‘त्यो नेपाल’ पढेपछि

सिद्धिचरण भटराई / भैरहवा

siddi-charan-bhattarai-lumbini-1212‘भिरको बाटो खनी खनी मोटर ल्यायो कुइरेले’ भन्ने गित सानैमा सुन्थें । मैले कुइरेहरु देखेको थिइन । म स्यांग्जाको बिर्घास्थित जनता माविमा ८ कक्षामा भर्ना भएपछि त्यहाँ एकजना कुइरेनी देखेको थिएँ । तिनी कुन देशकी हुन त्यो थाहा भएन । यीनिहरु धेरै बुद्धिवाला र टाठा हुन्छन । विकसित देशका हुन भन्ने सुनाइन्थ्यो । यस्तै नेपाली समाज र इतिहासको खोज, हिमालको यात्रा गर्न फ्रान्सेलीहरु कुइरेहरुले शताब्दी अघिदेखि नेपाल आएका रहेछन र नेपालको इतिहास, धर्म र सष्कृति बारे अनुसन्धान गरेका रहेछन भन्ने कुरा १९ औ सताब्दीतिर सिल्भाँ लेभीले नेपालको भ्रमण गरेपछि प्रकाशित पुस्तक पढेको थिएँ । त्यसले मलाई फ्रान्सेलीहरुले नेपाली समाजप्रति लगाएको गुनको गहिरो प्रभाव पारेको थियो ।

वर्गिय समाजमा इतिहाँस पनि बर्गिय हुनु स्वभाविक हो । तर शासकहरुको स्तुती गान समेटिएको इतिहास पढेका हामीहरुले इतिहासको यथार्थ महत्व थाहा नै छैन । हाम्रो समाजमा बिदेशी आँखाले देखेको तस्विर प्रस्तुत गरेर भएपनि सिल्भाँ लेभीले मात्र होइन नेपालको विकासका अनेक आयाममा धेरै फ्रान्सेलीहरुले गुन लगाएका रहेछन । ददिसापकोटाले पचासौ बर्ष अघिदेखि नेपाली समाजको अध्ययन गरी फ्रान्सेलीहरु संग सोही देशमै भेटेर तयार गरेको अन्तरवार्तामा आधारित आख्यान समेटिएको पुस्तक ‘त्यो नेपाल’ पढेपछि झनै यो बारेमा जानकारी प्राप्त भयो । मलाई दाजु बिष्णु पन्थिले ‘त्यो नेपाल’ किनेर पढन तिन चार पटक दोहोरयाएर भनेपछि मैले यसपटक काठमाण्डौ जाँदा यो पुस्तक पढेँ । त्यो नेपालले नेपाली समाज, राजनीति र इतिहासका विविध पक्षलाई देखाएको छ । त्यसका केही आयामलाई झल्काउने कोशिस गर्नेछु ।

मानवशास्त्रीय अध्ययन र आरोहण नै आकर्षण

फ्रान्सेलीहरु कहिले देखि नेपाल आए ?  त्यो एकिन नभएपनि प्रताप मल्लको पालामा भेटिएको एक शिलालेखमा ३ फिरंगी शब्द भेटिएका छन र ती फ्रान्सेली हुन भनिएको छ । यसरी हेर्दा १६५४ अघि नै फ्रान्स संग नेपालको सम्वन्ध थियो । तर उनिहरुको नेपाल आगमन केका लागि थियो ? नेपाल खासगरी काठमाण्डौ भारत र चिनको व्यापारिक नाकाको रुपमा लामो समय सम्म रहयो । व्यापारीक सम्वन्धमै विभिन्न देशका व्यक्तिहरु विभिन्न कालखण्डमा यहाँ आए होलान । तर शाहकाल, राणाकाल, पञ्चायतिकाल र यताका प्रजातान्त्रिक कालहरुमा नेपालमा फ्रान्सेलीहरु मुलत समाजशास्त्र र हिमालको आरोहणकै लागि आएका रहेछन ।

tyo-nepal‘जीवन र योग’ को खोजीमा नेपाल र तिब्बतको भ्रमण गर्न र अध्ययन गर्ने ब्रिजिट स्टेटम्यान देखि, अन्नपूर्ण हिमालमा पहिलो पाइला राख्ने मोरिस हेर्जाजको अनुभव पढेपछि हामीले त नेपाल मै बसेर नेपाल बुझेकै छैनौ ।  हाम्रो पहिचान र गर्वको बिषय अझैपनि हामीलाई थाहा छैन भन्ने लाग्छ । फ्रान्सको आल्प्स क्षेत्र सिमोनीमा रहेका हिमालहरु र हाम्रो उत्तरतिरका हिमालले फ्रान्स र नेपाललाई अघोषित मितरी लगाएका रहेछन । यहि नाता हो जसले मोरिस हेर्जोग जस्ता बहादुर फ्रान्सेलीहरुलाई नेपाल ल्यायो । अन्नपूर्ण हिमाल पहिलो पटक चढेपछि हेर्जाजलाई राष्ट्रपति चाल्र्स गोलले युवा तथा खेलकुद मन्त्री बनाए । उनैले अन्नपूर्णको व्याख्या गर्दै लेखेको पुस्तक ‘लान्नापूर्ना फर्मिय हुइ मिल १९५१’ बाइबल भन्दा पनि बढि ५० लाख प्रति बिक्री भएको कुराले अझ आष्चर्यमा पारयो ।

अन्नपूर्ण ल्याएको परिवर्तन

अन्नपूर्ण हिमाल मात्र होइन हामीहरुका लागि त्यो एउटा संस्क्रिति पनि हो । दशैमा टिका लगाउँदा होस वा भाइटिका, वा न्वाईखाँदा होस अन्नपूर्णतिर फकेर लाउनु खानुलाई शुभ साइत मान्छौं । यो हाम्रो सायद कालि गण्डकी सभ्यताको एक छनक होला । अन्नपूर्णको चुचुरोमा हिउँ धेरै हुँदा अन्न बढि फल्ने र थोरै हुँदा अनिकाल पर्ने अनुमान हाम्रो सांकतिक साष्कृतिक मनोविज्ञान छ । त्यही अन्नपूर्णले आजका फ्रान्सेलीहरुको मन तानिरहेको छ । अकोतिर २० बर्षमा ५० पल्ट नेपाल आँए भन्ने आलेसान्द्रा डेभिडिनेल तिब्बत र बुद्धर्धमको खोजका लागि पनि लुम्बिनी मात्र होइन हिमाल पहाडका बस्तिहरुलाइनै रोजेको देख्दा झन आनन्द लाग्यो ।

फ्रान्सेलीहरु नेपाल तान्ने अर्को कारणमा प्राय सबै फ्रान्सेलीहरुले नेपालीहरुको जस्तो दुःखमा पनि मुस्काराउने, कडा परिश्रम र मुस्किलले खान पुग्ने ठाउँमा पनि अरुको आतिथ्यता गर्न रुचाउने बानी रहेछ । पुँजीवादले अलग्गीएर एकलकाँटे बनेका पश्चिमीहरुलाई नेपालका जनजाती आदिवासीका समानतापूर्ण मानववस्ती र एकताबद्ध परिवार पनि एक रहेछन । पैसाको चलन कम भएका सभ्यतापूर्ण सष्कृति भएका तामांगबस्ती पनि रहेछन ।

यही रुचिले फिल्म मेकर एरिक भालीलाई जंगल नोम्याड, क्याराभान जस्तो फिल्म बनाउने उत्प्रेरणा मात्र होइन,  हनी हन्टर, राना थारु जस्ता किताबहरु पनि प्रकाशित गर्न प्रेरणा दिने ठाउँ पनि यीनै रहेछन । तर नेपाल बुझन लुकिलुकी गएका र शासकहरुले जान नदिएका दुखद कुरा पनि समेटीएका छन किताबमा ।

संघिय राज्य र धर्म निरपेक्षताको खतरा

हामी कहाँ अहिले संविधान सभा र राज्य पुर्नसंरचनाका बहस चलेका छन । जाति र धर्मका आधारमा बिभेद नारा उचालेर चुनावीलाई आफनो पोल्टामा पार्ने प्रयत्न हुँदैछ । यस बिषयमा फ्रान्सबाट १९७० मा साष्कृतिक सहचारी बनेका जेरांड तोफाँको विचार हाम्रा लागि मनन योग्य हुन्छन भन्ने लाग्यो । ‘नेपालमा हिन्दु र बौद्ध अत्यन्त मिलेर बसेका छन । बौद्ध धर्मभित्रका थेरवाद र हिनयान विच पनि खास समस्या छैन । हिन्दुहरु विच जोस्मनी र कृष्णप्रणामी विच धर्म सुधारका आफनै खालको आन्दोलन छ । धार्मिक जडसुत्रमा नरही जातिय विभेद र छुवाछुत हटाउनु पर्छ, ब्राम्हणहरुको जन्मका आधारको सर्वश्रेष्ठता हटाउन यहीँभित्र आन्दोलन छ । नेपालको धार्मिक समस्या भनेको हिन्दु र बुद्ध धर्मका विच कुनै समस्या होइन । समस्या त इसाई धर्मको बिस्तारको हो ।’ पहिले धर्म परिवर्तन बन्देज थियो । तर १९९० बाट इसाई धर्मको बिस्तार भयो । ‘नेपालमा संघिय राज्यका पक्षमा खुब चर्चा छ । तर म त संघिय राज्यका बिरुद्ध छु । जनजातीका नाममा संघीय राज्य नेपालका लागि ठूलो खतरा हुन्छ । यदी बनाउने नै हो भने पहाडका गाउँहरुलाई तराइका गाउँ संग जोडी बनाउने हो भने चाखलाग्दो हुन्छ । बहुसाष्कृतिक, बहुजातिय, भौगोलिक क्षेत्र मिलाएर बनाउँदा राम्रो हुन्छ ।’ उनले सुझाएका छन । आर्थिक बिनिमयको दृष्टिकोणले पनि यो कुरा उपयुक्त भएको तोफाँको तर्क छ ।

धर्म निरपेक्षताको बिषयमा डा डिडिए बर्नाले आलेख अझ चाख लाग्दो छ । ‘नेपालमा धर्म निरपेक्षताका लागि ठूलो आन्दोलन भयो तर मलाई भने व्यवहारिक रुपमा नेपाल त्यो घोषणापूर्व नै धर्म निरपेक्ष राष्ट्र थियो भन्ने लाग्छ । हिन्दु राष्ट्र भनेर घोषणा गरे पनि मुलुकभित्र सबै धर्मको प्रचार प्रसार गर्न, वकालत गर्न पाइने, सबै धर्म मान्न पाइने अवस्था थियो ।’ अव घोषणापछि भने धर्मनिरपेक्षता भन्दा दंगा हुन्छकी भन्ने चिन्ता उनलाई रहेको छ । यो निकै महत्वपूर्ण छ ।

मन पर्ने राजा बिरेन्द्र

करिब २९ फ्रान्सेलीहरुले मध्ये केहिले आफनो भ्रमणमा राजा बिरेन्द्र र शाह बंशको बिषयमा बोलेका छन । राजाहरु महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रका व्यवहार कस्ता थिए भन्ने पनि बताएका छन । उनिहरुलाई सबै भन्दा मनपर्ने र लोकतान्त्रिक लागेका राजा भने बिरेन्द्र नै रहेछन । उनीहरुले राजा बिरेन्द्रको खुबै प्रशंसा गरेका छन । तर राजा ज्ञानेन्द्र भने गलत आचरण, तस्करीमा संलग्न भएको कुरा समेत खुलाएका छन । राजा बिरेन्द्रकी एक असल मित्रको रुपमा रहेकी आलन ल ब्रेकले ‘बिरेन्द्रको हत्या उनका छोराले होइन, उनको भतिजाबाट भएको थियो’ भनेकि छन । उनले आफनो घरमा राजा बिरेन्द्र फ्रान्स जाँदा सुतेको कोठालाई आफु बाँचुञ्जेलको स्मृतिका लागि जस्ताको तस्तै राखेको बताएकि छन ।

‘त्यो नेपाल’मा यस्ता धेरै क्षण छन जो हरेक क्षेत्रका व्यक्तिलाई पनि पढन रुची लाग्नेछ । हामीहरु ज्ञान खोज्दै बिदेशी दार्शनिक, साहित्यकारका पुस्तक बढि पढछौं तर विदेशी बिद्धानहरु हाम्रा गाउँका मानिसको ज्ञान नै समृद्ध ज्ञान हो भनेर संसारलाई चिनाउन खोजिरहेका छन । हाम्रो नेपाल हामीलाई चिनाउनका लागि ददी सापकोटाले गरेको मेहनत सलाम योग्य छ । एकपटक सबैले पढौं ।

 

तपाइँको प्रतिक्रिया