिनाला बेचे । राष्ट्रघाती सन्धि सम्झौता बेचे । असमान सन्धि सम्झौता खारेज हुनु पर्छ । भारतले नेपाल माथि गिद्धे दृष्टि लगाउन छोडनुपर्छ । हामी भारतको विरुद्ध सुरुङ युद्ध गर्छौ । भारतीय हैकमवाद र विस्तारवादको विरुद्ध ।’ यी कुरा माओवादीका थिए ।

बिषयवस्तु जसले उठान गरे पनि माथिका कतिपय कुरा समग्र नेपालीका जनजिविकासँग जोडीएका कुरा हुन । नेपालको राष्ट्रियतासँग सम्बन्धित हुन । त्यसैले त नेपाली जनताले नैतिक, भौतिक र वैचारिक रुपले साथ दिए माओवादीलाई । 

माओवादिले जनजातिहरुका अधिकारका कुरा उठायो । जनजातिहरुले पनि साथ दिए । माओवादिले वर्गिय, लिङ्गिय, क्षेत्रिय विभेद, भेदभावको कुरा उठायो । समग्रमा शोषित पीडित सबैले साथ दिए । न्यायको पक्षमा उभिने सबैले साथ दिए । फलस्वरुप माओवादिको सशस्त्र युद्धले नेपाली राजतन्त्रात्मक एकाधिकारवादी व्यवस्थालाई उखेल्न सफल भयो । नेपालमा गणतन्त्रको स्थापना भयो ।

सशस्त्र युद्ध गरेको माओवादी शान्ति प्रकृयामा आयो । माओवादिकै प्रमुख एजेन्डा संबिधानसभाको निर्वाचन पनि सम्पन्न भयो । माओवादिलाई नेपाली जनताले पत्याए । संबिधानसभामा ठुलो दल बनाइदिए । प्रचन्ड प्रधानमन्त्री  बने । बाबुराम प्रधानमन्त्री बने । तर बनेन संबिधान । संबिधानसभा  कमाइ खाने भाँडो बन्यो नेताहरुको ।

आज नेपाली जनताको सुख दु:खमा साथ दिने जनमुक्ती सेना छैन । जनमुक्ती सेनाको हतियार छैन । प्रचन्ड र बाबुरामले आफु प्रधानमन्त्री बन्न जनमुक्ती सेना विघटन गराए । हतियार बुझाए शान्ति सम्झौताको नाममा । त्यति  मात्र कहाँ हो र ? आज जमिन्दारहरुबाट खोसिएका जग्गाहरु धमाधम फिर्ता गरिदै छ । फिर्ता नै गर्नु थियो भने किन खोसिएको थियो ? के प्रचन्ड ,बाबुरामलाई प्रधानमन्त्री बनाउनलाई जनयुद्ध गरिएको थियो ? प्रचन्ड र बाबुरामको र तिनका आसपासेको जीवन स्तर बदल्नको लागि मात्रै जनयुद्ध गरिएको थियो ? होइन भने जनयुद्ध किन स्थगित भयो ?  आफ्नै कार्यकर्तालाई मार्ने , यातना दिने ,बेपत्ता पार्ने सैनिक अधिकृतलाई बढुवा र प्रोत्साहन गरिएको छ । आखिर किन ? अब जनताले बुझ्दैछन ।

आज शहिदहरुलाई अपमान गर्ने कार्य गरिएको छ । आज बाटोमा दुर्घटनामा परेर मरेका मान्छेलाई समेत शहिद घोषणा गरिदै छ । वास्तविक शहिदका परिवार भने आज पनि भोकभोकै सुत्नु परेको छ । उनिहरु आज पनि नाँगो खुट्टा हिडनु परेको छ । आज प्रचन्ड हेलिकोप्टर भाडामा लिएर देश घुम्ने स्थितिमा पुगी सक्यो । गरीबको नेता भनेर चिनिन खोज्नेले यसो गर्नु सुहाउला र ?  अझ माओवादिको गीतले भन्छ, ‘कोइ त भने जहाजमा सरर, कोइ त भने पसिना तरर ‘

एनेकपा माओवादी भित्र ठुलो विचलन आयो । स्वार्थी र पद लोलुपहरुको जीवनमा परिवर्तन आयो । इमान्दार र कर्तव्य निष्ठ कार्यकर्ता खाली खुट्टै र च्यातिएकै कमिज लाएर  इमान्दारिपुर्वक आफ्नो जिम्मेवारीमै लागे । शायद यसैको कारणले पार्टी टुक्रिएको होला ।

माओवादीका नेताहरुको पहिलाको स्तर र अहिलेको स्तर हेरौं । यो स्तर केन्द्रिय स्तरको मात्र नभै जिल्ला र गाउँ स्तरका नेताहरुको स्थिती हेरौं । हिजो खाली खुट्टा हिडनेले चप्पल वा जुत्ता लगाउनु स्वभाविक हुन सक्छ । तर चप्पल किन्न क्षमता नहुने मान्छेले एकै चोटि महलमा बस्नु के स्वभाविक हुन सक्छ ? निजी सुमो गाडीमा सवार हुन सक्ने क्षमता कसरी भयो ? त्यसको कारण नेपाली जनताले बुझेका छन ।  नेपाली जनताले विस्तारै त्यसको हिसाब किताब खोज्दैछन । पदम कुवरले प्रचन्डको गालामा थप्पड हान्नु त्यसैको एक कडीको रुपमा लिन सकिन्छ ।

अहिले नेपालमा जातिय पहिचानको कुरा जोडतोडले उठिरहेको छ । पहिचानको सवालमा सबै दलको आआफ्नै किसिमको व्याख्या विष्लेषण छ । पहिचान त सबैले भनेकै छन । पहिचान भन्ने वितिक्कै झट्ट सुन्दा जातिय पहिचान नै बुझिन्छ । तर पहिचान त अरु पनि त हुन सक्छन । जस्तो कोशी, नारायणी, लुम्बिनी, सगरमाथा, कर्णाली, आदी सबै पहिचान नै हुन । केही दलले पहिचान सहितको संघियता, संघियता सहितको संबिधान भनेर नारा लगाइरहेका छन । यो सबै जनता झुक्याउने जाल मात्र हो ।

गएको संबिधानसभाको निर्वाचनमा माओवादीले सबै भन्दा धेरै सिट ल्यायो । जातिय पहिचानको सवालमा अन्य पार्टीका जनजाती सभासदहरुले साथ दिएकै थिए । यस्तो अवस्थामा जातिय पहिचान सहितको संबिधान बन्ने निश्चित थियो । जातिय पहिचान सहितको पक्षमा दुई तिहाइ भन्दा बढी मत पुग्ने स्थिती थियो । तै पनि जातिय पहिचान सहितको संबिधान बन्न सकेन । पहिचानको सवालमा नेपाली काङ्रेस, एमाले र अरु केही दल विपक्षमा उभिएका थिए । तर जुन दलको प्रमुख भूमिका थियो त्यही दलले पनि जातिय पहिचान चाहेन ।

अब फेरी पनि संबिधानसभाको निर्वाचन र संघियताको कुरा तातिरहेको छ । सबै दलले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरिरहेका छन । विभिन्न गठबन्धनका कुरा उठिरहेका छन । प्रचन्डले संघियता पक्षधरको गठबन्धनको कुरा उठाएको सुन्न पाइयो । हामीले निर्वाचन दुई तिहाइले जितेर संघियता सहितको संबिधान बनाउछौ भनेको सुन्न पाइयो । गत संबिधानसभामा दुई तिहाइ भन्दा बढी मत हुँदा त जातिय पहिचान सहितको संबिधान बनाउन प्रचन्डले चाहेनन । अब फेरी जातिय पहिचान पक्षधरहरुले यिनको विश्वास कसरी गर्ने ?

जनयुद्ध अघि घुसखोरी, भ्रस्टाचार, नातावाद, क्रिपावादको खुब विरोध गर्दथ्यो माओवादिले । तर जव शान्ति प्रकृयामा आयो तव सबै भन्दा बढी भ्रस्टाचार गर्ने पार्टी एनेकपा भएको छ । जनयुद्धकालअघि भारत सँग असमान सन्धि भयो । नेपाली काङ्रेस र एमालेले राष्ट्रघाती सम्झौता गर्‍यो भनेर कुर्लने पार्टी एनेकपा माओवादी । जव बाबुराम प्रम बने तव उनी आँफै राष्ट्रघाती सन्धि सम्झौता गरे । अर्थात बाबुराम र प्रचन्डलाई पहिला भारत मन पर्दैन्थ्यो । तर अहिले भारत सित माया बसेको छ । अब भारतले बाबुराम र प्रचन्ड सँग जे मागे पनि पाउने छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया